आज गुरु पूर्णिमा। गुरुप्रति श्रद्धा र आभार प्रकट गर्ने दिन। गुरुले हामीलाई जीवनमा अघि बढ्न महत्त्वपूर्ण ज्ञान दिएका हुन्छन्। तर आफ्ना विद्यार्थीलाई यातना दिएर गोरुचुटाइ गर्ने गुरुहरु पनि हुन्छन्। यातनासहितको सिकाइबारे पवन न्यौपानेको ब्लग- ‘के सिकाउँदैछौं हामी बालबालिकालाई ?’
प्रसंग १ : आजभन्दा करिब २ दशक अघि फर्कन मनलाग्यो। स्कुले जीवन। गाउँकै सरकारी
स्कुल थियो। शायद हामी ५ कक्षामा पढ्थ्यौं त्यो बेला। एकजना शिक्षक थिए । बिद्यार्थीले सामान्य गल्ति गर्दा पनि ब्लेडले पाखुरा चिरेर चकको धुलो छर्कन्थे, बोल्नसक्ने हिम्मत कसैको थिएन। ती शिक्षकको त्यो ब्यबहारका कारणले तिनी बाटोमा हिंडदा पनि हामी डराउने गर्थ्यौँ। तर उनको यो ब्यबहारले न त हामीलाई अनुशासनको बाटोतिर डोर्यायो, न उनलाई चुनौति दिंदै अनुशासन तोड्न नै उद्यत गरायो। १० कक्षामा पुगेपछि कतिपय सवाल उठाएर बिद्यालयमा हड्ताल गर्दामात्र उनको त्यो प्रवृत्ति पनि बन्द हुनुपर्छ भनेर हामीले पहिलो पटक सामूहिक रुपमा आवाज उठाएका थियौं। प्रसंग २ : बिद्यालय जीवनकै कुरा हो यो। ९ कक्षामा पुगेपछि विज्ञान पढाउने एक शिक्षक थिए। विद्यार्थीको खासखुस सुनेपछि आँखै नहेरी काठको डस्टरको झटारो हान्थे। उनको झटारोले एकदिन हाम्रा एक साथीको टाउको नै फुटेर उपचारका लागि दौडाउन परेको थियो। विद्यार्थीले कक्षामा हल्ला गर्नुहुँदैन भन्ने एउटा तर्क होला, तर त्यसको सजाय डस्टरको झटारो पनि त होइन।
प्रसंग ३ : बिद्यालय जीवन पार गरियो। कलेजको ब्याचलर्स लेभलमा पुग्दानपुग्दै बोर्डिङ स्कुल पढाउने काम शुरु गरेँ, औपचारिक रुपमा त्यो मेरो जीवनकै पहिलो जागिर पनि थियो, कम्ता रमाइलो लाग्दैनथ्यो बालबालिकाले ‘सर’ भनेर बोलाउँदा, तर अहिले आएर मनन् हुन्छ उनीहरुको त्यो सम्बोधन कत्तिको मनभित्रबाटै थियो या थिएन। बिद्यालयमै पढाउने क्रममा सहकर्मी शिक्षकशिक्षिकाहरुले बालबालिकालाई कहिले तातो घाममा उभ्याउने, कहिले मुर्गा बनाउने जस्ता दण्ड दिएका दृष्यहरु पनि देखियो। जानअन्जानमा आफू पनि यस्तै खाले प्रक्रियामा कैलेकाहीँ सहभागी भइयो होला। तर अहिले सम्झँदा नि आफैंप्रति ग्लानी हुन्छ।
प्रसंग ४ : समयक्रमसँगै रुचिका कारण रेडियोमा छिरियो। सोही क्रममा विभिन्न सवालमा रिपोर्टिंङ गर्न विभिन्न स्थानमा जाने गर्थे। आजभन्दा करिब ७ वर्षअघिको कुरो, रिपोर्टिंङकै सिलसिलामा उदयपुरका विभिन्न पहाडी गाविसहरु भलायाडाँडा, रौता, पंचावती, लाफागाउँ, आँपगाछि, जाँते जस्ता ठाउँहरुलाई करिब २ वर्षजति कार्यक्षेत्र बनाएर नियमितजसो त्यहाँका सरकारी विद्यालयहरुमा पुगियो। तर त्यो समयमा त्यहाँका धेरै बिद्यालयहरुमा बिद्यालयलाई बालमैत्री बनाउने उद्देश्यसहित ‘लठ्ठी-यातनारहित सिकाइ अभियान’ चलिरहेको थियो। अर्थात् शिक्षकले यातना नदिइकन पढाउने अभियान नै चलेको थियो र यसले समग्रमा शिक्षक, बिद्यार्थी एवं त्यो समाजलाई नै सकरात्मकतातर्फ अगाडि बढाइरहेको थियो।
माथि उल्लेखित चार प्रसंगमध्ये अन्तिम प्रसंग सकारात्मक थियो। त्यो बाहेकका माथिल्ला तीन प्रसंग साँच्ची मनै अमिलो हुने खालको मेरो अनुभव थियो। तर समाजको वास्तविकता पनि यही हो र बितेका २० बर्ष पहिलेको मास्टरी प्रवृत्ति अहिले पनि अधिकांश बिद्यालय र शिक्षकहरुमा कायमै छ। बेलाबेलामा बिद्यार्थीमाथि हुने गरेका यातनाका घटनाहरु बाहिर आइरहने कुराले पनि त्यो पुष्टि गर्दछ। यस्तै पराकाष्ठाको पछिल्लो रुप हो: बाँके घटना। अलिकति पुनःस्मरण गराउँ, केही दिनअघि नेपाली संचारमाध्यममा एउटा भयभित बनाउने समाचारले प्रश्रय पायो। मध्यपश्चिमी जिल्ला बाँके हिरमिनिया १ को एक निजी बिद्यालयकी शिक्षिकाले होमवर्क नगरेको भन्दै पिट्दा (केही संचारमाध्यममा किताबले झटारो हान्दा भनेर भनिएको छ) नर्सरीमा पढने स्थानीय ८ वर्षे बालक अजय धोबीको आँखा फुट्यो। अझै उनी उपचार गराइरहेका छन्, र आशा गरौं उनको आँखा पुनः पहिलेकै स्थितिमा फर्कियोस्। सुन्दै आततायी लाग्ने यस्ता घटनाहरु बेलाबेलामा आइरहन्छ। कतिपय ठाउँमा शिक्षकको यातनाले बिद्यार्थीले बिद्यालय जान छाडेका घटनाहरु पनि छन्।
युनिसेफ नेपालको सहयोगमा सिभिक्टले सन् २००४ मा गरेको एउटा अनुसन्धान ‘नेपालमा बालबालिकाविरुद्धको हिंसाः नेपालका बिद्यालयमा अनुसाशन प्रणालीका बारेमा अध्ययन’ रिर्पोटमा भनिएअनुसार बिद्यालयमा होस् या घरमा, बालबालिकालाई कुटपिट गर्ने एवं हिनताबोध महशुश गराउने क्रियाकलाप एकदमै सामान्य हो। बिद्यार्थी, शिक्षक एवं अभिभावकसँग छुट्टाछुट्टै छलफल गर्ने क्रममा यस्तो निस्कर्ष आएको थियो। यही अध्ययनमा ‘किन यस्तो हुन्छ त ?’ भन्दा शिक्षक एवं अभिभावकले ‘हामीलाई हाम्रो बाल्यकालमा अनुसाशनका नाममा यस्तै शारिरिक एवं मानसिक यातना भोगाइयो र हामीले पनि त्यही कुरालाई पछ्याइरहेका छौं’ भन्ने जवाफ आएको निष्कर्ष छ। सोही अध्ययनमा प्राथमिक तहका बालबालिका यस किसिमका यातनाको बढी सिकार हुने गरेको र उनीहरुले त्यसविरुद्ध बोल्न सक्नेसमेत नदेखिएको उल्लेख छ।
सिभिक्टकै सोही अध्ययन रिपोर्टमा उल्लेख गरिएअनुसार नेपाल मानव विकास रिपोर्ट २००८ मा भनिएको छ- ‘सन् १९९४ मा बिद्यालय भर्ना भएको ६३ प्रतिशत बिद्यार्थी प्राथमिक चरण पार नगर्दै बिद्यालय छाडे र थप २७ प्रतिशतले निम्न माध्यमिक चरणमा बिद्यालय छाडे ।’ यसैलाई आधार मानेर भन्ने हो भने १० प्रतिशत मात्र विद्यार्थी माध्यमिक चरणमा पुग्छन् अर्थात कक्षा एकमा भर्ना भएका १०० जना बिद्यार्थी दश कक्षामा पुग्दा १० जनामा सीमित रहन्छन् ‘र यसको एउटा महत्वपूर्ण कारण बिद्यालयमा दिइने यातना एवं सजाय पनि हो’ भनिएको छ। यो निचोडले पनि सवाल कति गम्भीर छ र कुन मानसिकताका कारण बालबालिका बिद्यालयमा यातना भोग्न बाध्य भएका छन् भन्नेकुरो पुष्टि हुन्छ।
अनुशासनमा राख्ने निहुँमा हुने यस किसिमका घटनाले बालबालिकाको मानसिकतामा कस्तो असर पार्ला वा पारिरहेको छ त? अनुशासनको नाममा दिइने यस प्रकारका यातनाले के बालमैत्री बिद्यालय बन्न सक्छ त ? कि हाम्रा बिद्यालयहरु यातनागृह बन्नतर्फ उन्मुख हुँदैछन् ? बिद्यालय जाँदा डर र त्रास बोकेर जाने बालबालिकाले त्यहाँबाट के सिकेर आउन सक्लान् ? अथवा परामर्श, अनुशाशन, सिकाई पद्धती एवं बालमैत्रीब्यबहारका बारेमा बिद्यार्थीलाई भन्दा हाम्रा शिक्षकशिक्षिकाहरुलाई परामर्श, तालिम एवं पाठ सिकाउन जरुरी छ कि ? बरु यतातिर पो सोच्ने बेला भएको हो कि ?
(ट्विटरमा @Shikaruketo नामले चिनिने न्यौपाने इक्वल एक्सेस नेपालसँग आवद्ध छन्)
[तपाईँले पनि विद्यालयमा यस्तैखाले यातना भोग्नुभएको सम्झना छ कि ? कोही भन्छन्- केही विद्यार्थी त नपिटी तह नै लाग्दैनन्। यातनासहितको सिकाइबारे तपाईँको धारणा के छ ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला]
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !