रासस
एसएलसी प्रिन्सेजको फेसबुक पेजमा भएको उनको तस्वीर १०० भन्दा बढीले शेयर गरेका छन् भने त्योभन्दा बढीले आगामी प्रिन्सेज अनिता भनेर बधाई दिइसकेका थिए। फेसबुकमा बधाई र शुभकामना दिनेमा आमा–बुबा, साथीसँगी, फुपू, दिदी, बुबाका साथी, भिनाजु, विद्यालयका शिक्षक लगायत थिए। र पनि, उनलाई दोस्रो चरणको लागि अयोग्य ठानियो। पढाइ, नृत्य, गीत, पौडी वा खेलकुदमा आफूलाई कहिल्यै कमजोर नठान्ने अनिताले जीवनमा पहिलो पटक हारेको महसूस भएको बताइन्।
कक्षा ११ को प्रवेश परीक्षामा उच्च अंक ल्याएर राजधानीकै नामी कलेजमा छात्रवृत्तिका साथ भर्ना भइसकेकी अनिताले १ असारको घटना बिर्सेकी छैनन्। १२ असारमा हिमाल सँगको कुराकानीमा उनका बुबाले अनिता अझै राम्ररी निको भइनसकेको बताए। “भनेकै कलेजमा नाम निस्कियो, छात्रवृत्ति पाइन् र पनि छोरी खुशी छैनन्”, उनी भन्छन्, “त्यो प्रतियोगिताको कुरा गर्यो कि आक्रामक हुन्छिन्।”
एसएलसी परीक्षापछिको पूरै समय यही प्रतियोगिताको तयारीमा लगाइएकी अनिताले फर्म भर्दा रु.१० हजार ५०० शुल्क तिरेकी थिइन्। उनले आयोजक सिजन मिडियाले गरेको पिकनिक, पौडीदेखि १५ जेठमा भएको आन्तरिक प्रतिभा प्रस्तुतिसम्मका कुनै गतिविधि छुटाएकी थिइनन्। तर, उनलाई टप २० पनि मानिएन। १ असारमा उपाधि नजित्ने बाँकी चार जनाको पीडा पनि अनिताको जस्तै छ। तीमध्येकी एकले त फेसबुक अकाउन्ट नै बन्द गरेको अनिता बताउँछिन्।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी जथाभावी आयोजना गरिने मिस एसएलसी, लिटिल मिस नेपाल, लिटिल मिस्टर नेपाल, लिटिल मिस्टर स्कूल, लिटिल मिस स्कूल, लिटिल नेवा, मिस टिन पोखरादेखि मिस लिटिल पश्चिमाञ्जल र मिष्टर लिटिल गाउँसम्मका कार्यक्रमहरूले नेपाली बाल संसारमा अनावश्यक दबाब थोपरेको बताउँछन्। अनिताहरूको संख्या बढाउने यस्ता देखासिकीबाट सबभन्दा पहिला अभिभावकहरू नै सजग हुनुपर्ने भण्डारीको सुझाव छ। उनी भन्छन्, “यस्ता प्रतियोगिताहरूले उपाधि जित्ने मात्रै राम्रा, बाँकी सबै नराम्रा भन्ने सन्देश फैलाइरहेको छ।”
यसकारण गर्छ असर
चाइल्ड वर्क्स इन नेपाल (सिविन)का महासचिव तारक धिताल यस्ता प्रतियोगिता आफैंमा नराम्रो नभए पनि प्रतिस्पर्धीको उमेर असुहाउँदो तथा सहज र 'फेयर' नहुँदा फाइदा भन्दा बढी हानि गरिरहेको बताउँछन्। उनको भनाइमा, नेपालमा भइरहेका बाल प्रतियोगिताहरू बालबालिका सुहाउँदो नै छैनन्। धिताल भन्छन्, “प्रतियोगिता बालबालिकाका लागि भन्दा वयस्कहरूको स्वार्थी मनोरञ्जनमा घुमेका देखिन्छन्।”
हुन पनि, कतिपय यस्ता कार्यक्रम कसैलाई कुनै खास स्वार्थले मिस वा मिष्टर बनाउन वा कमाउन आयोजना गर्ने गरिएको प्रतियोगितापछि सडकसम्म आउने विवादहरूले देखाउँछन्। धिताल यस्तो कर्मलाई सामाजिक अपराध मान्छन्। यस्ता प्रतियोगितामा जसरी पनि जित्नै पर्ने दबाबका कारण कानूनले प्रत्याभूत गरेको बालबालिकाको खाने, खेल्ने र मनोरञ्जन गर्न पाउने आधारभूत अधिकार समेत खोसिएकोतर्फ कसैको ध्यान नगएको उनी बताउँछन्। “आयोजक र विज्ञापनदाताको स्वार्थमा आफ्ना छोराछोरी वा विद्यार्थी प्रयोग हुन दिनु पनि एक किसिमको अपराध नै हो”, धिताल भन्छन्।
महासचिव धिताल नृत्य वा अन्य 'पर्फमेन्स'को नाममा बच्चाहरूलाई भड्किलो पहिरन लगाइदिने, 'किस–हग' गर्न पठाउने, उचाल्न लगाउने, संवेदनशील अंगतर्फ संकेत गर्न लगाउनुलाई बालशोषण भएको बताउँछन्। त्यसबाहेक, यस्ता प्रतियोगितामा बजाइने गीत–संगीत पनि बालबालिका सुहाउँदो हुँदैन। प्रतिस्पर्धी बालबालिकालाई भड्किलो पहिरन र उत्तेजक गीतहरूमा त्यस्तै हाउभाउका साथ नाच्न लगाइन्छ। “मैले टिभीहरूमा धेरै पटक 'तेरी कुर्ती सेक्सी लगती है...' भन्ने गीतमा बच्चालाई जोडी बनाएर नचाएको देखेको छु”, अभिभावक संघका अध्यक्ष भण्डारी भन्छन्, “मुन्नी बदनाम हुई...', 'उलाला... उलाला...' जस्ता गीत बच्चाका लागि नभई ठूलाहरूकै लागि छनोट गरेको देखिन्छ। यति संवेदनशील विषयलाई नियन्त्रण गर्ने कानून नहुँदा फाइदा लिने समूहहरू सप्रेका छन्।”
आफ्नो सन्तानले जितुन् भन्ने चाहना राख्नु अस्वाभाविक नभए पनि हरेक प्रतियोगिता जित्नैपर्छ भन्ने अभिभावकको दबाबले बालबालिका र किशोर–किशोरीमाथि तनाव थपेको छ। आफूले गर्न नसकेका काम छोराछोरीमार्फत पूरा गराउने मनोविज्ञानले अभिभावकहरू यस्ता कर्ममा उत्साहपूर्वक लागेका हुन्छन्– छोराछोरीको इच्छा पुर्याउन वा बाधक नबन्न भन्दै। कतिपय अभिभावक त आफ्ना छोराछोरीको 'पर्फमेन्स्' अंग्रेजी वा हिन्दी च्यानलका रियालिटी शोको स्तरमा पुर्याउने मनोविज्ञानबाट सक्रिय भइरहेका हुन्छन्। त्यो मनोविज्ञानको असर भने छोराछोरीमाथि नै परिरहेको हुन्छ।
त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी उप–प्राध्यापक सुमाया राई स्वविवेक प्रयोग र तर्क गर्ने उमेर नभइसकेकामा प्रतियोगिता नजित्दा वा बाहिरिंदा नराम्ररी मानसिक झ्ड्का लाग्ने बताउँछिन्। गलत परामर्श र हार्दाको पीडाले अकल्पनीय दुर्घटना निम्त्याउन सक्ने उप–प्राध्यापक राई बताउँछिन्। राई भन्छिन्, “बालबालिकालाई प्रतियोगितामा सहभागी नगराई नहुने हो भने पहिलादेखि नै हार पनि जित जत्तिकै सामान्य हो भनेर परामर्श दिइरहनुपर्छ।”
दिवास्वप्नको उमेर
मनोवैज्ञानिकहरू ९ देखि १६ वर्षलाई बढी संवेदनशील उमेर समूह मान्छन्। यौनाङ्गहरू परिपक्व हुँदै प्रजननका लागि सक्षम हुने उमेरका छोराछोरीप्रति बडो सावधानीपूर्वक व्यवहार गर्नुपर्छ। बाल्यकालका विशेषताहरू छाड्दै वयस्क हुने यौवनावस्था तीव्र वृद्धि, विकास र परिवर्तनको उमेरमा सामान्य कुरा/घटनाले पनि गहिरो मानसिक–शारीरिक असर पुर्याउन सक्छ। पूर्व किशोरावस्था र किशोरावस्थालाई दिवास्वप्नको उमेर पनि भनिन्छ। यो उमेरमा डराउने र दुःखी हुने मात्र होइन आत्मपरिचय खोज्ने प्रवृत्ति पनि बढेको हुन्छ। यही कारण उनीहरू 'मिस वा मिष्टर' प्रतियोगिताप्रति आकर्षित भएका हुनसक्छन्।
साभार : हिमाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !