CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अपांग संघमा यौन दूराचार

अपांग संघमा यौन दूराचार

काठमाडौं। यौन दूराचारका कारण बदनाम बनेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका अधिकांश पदाधिकारी यौन दूराचारका कारण विवादमा मुछिँदै आएका छन्। अध्यक्ष र महासचिव मात्र होइन, पछिल्लोे समयमा कोषाध्यक्षसमेत यौन दूराचार गरेको अभियोगमा प्रहरी हिरासतमा पर्नुले सो संस्थाका पदाधिकारीहरूको आचरण उदांगो बनेको छ। यसअघि नेत्रहीन एक वृद्ध महिलामाथि यौन दूराचारको प्रयास गरेको अभियोगमा बौद्ध प्रहरीको कठघरामा उभिन पुगेका संघका महासचिव यज्ञप्रसाद उप्रेतीको यौन दूराचारको घटना
सार्वजनिक भएलगत्तै अध्यक्ष गजेन्द्रकुमार लामासहित कोषाध्यक्ष नारायणप्रसाद देवकोटा समेतको यौन दूराचारको घटना छताछुल्ल बन्न पुगेको छ।
आफ्नै गृहमा आश्रित अपांग महिलाहरूमाथि यौन दूराचारको प्रयास गर्ने नेपाल अंपाग संघका केन्द्रीय पदाधिकारीहरूका यस्ता हर्कत विभिन्न निकायमा समेत पुगिसकेका छन्। यस्ता क्रियाकलापका कारण संस्थाका पदाधिकारीहरूको साख मात्र गिरेको छैन संस्था नै यौन दूराचारको अखडाको रूपमा चित्रित हुन पुगेको छ। पछिल्लो पटक संस्थामा आश्रित महिलाहरूको संख्या घट्न थालेको समेत बताइएको छ। आफ्नो अस्मिता गुमाउनुपर्ने डरले सो गृहमा अपांग महिलाहरूले आश्रय लिन छोडेको बताइन्छ।
मुलुकका अपांगहरूलाई संरक्षण गर्ने जिम्मेवारी पाएका व्यक्तिबाटै अपांगलाई बलात्कारको प्रयास भएको छ। नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय महासचिव यज्ञप्रसाद उप्रेतीले सोही संघमा आश्रय लिई बसेकी एक ५५
वर्षीया महिलामाथि बलात्कारको प्रयास गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ। दिनदहाडै मादक पदार्थ सेवन गरी संघको अपांग आश्रित गृहमा पुगेका महासचिव उप्रेतीले दुवै आँखा नदेख्ने ५५ वर्षीया अर्धबैंसे सविता (नाम परिवर्तित) महिलामाथि बलात्कारको प्रयास गरेका हुन्। बलात्कारको प्रयास गर्ने महासचिव उप्रेतीलाई तत्कालै महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको थियो। बलात्कारको प्रयास मात्र भएको र आफूले मादक पदार्थ सेवन गरेको अवस्थामा भएको सो घटनामा माफी दिन अनुरोध गर्दै उजुरी फिर्ता गराउन सफल भएका महासचिव उप्रेतीले उजुरी फिर्ता गराउने सवालमा मात्र पनि लाखौं रुपियाँ खर्च गरेको दाबी समाचार स्रोतले गरेको छ।
केन्द्रका अधिकांश पदाधिकारीहरू यौन दूराचार र भ्रष्ट रहेको आरोप लाग्दै गर्दा केन्द्रीय अध्यक्षलाई समेत यौन दूराचारको अभियोग लागेको छ। कुमारी कार्की (नाम परिवर्तित)लाई अध्यक्ष गजेन्द्रकुमार लामाले आफ्नै कार्यकक्षमा यौन दूराचारको प्रयास गरेको भन्ने आरोपसहित पीडित महिला प्रहरी प्रशासनका साथै अदालतको ढोका ढक्ढक्याउन पुगिन्। लामाले यौन दूराचारको प्रयास गरेको मुद्दा अहिले अदालतसम्म पुगे पनि किनारा लिन सकेको छैन। तर, लामा भन्छन्– ‘मलाई आरोप मात्र लगाइएको हो, मैले कुनै यौन दूराचार गरेको छैन।’
अपांग संघको गृहमा आश्रित अपांग बालिका एवं महिलाहरूमाथि यौन दूराचार गर्न कोषाध्यक्ष नारायणप्रसाद देवकोटाले पनि बाँकी राखेनन्। उनले त झन् सुस्त मनस्थिति भएकी एक किशोरी यौन दूराचारको सिकार बनाए। उनले सरला लामा (नाम परिवर्तित)लाई केही साताअघि मात्र गृहभित्रको महिला आवासभित्रै पसेर यौन दूराचार गर्न खाजेका थिए। बौद्ध प्रहरीमा समेत यसविरुद्ध उजुरी परेपछि देवकोटालाई प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको बताइन्छ। राष्ट्रिय महिला आयोग, राष्ट्रिय अपांग महासंघ, नेपाल अपांग महिला संघलगायतका संस्थाहरूमा समेत नेपाल अपांग संघ खगेन्द्र नजजीवन केन्द्रमा हुने यौन दूराचारका घटनाका सम्बन्धमा उजुरीहरू पर्दै आएको छ। यौन दूराचारमा पटक–पटक विवादमा पर्दै आएका उप्रेती र देवकोटालाई अपांग संघको भ्रष्टाचारमा समेत संलग्न रहेको आरोप लाग्दै आएको छ। विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको विशेष सहयोगमा सञ्चालनमा रहेको नेपाल अर्थाेपेडिक अस्पतालमा पछिल्लो पटक अवैध कमिसन काण्ड मच्चिएको समाचार छ। सो अस्पतालको प्रशासन प्रमुख पद सम्हालेका श्याम रूपाखेतीले पुनःनिर्माणका नाममा कमिसन कुम्ल्याउन सफल रहेको बताइएको छ। साना–तिना कामदेखि भवन निर्माण जस्ता विभिन्न काम ठेक्कापट्टा दिने बहानामा हुँदै आएको कमिसन काण्डबाट प्रशासन प्रमुख रूपाखेती मालामाल हुन पुगेका छन्। कमिसनकै लागि रूपाखेतीले संस्थामा अनावश्यक काम खडा गर्ने तथा सामान खरिद गर्ने गरेको समाचार स्रोतले बताएको छ। कमिसनकै कारण रूपाखेतीको आर्थिक हैसियतमा निकै परिवर्तित भएको बताइन्छ। सो अस्पताल गरिब एवं असहायको सेवाका नाममा स्थापना भएको भए पनि निःशुल्क सेवाका नाममा त्यहाँ हुने व्यापारले गरिबहरूलाई निकै मर्का परेको छ। अस्पताल सञ्चालक समितिका अध्यक्ष तिनै गजेन्द्रकुमार लामा हुन्, जसलाई यौन दूराचारको आरोप लागेको छ।
पछिल्लो समयमा हाडजोर्नीको उपचारमा नम्बर एक अस्पताल बन्न लागेको सो अस्पताल, प्रमुख तथा उनका लाइनका आसेपासेका कर्तुतका कारण आन्तरिक रूपमा भने जर्जर बन्न पुगेको छ। रोटरी इन्टरनेसनल तथा रोटरी क्लबको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सो अस्पतालमा दैनिक ९ देखि १० लाखसम्म कारोबार हुने भएकाले अस्पताल प्रमुख रूपाखेतीले आफ्ना लागि थुप्रै सुविधा लिने गरेको प्राप्त समाचारमा उल्लेख छ। अस्पतालमा हुने कर्मचारी भर्नामा समेत व्यापक लेनदेन हुने गरेको पनि बुझिएको छ। नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रले सञ्चालनमा ल्याएको खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयमा समेत भ्रष्टाचारले उग्र रूप लिएको छ। त्यहाँभित्र हुने भ्रष्टाचार तथा अनियमितताका कारण पटक–पटक त्यहाँका पूर्वप्रधानाध्यापक पशुपति पराजुली विवादमा मुछिँदै आएका छन्। केन्द्रको केन्द्रीय प्रांगणभित्र सञ्चालनमा रहेका आश्रय गृहदेखि स्कुल, अस्पताल र बालग्राममा समेत भ्रष्टाचार, अनियमितता र यौन दुराचारमध्ये कुनै न कुनै कारणले बदनाम बनेका बनेको समाचार बुधबार साप्ताहिकले छापेको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis