CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ल आयो हजुर पेस्तोल पेस्तोल पेस्तोल, सस्तोमा हजुर !

ल आयो हजुर पेस्तोल पेस्तोल पेस्तोल, सस्तोमा हजुर !


१० हजारमै पाइन्छ पेस्तोल

राजधानीमा सस्तोमा पेस्तोल किन्न पाइन्छ, त्यो पनि सजिलै । 'होममेड' कटुवा पेस्तोलहरू दशदेखि १५ हजारमै काठमाडौंमा सजिलै किन्न पाइने प्रहरी अधिकारीहरू बताउँछन् ।
आधुनिक पेस्तोलहरू भने ४० देखि ५० हजारको हाराहारीमा राजधानीमा बिक्री हुने गरेको प्रहरीको भनाइ छ । धेरैजसो पेस्तोल यही मूल्यमा
कारोबार हुने गरेको छ । 
सिन्धुली घर भई महोत्तरी बस्ने दुर्गामान लामा ३५ हजारमा पेस्तोल खरिद गरी बिक्रीका लागि भनेर पुसको तेस्र्रो साता काठमाडौं आए । पेस्तोलमा १०/१५ हजार नाफा हुने आशले मेड इन इटाली लेखिएको म्याग्जिन र गोलीसहितको पेस्तोल लिएर काठमाडौं आएका थिए । तर, उनले पनि ग्राहकलाई पेस्तोल बेचेर पैसा हात पार्न सकेनन् । गत २० पुसमा केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले उनलाई पक्राउ गर्‍यो । अहिले उनी जेल चलान भइसकेका छन् ।
सिआइबीका डिएसपी दिनेश आचार्यका अनुसार काठ व्यवसायमा संलग्न लामाले भारतबाट अर्का एक साथीसँग मिलेर आफूले पेस्तोल ल्याएको बताएका छन् । महानगरीय प्रहरी आयुक्त एआइजी नवराज ढकालले पनि खुला सिमानाका कारण साना हतियारको कारोबार नियन्त्रण गर्न गाह्रो भएको बताए । 
करिब १० प्रतिशत अपराध रोक्न मात्र प्रहरी सफल हुने र ९० प्रतिशतमा अपराधी आफ्नो उद्देश्यमा सफल हुने गरेको प्रहरीलाई आरोप लाग्ने गरेको छ । प्रहरी अधिकारीहरू पनि यो कुरा स्वीकार गर्छन् । यसले राजधानीलगायत देशका विभिन्न क्षेत्रमा साना हतियारको कारोबार कसरी मौलाउँदै गएको छ भन्ने प्रस्ट हुन्छ ।


५० हजार दिनुस्, पेस्तोल लिनुस्


मोरङको इटहरा घर भई कोटेश्वरमा बस्दै आएका सन्तोष दंगाल पेसाले विद्यार्थी हुन् । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत दंगालको अर्काे एउटा धन्दा पनि छ- कसैले किन्न खोजे भनेजस्तो पेस्तोल मिलाइदिने । 
दंगालको हातमा करिब एक महिनाअघि एउटा अत्याधुनिक पेस्तोल पर्‍यो । कोटेश्वरमा सँगै बस्ने साथी विनोद विसुंखेले उनलाई म्याग्जिन र नौवटा गोलीसहितको पेस्तोल दिएका थिए । कसैको हत्या गर्नका लागि नभई बिक्रीका लागि त्यो पेस्तोल उनले लिएका थिए । सो पेस्तोल बेचेबापत पाँच हजार कमिसन उनले पाउँथे । त्यही पाँच हजारका लागि उनले ग्राहक खोजे र लामो बार्गेनिङपछि ७० हजारमा पेस्तोल किन्ने 'डिल' भयो । सोही डिलअनुरूप उनी आफ्ना दुई साथी महेन्द्र भट्टराई र रविन विष्टसहित गत ९ माघमा छाउनी गए । पेस्तोल किन्न आएका व्यक्तिले पैसा देखाउँदै पेस्तोल देखाउन भने । पेस्तोल देखाएपछि ७० हजार रुपैयाँको बिटो हात पर्ने आशले उनले हतारहतार झोलाबाट पेस्तोल निकालेर देखाए । तर, उनले सोचजस्तो भएन । जब पेस्तोल किन्न आएका व्यक्तिले अर्काे पेस्तोल देखाउँदै आफूहरू प्रहरी भएको बताए । त्यसपछि उनको हातमा ७० हजारको बिटो होइन, हत्कडी पर्‍यो । 
अवैध रूपमा पेस्तोलको कारोबार हुन लागेको सूचना पाएपछि सादा पोसाकका सशस्त्र प्रहरी अधिकारीले ग्राहक बनेर उनीहरूलाई पक्राउ गरेका थिए । त्यसपछि दुई साथीसहित दंगाल प्रहरी खोरमा पुगेका थिए । अनुसन्धान गर्दा आफूलाई बिनोद विसंुखेले बिक्रीका लागि सो पेस्तोल दिएको बयान दिए । भोलिपल्ट विसंुखे पक्राउ परे । त्यो पेस्तोल विसुंखेको पनि थिएन । उनलाई अर्का साथी आयुष लामाले बेच्नका लागि भनेर सो पेस्ताल दिएका थिए । पछि प्रहरीले दुवैजनालाई पक्राउ गर्‍यो । यतिखेर पाँचैजना महानगरीय प्रहरी वृत्त बालाजुको हिरासतमा छन् । 
वृत्तका प्रमुख डिएसपी राजेश बास्तोलाका अनुसार आयुष लामाले सो पेस्तोल भारतबाट केही महिनाअघि ल्याएका थिए । 'लामाले पहिला पनि यसरी भारतबाट पेस्तोल ल्याई पटकपटक बेचिसकेको हुनसक्ने हाम्रो अनुमान छ,' डिएसपी बास्तोलाले भने । उनी पहिला पनि विभिन्न किसिमको अपराधमा मुछिइसकेका व्यक्ति हुन् । राजधानीमा कसरी पेस्तोलको कारोबार हुन्छ भन्ने कुरा पछिल्लो यो घटनाले पनि प्रस्ट भएको छ । आधुनिक पेस्तोल भएकाले दंगालको समूहले ७० हजारमा बिक्री गर्न लागेको थियो । 



साना हतियारको बिगबिगी

गुन्डागर्दीमा संलग्न धेरै युवासँग साना हतियार रहेको प्रहरी स्रोत बताउँछ । विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा विद्यार्थीसम्म साना हतियार पुगिसकेको प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी केशव अधिकारीका अनुसार आर्थिक वर्ष ०६८/६९ मा प्रहरीले दुई सय ४९ वटा साना हतियार बरामद गरी दुई सय ६५ जनालाई पक्राउ गरेको छ । त्यस्तै, गत साउनयता ८६ वटा साना हतियार बरामद गरी ९९ जना पक्राउ परेका छन् । साना हतियार तराईका जिल्ला र उपत्यकामा धेरै रहेको प्रहरी अधिकारी बताउँछन् । 

