CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » तक्मे बुढोको हृदयस्पर्शी कथा

तक्मे बुढोको हृदयस्पर्शी कथा


आमाको मृत्यु दर्ताको प्रमाणपत्र लिने क्रममा स्थानीय गाविस पदाधिकारीले दिएको जवाफ अहिले पनि उनको कानमा गुन्जिरहेको छ। घर जग्गा नभएको मानिसलाई किन मृत्यु दर्ताको प्रमाणपत्र चाहियो ? मृत्युपछिको आमाको नासो मानेर मागिएको प्रमाणपत्र नपाउँदाको त्यो पीडा बिर्साउन मेरी बास्सैका तक्मे बूढा अर्थात् विल्सन चाँडै काठमाडौंमा घर किन्ने तयारी गर्दैछन्। त्यसपछि घरजग्गा सहितको गतिलो प्रमाण बोकेर उनी आमाको मृत्यु दर्ताको प्रमाणपत्र खोज्न स्थानीय निकायमा पुग्ने योजनामा छन्। उनी नौ वर्षका मात्र थिए, आमाले यो संसार छोड्दा। परिवारका नाममा भएको सम्पत्ति सकिने गरी उपचार गर्दा पनि आमालाई बचाउन नसकेको अवस्था एकातर्फ थियो भने अर्कातर्फ उनीभन्दा मुनिका दुई साना बहिनीको लालनपालनको जिम्मेवारी पनि उनैले बहन गर्नु थियो।  

एकदिन सानी बहिनीले आमा खोजिन्, विल्सनले सुनेको जवाफ दिए, आमा स्टार अर्थात् तारा बन्नुभयो नानी, अब हामीले आमालाई देख्न सक्छौं तर आमाले हामीलाई देख्न सक्नुहुन्न, आमाले देख्ने बन्न स्टार हुनुपर्छ। त्यसपछिको झन्डै दुई दशकको डेरा यात्रामा उनी आफैं आमा भेट्न स्टार बन्ने सपना देख्न थाले।  गत वर्षसम्म पनि विल्सनविक्रम राई नेपाली कलाकारिताको फाँटमा चिनिएको नाम थिएन, तर एक वर्षयता कार्यक्रमकै सिलसिलामा उनी २४ वटा मुलुक पुगिसकेका छन्। मेरी बास्सैमा तक्मे बूढाको चरित्रमा गरेको अभिनयले उनलाई एकाएक चम्किलो संसारमा स्थापित गराएको हो।  मेरी बास्सैको तक्मे बूढापछि सुरज सुब्बाद्वारा निर्देशित चलचित्र सायदले उनलाई सफलताको अर्को स्वाद चखायो। चलचित्र रिदमपछि उनले आधा दर्जन चलचित्रमा नायकका रूपमा काम गरिसकेका छन्। 

एक दशकभन्दा लामो समयदेखि उनी लगातार यो क्षेत्रमा आबद्ध रहँदै आएका छन्। 'धैर्यता नगुमाए दिन आउँदो रहेछ, म पनि बीचमा एकपटक नहुने रै'छ भनेर विचलित हुन लागेको थिए' विल्सन भन्दै थिए- 'क्लिक हुन समय लाग्यो।' लाहुरे पृष्ठभूमिका तक्मे बूढा गोर्खा सैनिकका रूपमा काम गर्ने हजारौं गोर्खाली वीरहरूका प्रतिविम्व हुन्। लाहुरे बूढाका रूपमा विल्सनले गरेको अभिनय अहिले पनि त्यससँग सम्बन्धित परिवारहरूका लागि आफ्नै कथा बनेको छ। 'मैले त एउटा चरित्रका रूपमा तक्मे बूढाको अभिनय गर्ने सोच बनाएको थिए, विल्सन भन्छन्- 'तर यो त ती हजारौं लाहुरेको रूप र रंगको कथा रहेछ।'  फकल्यान्डको टापुदेखि अफगानिस्तानको मरुभूमिसम्म लडिरहेका वीर गोर्खालीहरूमा आफ्नै लवजमा फुर्तिसाथ अनेक किस्सा सुनाउने बानी हामी गाउँघरमा देखिरहेका हुन्छौं। तक्मे बूढाका रूपमा विल्सनले त्यही भूमिका निर्वाह गरेका मात्र हुन्। उनी राम्रा गायक पनि हुन्। विल्सन भन्छन्- 'आगामी दिनमा म फरक-फरक भूमिकामा आफ्ना दर्शकलाई सन्तुष्टि दिने योजनामा छु। विल्सन तक्मे बूढाकै शैलीमा ठट्टा गर्दै भन्छन्- 'आखिर इमान, इज्जत र पेस्टिजको कुरा पनि त आउँछ नि हौं।' 

दुःखदायी बाल्यकाल

डिल्लीबहादुर राई र स्व. कमला राईका सुपुत्रका रूपमा ०४३ सालमा झापाको चारपानेमा जन्मिएका विल्सनका दुई बहिनी छन्। आमाको मृत्युपछि अध्ययनलाई नियमित रूपमा अघि बढाउन विल्सन असफल भए, उनका बुबाले सवारी चालक पेसा अँगाल्दै आएका छन्। ड्राइभरको छोरा भए पनि बिर्तामोडको स्थापित बोर्डिङ स्कुल लिटल फ्लावरमा अध्ययन गर्ने अवसर पाए। 'आमा बितेपछि मेरो स्कुले अध्ययन 'डिस्टर्ब' भयो,' विल्सनले सम्भिmए- 'बहिनीहरूका निम्ति खाना बनाउने, लत्ता-कपडा धोइदिने जस्ता काममा व्यस्त भए, होमवर्क गर्न नसकेपछि स्कुल बंकको श्रृंखला सुरु भयो।'  

राम्रो विद्यालयमा अध्ययन गरेको फाइदा अहिले देशविदेश पुग्दा आफ्ना साथीभाइ भेट्न पाएको तथा उनीहरूको राम्रो व्यवहार पाएको उनी सुनाउँछन्। मोटे गुरुजीका छोराका रूपमा परिचित विल्सनका सहपाठीहरू भने झापाका उच्च स्तरका कर्मचारी तथा सम्पन्न परिवारका सदस्य हुन्थे। 'ममीको इच्छा छोरालाई राम्रो स्कुलमा पढाएर ठूलो मान्छे बनाउने थियो,' नोस्टाल्जिक हुँदै विल्सनले भने- 'ममीको त्यो इच्छा पूरा गर्न म असमर्थ भए, तर चर्चित मानिस बन्ने हुटहुटीले मलाई कलाकार बनायो।'  

आमा बितेपछि दैवले आफूहरूलाई ठगेको महसुस गर्थे। आमा बितेको दिन उनले त्यो वर्षको क्यालेन्डर जलाएका थिए। 'म तनावमा हुन्थें, आफैं सानो थिएँ, अनि म भन्दा साना बहिनीहरू पनि थिएँ' भन्दा उनका आँखाका डिलमा आँसु भरिदै गए- 'बुबाले बाहिर हिँडिरहनुपथ्र्यो, अनि घर कसले सम्हाल्ने ?' मेरा निम्ति पढाइभन्दा घर सम्हाल्नु महत्वपूर्ण थियो। एसएलसी एपियर गरे पनि त्यसभन्दा अघि बढ्न सकिन्।' 

कलाकार बन्ने हुटहुटी

स्टार बन्ने सपनाकै कारण उनी कलाकारितातर्फ लागेका थिए। त्यति नै बेला लक्ष्मीनाथ शर्मा निर्देशित चलचित्र 'साथी' को सुटिङ बिर्तामोड आसपासमा भैरहेको थियो। उनी सुटिङ भएका हरेक स्थानमा पुग्थे। लगातार हप्ता दिन स्पटमा पुगेपछि उनले १० वर्षे उमेरमा बालकलाकारका रूपमा एक सट अभिनय गर्न पाए। राजेश हमालसँग त्यतिबेला बि्रटिस अंग्रेजीमै कुरा गरेको उनी अहिले पनि सम्झन्छन्। चलचित्रको लत बसेपछि उनी नबिराई बिर्तामोडमा प्रदर्शन हुने चलचित्र हेर्न जान्थे। साथी चलचित्रका निर्माता शेखर कोइरालाका छोरा संजोग कोइराला एउटै उमेरका भएकाले उनका साथी बनिसकेका थिए। उनले सिफारिस गरेपछि विल्सनले दीपक आलोकको चलचित्र परदेशीमा पनि सानो भूमिका पाए। 

त्यही समयमा विर्तामोडमा शिखर साँझको आयोजना भयो। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा गायक राम श्रेष्ठ कार्यक्रममा सहभागी थिए। राम श्रेष्ठले सि यु अन सन्डे गाउँदा स्टेजमा गएर विल्सनले उत्कृष्ट नृत्य प्रस्तुत गरे। मह जोडी उक्त नृत्यबाट प्रभावित भए, उनीहरूले आफू बसेको होटलमा लगेर उनलाई भोजन गराए। 'म पनि सानैमा आमा-बुबा गुमाएको व्यक्ति हुँ भन्दै उहाँहरूले माया गर्नुभयो' विल्सन सुनाउँदै थिए- 'मदन दाइ, किरण केसी दाइ पनि टुहुरो भएको र टुहुरोका दिन पनि आउँछ भनेर उहाँहरूले भनेको अहिले पनि सम्झन्छु।' महदेखि राजेश हमालका अघि पुगेर कुराकानी गरेको भनेर विल्सनलाई उनीहरूले काठमाडौं लादैछन् भन्ने व्यापक हल्ला चलेको पनि उनी सम्झन्छन्। उनी गाउँमा हुने पूजादेखि व्रतबन्ध पुराण बिहेसम्म, देउसी भैलोदेखि छठ पूजासम्मका कार्यक्रमहरूमा सरिक हुन थालिसकेका थिए। गाउनेदेखि अभिनय गर्ने, नाच्नेसम्मका क्रियाकलापमा उनी सक्रिय थिए। गाउँ, स्कुल, छिमेकी गाउँ हुँदै, जिल्ला र पूर्वाञ्चलभरि हुने विभिन्न कार्यक्रममा उनी आफ्नो प्रतिभा देखाउन अघि सर्थे। 

काठमाडौं प्रवेश

१५ वर्षे किशोर उमेरमा अब काठमाडौं जानुपर्छ, त्यहाँ पुगेपछि त कलाकार भैहालिन्छ भनेर उनले झापा छोड्ने निर्णय लिए। उनी काठमाडौं आए तर अब गर्ने के ? सहरमा दुई-चार दिन रल्लिएपछि एक जना दाइको सहारामा उनी डान्स रेस्टुराँ पुगे। काठमाडौंमा डान्स रेस्टुराँको ट्रेन्ड भर्खरै सुरु भएको थियो। सहरमा रात छिप्पिदै जाँदा उनी बानेश्वरको चम्किलो डान्स फ्लोरमा उत्रन्थे। 'कालो भादगाउँले टोपी मेरो शिरैमा ढल्केको' भुवन केसीको चलचित्र नेपाली बाबुको यो गीतमा उनले मोहक नृत्य प्रस्तुत गरेपछि स्टेजमा भरर पैसा झथ्र्यो। तर लक्ष्य अभिनय गर्ने थियो, रातभरि रेस्टुराँमा र दिनभरि कहाँ सुटिङ छ भन्ने कुरा खोज्दै उनी भौंतारिन्थे। 'चोभारमा सुटिङ हेर्थे, डाइरेक्टरहरूसँग म पनि कलाकार हुँ भनेर भेट्थे, नायक नायिकाहरूसँग पनि कुरा गर्थे' विल्सनले भने- 'दुई वर्ष यसरी नै वित्यो।' विल्सनका अनुसार रेस्टुराँमा कोरसका लागि कलाकार खोज्दै आउँथे, त्यसमा सबैभन्दा अगाडि उनी सर्थे, थुप्रै चलचित्रमा उनले कोरस डान्स प्रस्तुत गरे। एकपटक एक जना निर्देशकले चलचित्रमा अभिनय गर्ने अवसर दिने कुरा गरे। त्यसका लागि उनीसँगै तीन महिना बस्नुपर्ने सर्त थियो। 'भाइलाई राम्रो रोल निकालौंला, मसँग बस, मलाई खाना बनाउन, लुगा धुन सहयोग गर है' उनलाई के खोज्छस् कानो जस्तो लाग्यो। 'तीन महिना उसको घर सफा राख्ने, खाना बनाउने, भाँडा मोल्ने लगायतका सबै काम गरे, दिनभरि सुटिङमा सहयोग गर्ने र घर आएपछि घरको काममा भिड्ने, सुटिङ सकियो तर मेरो रोल निस्किएन।' निर्देशकले त्यो बेला भनेको कुरा पनि उत्तिकै गुन्जिरहन्छ- 'भाइलाई हिरोको साथी राखौं भने राम्रोसँग जुँगा पनि आएको छैन, वाल कलाकारका रूपमा अभिनय गराउँ भने तन्नेरी भैसक्यौ, त्यो पनि मिल्दैन, यसपटक रोल निकाल्नै गाह्रो भयो।' भाँडा मोलेर बिताएका ती दिनहरू सम्भिmएर थकथकिँदै उनी आफैं साइड लागे। एकातर्फ हरेकलाई भेटेर वा कोरसमा नाचेर पार नलाग्ने भैसकेको थियो अर्कातर्फ उमेर बढेकाले स्टेजमा पैसा पनि र्झन छोडेको थियो, उनी फेरि विरक्तिए। उनले झापा नै र्फकने निर्णय लिए। 

इस्टर्न प्यालेसको डान्सर

झापामा डान्स रेस्टुराँ इस्टर्न प्यालेस सञ्चालनमा आएको थियो। सञ्चालक राजेन्द्र लिङ्देनले डान्स रेस्टुराँमा नाच्ने-गाउने कामको जिम्मेवारी उनलाई दिए। प्यालेसमा काम गर्दा गर्दै लिम्बू भाषाको म्युजिक भिडियोका लागि एउटा युनिट सिक्किम जाने तयारीमा थियो। मेकअप म्यान र असिस्टेन्टका रूपमा उनलाई अफर गरियो। त्यही समयमा विल्सनले चलचित्रकर्मी सुवास मेचे र भीम मुखियासँगको सहकार्यमा चलचित्र पाण्डवको निर्देशन पनि गरे।  झापा छोडेर उनी पुनः काठमाडौं आए। त्यसपछि चलचित्रमा जे भेट्यो त्यही काम गर्न थाले। उनी प्रोडक्सन असिस्टेन्ट, डाइरेक्सन असिस्टेन्ट, क्लाप ब्वाइ लगायतका सबै काम गर्न तयार हुन्थे तर उनको एउटा सर्त हुन्थ्यो, हस मालिक वा पानी ल्याइदिनेजस्ता एकसिनका लागि भए पनि मौका दिनुपर्ने। गायक श्रीकृष्ण लुइँटेलसँग मिलेर च्यानल नेपालका निम्ति हास्यश्रृंखला आयो बोके दाह्रीका निम्ति पनि उनले काम गरे। यसबीच उनी स्टेजमा चढेर जोक्स सुनाउँदै हसाउने काममा पनि सक्रिय भैसकेका थिए। 

यहीबीच प्रज्ञा जोशीले निर्माण तथा योगेश घिमिरेले निर्देशन गरेको चलचित्र सम्झनाबाट अभिनयको अफर आयो। आयो बोके दाह्रीमा गरेको तेस्रोलिंगीको चरित्र सम्झनामा दोहोरिएपछि तेस्रोलिंगीको भूमिकाका लागि लगातार अफर आउन थालेको थियो। पछि तितो सत्यमा पनि तेस्रोलिंगी बनेर अभिनय गरे। 'तेस्रोलिंगीको भूमिका गर्दागर्दै मलाई सबैले तेस्रो लिंगी नै हो भन्ने थालेपछि भने म  डराए' उनले हाँस्दै भने- 'त्यही ट्रेडमार्क बस्ला भनेर त्यस्तो भूमिका सधैंलाई छोड्ने निर्णय लिए।' 'मलाई भ्रम हुन थालेको थियो, मलाई अब सबैले कलाकारका रूपमा चिन्न थाले जस्तो लाग्यो,' उनी भन्दै थिए- 'त्यसपछि मास्क लगाएर हिड्न थालें, पब्लिक प्लेसमा फेस गर्न गाह्रो हुन्छ भन्ने गफ दिँदै मास्कमा हिडिरहेको थिए, तर मलाई त आफ्नै छिमेकीले पनि कलाकारका रूपमा चिन्दा रहेनछन्। अब म सबैले चिन्ने गरी कसरी काम गर्ने होला भनेर सोच्न थालेको थिए।' विल्सनका अनुसार नेपाली कलाकारले मास्क लगाउनु भ्रम मात्र हो, अहिले सबैले चिन्ने भैसक्दा पनि उनी मास्क लगाउँदैनन्। पब्लिक प्लेसमा मास्क नलगाई हिँड्दा झनै स्नेह पाएको उनको अनुभव छ। विल्सन भन्छन्- 'कुखुरा चोरेको होइन, बाँकी खाएको होइन, कसैलाई ठगेको पनि छैन किन लगाउनु मास्क ? सबैले चिनिने बन्नुपर्छ भनेर यो फिल्डमा कम्मर कसेर लाग्ने अनि कसैले चिनेर फर्केर हेर्दा वा के छ भनेर मायाले सोध्दा किन अफ्ठयारो मान्नु ? यो त खुसीको कुरा हो नि अहिले सबैले चिनेर कुरा गर्दा गर्व महसुस हुन्छ।' 

एल्बमको भूत

स्टेज पर्फमेन्सदेखि चलचित्रसम्मको यात्रा तय गर्दा पनि नभएपछि उनी हास्य गायनमा लागेका थिए। त्यही भएर उनले कमेडी गीतको एल्बम सार्वजनिक गरे। एल्बममा सोलेको चर्चित गीत ए दोस्ती हम नहि तोडेंगेको नेपाली रिमेक पनि थियो जसले केही चर्चा पायो। एल्बममा पनि उनले भनेजस्तो सफलता पाएनन् तर अहिले त्यतिबेला निकालेको उक्त एल्बम नै उनको बिग प्रोपर्टी भएको छ। स्टयान्डअप कमेडी र प्रहसनसँगै उनी उक्त एल्बमको गीत पनि गाइहाल्छन्। अहिले युट्युबमा भएका उनका गीत लोकपि्रय भैसकेका छन्। विल्सन भन्छन्- 'विगतमा आफ्नै सन्तुष्टिका लागि सिकेका तथा गरेका कार्यहरू मेरा निम्ति बलियो कन्टेन्ट भएका छन्, यी सबै कुरा गर्दा स्टेजमा म एउटा व्यक्ति विभिन्न स्वरूपमा देखा पर्छु, मेरा दर्शकले म बाट खोजेजति मनोरन्जन पाउनुहुन्छ। 

वैदेशिक रोजगारी टर्निङ प्वाइन्ट

सबै क्षेत्रमा हात हाले पनि वा धेरै कुरा गरेपनि कतै पनि सफल हुन नसकेपछि एक दिन विल्सनले निष्कर्ष निकाले, म यो फिल्डका लागि जन्मिएको रहेनछु। दुई पटक काठमाडौं छोड्ने निर्णय लिँदा पनि कलाकार बन्ने हुटहुटी कायम राख्नु ठीक छैन भन्ने उनलाई लाग्यो। उनी झापा गए। बहिनीहरू ठूला हुँदै थिए, घरका लागि कमाउने छोरो चाहिएको थियो, यसकारण कमाउन के गर्ने ? वैदेशिक रोजगारीका लागि मलेसिया जाने निर्णय लिए उनले । मासिक ३० हजार रुपैयाँ कमाउने काम पाएपछि उनी मलेसिया उडे। 'यो कुरा म पहिलो पटक मिडियालाई भन्दैछु,' विल्सन भन्छन्- 'मेरा विषयमा नजिकबाट जान्नेहरूले पनि यो कुरा थाहा पाएका छैनन्। मलेसिया पुगेपछि पाउने तलब त जम्मा २० हजार मात्र रहेछ, उनले असन्तुष्टि जाहेर गरे तर उनी नेपाल फर्किन कम्तीमा तीन महिना बस्नैपथ्र्यो, जसरी पनि र्फकने भनेपछि नेपाल आएर एजेन्टसँग मलेसिया गएको पैसा नखोज्ने भनेर एक साता धेरै परको जंगलमा राखेर लिखित पत्रमा हस्ताक्षर गराए। त्यतिबेला म धेरै रोए, उनी भन्दै थिए, नेपालमा कलाकारका रूपमा गरेको सबै काम सम्भिmए। कसरी फेरि नेपाल र्फकने होला भन्ने मात्र सोचिरहन्थे।' एक साता पाउरोटी र पानी खाएर बिताएको त्यो समय उनका निम्ति अहिले पनि पीडादायक लाग्छ।

त्यही बीच कलाकार विल्सन विक्रम राई वैदेशिक रोजगारमा आएको छ भनेर हल्ली खल्ली मच्चिएछ। कलाकार पनि वैदेशिक रोजगारीमा आएको भन्दै उनलाई भेट्न आउने, सँगै बसेर तस्बिर खिच्ने क्रम सुरु भयो। चलचित्र सम्झना, नबिर्से तिमीलाई, हास्यश्रृंखला बोके दाह्री आदिका भिसिडी मलेसियाको बजारमा पनि पुगेका रहेछन्। 'मैले त कर्म मात्र गरेछु अनि फलको प्रतीक्षा नगरी हिँडेछु,' उनी भन्दै थिए- 'अटोग्राफ लिनेहरूको भीड बढ्न थालेपछि मात्र महसुस भयो, म आखिर सही कर्ममै रहेछु।'

मलेसिया यात्रा उनको जीवनको टर्निङ प्वाइन्ट थियो, जसले उनले गलत मानेको निर्णयलाई उल्टाइदिएको थियो तर जाँदाको ऋण तिर्ने चुनौती तेर्सिरहेको थियो। सबैले यसले कसरी ऋण तिर्छ भन्दै थिए। किन फर्किएको? यो प्रश्नको सामना गर्न उनीसँग गतिलो जवाफ थिएन्। गोजीमा एक पैसा नभएपनि फर्किएपछि मनमा चाहिँ उमंग थियो, राईले भने- 'नेपाल आइपुग्नेबित्तिकै महोत्सवका निम्ति अवसर पाए। त्यसपछि त अफरको सानोतिनो बाढी नै चल्यो। महोत्सवहरूमा दौडने क्रममा सुरज सुब्बा नाल्बोले चलचित्र सायदका निम्ति अफर गर्नुभयो। चलचित्रमा यो मेरो पुनर्जन्म थियो। 

सायद र तक्मे बूढा

९८४१ बाँकी सबै आफै हान, विल्सनले सायदका लागि बोलेको यो डायलगको प्रोमो पनि हिट भैसकेको थियो। त्यो चलचित्र बेलायतमै हेरेपछि त्यहाँ बस्दै आएका सञ्चारकर्मी लेक्स लिम्बुले नेपाल आएको समयमा विल्सनको अन्तर्वार्ता लिए, जुन युट्युबमा राखिएको थियो। साथसाथै स्टान्डअप कमेडीका रूपमा चारवटा जोक्सका फुटेज पनि लेक्सले लिएर गएका थिए। युट्युबमा ती सबै कन्टेन्ट राखिएपछि तिनीहरूका भ्युअर्स यसरी बढेकी ग्लोबल्ली नेपाली डायास्पोरामा पर्फ]{ट कमेडियन र राम्रा कलाकारका रूपमा उनी परिचित भए। नेपालमा नचिने पनि रातारात युट्युबबाट हिट भएर उनी विदेशमा लोकपि्रय भए।  

विल्सन ११ दिने केरखा, झापा महोत्सवमा कार्यक्रम सञ्चालक तथा कमेडीयनको भूमिकामा व्यस्त थिए। सायद नेपालमा प्रदर्शन भैसकेको थिएन। एक दिनको कार्यक्रममा मेरी बास्सैका माग्ने बूढा अर्थात् केदार घिमिरे पुगे। केदारजीले महोत्सवमा मेरो प्रस्तुति हेरेर हुन सक्छ, मसँग नम्बर माग्नुभयो, काठमाडौं आउँदा भेट्न भन्नुभयो, तपाईं के-के गर्नुहुन्छ भनेर सोध्नुभयो, म त्यतिबेला सुरज सुब्बा नाल्बोकै चलचित्र फेसबुकका लागि अभिनय गरिरहेको थिए, त्यही भनें। काठमाडौं आएपछि केदारजीसँग भेट भयो। मैले लाहुरे तक्मे बूढाको सोच अघि सारें, केदारजीले उक्त चरित्रलाई जन्माइदिनुभयो, मेरी बास्सैमा। त्यसयता म निरन्तर तक्मे बूढाका रूपमा मेरी बास्सैमा अभिनयरत छु। विल्सन भन्छन्- 'चाँडै मेरी बास्सैमा नयाँ भूमिकामा पनि देखा पर्ने योजना बनाएको छु।'

नामको किस्सा 

विल्सनका बुबाले छोरो जन्मिएपछि वेल सन अर्थात् राम्रो छोरो विक्रम राई भनेर उनको नाम वेलसन विक्रम राई राखेका थिए, तर स्कुल भर्ना गर्दा वेलसन विल्सनमा परिणत भयो। विल्सन विक्रम राई नाम उनलाई अहिले जोडसँग फापेको छ। विल्सनका अनुसार बाबाले दिएको नामले भिजा लाग्न उत्तिकै सजिलो भएको छ। युरोपियन वा अमेरिकन लाग्ने नाम भएर पनि होला। भिजादेखि इमिग्रेसनसम्म कतै पनि रिजेक्ट हुनु वा सास्ती भोग्नुपरेको छैन। कल्चरबाट समूहगत रूपमै नृत्य गर्ने कलाकार लगिने भएकाले उनी कल्चरमा डान्स सिकाउने देखि पासपोर्ट कलेक्सन सम्मका सबै काम गरिदिन्थे तर हरेक पटक तिम्रो भिजा लागेन भनेर कोक ख्वाएर टार्थे। किन मेरोचाहिँ भिजा लाग्दैन नि ? एक कल्चरका मालिकले भनें, तिम्रो नाम नै भिजा नलाग्ने कारण हो, नाम नै क्रिस्चियन रहेछ, कहाँ मुस्लिम मुलुकमा भिसा लाग्छ त ? त्यो जवाफ सही हो कि भनेर उनले चित्त बुझाए तर अहिले धेरै मुस्लिम मुलुकमा पनि उनी पुगिसकेका छन्। कुनै समस्या आएको छैन्। 

लोकपि्रयता र भ्रमण

तक्मे बूढाले लोभलाग्दो लोकपि्रयता कमाएका छन्। समकालीन हास्यकलाकारहरू पनि यो कुरा मान्छन्। सन् २०१२ मार्च ७ देखि २०१३ मार्च ७ सम्ममा उनले २४ वटा राष्ट्रमा आफ्नो प्रस्तुति दिइसकेका छन्। विल्सनका अनुसार उनी यहाँसम्म आइपुग्न विगतमा गरेको दुःखको ठूलो हात छ। विल्सन भन्छन् — 'मेरी बास्सैमा काम गरेपछि मेरो जिन्दगीमा धेरै परिवर्तन आयो तर म परिवर्तन भएको छैन्, व्यक्ति विल्सन हिजो जे थिए, आज पनि त्यही छु र भोलि पनि त्यही नै रहनेछु।'

विल्सनका किस्साहरू

हिङकङको कार्यक्रममा तक्मे बूढाको प्रस्तुति देखेर एकजोडी दम्पती आफ्ना सन्तानलाई लिएर विल्सन भएको ब्याकस्टेजमा आइपुगे। बाजेलाई ढोग दम्पतीले यति भन्न नभ्याउँदै साना नानीहरूले थपक्कै विल्सनलाई ढोगिदिए। विल्सन अक्क न बक्क भए। खास कुरा दम्पतीले तिमीहरूका हजुरबुबा यस्तै थिए भनिदिएकाले बाजे मानेर उनीहरूले ढोगेका रहेछन्। 

किार्यक्रमको सिलसिलामा इजरायल पुग्दा इमिग्रेसनले तक्मे बूढालाई रिंग्यायो। कोटभरि उनेका तक्मा देखेर तिमी कुन देशको सैनिक हौ ? उनीहरूले प्रश्न गरे। आफू कलाकार भएको तक्मेको भनाइ थियो तर इमिग्रेसनका अधिकारी मान्न तयार भएनन्। धन्न युट्युबमा पासपोर्टमा उल्लेखित विल्सन नाममै कमेडीको भिडियो भएकाले अन्तत उनीहरूले छोडे। नत्र विदेशी सैनिक इजरायल आएको भनेर अनुसन्धानका लागि हिरासतमा लाने प्रवल सम्भावना थियो। 

 तिक्मे बूढाले पूर्वेली लाहुरेहरूको प्रतिनिधित्व गरेको भनेर पूर्वका लिम्बूहरू दंग पर्छन्। ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार प्रवेश गर्दा तक्मे डाँडा नाम गरेकै ठाँउ छ। लिम्बूहरूको बाहुल्य रहेको ताप्लेजुङेहरूले बोल्ने लाखे है जस्ता लवज टिपेकाले पनि उनीहरूका निम्ति विल्सन पि्रय भएका हुन्। तक्मेडाँडामा बस्ने तक्मे बूढाको स्टाइल लिएको किस्सा पनि छ। राइको छोरो लिम्बुको भान्जो भनेर आफुलाई चिनाउने विल्सन गुरुङ, तामाङहरू पनि आफन्त भएको किस्सा स्टेजमा सुनाइरहन्छन्। 

तिक्मे बूढाको चरित्रको भूमिका देवान बाबैका रूपमा चिनिने झापा अर्जुनधाराका एक लाहुरेबाट प्रभावित भएर गरेको विल्सन बताउँछन्। भुवनसिंह देवान एमाले नेता एवं साहित्यकार प्रदीप नेपालका ससुरा हुन्। विल्सनका अनुसार फकल्यान्डको युद्धमा सामेल भएका देवान बा युद्धकालीन समयको वृत्तान्त यसरी नै सुनाउँछन्। 

- विल्सनका सम्बन्धमा प्रतिक्रिया -

तक्मे बूढालाई मैले अत्यन्तै मिलनसार व्यक्तिका रूपमा पाएँ। बालश्रमविरुद्ध सचेतना फैलाउने विज्ञापनमा अभिनय गरिदिन हामीले उहाँलाई अनुरोध गरेका थियौं। काम गर्न पनि उहाँ साह्रै सजिलो हुनुहुँदो रहेछ। विल्सन भाइ छोटो समयमै स्थापित कलाकार हुनुभएको छ। जातपातका कुराको विरोध गर्ने मानिस, समावेशीको कुरा आइरहेको यो समयमा रंगमञ्च अनि पर्दामा पनि समावेशी अनुहार देख्न थालिएको छ। कलाकार भन्नेबित्तिकै आर्यन फेस अगाडि आउने अवस्था विल्सन भाइहरूको उपस्थितिले कम हुनेछ। रंगमञ्चदेखि टेलिभिजनस्त्रिmनसम्म उहाँ फिट देखिनुहुन्छ। टेलिभिजनमा उहाँको प्रस्तुति केही लाउड लाग्छ, तर ठीक छ। विल्सन भाइले ह्युमरमा मात्र होइन, क्यारेक्टर रोलमा पनि राम्रो सम्भावना देखाउनुभएको छ। उहाँका लागि केदार भाइले राम्रो प्लेटर्फम उपलब्ध गराउनुभएको हो र पाएको प्लेटर्फमलाई विल्सनले पनि राम्रोसँग सदुपयोग गर्न सक्नुभएको हो। उहाँको सबल पक्ष भनेको आत्मविश्वास हो। 

हरिवंश आचार्य, अभिनेता

स्ट्रगल गर्दाको समयदेखि नै म उसलाई चिन्छु। सुरुमै यो मानिस डायनामिक छ भन्ने लागेको थियो, त्यही भएर मैले उसलाई 'सायद' मा लिएँ। त्यतिबेला धेरैले मेरो कुरा काटे। सानोतिनो रोलमा काम गर्नेलाई किन मेन रोलमा लिएको भन्ने प्रश्न धेरैको थियो। मैले प्रोड्युसरसहित सबैलाई कन्भिन्स गरे। कुनै पनि कलाकार अनुहारमा 'ट्यालेन्ट'को साइन बोर्ड बोकेर हिँडेको हँुदैन। सायदमा विल्सनलाई झिक्यो भने सायद सायद नै हुन्छ। विल्सन लामो रेसको अब्बल घोडा हो, ऊ कहिल्यै थाक्दैन। म चाँडै उसलाई सोलो लिएर काम गर्दैछु। कलाकारभन्दा पनि मुख्य कुरा ऊ असल मानिस हो। अहिले मैले मात्र होइन, विल्सनलाई लिएर काम गर्ने सबैले उसको प्रशंसा गर्छन्। मैले चलचित्र 'फेसबुक'मा पनि उसलाई काम गराएँ। उसले डाइरेक्टरलाई आफ्नो क्यारेक्टरसँग सम्बन्धित रहेर चाहिने इलिमेन्ट जोड्न पनि सहयोग गर्छ। चरित्रमा भिजेर काम गर्छ। 

सुरज सुब्बा नाल्बो, चलचित्र निर्देशक

मैले आठ वर्षअघि विल्सनको निर्देशनमा बनेको चलचित्र 'पाण्डव' का लागि गीत गाएको थिएँ, भाइको प्रतिभा बहुआयामिक लाग्थ्यो। सानो उमेरमै उसले धेरै कुरा जानेको थियो। चलचित्र क्षेत्रमा ऊ छिट्टै स्थापित हुने चाहना राख्थ्यो। मैले समय आउँछ, एक-दुई वर्ष काम गर्दैमा सफलता हात परिहाल्दैन भनेर ढाडस दिएको थिएँ, तर ऊ काठमाडौंको संघर्ष छोडेर झापा फर्कियो। त्यो बीचको समयमा उसले आफूलाई अझ ग्रुम गरेछ। हास्यकलाकारका रूपमा पनि उस्तै गजबको पर्फर्मेन्स दिन थालेको देख्न थालें। केही समयअघि म उसलाई हङकङ लिएर गएको थिएँ, जहाँ उसले सफल प्रस्तुति दियो, मलाई पनि गर्व लाग्यो। अझै सफल कलाकारका रूपमा उसले चर्चा कमाउँदै जाओस् भन्ने मेरो शुभकामना छ।

राजेश पायल राई, गायक

विल्सनमा एउटा कलाकारमा हुनुपर्ने सबै गुण छन्। शिष्ट, नम्रतका साथै मेहनती र सधैं जागरूक रहने व्यक्ति हो ऊ। आलस्य भन्ने शब्द उसमा लागु हुँदैन। हरेक भेटमा केही न केही नयाँ कुरा बडो जोसका साथ सुनाउने। केही समयअघि केरखा महोत्सवमा धेरैलाई भन्दा पनि अवसर नपाएको विल्सनले स्टेजबाट भनेपछि मैले काठमाडौं आएर भेट्न प्रस्ताव गरेको थिएँ। विल्सनले देखाएका विभिन्न क्यारेक्टरमध्ये लाहुरेको चरित्र उत्तम छ जस्तो लागेको थियो। तक्मा र ड्रेस व्यवस्थापन गरेर आएपछि मैले उक्त चरित्रलाई मेरी बास्सैमा जन्माएँ। मैले सोचेको पनि थिइनँ, यसले यति लोकपि्रयता पाउला भनेर। धेरै मानिस म कलाकार बन्न चाहन्छु भनेर आउँछन् तर विल्सन अरूभन्दा फरक छ। धेरै परिपक्व कलाकार। हालै विल्सनसँग जोडी बनाएर म विभिन्न देशमा कार्यक्रम गरेर फर्किएँ, त्यहाँ पनि विल्सनको क्रेज अचम्मको पाएँ। टिममा विल्सनलाई राखेर काम गर्दा छुट्टै किसिमको मज्जा छ। मेरी बास्सैलाई धेरै फाइदा भएको छ, राम्रो कलाकार पाएर। मैले पनि राम्रो सहयोगी साथी पाएको छु। 

केदार घिमिरे, हास्यकलाकार

धेरै वर्षअघिदेखि नै चिनजान थियो, पहिलो भेटमै मैले भर्सटाइल आर्टिस्टका रूपमा विल्सन भाइलाई चिनें। अभिनयदेखि लिएर चलचित्रको प्राविधिक पक्ष पनि बुझेको, गाउने, नाच्ने, कमेडी सबै क्षेत्रमा पोख्त छ विल्सन। वास्तवमा ऊ कम्प्िलट प्याकेज हो। कमेडी र अभिनयमा उसले राम्रो चर्चा पाएको छ। मैले अभिनय गरेको चलचित्रको गीत मखमली पछ्यौरीमा उसले नाचेको देख्दा मलाई एकदमै रमाइलो लागेको थियो। उक्त नृत्य हेरेपछि मैले उसलाई बोलाएर धन्यवाद दिए। मैले उसलाई कुनै दिन तिमी सुपरस्टार बन्छौ भनेको थिएँ र त्यो समय आएको पनि बताएँ। आज विल्सनको प्रगति देखेर आफ्नै भाइको सफलताजस्तो अनुभूति हुन्छ। उसको एउटा प्रतिभाको पक्ष अझै ओझेलमा छ- ऊ राम्रो गायक पनि हो। उसले गीत-संगीतमा पनि उत्तिकै मन जित्न सक्छ।

दिलीप रायमाझी, नायक

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis