तानाशाही लाद्न पनि उचित रणनीति, सुझबुझ र चलाखी आवश्यक हुन्छ। जुन ज्ञानेन्द्रमा पटक्कै थिएन। ल्याङ्गल्याङ्गे पाराले तानाशाही लादिँदैन। इतिहास हेर्ने हो भने जंगबहादुर राणा र राजा महेन्द्रले त्यस्तो सुझबुझ अपनाएको देखिन्छ। तत्कालीन राजनीतिक शक्तिलाई उनले राम्रैसँग छामेका थिए। राजा भएकै हुनाले आलोचना गर्ने भए बेग्लै कुरा, नत्र देशविकासको वास्तविक सोच र रणनीति भने महेन्द्रसँग थियो। योजनावद्ध विकासको जग हाल्ने काम उनैले गरेका हुन्। भूमि सुधारको कुरा होस् कि पूर्वपश्चिम राजमार्ग, शिक्षाको कुरा होस् कि वातावरण संरक्षणको; भारत र चीनसँग समदूरी राख्ने कुरा होस् कि संयुक्त राष्ट्र
संघमा सदस्यता पाउने कुरा- उनको दूरदर्शीपूर्ण रणनीतिको प्रशंसा गर्नैपर्छ। भलै उनका पनि कमजोरी थिए। तर अहिले र पछाडि फर्किएर हेर्ने हो भने इतिहासमा उनी जस्तो ‘नेता’पाउन गाह्रै छ। बरु विदेशमा शिक्षा पाएका छोरा वीरेन्द्रको भिजन सून्य थियो। उनले महेन्द्रको विरासत थाम्नुबाहेक खासै कुनै नयाँ कुरा केही गर्न सकेनन्। ज्ञानेन्द्रको त देखिहालियो।
ज्ञानेन्द्रले तुलसी गिरी र कीर्तिनिधि विष्ट जस्ता आउटडेटेड मान्छेलाई उपाध्यक्ष बनाएर आफ्नो मन्त्रिमण्डलमा राखे। उनीहरुकै पुरातन विचार र रणनीतिले आखिर उनलाई डुबायो। खासमा उनले असोज १८ पछि नै भएका दलका नेताहरुको नाडी छामेर, उनीहरुलाई फुटाएर, उनीहरुको साथ लिएर आफ्नो सक्रिय शासन अघि बढाउनु पर्ने थियो। प्रकाश कोइराला र राधाकृष्ण मैनाली जस्ता मान्छेलाई बोकेर हैन, माधव नेपाल र शेरबहादुर देउवाजस्ता नेतालाई प्रयोग गर्न सक्नुपर्थ्यो। माघ १९ पछि माधव नेपाललाई देखाउनको लागि प्रधानमन्त्री बनाएरमात्रै भए पनि आफ्ना कामहरु गरेको भए स्थिति अर्कै हुनसक्थ्यो। मोबाइल, इन्टरनेट बन्द गरेर चिढ्याउने हैन कि केशव स्थापितले भनेको कुरा हावै जस्तो लाग्ने भए पनि लभपार्क बनाइदिएर युवालाई देखाइदिनुपर्थ्यो। अपरिपक्व रुपमा चाइना कार्ड खेलेर हैन, आतंकवादविरुद्ध अमेरिकाको नेतृत्वमा भइरहेको विश्वव्यापी अभियानलाई साथ दिए जस्तो गरी अमेरिका, भारत र चीनको समर्थन र सदभाव बलियोसँग बोकेर माओवादीलाई निमिट्यान्न पार्नसक्नुपर्थ्यो।
न उनले दलहरुको फुट र नेताहरुको पदलोलुपतालाई पिता महेन्द्रले जस्तो उपयोग गर्न सके। उल्टै उनको कदमले विपक्षीहरुलाई एकजुट बनाइदियो। न अन्तर्राष्ट्रिय सम्बन्धको रणनीतिक विश्लेषण गर्न सके। न आफूले भन्दै आएको माओवादी आतंकवादविरुद्ध दह्रोसँग केही काम गर्न सके। न देश र जनतालाई प्रत्यक्ष लाभ हुने काम केही गर्न सके। यदि राजा महेन्द्रको जस्तो दूरदर्शीपना र रणनीतिक हिसाबले सोच्न सक्ने क्षमता ज्ञानेन्द्रको भइदिएको भए र यदि उनलाई दरिला सहयोगीहरुले साथ दिएको भए उनले माघ १९ मा मागेको ३ वर्षमात्र हैन, ३० वर्षसम्म शासन चलाउन सक्थे। तर आफ्नै र आसेपासेको कुसल्लाहले समेत ज्ञानेन्द्रलाई डुबायो।
अहिले पनि उस्तै
अहिलेको स्थिति पनि झण्डै ज्ञानेन्द्रले सत्ता हत्याउँदाको स्थिति जस्तै छ। राष्ट्रपति रामवरण यादवलाई राजा ज्ञानेन्द्र मानौँ, बाबुराम भट्टराईलाई देउवा मानौँ। संसद छैन। निर्वाचन हुन सकेको छैन। कांग्रेस र एमाले त्यतिबेला जस्तै जनताबाट नपत्याइएका सडकमा रहेका शक्ति। ज्ञानेन्द्रको जस्तो विरासत र अलग शक्ति राष्ट्रपतिसँग छैन। राष्ट्रपतिलाई बाबुरामलाई बर्खास्त गर्न सुझाव दिनेहरु छन्। ज्ञानेन्द्रले जस्तै मेरो काम टुलुटुलु हेरी बस्ने मात्र हैन भन्दै बाबुरामलाई बर्खास्त गरी सुशील कोइराला वा अन्य कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाइदियो भने के होला ? राष्ट्रपति आफैले कार्यकारी अधिकार लियो भने के होला ? दोहोरो सत्ताको स्थितिमा बाबुरामलाई सेना र कर्मचारी प्रशासनले साथ दियो भने राष्ट्रपति शितलनिवासबाट बाहिरिनुपर्ने स्थिति आउन सक्छ। राष्ट्रपतिलाई साथ दियो भने माओवादी सडकमा आउनेछ। दक्षिणको आशीर्वाद बाबुरामलाई रहेको अवस्थामा म्यादे वक्तव्यसमेत जारी गर्न नसकेको स्थितिमा त्यसो होला त ? त्यसो नभए पनि के त ? नियमित बजेट आउन सक्ने स्थिति छैन, अध्यादेशहरु पारित हुन सकिरहेका छैनन्। यथास्थिति कायम रहँदा पनि निकास आउन सक्दैन। त्यसो भए यो डेडलकको स्थितिको निकास के त ? परिस्थितिले देश तानाशाही व्यवस्थातिर उन्मुख हुने देखाइरहेको छ। तर त्यो तानाशाहीपना दूरदर्शीपूर्ण हुने हो कि उही ज्ञानेन्द्रको पाराको हुने हो- भन्न सकिन्न।
By Salokya,