भारतबाट आउँछन् बढी हतियार

नेपालमा आउने ९५ प्रतिशत साना हतियारको स्रोत भारत नै हुने गरेको प्रहरी अधिकारी बताउँछन् । भारतमा साना हतियारको सहज कारोबार र खुला सिमानाका कारण भारतबाट सजिलै नेपालमा साना हतियार फैलँदै गएका छन् । त्यसमा १० हजारदेखि दुई लाख रुपैयाँ पर्ने हतियारसम्म रहेको स्रोत बताउँछ ।
भारतमा बनेका पेस्तोललाई 'मेड इन इटाली', 'मेड इन युएसए'लगायतका नाम राखेर महँगोमा नेपालमा बेच्ने गरिएको प्रहरीको भनाइ छ । एक उच्च प्रहरी अधिकृत भारतका विभिन्न स्थानमा अवैध रूपमा हतियार उत्पादन गर्ने कारखाना नै सञ्चालनमा रहेको बताउँछन् । नेपालमा भित्रिने पेस्तोल तिनै कारखानामा बनेका हुन् । 
यसबाहेक कतिपय चीन, अमेरिका, इटालीलगायतका देशमै बनेका पेस्तोल पनि काठमाडांैसम्म आइपुग्ने गरेका छन् । चीनमा बनेका पेस्तोल पनि कहिलेकाहीँ सिन्धुपाल्चोक र रसुवा नाका भएर भित्रिने गरेका छन् 
साना घरेलु बन्दुकहरू पनि प्रहरीले बरामद गर्ने गरेको छ । तर, त्यस्ता बन्दुक भने तराईकै विभिन्न जिल्लामा बन्ने गरेको प्र्रहरीको भनाइ छ । काठमाडौंमा भने ठमेल क्षेत्रमा सबैभन्दा धेरै साना हतियारको कारोबार हुने गरेको प्रहरी बताउँछ । 
नेपालमा धेरै बरामद हुने साना हतियारमा कटुवा पेस्तोल, सिक्सर र अत्याधुनिक पेस्तोल छन् । प्रहरीका अनुसार कटुवा पेस्तोल भारतको रक्सोललगायतका क्षेत्रमा चार हजारदेखि ६ हजार रुपैयाँमा किन्ने गरिन्छ । त्यसलाई तराईमा ल्याएर आठ हजारदेखि १० हजार र काठमाडौंमा १५ देखि २० हजारमा बिक्री गरिन्छ ।
त्यसैगरी सिक्सर पेस्तोल भारतमा १० हजारदेखि १२ हजार खरिद गरी तराईमा ३० देखि ४० हजारसम्म बिक्री गर्ने गरिन्छ । सोही पेस्तोललाई काठमाडौंमा ५०/६० हजारमा बिक्री गर्ने गरिन्छ । यसैगरी आधुनिक पेस्तोल भारतमा २० देखि ३० हजारमा खरिद गरी तराईमा ३५ देखि ५० हजार र काठमाडौंमा त्यसलाई एक लाखसम्म बिक्री गरिन्छ । 
साइलेनसरजडित अत्याधुनिक पेस्तोल पनि काठमाडौंमा कारोबार हुने गरेको प्रहरीको भनाइ छ । जसको दुई लाखसम्ममा कारोबार हुने गरेको छ । 

कसरी हुन्छ हतियारको कारोबार ?

महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अध्ययनअनुसार काठमाडौंमा हतियार कारोबार गर्ने तीनतहको गिरोह छ । पहिलो गिरोहमा भारतीय नागरिक छन् । जसले भारतमा हतियारको कारोबार गर्ने भूमिगत संगठनको सम्पर्कमा नेपालमा हतियार बेच्ने गर्दछ । खासगरी बिहारको भागलपुर र उत्तरप्रदेशको रामवरेतीबाट नेपालमा हतियार भित्रने गरेको छ । यसरी भारतबाट नेपाल हतियार ल्याएर तराईका विभिन्न स्थानमा लुकाउने गिरोह सक्रिय छन् । खासगरी गौर र वीरगन्ज नाकाबाट हतियार भित्रने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । तराईका सबैजसो नाकाबाट साना हतियार भित्रने गरेको छ । 
सिमानामा सशस्त्र प्रहरीको ४० वटा बोर्डर आउटपोस्ट र नेपाल प्रहरीकै पनि ठाउँठाउँमा सीमा सुरक्षा चौकी छन् । तर, भारत र नेपालबीच हजार किमिभन्दा लामो खुला नाकामा त्यति थोरै संख्यामा रहेको प्रहरीले चेकजाँच गर्नु असम्भवजस्तै छ । जसको फाइदा हतियार कारोबारीले उठाइरहेका छन् । 
तराईका विभिन्न जिल्लालाई 'ट्रान्जिट' बनाएर ती समूहले काठमाडौंलगायत विभिन्न सहरमा सम्पर्कमार्फत हतियार बेच्ने गरेका छन् । जसमा तराईमा सक्रिय विभिन्न सशस्त्र समूह र गुन्डागर्दीमा आबद्ध व्यक्ति छन् । कारोबारीले तराईबाट काठमाडौंसम्म हतियार पठाउन भरियाको प्रयोग गर्ने गर्दछन् । हतियार कारोबारमा भरियाको प्रयोग हुने भएका गिरोहका नाइकेहरू सुरक्षित हुने गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसरका एक अधिकृतका अनुसार ड्राइभर र खलासीलाई उनीहरूले हतियार ओसार्न 'भरिया'का रूपमा प्रयोग गर्दै आएका छन् । हालसम्म प्र्रहरीले हतियारसहित पक्राउ परेका व्यक्तिमा त्यस्तै 'भरिया' र हतियार किन्ने गुन्डागर्दीमा संलग्न व्यक्ति धेरै छन् । केही भारतीय 'डन'का व्यक्ति पनि यस्तो कारोबारमा संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । 
माओवादीका थुप्रै नेता कार्यकर्तासँग पनि अवैध हतियार रहेको प्रहरीको दाबी छ । द्वन्द्वकालमा माओवादीसँग भएका कतिपय हतियार हाल पनि उनीहरूसँग रहेको र त्यसको खरिद-बिक्रीसमेत हुने गरेको प्रहरीको आशंका छ । 
कारोबारीले 'भरिया'लाई काठमाडांैसम्म हतियार बेच्न पठाउँदा पनि प्रहरीलाई झुक्याउने विविध तरिका अपनाउने गरिएको छ । प्रहरीले गरेको अध्ययनअनुसार दुई किसिमबाट काठमाडौंमा हतियार भित्रिने गरेको छ । पहिलो तरिका भनेको चामल, चिनी, सिमेन्ट तरकारीजस्ता सामानमा लुकाएर ल्याइने गरेको छ । चिनी तथा चामलको प्रत्येक बोराभित्र चेकजाँच गर्न असम्भव हुने गरेकाले उनीहरूले सहजै काठमाडौंमा हतियार भित्र्याउने गरेका हुन् । तुलनात्मक रूपमा थानकोटमा भन्दा फर्पिङ, जगातीमा कमजोर सुरक्षा जाँच हुने भएकाले हतियार कारोबारीले फर्पिङ नाकालाई रोजेको प्रहरीको भनाइ छ ।
साना हतियार कारोबारीले टुक्रा बनाएर विद्युतीय सामग्रीका रूपमा भित्र्याउने र काठमाडौंमा ल्याएर जोड्ने पनि गरेका छन् । पेस्तोलको बनावट सरल हुने भएकाले त्यस्तो तरिका अपनाउने गरिएको हो । 

कसले किन्छ हतियार ?

भारतबाट आउने हतियार काठमाडौंमा किन्ने तीन किसिमका व्यक्ति छन्- गुन्डागर्दीमा संलग्न, अवैध कारोबार गरेर आर्थिक सम्पन्न गरेका व्यापारी र कलेज पढ्दै गरेका युवाहरू । गुन्डागर्दीमा संलग्न व्यक्ति टेन्डर हात पार्नदेखि, व्यापारीसँग रकम असुलीजस्ता काममा संलग्न हुने गर्दछन् । पेस्तोलकै भरमा उनीहरूले अवैध धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ । हाल राजधानीमा चिनिएका डनका प्रत्येकजसो सदस्यसँग पेस्तोल हुने गरेको छ । तर, प्रहरीको सक्रियतापछि उनीहरूले पेस्तोल बोकेर लुकाएका छन् ।
यसैगरी जग्गा दलालीजस्ता कामबाट नवधनाढ्य बनेका व्यक्तिमा पनि पेस्तोल राख्ने प्रवृत्ति बढ्दै छ । अपराधभन्दा पनि सोखका दृष्टिकोणले उनीहरूले हतियार बोक्ने गरेको बताइन्छ । 
यसैगरी कतिपय युवा तथा विद्यार्थीमा पनि पेस्तोल बोक्ने फेसन देखिएको छ । राजधानीको त्रि-चन्द्र क्याम्पसमा हरेक वर्षजस्तो गोली हानाहान हुने गरेको छ । यसले विद्यार्थी नेताहरूसम्म पेस्तोलको पहुँच सहज रहेको पुष्टि हुने प्रहरीको भनाइ छ । 

पेस्तोलको सूचना दिनेलाई पैसाको प्रस्ताव


साना हतियारको प्रयोग र कारोबार नियन्त्रणका लागि सूचना दिनेलाई प्रहरीले पैसा दिने प्रस्ताव गरेको छ । तर, उच्च अधिकारीले त्यसमा असहमति जनाउँदा प्रस्ताव कार्यान्वायनमा आउन सकेको छैन ।
नेपाल प्रहरीको कार्यविभागले करिब ६ महिनाअघि साना हतियार नियन्त्रण कार्ययोजना गृह मन्त्रालयमा बुझाउँदै सूचना दिनेलाई प्रोत्साहन रकम दिने प्रस्ताव गरिएको थियो । बरामद भएको हतियारको अन्दाजी लागतअनुसार सूचना दिनेलाई पैसा दिने तथा प्रहरीलाई पनि पुरस्कृत गरिने प्रावधानसहितको प्रस्ताव पेस गरेको थियो । पैसा नभई जोखिम मोलेर कसैले सूचना नदिने भएकाले भन्सारमा चोरीका सामानमा जस्तै साना हतियारको सुराकी दिने औपचारिक रूपमै पैसा दिने प्रस्ताव गरिएको हो । 
तर, गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव अझै अघि बढाएको छैन । सो प्रस्तावमा हाल प्रहरी नेतृत्वले पनि खासै चासो देखाएको छैन । 
कार्ययोजना प्रस्तावमा साना हतियारको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरीमा छुट्टै कोष बनाएर त्यसबाट खर्च गरिने उल्लेख छ । साना हतियार नियन्त्रण गर्दा शान्ति सुरक्षाको अवस्था पनि सुधार हुने भएकाले त्यसका लागि सरकारले खर्च गर्नुपर्ने प्रस्ताव प्रहरीको छ । 

थन्काइए रिपोर्ट

उपत्यकामा भएका हाइप्रोफाइल हत्यापछि साना हतियारको नियन्त्रणका लागि प्रहरी अधिकारीबीच निकै छलफल हुने गर्छ । तर, जब घटना सेलाउँदै जान्छ, यसमा प्रहरी र सरकारको चासो पनि हराउँदै जाने गरेको छ । 
जमिम शाह हत्यादेखि युनुस अन्सारी हत्या प्रयास तथा फैजान अमहद, न्यायाधीश रणबहादुर बमको हत्याको सम्बन्धमा गठन भएका छानबिन समितिले साना हतियार नियन्त्रणका लागि विभिन्न सुझाब दिएका थिए । उपत्यकाको प्रमुख नाकामा 'एक्सरे गेट' राख्नेलगायतका सुझाब त्यसमा छन् । तर, न्यायिक छानबिन आयोगका कुनै पनि सुझाब पालना गरिएको छैन । 
उपत्यकामा छिर्ने कुनै-कुनै गाडीमा मात्र चेकजाँच हुने गरेको छ । प्रहरीले 'म्यानुअल्ली' चेकजाँच गर्दा नाकामा हालसम्म साना हतियार बरामद गर्न सकेका छैनन् । तर, उपत्यकामा भने नियमित रूपमा साना हतियार भित्रिरहेका छन् । गाडीका विभिन्न कुनामा राखेर साना हतियार कारोबारीले सजिलै देशभर पुर्‍याउन सक्छन् । नियामक निकाय प्रहरीको संयन्त्र कमजोर हुँदा कारोबारीहरूको हौसला बढ्दै गएको छ ।



नवराज मैनाली/नयाँ पत्रिका
काठमाडौं, १९ माघ

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis