CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पूर्वयुवराजलाई मद्दत गर्न नार्कोनन्

पूर्वयुवराजलाई मद्दत गर्न नार्कोनन्

पूर्वयुवराज पारसलाई थाइल्याण्डमा ड्रग्सको मामलामा कारबाही गरिएको समाचारले भन्दा पनि पूर्वराजा ज्ञानेन्द्रका परिवारले यस्तो अवस्थामा पनि पारसलाई कुनै सहयोग र साथ नदिएको भन्ने खबरले मलाई बढी पीडा पुर्‍यायो। ड्रग्सको व्यवस्थापनमा लामो समय काम गरेको कारण मलाई यो कुरा राम्ररी थाहा छ कि कुनै पनि युवायुवती ड्रग्समा पर्नुमा केवल ती व्यक्तिको मात्र दोष हँुदैन वल्की मातापिता र परिवारको पनि ठूलै दोष हुने गर्छ। ड्रग्सको समस्यामा परेका अन्य परिवारका अभिभावकले झैं पारसका अभिभावक पूर्वराजा ज्ञानेन्द्रका परिवारले पनि आफ्ना छोराछोरीको कारणबाट शिर निहुरिएको अनुभूति गरिरहनुभएको हुनसक्छ। तर, त्यस्ता सबै परिवारले के पनि बुझ्न जरुरी छ भने जबसम्म हामी आफ्ना छोराछो
रीमा भएको ड्रग्स लिने आदतलाई सुधार्न सक्दैनौँ तबसम्म भविष्यमा पनि यस्ता अनेकौँ पीडादायी क्षणहरू अझै व्यहोर्नुपर्ने पनि हुनसक्छ। अर्को एउटा महत्त्वपूर्ण कुरा के पनि बुझ्नुपर्छ भने यदि ड्रग्समा छोराछोरी परेका छन् भने आमाबाबुहरूले तिनलाई ड्रग्सबाट बाहिर निकाल्न धम्की, डर, त्रास, माया, दया, आँसु वा ठूलो पद र सम्पत्ति दिएर सम्भव हुँदैन। यो कुरा नबुझ्नाले अभिभावकहरू ड्रग्स लिएका कुरा लुकाएर सुधार गर्ने नाममा झन् बढी ड्रग्स खाने अवसर र स्रोत जुटाइदिइरहेका हुन्छन्। उनीहरूलाई लाग्छ मैले यो छोरा वा छोरीका लागि यतिसम्म ठूलो त्याग र बलिदान दिएँ तर यसले मेरो भावना बुझी ड्रग्स छोड्न सकेन। यस्ता सोचाइ राखी त्यस्ता अभिभावकहरू आफ्ना छोरा वा छोरीसँग आक्रोशित र दुःखी भएर बोल्नसमेत छोड्न सक्छन्। उनीहरू मनमनैबाट यति धेरै चित्त दुखाउन थाल्छन् कि त्यस्ता अभिभावक ब्लडप्रेसर, मुटु रोग र मधुमेहजस्ता रोगबाट आफँै पीडित हुन पुग्छन्। तर, छोराछोरीले ड्रग्स भने छोड्न सक्दैनन् किनकि उनीहरूले गरेका प्रयासले छोराछोरीको ड्रग्स छोड्ने क्षमता बढाउन कुनै योगदान दिइरहेको हँुदैन। जब यसरी मातापिता र परिवारजनले त्यस्ता व्यक्तिसँग बोलचाल गर्न र वास्ता गर्न छोड्छन् त्यसपछि त्यो व्यक्ति झन् ठूलो ड्रग्सको दलदलमा पर्छ र नचाहँदानचाहँदै पनि त्यो परिवारमा अनेकौँ नयाँनयाँ समस्या आउन थाल्छन्। यस्तो गर्नु गम्भीर भूल सावित हुनेछ। मलाई लाग्छ– पारसको परिवारबाट पनि सायद यस्तै गल्ती भइरहेको छ।  
ड्रग्समा परेका परिवारले आफ्ना छोराछोरीलाई त्यस अनैतिक कामका लागि दोष लगाउने गर्छन्। तर, दोष ती केटाकेटीको मात्र हुँदैन वल्की मातापिता र समाजको पनि हुन्छ। आज राजदरबारमा जन्म पाएका पारस ड्रग्समा पर्नुमा पनि उनका मातापिता पूर्वराजा ज्ञानेन्द्रको परिवारबाट केही गम्भीर गल्ती भएकै छ। मेरो विचारमा राजा ज्ञानेन्द्रका परिवारबाट भएको पहिलो गल्ती थियो उहाँहरूले छोरा पारसलाई हिसाब, अङ्ग्रेजी, विज्ञान, अर्थशास्त्र, व्यापार–व्यवसाय, राजनीति सिकाउनुपर्छ भन्ने मान्यता राख्नुभयो। तर, ड्रग्सको खराब पक्षबारे पनि सिकाउनु–बुझाउनुपर्छ भन्नेचाहिँ हेक्का राख्नुभएन। उहाँलाई सायद लाग्यो कि यो जान्नुपर्ने कुरै होइन। यहि गल्तीका कारण पारसले अरू शास्त्र बुझे पनि ड्रग्सलाई राम्ररी बुझ्न पाएनन् र यसको धरापमा सजिलै पर्न पुगे। दोस्रो पारसको अभिभावकबाट भएको गल्ती थियो कि उहाँहरू आफैँले पनि ड्रग्सबारे राम्ररी बुझ्नुभएन। यदि बुझेको भए दरबारमा रक्सी, वाइन, बियरजस्ता संसारमा सबैभन्दा धेरै दुरुपयोग हुने ड्रग्समाथि उहाँले नियन्त्रण राख्नुहुन्थ्यो होला। दरबारमा परिवारसहित बसेर मदिरापान गर्ने प्रचलन नै आखिर दरबारकाण्डको थलो र कारण बन्न पुग्यो। उहाँले देशमा मदिराविरुद्ध अभियान कहिल्यै चलाउनुभएन। यसको दुस्प्रभाव छोरा पारसमा पनि पर्न पुग्यो। नजिकका सूत्रहरूले बताउने गर्छन् कि पूर्वयुवराज पारस मदिरा नपिउँदा ज्यादै भद्र हुन्छन् र मदिरा सेवनपश्चात् उग्र हुने गर्छन्। यो कुरा अभिभावक ज्ञानेन्द्रले महसुस गरी दरबारभित्र मदिरा र अन्य नसाजन्य पदार्थमाथि नियन्त्रण गर्न सकेका भए सायद आज पारस यो अवस्थामा पुग्ने थिएनन् होला। यो बुँदामा पनि ज्ञानेन्द्रको परिवारबाट कमजोरी भएकै हो। 
तेस्रो राजदरबारमा हुर्केका केटाकेटीहरूलाई कहिल्यै पनि नेपालको सामाजिक सेवाको क्षेत्रमा सक्रिय पारिएन जसरी थाइल्याण्डका राजपरिवारका सदस्य त्यो देशका हजाराँै समाजसेवाका क्षेत्रमा सक्रिय पारिएका छन्। एकप्रकारले भन्ने हो भने उनीहरूलाई केवल शासक हुन सिकाइयो सेवक हुन होइन। देशको गरिबी, विवशता बुझ्न लगाउनुभन्दा पनि सेनाको सलाम खानमै उनीहरूलाई व्यस्त र अभ्यस्त बनाइयो। जब उनीहरूलाई सेनाको घेराबाट बाह्य समाजमा जान बन्द गरियो त्यसपछि उनीहरू दरबारको सानो इलाकामा रहन बाध्य भए। दरबारभित्र अरू गर्ने रचनात्मक काम उनीहरूले केही देखेनन् र रमाइलो गर्ने नाममा पार्टी, क्यासिनो, डान्स, सिकारजस्त्ाा कुरामा मात्र अधिकांश समय खर्च गर्न थाले। जब पार्टी, क्यासिनो, डान्स, सेक्सको कुरा आउँछ तब त्यहाँ नसाजन्य कुराको पनि आगमन हुन्छ। यही बाध्यता र वातावरणका कारण अधिकांश दरबारका टिनएजर सदस्य रक्सी, वाइन, गाँजा, चरेसजस्ता लागूऔषधमा फस्न पुगे। उनीहरू मात्र होइन उनीहरूसँग नजिकका सम्बन्ध भएका सर्वसाधारणका छोराछोरीहरू पनि त्यस्तो कुलतमा पर्न पुगे। राजपरिवारका गतितिधि गोप्य हुने हुँदा बाह्य समाजलाई त्यो कुरा थाहा भएन। थाहा भए पनि बोल्ने क्षमता कसैको हुन्थेन। कसैले बोलिहाले भने पनि तिनलाई दरबारले स्वाहा पारिहाल्थे। अतः जुन प्रकारले दरबारका टिनएजरहरूलाई सही दिशा देखाई देश र जनताका दुःख बुझ्न पठाउनुपर्थ्यो त्यसरी ज्ञानेन्द्रले पनि पारसलाई पठाउन सक्नुभएन जस्का कारणले उनी पार्टी डिस्को, क्यासिनोबीच अड्किन पुग्दापुग्दै ड्रग्सको कुलतमा पर्न पुगे। 
पारस ड्रग्सको समस्यामा पर्नुको अर्को महत्त्वपूर्ण कारण थियो दाजु दीपेन्द्र तथा नीराजनको ड्रग्स लिने आदत। दीपेन्द्र बुढानीलकण्ठ स्कुल पढ्ढादेखि नै ड्रग्स लिने गर्दथे। उनका भाइ नीराजनले पनि बेलायतको इटन कलेजमा पढ्दा ड्रग्स लिएका कारण तत्कालीन मिलिटरी ऐटेची इन्द्र कार्कीको कर्णेलबाटै जागिर गएको थियो। इन्द्र कार्कीले नीराजनमाथि लगाम लगाउन खोज्दा उनी कलेजबाटै भागी आफ्ना काकाका छोरीहरूकहाँ गएर बसे। रानी ऐश्वर्यले कर्णेलको सत्प्रयासको उल्टो अर्थ लगाई ती अफिसरको जागिर नै खाइदिइन्। यदि ती कर्णेलको कुरा दरबारले त्यतिबेला राम्ररी बुझिदिएको भए सायद दरबार हत्याकाण्ड नै घट्ने थिएन होला। पारसले पनि जब नसाजन्य कुरा लिएर सवारी दुर्घटना र गोलीकाण्ड मच्चाउन थाले त्यति बेला ज्ञानेन्द्रले पनि उनको खराब आदतलाई नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्थ्यो, तर त्यो भएन। गायक प्रवीण गुरुङको दुर्घटना काण्डमा उनलाई कुनै सजाय भएन जसले गर्दा उनको बद्मासी गर्ने मनोबल घट्नुको सट्टा झन् बढ्न पुग्यो। हुनेवाला राजा दीपेन्द्र नै ड्रग्स लिने भएपछि दाजुका भक्त पारस पनि सुरक्षित हुने नै भए। अभिभावक ज्ञानेन्द्रले पनि यो कुरा नबुझेको पक्कै थिएनन् होला?। यदि उनले त्यो सर्कलभन्दा पनि आफ्ना छोरालाई प्रभाकरशमशेर राणाका छोरा सिद्धार्थको सङ्गत बढी गराउन सकेका भए सायद यस्तो दिन नआउन पनि सक्थ्यो होला। तर, त्यहाँ पनि ज्ञानेन्द्रबाट गल्ती भएकै छ। जब अभिभावक ज्ञानेन्द्रलाई छोरा पारसले नसाजन्य कुराहरू लिने थाहा भयो त्यसबाट बाहिर निकाल्न उहाँले यस विषयका ज्ञाताहरूसँग परामर्श आदि लिएको कहिल्यै देखिएन–सुनिएन। यो समस्याको समाधान के हुनसक्छ? भनेर गभ्भीरताका साथ खोजिएको पनि देखिएन। ड्रग्सकै कारणले वीरेन्द्रको वंशमा आएको समस्या देखिसकेपछि पनि पारसलाई ड्रग्सबाट बाहिर निकाल्न पिताबाट ठोस पहल भएको–गरिएको देखिएन। ड्रग्समा परेको परिवारमा जतिजति बाबुछोरामा मतभेद बढ्दै जान्छ त्यतित्यति संवाद कम हुँदै जान्छ र जतिजति संवाद कम हुँदै जान्छ एक–अर्काप्रतिको सरोकार पनि घट्दै जान्छ जसले गर्दा छोराछोरीले झन् बढी ड्रग्स लिने स्वतन्त्रता र वातावरण पाउने गर्छन्। ज्ञानेन्द्रका परिवारबाट पनि यस्तो गल्तीहरू भएको हुन सक्छ जसले पारसलाई झन् बढी स्वतन्त्रता दिएको होस्।  
जब ज्ञानेन्द्र राजा भए, त्यो परिवारमाथि नै दाजुको वंश नाश गरेको आरोप पनि थियो। आरोप लगाउन त्यतिबेला विदेशी शक्तिहरू पनि सक्रिय थिए। राजाको शासन नचाहने विदेशी शक्तिहरूका लागि जनताबाट त्यो शासन कमजोर बनाउनभन्दा पनि परिवारबाटै कमजोर बनाउन सजिलो हुन्थ्यो। एक छोरा ड्रग्समा पर्दा सद्दाम हुसेनले त्यो छोरालाई थुनेरै राखेका थिए। त्यही छोराका कारणले उनको शासन निकै अलोकप्रिय बन्न पुग्यो किनकि ती छोराले हारेर आएका खेलाडीहरूलाई गोली नै हानिदिएका थिए। साउदी अरबमा त ड्रग्स लिने राजकुमारलाई बाबुले नै गोली ठोकेको घटना पनि छन्। राजा ज्ञानेन्द्रले पनि राजा भएपश्चात् छोरालाई जबर्जस्ती युवराज घोषणा गर्नतिर लाग्नुभन्दा पनि नैतिक रूपले माथिल्लो स्तरमा राख्न प्रयास गनुपर्थ्याे, तर त्यो भएन। युवराज घोषणा नै समस्याको हल भएको ठानियो तर आज त्यतिबेला त्यत्रो रिस्क उठाई युवराज घोषणा गरे पनि छोरा पारसले ज्ञानेन्द्रलाई धन्यवाद दिएको सुनिएको छैन, बरु बाबुबाटै टाढाटाढा बसेको अवस्था छ। 
अतः पारस आज जुन अवस्थामा पुगेका छन् यस्तो अवस्थामा परिवारले तिरस्कार गरे पारस झन् नयाँ–नयाँ समस्यामा पर्नेछन्। उनलाई अहिले तिरस्कार र गालीको होइन उपचार र पुनर्स्थापनाको जरुरत छ। पद, धन, शक्ति, वैवाहिक सम्बन्ध वा विदेशको बासले ड्रग्स छोड्न सकिँदैन। ड्रग्स छुटाउने एक सशक्त विधि हो नार्कोनन् पाठ्यक्रम। पारस वास्तविक रूपमा असल व्यक्ति भएको नजिकका मान्छेहरू बताउँछन्। यदि उनको नसाको समस्या हट्न सक्यो भने त्यो परिवारमा पुनः खुसी फर्कन सक्छ र नार्कोनन् नेपाल यस कुरामा ज्ञानेन्द्रको परिवारलाई पूर्ण सहयोग गर्न तयार छ।

 -- बसन्तराज कुँवर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis