CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ढुकुटीमन्त्रीले रक्षा गरुन्

ढुकुटीमन्त्रीले रक्षा गरुन्

मुलुकको ढुकुटीमन्त्रीको स्वकीय सचिवजस्तो एउटा प्रतिष्ठित र सम्पन्न मान्छेले राहतमा आएका १०–२० बन्डल टिनका पाता बेचेर खान्छ भनेर जतिसुकै प्रमाण पेस गरिए पनि म पत्याउँदिनँ । देशमा यस्तो विपत्का बेला पीडामा पिल्सिरहेका जनताका नाममा आएको त्यस्तो राहत खानु भनेको आफ्नै पिण्ड खानु बराबर हो भनेर सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती हामीले पढेकै छौँ । राहतमा भ्रष्टाचार गर्नेलाई जेल हाल्छु भनेर प्रधानमन्त्रीले पनि भनिसकेकै छन् । यस्ता कुरा राम्रोसँग थाहा पाएका ती शिक्षित र सचेत व्यक्तित्वलाई त्यस्तो घटिया आरोप लगाउनेहरूलाई गाली–बेइज्जतीको मुद्दा हाल्नुपर्नेमा उल्टै आफैँले पो राजीनामा दिएछन्, आश्चर्य !


धेरै तथ्य हेर्दा सचिवज्यू निर्दोष नै देखिन्छन् । उनी देशको सबैभन्दा ठूलो राजनीतिक दलका जिल्ला सचिव हुन् । ढुकुटीमन्त्रीका भतिजा, स्वकीय सचिव पनि । उनी स्वयंले भनिसके, त्यस्ता नाथे जस्तापाता बेचेर खानुपर्ने गतिछाडा म होइन । खासमा के भएछ भने सचिवज्यूले जस्तापाता बोकेको ट्रकको ड्राइभरलाई जस्तापाताको उपयुक्त वितरण गर्नेबारे सल्लाह गर्न पाता पठाउने दाताको काठमाडौँको मान्छेलाई भेट्नू भनेका रहेछन् । ड्राइभर कान नसुन्ने परेछ । उसले जस्तापाता काठमाडौँ लानू भनेको सुनेछ । आपत्विपत् परेका बेला हामीले ‘हार्डवर्क’ गर्नुपर्छ भनेको कुरालाई ड्राइभरले हार्डवेयरमा पुर्‍याउनू भनेको सुन्यो होला । यसमा सचिवज्यूको के दोष ? घटनाको प्रकृति बुझेर घरभित्रको कुरा घरभित्रै सल्टाउनुपर्नेमा कांग्रेसका जिल्ला सभापति नै सचिवका विरुद्ध खनिएपछि जोरीपारीहरूले घटनालाई उछाल्ने मौका पाए, उछाले ।

कुरै गर्ने हो भने दाताले सित्तैँमा पठाएको जस्तापाताको केही अंश सचिवज्यूले आफ्ना घरमा झार्नु कुनै ठूलो कुरा होइन । ढुकुटीमन्त्रीको पिए हुँदैमा घरपरिवारको हेरचाह गर्न नहुने भन्ने हँुदैन होला । उनको पनि घर हुँदो हो । भत्केको हुँदो हो । घर नभत्के पनि गोठ भत्केको हुँदो हो । गोठ भत्किनसकेको भए पछि भत्किन सक्ला । पछि आउने विपत्तिबाट पनि जोगिनुपर्छ नि † फिरीमा बाँड्नका लागि आएको, त्यो पनि आफन्तले पठाएको २०–३० बन्डल टिनका पाता आफ्ना घरपछाडि झारेकै हुन् भने पनि कुनै अपराध गरेका होइनन् । जस्तापाता पठाउन लगाउने ढुकुटीमन्त्री, पठाउने ढुकुटीमन्त्रीका सम्धी, बाँडचुँड गर्न खोज्ने ढुकुटीमन्त्रीका भतिजा । खास फट्याइँ त बीचमा पसेर भाँजो हाल्ने जनताले गरेका हुन् । यो घटनामा नुवाकोटे जनताले चाहिनेभन्दा बढ्ता बाठा भएर तीललाई पहाड बनाएका हुन् ।

अर्को एउटा बाठो निस्केछ, सचिवज्यूको पत्रकार सम्मेलनमा । आफूले कुनै गल्ती नगरेको प्रस्ट पार्न आयोजित पत्रकार सम्मेलनमा घुसेर सचिवज्यूलाई प्रश्नमाथि प्रश्न गरेर र्‍याखर्‍याख्ती पार्न थालेछ । अझ अगाडि बढेर अडियो नै बजाउन लागेपछि उसैलाई बजाएछन्, सचिवज्यूका कार्यकर्ताले । अर्को एउटा पत्रकार पनि बाठो भएर प्रश्न गर्ने हुँदा त्यसले पनि खाएछ रामधुलाई । क्या काइदा गरेछन् भने † यसबाट झनै छर्लंग हुन्छ, सचिवज्यू निर्दोष छन् । घोटाला गरेको भए पत्रकारलाई समेत भकुर्ने आँट कसरी गर्थे ?

यसरी हरेक हिसाबले निर्दोष हुँदा हुँदै पनि उनले पदबाट राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेका छन् । महाभूकम्पीय जस्तापाताको चपेटामा परेर जागिर गएका कारण सरकारले उनलाई भूकम्पपीडित नागरिकको प्रमाणपत्र दिएर तुरुन्त क्षतिपूर्ति र राहत दिनुपर्छ । ढुकुटीमन्त्रीले आफ्ना कार्यकर्ताको रक्षा गरून् ।

साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis