तीतो-सत्यको पहिलो भागदेखि ४ सय ९९ भाग सम्म अभिनय गर्ने सबै कलाकारलाई सम्मान गरेपछि प्रारम्भ भएको मनोरञ्जक कार्यक्रमको प्रारम्भमा व्यंग्य कवि शैलेन्द्र सिम्खडाले 'तीतो-सत्य' माथि नै रोचक तथा घोचक व्यंग्य मात्र गरेनन्, सामाजिक तथा राजनैतिक व्यंग्यमार्फत देशको वर्तमान अवस्थाको चित्रणसमेत गरे। जिरे खुर्सानीका एक निर्देश्ाक जितु नेपालले स्ट्यान्ड-अप प्रस्तुतिमार्फत तीतो-सत्यका दुई प्रमुख कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाका सम्बन्धको चर्चामात्र गरेनन्, राजनैतिक दलका नेताहरूको क्यारिचेरसमेत प्रस्तुत गरे। आफ्नो प्रस्तुतिका क्रममा जीतुले हास्य कलाकारहरूको एकताको उदाहरण प्रस्तुत गर्दै भने— 'हाम्रा तीन कार्यक्रम पनि तीन दलभन्दा कम छैनन्, हामीबीच पनि प्रतिस्पर्धा छ तर प्रतिस्पर्धी कार्यक्रमको ५ सय भाग पुगेको अवसरमा हामी सबै जना एकजुट भएर एउटै मञ्चमा प्रस्तुत भएका छौं।'
कार्यक्रममा तीतो-सत्यका निर्देश्ाक दीपकराज गिरी तथा कलाकार दीपाश्री निरौलाले रमाइलो प्रस्तुति दिँदै आठ महिनासम्म कार्यक्रमको पारिश्रमिक दिन नसकेको मिडिया हबलाई नै व्यंग्यको विषय बनाए। कार्यक्रममा जिरे-खुर्सानीका शिवहरि पौडेल, किरण केसी तथा सविता गुरुङले प्रस्तुत गरेको प्रहसन तीतो सत्यप्रति नै लक्ष्ाित थियो। मेरी बास्सैका सीताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तलीले 'रामविलास र धनियाँ' को झझल्को दिँदै आफ्नो प्रस्तुतिलाई दीपकराज र दीपाश्रीप्रति समर्पित गरे।
हास्यव्यंग्यबीचको सांगीतिक कार्यक्रमले पनि पर्याप्त मनोरञ्जन प्रदान गर्यो। गायक रामकृष्ण ढकाल लता मंगेसकरसँग आफूले गाएको 'बा ँचुन्जेललाई...' गीत गाउन स्टेजमा उक्लँदा महिला स्वरका लागि उनकै छोरी रानी ढकाल प्रस्तुत भइन्। कार्यक्रममा शिव परियारले क्या दामी भो गाए भने प्रमोद खरेलले 'तीतो-सत्य' को नयाँ शीर्षक गीत सुनाए। कार्यक्रममा दीपकराजकी छोरी मौसमी गिरीको नृत्य पनि आकर्षक रह्यो। तीतो सत्यकै लाजालाम अर्थात् आरपी भट्टराईले माली गाईको घिउ गाएर स्टेज तताए भने हेमन्त रानाले लैजा रे गाएर दर्शकको मन जिते। राज आचार्य र जेसिका, राजेश केसी र लक्ष्मी केसी, शंकर बिसी र पार्वती राईको नृत्य पनि कार्यक्रमको आकर्षण रहे। कार्यक्रमकै बीचमा रेडियो अडियोले उपहारका रूपमा प्रदान गरेको तीतो-सत्य अंकित ठूलो आकारको केक स्टेजमै काटियो। कार्यक्रममा समाजको हिरो भन्दै हृदय रोग विशेषज्ञ डा. भगवान कोइराला, पूर्व ऊर्जामन्त्री गोकर्ण विष्ट तथा एसपी रमेश खरेललाई सम्मानित गरियो। एसपी खरेल अनुपस्थित उक्त कार्यक्रममा सम्मानित दुई व्यक्तित्वलाई बग्गीमा चढाएर हलभित्र प्रवेश गराइएको थियो।
-साभार साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !