CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » आवास कम्पनी डुबाउने यी रहेछन्

आवास कम्पनी डुबाउने यी रहेछन्

काठमाडौं। कुनै समय निकै नाम चलेको र सरकारको पूर्ण स्वामित्वमा रहेको एउटा कम्पनी अहिले आर्थिक अनियमितताका कारण उठ्नै नसक्ने गरी थला परेको छ। यस्तो हविगत बेहोर्ने सरकारी कम्पनी हो, राष्ट्रिय आवास कम्पनी लिमिटेड। राष्ट्रिय आवास कम्पनीलाई डुबाउनेमा सोही कार्यालयमा नियुक्त भएका अध्यक्ष, महाप्रबन्धक, सञ्चालकहरू रहेका छन्। पेस्की रकम र जथाभावी रकम बाँड्ने गरेकाले राष्ट्रिय आवास कम्पनीको आर्थिक स्थिति अत्यन्त कमजोर बन्न पुगेको छ।
मुलुकका प्रायः सबै जिल्लामा कार्यालय र जग्गा पनि रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडबाट पेस्की लिएर
नबुझाउनेहरूमा ४४ जना कर्मचारी रहेको उसले जनाएको छ। सबैभन्दा बढी रकम लिएर अहिलेसम्म सम्पर्कमा नआएकामा कम्पनीकै पूर्वमहाप्रबन्धक नरेश चौधरी छन्। राजनीतिक नियुक्तिबाट आएका उनले कम्पनीलाई पाँच लाख ६३ हजार पाँच सय बुझाउन बाँकी छ। बारा जिल्ला बसतपुरका चौधरी केही समयअघि मात्र त्यहाँबाट हटेका हुन्।
यसैगरी, २०५८ सालमा महाप्रबन्ध बनेका होमबहादुर थापा पनि त्यही कोटिमा पर्छन्। उनले कम्पनीलाई एक लाख ९२ हजार चार सय रूपैयाँ भार थपेका छन्। कम्पनीबाट हटेको दस वर्ष बितिसक्दा पनि उनले आफूले लिएको रकम तिरेका छैनन्। यस्तै, उनकै पालामा अध्यक्ष बनेका दाङ घर भएका महादेव शाहले कम्पनीलाई एक लाख ९३ हजार तिर्नुपर्ने देखिएको छ। कम्पनीकै पूर्व महाप्रबन्धक बुद्धिप्रसाद लामिछानेले पनि एक लाख ६ हजार अझै चुक्ता गरेका छैनन्। गोरखा धैरुङ घर भएका उनी ०६० सालमा महाप्रबन्धकबाट हटेका थिए। यस्तै, कम्पनीका पूर्वमहाप्रबन्धक कृष्णदेव चौधरीले एक लाख ४७ हजार, पूर्वमहाप्रबन्धक गोकर्णप्रसाद सापकोटा ७९ हजार, सर्लाहीको चतुर भुजेश्वर क्याम्पस ७५ हजार, काठमाडौंको केज कन्सट्रक्सनले ६४ हजार तिर्न बाँकी छ।
कम्पनीलाई सबैभन्दा बढी व्ययभार थोपर्ने संस्थामा ललितपुरको श्री आकाश कन्ट्रयाक्ट मिडिया रहेको छ। सोनी राणा गिरी कार्यकारी प्रमुख रहेको सो मिडियाले कम्पनीलाई १३ लाख २६ हजार रूपैयाँ बुझाउन बाँकी छ। कम्पनीसँग एक दशकअघि नै कारोबार गर्दा सो मिडियाले यत्रो रकम तिर्न बाँकी रहेको देखिएको थियो। कैलालीस्थित सुकुम्बासी समस्या समाधान आयोगले आर्थिक वर्ष २०५५ मा लिएको तीन लाख रूपैयाँ अझै बुझाएको छैन। आवास कम्पनीबाट रकम लिएर नतिर्नेमा नाम चलेका वकिलसमेत रहेका छन्। पुराना कानुन व्यवसायी गणेशराज शर्मा ५० हजार र बालकृष्ण न्यौपानेले १२ हजार सात सय कम्पनीलाई तिर्न बाँकी रहेको देखिएको छ।
यस्तै, १० हजारदेखि ७० हजारसम्म लिएर सम्पर्कमा नआउनेमा पूर्वअध्यक्ष भक्तगोविन्द श्रेष्ठ, देवनारायण महतो, विष्णुप्रसाद आचार्य, कमल उप्रेती, नवराज भट्टराई, कुमारप्रसाद लोहनी, आत्माकृष्ण श्रेष्ठ, भूपू लेखापाल रामवृक्ष साह, अमृता चौधरीलगायत छन्। कम्पनीले आफ्ना पूर्वअध्यक्ष, महाप्रबन्ध, सञ्चालक, विभिन्न निजी कम्पनी, सरकारी निकायलगायतबाट करिब ५० लाख रूपैयाँ उठाउन बाँकी रहेको भन्दै उनीहरूको नाममा पेस्की रकम फर्स्यौट गर्न गोरखापत्रमा सूचना जारी गरेको छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis