८ फागुन, काठमाण्डौं । चीनले तिब्बती गतिविधि नियन्त्रणसम्बन्धी नेपालको प्रतिबद्धतालाई स्मरण गराउँदै आत्मदाहको घटनामा औपचारिक प्रतिक्रिया व्यक्त गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । चिनियाँ शासनविरुद्ध काठमाडौंमा आत्मदाह गर्ने स्वतन्त्र तिब्बतका अभियन्ता डोमन डुक्चेको घटनालाई लिएर चीनले नेपाल सरकारलाई
‘कूटनीतिक नोट’ पठाएको कान्तिपुर दैनिकमा खबर छ ।
नेपालमा रहेका तिब्बती समुदायबाट ‘स्वतन्त्र तिब्बत’ अभियानका गतिविधि हुँदै आएको भए पनि आत्मदाह गरेर मृत्यु बेहोर्ने डुक्चे पहिलो व्यक्ति हुन् । गत बुधबार बौद्धनाथ परिसरमा आफ्नो जीउमा पेट्रोल खन्याएर आगो झोसेपछि भेटिएका डुक्चेलाई स्थानीय प्रहरीले तत्काल शिक्षण अस्पताल पुर्याएका थिए । उपचारका क्रममा त्यही रात उनको निधन भएको थियो ।
‘बौद्धमा भएको आत्मदाहको घटना सार्वजनिक चासोको विषय बनेको छ,’ काठमाडौंस्थित चिनियाँ राजदूत याङ हाउलानले कान्तिपुरसँग भने, ‘बौद्ध दर्शनको सारतत्त्व प्रतिकूल र मानवीय नैतिकताविरुद्धको यो घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ शुक्रबार परराष्ट्र मन्त्रालयमा पठाइएको कूटनीतिक नोटमा तिब्बती गतिविधिको बढ्दो प्रभाव र सुरक्षा रणनीतिबारे जिज्ञासा राखिएको छ ।
‘नेपाल एक चीन नीति पक्षमा दृढ छ र यस्ता घटनाहरू नियन्त्रण गर्नमा सक्षम छ भन्ने मलाई लाग्छ,’ कूटनीतिक भाषामै राजदूत हाउलानले भनेका छन् । तिब्बती स्वतन्त्रता दिवसका अवसरमा चिनियाँ शासनविरुद्ध आत्मदाह गर्ने योजनामै चीनको सिन्चुवान प्रान्तबाट गत माघ ८ मा काठमाडौं भित्रिएका डुक्चेले आकस्मिक रूपमा आत्मदाह गरेका थिए । मार्च १० मा पर्ने तिब्बत स्वतन्त्रता दिवसलाई ध्यान दिएर स्थानीय बौद्ध प्रहरीले सक्दो सुरक्षा सतर्कता अपनाइरहेको रिपोर्ट गृह मन्त्रालयमा पठाइरहेका बेला आत्मदाहसम्बन्धी खबर बाहिर आएको थियो । यो घटनालगत्तै तिब्बतबाट अनधिकृत रूपमा नेपाल प्रवेश गर्ने नाकाहरू तथा रसुवा र सिन्धुपाल्चोक सीमामा खुलेको परिचयबिना स्वतन्त्र आवागमनमा कडाइ गर्न लगाइएको छ ।
हाल काठमाडौं, रसुवा, बागलुङ, कास्की, मुस्ताङ र सोलुखुम्बु जिल्लामा रहेका शिविरहरूमा झन्डै ३० हजार तिब्बती शरणार्थी रहेको अनुमान छ । राष्ट्रसंघीय शरणार्थी आयोग, नेपाल सरकार र आप्रवासित तिब्बती समुदाय प्रतिनिधिबीच सन् १९९० मा भएको ‘भद्र सम्झौता’ अनुसार नेपाल आउने कुनै पनि तिब्बती नागरिकलाई अध्यागमन हुँदै शरणार्थी उच्चायुक्त कार्यालयसमक्ष बुझाउनुपर्ने छ । कार्यालयले गर्ने कागजी प्रक्रियापछि यी तिब्बतीले भारतको धर्मशालासम्मको यात्रा तय गर्न सक्छन् ।