CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अब गुण्डा गर्दी नै राजनीति

अब गुण्डा गर्दी नै राजनीति


दलमा गुन्डाको दबदबा



केपी ढुंगाना, ध्रुव दंगाल, काठमाडौं, माघ १३ - हातहतियार तथा खरखजाना एवं जबर्जस्ती रकम असुलीको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका सुजन पौडेल उर्फ रमेश बाहुनको परिचय शुक्रबारबाट फेरिएको छ। उनी अब एमालेका सक्रिय कार्यकर्ता भए। 
हातहतियार तथा खरखजाना र जर्वजस्ती रकम असुलीको अभियोगमा प्रहरीले पाँच वर्षदेखि खोजिरहेको पौडेललाई रामेछाप मन्थलीमा आयोजित एमाले जिल्ला अधिवेशनको मौका पारेर एमाले नेता केपी ओलीले पार्टी प्रवेश गराए।
ओली र प्रदीप ज्ञवाली साक्षी बसेर रमेशसँगै उनका करिब सय सहयोगीलाई एमालेमा फूलमाला र अबिरले स्वागत गर्ने
कार्यक्रममा पक्रने भयले रमेश भने थिएनन्। बिहीबार सहयोगीसहित रामेछाप पुगेका उनी मन्थलीबजारको एलिनाज चुचुरे होटलमा बसेका थिए। कार्यक्रमको बीचमा जिल्ला अधिवेशनका प्रमुख अतिथि ओली होटलमै गएर उनलाई पार्टी सदस्यता प्रमाणपत्र सुम्पिए। एमाले कार्यकर्ता बनेर उनी सहयोगीसहित शुक्रबार साँझ नै मन्थलीबाट काभ्रे फर्किए।
नेपाली सेनाको रेन्जर गणको जागिर छाडेका ३१ वर्षीय रमेशले साना हतियार कारोबारबाट आपराधिक यात्रा थालेका हुन्। प्रहरी रेकर्डअनुसार २०६२ बाट अपराध दुनिया"मा छिरेका उनी पाँच वर्षमै प्रहरीको मुख्य चुनौती बने।
उनी २०६४ वैशाखमा दरबारमार्गबाट पेस्तोलसहित पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटी बुझाएर रिहा भएका उनी बुटवलबाट दुई पेस्तोलसहित फेरि पक्राउ परे र हातहतियार तथा खरखजाना अभियोगमा दुई वर्ष कारागार पनि बसे। 
सफाइ पाएर जेलमुक्त भएपछि उनी सेनाका भगौडा र रामेछापका केही युवा समेटेर रकम असुलीमा सक्रिय भएका थिए। उनीविरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा हातहतियार तथा खरखजाना मुद्दा विचाराधीन छ भने काठमाडौं परिसरमा जबर्जस्ती रकम असुलीको जाहेरी छ। महानगरीय प्रहरीकै कालीमाटी वृत्तमा पनि रमेशविरुद्ध हातहतियार अभियोग छ। निर्माण व्यवसायीलाई धम्क्याएर रकम असुली गरेको जाहेरी थुप्रिएपछि प्रहरीले उनको खोजी तीव्रता दिएपछि उनी दुई वर्षदेखि भूमिगतजस्तै छन्। 
गुन्डा भिœयाउने प्रतिस्पर्धा
दलका नेताले गुन्डा पाल्ने संस्कार पुरानै हो। नेताहरु गुन्डासँगको आफ्नो सम्पर्क र सम्बन्ध गोप्य राख्न रुचाउँथे। पछिल्लो समय भने सार्वजनिक कार्यक्रम नै आयोजना गरेर उनीहरुलाई पार्टी प्रवेश गराउने होड नै चलिरहेको छ। साना दलदेखि प्रभावशाली दलसमेत उनीहरुलाई पार्टीको झन्डामुनि ल्याउने होडमा छन्।
आपराधिक पृष्ठभूमिकालाई दलको झन्डामुनि ल्याउन एमाले पछिल्लो समय अन्य दलको तुलनामा बढी नै सक्रिय छ। रमेश बाहुनअघि चक्रे मिलन, दिनेश अधिकारी चरी, पर्शुराम बस्नेत एमाले कार्यकर्ता भइसकेका छन्। 
हातहतियार तथा खरखजाना र लागूऔषध अभियोगमा केन्द्रीय कारागारमा रहेका चक्रे एमाले काठमाडौंका सदस्य हुन्। २०४६ अगाडिसम्म 'टोले दादा' का रुपमा परिचित उनी एमालेको छत्रछायामा संगठित समूहका नाइके बन्न सफल भए।
जबर्जस्ती रकम असुली गर्दै अपराधमा प्रवेश गरेका धादिङका चरी धादिङ एमाले- १ का उपाध्यक्ष हुन्। असुलीकै भरमा करोडपति बनेका विराटनगरका पर्शुराम मोरङका जिल्ला अध्यक्ष हुन्। उनी युवा संघका केन्द्रीयसमेत हुन्। आठ महिनाअघि साजन महर्जन एमाले प्रवेश गरे। अहिले उनी युवासंघ खेलकुद विभाग सदस्य छन्। आपराधिक पृष्ठभूमिका कुमार थापा, ऐन महर, अर्जुन गुरुङ, जोग गुरुङ पनि एमाले राजनीतिमा छन्।
आपराधिक पृष्ठभूमिका व्यक्तिको एमालेमा बढ्दो प्रवेशबारे एमाले नेता प्रदीप ज्ञवालीले प्रस्ट पारेनन्। उनले शुक्रबार पार्टी प्रवेश गरेका रमेशबारे पनि जानकारी नभएको दाबी गरे।
बाहुनलाई पार्टी प्रवेश गराउन मन्थली पुगेका ज्ञवालीले नागरिकसँग 'बाहुनको पृष्ठभूमि पछि चेक गर्ने' बताएर टारे। 'राज्यको कानुन लागू गर्ने विषयमा कसैले रोक्न सक्दैन' उनले भने, 'आरोपीलाई छानबिन गर्ने, अभियोग लगाउने र कारबाही गर्ने अधिकार राज्यलाई छ।'
भक्तपुरमा संगठित आपराधिक समूह चलाइरहेका सगुन श्रेष्ठ उर्फ ठूलो सगुन र बमबहादुर श्रेष्ठ उर्फ सानो सगुनलाई कांग्रेस नेता शंकर भण्डारी र रमेश लेखकले अंकमाल गर्दै पार्टी सदस्य बनाए। २०६८ मंसिर २१ गते सिन्धुपाल्चोक जलवीरेमा आयोजित जागरणसभामा भण्डारीले ठूलो सगुनलाई माला र अबिर लगाउँदै कांग्रेस सदस्य बनाए भने सानो सगुनलाई तीन महिनाअघि नै सिन्धुपाल्चोकको कात्तिकेमा आयोजित कांग्रेस सभामा लेखकले पार्टी भिœयाएका थिए। 
सिन्धुपाल्चोक हगाम गाविसका उनीहरु त्यसअघि माओवादीमा थिए। संविधानसभा चुनावअघि यी दुवै माओवादीमा प्रवेश गरेका थिए। अग्नि सापकोटाले सभासद बनेपछि ठूलो सगुन अपहरणको अभियोगमा पक्राउ परे। जेलमुक्त भएपछि 'सापकोटाले षड्यन्त्र गरेको' भन्दै उनी कांग्रेसमा लागे। 
तीन महिनाअघि उनी निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको उपाध्यक्षमा निर्विरोध चुनिए। सबै पदमा निर्वाचन भए पनि उनको प्रतिस्पर्धी बन्ने आँट कसैले गरेन। सामाखुसीका कुमार श्रेष्ठ उर्फ घैंटे कांग्रेस छत्रछायामै छन्।
कांग्रेसको तरुण दलबाट राजनीतिमा सक्रिय रवि राणा अहिले अपहरण अभियोगमा कारागार छन्। चक्रेका भाइ तेजेन्द्र कांग्रेस प्रवेश गरिसकेका छन्। नेपालगन्जका योग ढकाल उर्फ रिगल, पोखराको एलजी समूहका ललित गुरुङ पनि खाट्टी कांग्रेस कार्यकर्ता हुन्। मीनकृष्ण महर्जन, पूर्ण गुरुङ, विक्रम लामा, राजु श्रेष्ठ, प्रवेश महर्जन पनि आपराधिक पृष्ठभूमिबाट कांग्रेस बनेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी र कांग्रेसमा सक्रिय दीपक मनाङे पछिल्लो समय कुनै प्रभावशाली दलमा संलग्न छैनन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा केन्द्रीय सदस्यको रुपमा प्रवेश गरेका उनी अहिले उपाध्यक्ष छन्। 
दलहरुमा आपराधिक पृष्ठभूमिका ब्यक्तिहरुको प्रवेशले माओवादी र सत्तारुढ दलको व्यवहार भएको कांग्रेस नेता अर्जुननरसिंह केसीले टिप्पणी गरे। उनले नागरिकसँग भने 'अपराधलाई राजनीतिकरण गर्ने र राजनीतिलाई आपराधीकरण गर्ने सत्तारुढको मनोवृत्तिको द्योतक हो।'
आपराधिक पृष्ठभूमिकै आधारमा कांग्रेसको सदस्यता पाएकाहरुबारे उनले पनि प्रस्ट जवाफ दिएनन्। 'कसको कोसँग व्यक्तिगत सम्बन्ध छ, त्यो फरक कुरा हो,' उनको टिप्पणी छ।
काभ्रेली समूहका 'नाइके' गणेश लामा सत्ताधारी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य छन्। रात्रिकालीन व्यवसाय, रक्तचन्दन तस्करी हुँदै निर्माण व्यवसायीको आवरणमा पुगेका उनी राजनीतिक संरक्षण खोज्दै २०६७ पुस २० मा सहयोगीसहित केन्द्रीय सदस्यको हैसियतमा फोरम प्रवेश गरे। उनलाई उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले काभ्रे पुगेर पार्टी प्रवेश गराएका थिए। उनी अहिले गच्छदारका निकट सहयोगी छन्। 
गृहमन्त्री गच्छदारले औपचारिक कार्यक्रममै रत्नाकर डाँकु वाल्मीकि बनेको उदाहरण दिँदै लामालाई सुधार्न केन्द्रीय सदस्य बनाएको भन्दै उनको बचाउ गरेका थिए। 
२०६७ चैत १९ गतेे तराई मधेस लोकतान्त्रिक पार्टीले अभिषेक भनिने सोमबहादुर तामाङलाई पार्टीको सदस्य बनायो। उनलाई महन्थ ठाकुरले अबिर लगाएर उनका २ सय सहयोगीसहित पार्टी सदस्य बनाएका थिए। 
घट्दो जनविश्वास
'आमनागरिकप्रति भन्दा हुलप्रतिको विश्वास' ले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पार्टी प्रवेश गराउने प्रतिस्पर्धा बढेको पूर्व एआइजी राजेन्द्रबहादुर सिंहको विश्लेषण छ। यस्तो प्रतिस्पर्धाले दलहरु नैतिक बन्दै गएको देखिएको उनले नागरिकसँग बताए। 'जनमत गुमाउँदै गएपछि भोटका लागि कि गुन्डा कि पैसा चाहियो,' उनले भने, 'दलमा आपराधिक व्यक्तिको बढ्दो प्रवेशले जसले तर्साउन सक्यो, उसैले जित्छ भन्ने मनोविज्ञान देखाउँछ।'
मुलुक चलाउने जिम्मेवारी बोकेका दलहरुमा आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको बढ्दो प्रभावले सुरक्षा चुनौती बढाउनुका साथै दलहरुलाई नै घातक हुने सिंहले बताए। आपराधिक चरित्रकाहरुको बाहुल्यले नीति र सिद्धान्तको राजनीति हराएर अपराधले प्रश्रय पाउने र दलभित्र सांघातिक घटना बढ्ने उनको विश्लेषण छ।
यस्ता विकृतिले मुलुक सञ्चालनमै नकारात्मक असर पार्ने टिप्पणी गर्दै उनले भने, 'राजनीति भनेको बे्रन हो, त्यसमै विकृति आएपछि राज्यका सबै संयन्त्र खत्तम हुन्छन्।


नागरिक 


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis