CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने

निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने

nisha

सगरमाथा चढ्न भनेर तामझामका साथ गएको तर अनुमति नलिएको खुलेपछि आधार शिविरमै अलपत्र परेको, फर्काउने भन्ने खबरबीच आज पर्यटन मन्त्रालयका ‘लेखापाल’लाई उद्‌धृत गर्दै आएको समाचारमा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई सरकारले सगरमाथा चढ्न नरोक्ने भएछ। पर्यटन मन्त्रालयका प्रवक्ता यो चुप बसेको बेला यो विषयमा बोल्ने अधिकारै नभएको ‘लेखापाल’को मुखबाट आएको (वा दिन लगाइएको) धारणाले पूरै प्रकरणलाई रहस्यमय त बनाउँदै नै थियो, अर्की आरोही जुनिता सम्बाहाम्फेले आरोहणका नाममा हुने ठगीबारे
अमेरिकाबाट गरेको खुलासाले नयाँ रुप लिएको छ।
लेखापाललाई बोल्न लगाएर भए पनि पर्यटन मन्त्रालयले निशा र अर्जुनलाई ‘नो अब्जेक्सन’ भन्दै हरियो झण्डा देखाएको छ। तर निशा र अर्जुनको हैसियत सगरमाथा आरोहीको भने हुने छैन। उनीहरु हाइ अल्टिच्युड वर्कर अर्थात् बोलिचालीको भाषामा ‘हिमाली भरिया’ को हैसियतमा हुनेछन्। निशा चाइनिज आरोहण टोलीकी हेल्पर हुन्। उनले त्यही लेखिएको प्रमाणपत्र पाउने छिन्। अलिकति प्रक्रियामात्रै मिलाएको भए उनी हेल्परका रुपमा हैन, आरोहीकै रुपमा शिर ठाडो पारेर सगरमाथा आरोही बन्न सक्थिन्। किनभने उनको आरोहणलाई बैँक लगायतका संस्थाले समेत प्रायोजन गरेको थियो। रकमको अभाव उनलाई हुने थिएन। सरकारले पनि नेपाली आरोहीका लागि रोयल्टी मिनाहा गरिदिन सक्थ्यो।
राससको समाचार पढ्नुस्-
सोलुखुम्बु, वैशाख १०- संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन (जितबहादुर) कार्कीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नबाट नरोक्ने भएको छ। सेभेन समिट ट्रेक एक्स्पिडिसनमार्फत हाइअल्टिच्युड वर्करका रुपमा सगरमाथा चढ्न गएका उनीहरु प्रक्रियागत रुपमा गएकाले मन्त्रालयले नरोक्ने मन्त्रालयका लेखापाल तिलक पाण्डेले बताए ।
निशाले सगरमाथा आरोहणका लागि चाइनिज टिमको हेल्परको अनुमति मन्त्रालयबाट लिएको र अर्जुन कार्कीले पनि सक्कली नाम जितबहादुर कार्कीको नामबाट हेल्परकै रुपमा अनुमति लिएकाले उनीहरुलाई रोक्न नमिल्ने बताइएको छ।
सबैभन्दा बढी सगरमाथा चढेर कीर्तिमानी कायम गर्ने साहसिक आरोही आप्पा शेर्पाले समेत हेल्परकै रुपमा सगरमाथा चढेको भन्दै लेखापाल पाण्डेले नायक/नायिका दुवैजना प्रक्रियागत रुपमा गएको बताए ।
उनले कसैले ट्रेकिङ एजेन्सीलाई रकम तिर्छ वा पारिश्रमिक लिन्छ भन्दा पनि आफूहरुले प्रक्रिया हेर्ने भएकोले प्रक्रिया पूरा भएको उल्लेख गरे । रासस
सगरमाथा नेपालको भने पनि खासमा यो नेपाल र चीनको सीमामा पर्छ। यसको उत्तरी मोहडा चीनको तिब्बतमा र दक्षिणी मोहडा नेपालमा पर्छ। चुचुरो भने नेपालमा पर्छ। तिब्बतबाट चढे पनि नेपालबाट चढे पनि रोयल्टी बुझाउनु पर्छ। नेपालबाट चढ्नलाई प्रति व्यक्ति २५ हजार अमेरिकी डलर तिर्नुपर्छ भने उताबाट चढ्न ७ हजार १ सय ५० डलर तिरे पुग्छ। विदेशी होस् कि स्वदेशी सगरमाथा चढ्न नेपाल सरकारलाई २५ हजार अमेरिकी डलर शुल्क तिर्नैपर्छ। नेपाली नागरिकका हकमा भने रोयल्टी मिनाहा गर्न सकिन्छ। तर, त्यसका लागि मन्त्रिपरिषद्को बैठकले रोयल्टी मिनाहा गर्ने निर्णय गर्नुपर्छ। अहिलेसम्म कुनै पनि नेपालीले रोयल्टी तिरेर सगरमाथा चढेका छैनन्।
आरोही बाहेक आरोहीका सहयोगी (हाइ अल्टिच्युड वर्कर) का रुपमा सगरमाथा चढ्न जान सकिन्छ। उनीहरुले रकम तिर्नुपर्दैन। उल्टो आरोहण टोलीबाट तलबभत्ता पाउँछन्। यही व्यवस्थाको फाइदा उठाएर अहिले सगरमाथा चढ्ने नेपालीलाई आरोहीका रुपमा हैन, अर्कै आरोहण टोलीको सहयोगी (हाइ अल्टिच्युड वर्कर) का रुपमा चढाउने गरेको देखिएको छ। यो सीधै नियम र प्रक्रिया विपरीतको कार्य हो।
सरकारी कर्मचारीको कामकारबाही देखेभोगेकै छौँ हामीले। पर्यटन मन्त्रालयबाट टिप्पणी उठाएर मन्त्रिपरिषद्‌मा पुर्‍याई आरोहणको रोयल्टी शुल्क मिनाहा गराउन लामो समय लाग्नेमा चलखेल गरी आरोहण गराउने संस्था र पर्यटन मन्त्रालयको मिलेमतोमै त्यसरी पठाउने गरेको शंका गर्न सकिन्छ। पर्यटन मन्त्रालयका जिम्मेवार व्यक्तिहरु यो विषयमा चुप रहनुबाट पनि यो शंकामा बल मिल्छ। लेखापाललाई बोल्न लगाएकोमा झन् शंका गर्ने ठाउँ छ। जुनिताले गरेको खुलासाबाट पनि यस्तो धन्दा पहिलेदेखि नै भइरहेको स्पष्ट भएको छ। यदि त्यसो हो भने निशा र अर्जुनको केसमा अकस्मात् यो कुरा कसरी बाहिर आयो त ?
निशा अधिकारीले आरोहण गर्ने बारे भव्य पत्रकार सम्मेलन गरिन्। प्रायोजकका रुपमा रोटरी क्लब अफ नागार्जुन, सिटिजन बैंक, मेगा बैंक र तितो सत्य युनिट पाइन्। मेगाको लोगोसमेत बोकेर आएकी छिन् उनले। त्यति विधि प्रचार गरी आउने तर आरोही नभई सहयोगी भएर जानु नैतिकताविपरीतको कार्य हो। अरु हाइ अल्टिच्युड वर्कर, अरु आरोहण दलका सदस्यलाई त्यो देखेर चित्त बुझेन। उनीहरुले विरोध गरे, र मिडियामा योबारे बताइदिए। त्यसपछि यो विषय चर्कियो। हाई अल्टिच्यूड वर्करको काम आरोहण दलका सदस्यलाई सगरमाथाको शिखरसम्म पुर्‍याउन सहयोग गर्ने हो। निशा अधिकारी र अर्जुन कार्कीले त्यस्तो काम गर्न सक्दैनन्। भन्नलाई हाइ अल्टिच्युड वर्कर भन्ने अनि सुविधा चाहिँ आरोहण दलका सदस्यकै जस्तो दिने भएपछि अरु शेर्पाहरुलाई नै पनि यसमा चित्त नबुझेर विरोध गरेका हुन्।
हाइ अल्टिच्युड वर्कर भए उनीहरुलाई तलब भत्ता दिनुपर्ने हो। तर आरोहण गराउन लागेको सेभन समिट ट्रेक एक्स्पीडिसनले चिनियाँ टोलीको सहयोगीका रुपमा निशा र अर्जुनलाई लगे पनि रकम दिने हैन, उल्टै १० लाख रुपियाँ उनीहरुसँग लिएको छ।
निशाले सगरमाथा चढ्लिन्, त्यहाँ झण्डा पनि फहराउलिन् प्रायोजकको। तर सर्वोच्च शिखरमा पुगे पनि उनको नैतिकता भने होचिनेछ। उनी आफैले पनि आरोहीका रुपमा हैन, चिनियाँ टोलीको हेल्परका रुपमा सगरमाथा चढेको प्रमाणपत्र पाउने छिन्। के त्यो प्रमाणपत्र उनले आफ्नो कोठामा सजाउन सक्छिन् ? कि जुनिताले जस्तै प्रमाणपत्र नै अस्वीकार गर्छिन् ?

दोष कसको ?

-निशा र अर्जुनको। दुवैले सगरमाथा चढ्नु भनेको फुल्चोकी डाँडा चढे जस्तो पक्कै ठानेका थिएनन् होला, उनीहरुले विस्तृत प्रक्रिया बुझ्नु पर्थ्यो। त्यो नबुझी हचुवा तालमा हिँड्नुमा उनीहरु दोषी छन्।
-सेभेन समिट ट्रेक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाको। सगरमाथा चढ्न लागेका यी नेपाली सामान्य नागरिक नभएर आफ्नो क्षेत्रका परिचित व्यक्ति हुन्। उनीहरुलाई त्यही अनुसार सरकारबाट आरोहण शुल्क मिनाहा गराएर प्रक्रिया पूरा गरेरै आरोहीका रुपमा लानु पर्थ्यो, कुनै अर्कै टोलीका सहयोगीका रुपमा हैन। के गर्ने दुवै जना रुनै खोजेर मैले पठाएको हुँ जस्तो गैर जिम्मेवार कुरा गर्नु हुँदैन थियो उनले। प्रक्रिया थाहा नहुनेलाई बुझाउने जिम्मा उनकै हुन्थ्यो।
- पर्यटन मन्त्रालयको। हाइ अल्टिच्युड वर्कर भन्ने नाम दिएर जो कोही पनि सगरमाथा चढ्न पाउँछ ? भोलिपर्सि विदेशी पनि आउला रे हाइ अल्टिच्युड वर्कर भनेर, चढ्न दिने ? हाइ अल्टिच्युड वर्करको काम के हो, कसले यस्तो काम गर्न पाउँछ भन्ने मापदण्डै छैन ? बनाउनु पर्दैन ? नाम चलेकी हिरोइनले हाइ अल्टिच्युड वर्कर भनेर आँखामा छारो हालेर सगरमाथा चढ्न लाग्दा पनि यसरी हैन प्रक्रिया पुर्‍याएर आरोहीका रुपमा चढ्नु भनेर रोक्न नसक्ने भएकोले मन्त्रालयका अधिकारीहरु दोषी छन्।
साभार : अन्लाईन खबर 


तपाईँको विचारमा को दोषी ? आफ्नो विचार तल लेख्नुस्

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis