दार्चुला हुँदै तलैसम्म तटवर्ती भेगलाई तहसनहस पारिदिने महाकालीमा एघार दिनअघिको बाढी के कारणले आएको थियो? यो बहस चलिरहेकै बेला महाकालीसँग उत्तिकै ठूलो धौलीगंगा नदी मिसिने यो संगमस्थलमा अझै भागदौड रोकिएको छैन। अहिले पनि घरहरु ढल्न
खोजिरहेकै छन्, मान्छेका त्रास जीवितै देखिन्छ।
यहाँभन्दा झण्डै ६० किलोमिटर उत्तरदेखि महाकाली बग्दै आएको दिशातिर हेर्दा नदी र तटवर्ती क्षेत्रको अवस्था सामान्य देखिन्छ। महाकाली किनारैकिनार तिब्बततिरबाट आउने पदयात्रीहरु त्यसतर्फ नदीले उत्तिको क्षति पनि नपुर्याएको बताउँछन्। जबकि पाँच किलोमिटर मात्र पश्चिमतर्फ बनाइएको विशाल धौलीगंगा बाँध हुँदै आएको यो नदीले भने त्यसतर्फको दृश्य हेर्दै नरमाइलो लाग्ने गरी क्षतविक्षत पारिदिएको छ। बाटोहरु भत्किएका छन्, त्यसमाथिका घरहरु कति गइसकेे कति, आधा जमिनमा आधा नदीको माथि झुण्डिएका देखिन्छन्।
जुन स्थानमा धौलीगंगा महाकालीसँग मिसिन्छ, त्यसको ठीक अगाडि नेपाली भूभागमा पर्ने पहरामा ठूलै खाल्डो परेको देखिन्छ। त्यसबाट पनि पानीको बेग अन्दाज गर्न सकिन्छ। अझ त्यसभन्दा अगाडि पर्ने महाकालीको किनारैकिनार बनाइएको पक्की बाटोलाई जोड्ने धौलीगंगा माथिको विशाल पक्की पुलको अहिले अस्तित्व समेत छैन।
यसरी अचानक यो संगमस्थलमा धौलीगंगाको बढेको पानीले तवाघाटकै २२ वटा घर बगाएको थियो। महाकालीले प्रदर्शन गरेको ताण्डवमा यी सब आधारहरुले धौलीगंगाकै हात देखाउँछ। महाकालीमा मिसिएपछि यसले झनै रौद्र रुप लियो। नेपालतर्फ उत्तिको भौतिक संरचना नरहेकाले करिब १८ किलोमिटर दक्षिणतर्फ गएपछि मात्रै आउने दार्चुला सदरमुकाम खलंगामा क्षति पुगेको देखिन्छ। जबकि भारतले निर्माण गरेको २८० मेघावाटको यस बाँधको लापरवाहीले स्वयं भारतीय पक्षलाई धेरै गुणा ठूलो क्षति पुर्याएको दृश्य जताततै देखिन्छन्। तिब्बत र नेपालसँगको सीमावर्ती भेगमा उसले कायम गरेका थुप्रै सुरक्षा निकायदेखि लिएर खुद धौलीगंगा जलविद्युतका भौतिक संरचना हुँदै यो सम्पूर्ण भेग जोड्ने सडक जताततै विरक्त लाग्दोगरी बगाइदिएको छ। महाकाली किनारैकिनार हिँड्दा तवाघाटदेखि जोलजीवीसम्मै कतिपय स्थानमा सेना तथा कर्मचारीका सिंगो आवास क्षेत्र तहस नहस भएका देखिन्छन्। त्रिपालले बनेका थुप्रै शिविर जस्ता शरणस्थलमा हुलका हुल भारतीयहरु बसेका देखिन्छन्। नेपालतर्फ भने कतै पनि यस्ता शरणार्थी शिविर देखिएको छैन।
धौलीगंगा अचानक बहुलायो
तवाघाटमा धौलीगंगा नदीको करिब सय मिटरमात्र माथि जितेन्दसिंह धामीको घर पर्छ। गाडीको चालक काम गर्ने उनी अघिल्लो दिनमात्र पाँच किलोमिटर परको बाँधमा पुगेका थिए। त्यहाँ सबै ढोका बन्द गरिएको देखियो।
'उनीहरु प्रायः बाँध भरिएर पानी माथिल्लो स्तरसम्म पुगोस् भन्ने चाहन्छन्,' जीतेन्द्रको भनाइ छ, 'त्यसै भएर ढोका थुनेर राखियो।'
उनका अनुसार अचानक माथिबाट गाँउ नै बगाएर ल्याउन थालेपछि बाँध भत्किनबाट जोगाउनुपर्ने अवस्था आइपरेको हुनुपर्छ।
'बिना जानकारी अचानक पानीको स्तर बढ्दै गएपछि हामी भागाभाग गर्न थाल्यौं,' उनी भन्छन् हाम्रा 'घरहरु पनि धमाधम ढल्न थाले।'
५४ मिटर अग्लो यो वाँध भारतले आठ वर्ष अघि निर्माण सम्पन्न गरेको हो। अपुष्ट जानकारी अनुसार यसमा नौ लाख क्यूसेक पानी अट्छ। पहिलो पटक बाँधै फुट्ने अवस्था देखेपछि बाँधका कर्मचारीले भारततर्फ खबर गरेर ढोका खोलिदिँदा ठूलो भौतिक नोक्सानी भए पनि मानवीय क्षति भने हुन पाएन। नेपाल तर्फभने पानीको स्तर बढेको प्रत्यक्ष देखेपछि सर्वसाधारणले ज्यान जोगाउन सफल भएका थिए। एकसय भन्दा बढी पक्की घर भने जोगाउन सकिएन।
स्वयं बाँधकै कर्मचारीहरु नेपालतर्फ आएर बाढी आउनुमा बाँधको ढोका खोल्नु जिम्मेवार भएको सुनाइरहेका छन्। उनीहरु त्यतिबेला बाँधको ढोका नखोलेर फुटेको भए अझ भयावह अवस्था निम्तने र कैयन गुणा बढी जनधनको क्षति हुने पनि बताउँछन्। तर, यही कुरा प्रेसलाई खोलेर बताउन भने उनीहरु चाहँदैनन्।
धौलीगंगाको ढोका खोल्नेबारे नेपाली पक्षलाई कुनै खवर नगरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी अधिकारी बताउँछन्। 'हामीलाई भारतीय पक्षवाट कुनै खबर भएन' उनले भने, 'मध्यराती कटान हुन थालेपछि मात्र बाढीको बारेमा थाहा भयो।' राती बाढीवारे सबैतिर स्वस्फूर्त खबर फैलिएपछि मानवीय क्षती हुन नपाएको उनको कथन छ।
असार २ गते राति नौ बजेदेखि नै महाकालीमा पानीको जलस्तर बढ्न थालेको प्रत्यक्षदर्शी स्थानीय पत्रकार भोजराज जोशीले बताए। 'मध्यराति दुई बजेतिर महाकालीको बाढीले विकराल रुप लियो' उनले भने।
भारतले धौलीगंगा बाँधको पानी छाडेको विषयमा नेपाल सरकारले छानविन गर्नु पर्ने माग बाढी विस्थापितहरुको छ। 'छानविन मात्र होइन, क्षतिपूर्ति समेत भारतले नै दिनु पर्छ,' खलंगा गाविस २ गल्फैका बाढीविस्थापित मदन कार्की भन्छन्। विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्वले पनि धौलीगंगाकै कारण महाकालीमा बाढी आएको र क्षति व्यहोर्नुपर्ने मागसहितको ज्ञापनपत्र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई बुझाएका थिए।
यहाँ बेलाबेलामा जाग्ने भारत विरोध यतिबेला फेरि सदरमुकाम खलंगाका भित्ताहरुमा देखिन थालेको छ। नेपालको नक्साभित्र सिंहदरबार र त्यसका अघिल्तिर एक नतमस्तक शासकको चित्र र नक्साको दुवैतिर राक्षसका जस्ता पञ्जाभएका पोष्टरहरु विभिन्न संगठनका नाममा टाँसिएको देखिन्छन् ।
तस्बिर: धौलीगंगा बग्दै गएर महाकालीमा मिसिने स्थानअगाडि तवाघाटमा भत्केका घरहरु । यसभन्दा अगाडिका २२ वटा घर बाढीले लगिसकेको छ भने त्यसभन्दा तल रहेको पक्कीसडकको अस्तित्वसमेत देखिँदैन । तस्बिरमा मान्छे उभिएको स्थानदेखि वारिसम्म जोड्ने विशाल पक्की पुल धौलीगंगाकै बाढीले अस्तित्वसमेत नरहनेगरि बगाइदिएको छ । तस्बिर: गिरीश गिरी/सेतोपाटी
- See more at: http://setopati.com/raajneeti/1919/#sthash.dJvRIyWi.dpuf
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !