एक २३ वर्षीया दलित युवती सफाइ दिँदैछिन्। चारैतिर आफूलाई सभ्य भन्न रुचाउने तर व्यवहार हेर्दा पशुजस्ता समाजका सदस्यहरु छन्। आक्रोशमा छन्, केरकार गर्दैछन्। युवतीको कोही छैन। श्रीमान् पनि वैदेशिक रोजगारीका लागि
बाहिर रहेछन्। आफूलाई स्थानीय एक युवकले जबर्जस्ती गर्न खोजेको उजुरी प्रहरी चौकीमा दिएकी रहिछिन् उनले। त्यो झुटो भन्ने दावी त्यो जंगली भिडको रहेछ। त्यही भिड जम्मा भएको ठाउँ ‘न्यायालय’ थियो। ‘वकिल’ केटाहरुले केरकार गरे। त्यही भिडले उनलाई दोषी ठहर गर्यो। अनि त्यही अमानवीय भिडबाट एक महिलाले कपाल लुछ्दै, लुगा च्यात्दै भक्कुमारसँग कुटिन् उनलाई। अरु महिलाले जथाभावी अपशब्दका साथ गाली गरे। कसैले उचाल्यो- यसलाई त कालो मोसो दल्नुपर्छ।
हस्। भिडतन्त्र जिन्दावाद !
बिचरी अबला नारी भूँइमा लडेकी थिइन्। धन्न कसैले माया गरेर एउटा रातो पछ्यौराले उनको जिउ ढाकिदिएको थियो। नत्र त उनी अर्धनग्न भइसकेकी थिइन्।
एकैछिनमा त्यहाँ जम्मा भयो कालो मोसो अनि फाटेका जुत्ता। न्यायाधीश भइखाएको त्यही भिडले आफ्नो फैसला सुनाइसकेको थियो- ती अबला दलित युवती दोषी नै हुन्। मोसो दलियो। फाटेका जुत्ताको माला पहिर्याइयो।
त्यतिले कहाँ चित्त बुझ्यो र। अब उनीहरु लागे स्थानीय ‘फाइट’ साप्ताहिकका कार्यकारी सम्पादक तथा दलित अगुवा मनोज विश्वकर्माको घरतिर। युवतीलाई प्रहरी चौकीमा जान सहयोग गरेको आरोपमा मनोजलाई पनि मोसो दलियो।
यो कुनै फिल्मको दृश्य हैन। हाम्रै नेपालको मोरङ जिल्लास्थित बेलबारी-३ मा सोमबार भएको वास्तविक घटना हो।
त्यसपछि के भयो त्यो पनि सुन्नुस्। त्यसरी कानुन हातमा लिएर मोसो दल्ने, दु्र्व्यवहार गर्नेलाई कारबाही होइन, प्रहरी चौकीमा आइन्दा गल्ती नगर्ने भन्दै मिलापत्र गर्न लगाए। सरकारी समाचार एजेन्सी राससले इलाका प्रहरी कार्यालयका निरीक्षक दिलिप गिरीलाई उद्धृत गर्दै लेखेको छ- ‘मोसो दल्नु मानवअधिकार विपरित कार्यभएको हो भन्दै पीडितलाई जाहेरी दिन सम्झाए पनि मानेनन्। दुवै पक्षले मिलापत्र गरेर गए।’
राससको समाचारमा भनिएको छ- प्रहरीका अनुसार दुई दिनअघि केही युवाहरूले पति वैदेशिक रोजगारमा गएकी ती युवतीलाई साँझ यौन दुर्व्यवहार गर्न खोजेका थिए। प्रहरीले छाडेपछि उनीहरूले आज सोमबार बिहान गाउँमा झुठो आरोप लगाएको भन्दै छलफल बोलाएका थिए। छलफलमा आएकै बेला महिलालाई उनीहरूले कुटपिट र गाली गर्दै मोसो दलेर जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका थिए।
घटनामा कसको दोष थियो, त्यो थाहा भइसकेकै छैन। महिलाले गलत आरोप लगाएको भए त्यो प्रमाणित हुनुपर्यो। प्रमाणित भएपछि पनि त्यसरी दुर्व्यवहार गर्न पाइँदैन। कानुन अनुसार सजाय हुन्छ। आफै न्यायाधीश बन्ने, आफै कानुन हातमा लिने भए किन चाहियो प्रहरी ? किन चाहियो न्यायालय ? के यो देशमा कुनै कानुन छैन ? कहाँ छन् मानवअधिकारवादी भनाउँदाहरु ? कहाँ छन् समाज परिवर्तन गराउँछु भन्दै हिँड्नेहरु ? कहाँ छ श्रीमान्को सरकार ? आचारसंहिता लागू हुनुअघि प्रहरी अधिकारीहरुको सरुवा बढुवा गरेर फूर्सद पाइसक्नुभएको भए यहाँ पनि एक पटक हेरिदिनुहुन्थ्यो कि गृहमन्त्री ज्यु। अब यो देशमा जसले जे गरे पनि हुने भइसक्यो हो ?
अबला नारी भूँइमा अलपत्र, पुरुषको भने पर्खालमा खुट्टा लत्रक्क।
कुटपिटपछि यसरी बजारिइन् युवती।
अमानवीयताको हद।
भिडतन्त्र।
भिडले गर्यो फैसला।
पिट्न सुरु गर्ने महिला यिनै हुन्।
भिडतन्त्रको अगाडि कसको के लाग्छ र।
लुगासमेत च्यातचुत पारे असभ्य जङ्गलीहरुले।
महिला र बालबालिकाको अगाडि भिडको फैसला।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !