राजा योगनरेन्द्र मल्लले उत्तराधिकारीविहीन हुनुपर्ने पुत्रशोकमा परेर राजपाट त्यागेपछि उनका छोरीतर्फका नाति विष्णु मल्ल पाटनको राजा भए । विष्णु मल्लले गद्दी सम्हालेपश्चात्
पाटन राज्यको दुर्दशा प्रारम्भ भएको कुरामा सबै इतिहासकार सहमत छन् । पाटनको इतिहासको यही अँध्यारो युगमा देखा परेका थिए ६ जना प्रधान (जसको नाम इतिहासमा उल्लेख नभए पनि उनीहरूको कर्तुत भने उल्लेख छ) । यी प्रधानहरू पाटनमा कति शक्तिशाली थिए भने उनीहरूले जसलाई चाह्यो उसलाई राजा बनाउन र हटाउन सक्थे । यही क्रममा ती प्रधानले राज्यप्रकाश मल्ल (काठमाडौंका राजा जयप्रकाश मल्लका भाइ), जयप्रकाश मल्ल (काठमाडौंका राजा), रणजित मल्ल (भक्तपुरका राजा), विश्वजित मल्ल, दलमर्दन शाह (पृथ्वीनारायण शाहका भाइ) तथा तेजनरसिंह मल्ललाई पालैपालो पाटनको राजा बनाए ।
यसै क्रममा राजा भएका विश्वजित मल्ल (जो राजा विष्णु मल्लका छोरीतर्फका नाति थिए) पाटनको राजा हुन पुगेका थिए । उनले पाटनमा वि.सं. १८०९ देखि १८१५ सम्म शासन गरेका थिए । राजा विश्वजित मल्ल शासकीय रूपमा कुशल थिए । आफ्नो राजकीय कुशलताका कारण उनी पाटनका ६ जना प्रधानको चकचकी कम गर्न केही हदसम्म सफल भएका थिए । उनको सफलताका कारण आफ्नो प्रभाव कम हुँदै गएको अनुभव गरेपछि ती ६ प्रधानमध्ये एकले राजा विश्वजित मल्लमाथि आफ्नी श्रीमतीसँग अनुचित सम्बन्ध राखेको आरोप लगाए । त्यही आरोपको आडमा ती ६ प्रधानले पाटनका जनतालाई राजाविरुद्ध विद्रोहका लागि उक्साए । पाटनका जनता पनि ६ प्रधानको कुरामा सहमत भएपछि राजा विश्वजित मल्ललाई एउटा सशस्त्र विद्रोहमार्फत् गद्दीबाट हटाइयो ।
यसरी गद्दीबाट हटाइएका विश्वजित मल्ललाई पक्राउ गरेपछि ६ प्रधानले भविष्यमा सत्य कुरा प्रकाशमा आउन नपाओस् भनेर राजा विश्वजित मल्ललाई हाल पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको मन्दिरको मूलढोकामा दसैंको बोका पर्साएसरह पर्साएर काटेका थिए । भनिन्छ, राजा विश्वजित मल्ललाई काट्दा अचानो बनाइएको काठ तलेजु मन्दिरमा अझै पनि छ ।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !