नेपाल भन्ने देशमा प्रचण्ड र बाबुराम नाम गरेका दुई दाजुभाइ बस्थे। ती दुई दाजुभाइ साह्रै चलाख, मनोरञ्जनपि्रय र ठट्टालु थिए। उनीहरू दयालु पनि त्यस्तै थिए। जे पनि अरूलाई दिने, आफू नलिने। देशमा त्यसबेला सर्वमान्य प्रधानमन्त्री नभेट्टाएर हैरान थियो। ती दुई भाइको बुद्धि र दयालुपनले गर्दा हेर्दाहेर्दै नेपालमा प्रधानमन्त्रीको छेलोखेलो हुन थाल्यो। जता फर्कियो उतै प्रधानमन्त्रीसँग ठोक्किने अवस्था आयो। नेपाली जनताले छानीछानी प्रधानमन्त्री पाए। प्रधानमन्त्री हुन कल्पनै नगरेका वा
सपनै नदेखेका सबैलाई तिनीहरूले प्रधानमन्त्री बनाइदिए। आफू भने प्रधानमन्त्री खानै नचाहने, करले मात्रै। भाइ कमरेडले राष्ट्रिय सहमति भयो भने आफू एक मिनेट पनि सत्तामा नबस्ने घोषणा गरेका थिए। दाइ कमरेडले पनि आफूलाई प्रधानमन्त्री हुने खेलबाट अलग गरेको घोषणा गरेर कहिले यसलाई र कहिले उसलाई प्रधानमन्त्रीमा सिफारसि गरेका गरेकै थिए।
केही महिनाअघि कांग्रेसका रामचन्द्र पौडेललाई दुई भाइ दधिचीहरूले प्रधानमन्त्री बनाइदिए। अलि पछि शेरबहादुरलाई पनि त्यो पद भिराइदिए। कांग्रेसलाई त यी दुई भाइले गर्नसम्मै उद्दार गरे। रामचन्द्र र शेरबहादुरपछि सभापति सुशील कोइरालाका पोल्टामा खप्लक्कै प्रधानमन्त्री हालिदिए। स-साना पार्टीका अध्यक्षहरूलाई पनि यिनीहरूले साह्रै माया गरे। सबैलाई पालैपालो प्रधानमन्त्री बनाए। एकपल्ट विजय गच्छदारलाई प्रधानमन्त्री बनाए। अर्कोपल्ट महन्थ ठाकुरलाई बनाए। प्रधानमन्त्रीको पद राजनीति गर्नेको मात्रै पेवा हो र भनेर उनीहरूले नागरकि समाजका मान्छेहरूलाई पनि प्रधानमन्त्री बनाइदिए। देवेन्द्रराज पाण्डेलाई क्या त ! देवेन्द्र मुसुमुसु हाँस्दै प्रधानमन्त्री खाइरहेका थिए, अचानक पद्मरत्न तुलाधर र दमननाथ ढुंगानालाई पनि एकै लटमा प्रधानमन्त्रीमा बसाइदिए। बीचमा विश्वनाथ उपाध्यायलाई पनि थच्याए क्यारे ! अरू पनि क-कसलाई बनाए, बिर्सिसकियो। दुई दाजुभाइले प्रधानमन्त्री बनाउने मान्छे धुइँपत्ताल गरेर खोजिरहेकै बेला खगेन्द्र संग्रौला, कृष्ण पहाडी र अरू कतिजना बेपत्ता भएको खबर आयो। उनीहरू कमरेडहरूले प्रधानमन्त्री बनाइदेलान् भनेर भूमिगत बसेका रहेछन् अरे!
सबैलाई प्रधानमन्त्री बनाइसकेर दाइ कमरेड हैरान भएर थकाइ मार्दै थिए, भाइ कमरेडले आफ्नो गृहजिल्ला गोरखामा महादानीको नमुना प्रस्तुत गर्दै घोषणा गरििदए- "पार्टीको आगामी महाधिवेशनपछिको अध्यक्ष पनि म कमरेड प्रचण्डलाई नै दिन्छु।" दाइ कमरेड हौसिएर खपिनसक्नु ! उनले पनि जुँगामा काइँयो लगाउँदै घोषणा गरिदिइहाले, "अध्यक्ष मात्रै किन अबको प्रधानमन्त्री पनि मै खान्छु।"
दाइ कमरेडको घोषणा सुनेर भाइ कमरेड झसक्क भए। "के भनेको दाइ तपाईंले यो ?" भाइले आँखा तरेर सोधेपछि दाइले भने, "हे हे, ठट्टा पो गरेको त !" दाइको ठट्टामाथि शंका लागेपछि भाइले 'अब अरू कसैलाई प्रधानमन्त्री बनाउने ठट्टा छाडौँ। बरू म अर्को एउटा ठट्टा गर्छु है ?' भनेछन्। दाइले पनि 'गर, गर !' भनिदिएछन्। भाइ कमरेडले ट्वीटर भन्ने भाँडोमार्फत घोषणा गर्दै भने, "अबको पाँच वर्षमै प्रधानमन्त्री हुन्छु। काम गर्न सकिनछु भने गोली ठोक्नू।" भाइको ठट्टा सुनेर दाइ मरीमरी हाँस्न थालेछन्। प्रतिपक्षीहरू पनि पाँच वर्षपछि बाबुरामलाई गोली ठोक्न पाइने भयो भनेर सबै आन्दोलनका ठट्टाहरू स्थगित गरेर तीन नम्बर ठट्टाकार कमरेड केपी ओलीका ठट्टा सुन्न थालेछन्।
लक्ष्मण गाम्नागे