अपराधसम्बन्धी रिपोर्टिङ् गररिहँदा एक अपराह्न चिनजानका एक मित्रले सोधे, "सहरका नयाँ डनसँग भेट्ने हो ?" प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका उनीसँग भेट्ने कि नभेट्ने दोधारमा रहेका बेला ठट्टैठट्टामा एक प्रहरी वरिष्ठ उपरीक्षकसँग सोधेँ, "कुनै डनसँग सञ्चारकर्मीले भेट्नु राम्रो कुरा हो र ?" उनले पनि ठट्टैमा जवाफ दिए, "प्रहरीसँग डन भेट्ने भिसा माग्ने ?"
नयाँ डन रमेश बाहुनसँग भेट्ने भिसा त प्रहरीसँग नभई नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीसँग पो रहेछ। उनलाई भर्खरै पार्टी प्रवेश गराएर ओलीले आफ्नो डनवादी कम्युनिस्ट नेताको छविलाई छर्लंग बनाएका छन्। विराटनगरका डन पर्शुराम बस्नेतलाई ओलीको भरथेग रहेको तथ्य त यसअघि सार्वजनिक भइसकेकै हो।
डन शैलीकै युवा संघ अध्यक्ष महेश बस्नेतको ओलीसँगको हिमचिम खासै टाढाको होइन। अब पार्टीको आसन्न महाधिवेशनमा 'नयाँ डनवादी', 'नौलो डनवादी' या 'जनताको बहुदलीय डनवादी' कुनै नाम दिएर पार्टी लाइन र कार्यदिशा ल्याएर अध्यक्ष पदमा पल्ला भारी बनाउने ओलीको रणनीतिक योजना पो हो कि यो !