CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » हेभी बाइकमा बुलेट गर्ल

हेभी बाइकमा बुलेट गर्ल


एकताका राजधानीका सडकमा स्कुटर चढ्ने युवती देख्दा पनि आश्चर्यको विषय हुन्थ्यो, तर अहिले स्कुटर युवतीहरूको सामान्य सवारी साधनमात्र भएको छैन, उनीहरूको चाहना स्कुटीबाट बढेर मोटरसाइकल हुँदै हेभी बाइकहरूसम्म पुगिसेकको छ । राजधानी काठमाडौंमा मात्र होइन, मोफसलको बुटबल, पोखरादेखि पूर्वका उर्लाबारी, दमकजस्ता
सहरमा समेत हेभी बाइक चलाउने युवतीको संख्या तीव्र रूपमा वृद्धि हुँदै गएको छ । हेभी बाइकमा पनि पुरुषहरूले पनि कमै अफोर्ड गर्ने 'बुलेट' चढ्ने युवतीहरूको संख्या पनि उत्तिकै बढिरहेको छ । कस्ता छन् यी हेभी बाइक चढ्ने युवतीहरू, कस्तो छ उनीहरूको सोच एवं जीवनशैली १ बुलेट हेभी बाइकको एउटा प्रतीक मात्र हुन सक्छ, तर के बुलेट चढ्ने युवतीहरू वास्तविक जीवनमा पनि बुलेटजस्तै छन् त ? उनीहरूको विन्दास जीवन शैली एवं हेभी मोटरसाइकल मोहका सम्बन्धमा विदुर खतिवडाको आवरण कथा ।

लक्ष्मी खतिवडा, काठमाडौं 

लक्ष्मी खतिवडालाई लाग्छ, उनी बुलेट अर्थात् रोयल इनफिल्ड चढ्नकै लागि जन्मिएकी हुन्। शंखमूलमा पान मसाला खाने क्रममा यी बुलेट लेडीको रवाफ हेर्न लायक थियो। आफ्नै नाममा हेभी बाइक किनेर चढ्ने महिला कमै होलान्, सहरमा बुलेट राइडर लेडी नदेखेको बताउँदै लक्ष्मी भन्दै थिइन्, किनेर घरमा राखेर भएन नि, रेगुलर चलाउनुपर्‍यो नि। नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलकी केन्द्रीय सदस्य लक्ष्मीलाई कतिपयले लेडी डनका रूपमा समेत चिन्छन्। यद्यपि उनी आफूलाई पूर्णतः सामाजिक कार्यकर्ता बताउँछिन्। अब हुने तरुण दलको महाधिवेशनमा केन्द्रीय अध्यक्षका निम्ति उम्मेदवारी दिने तयारी गरिरहेकी लक्ष्मी बुलेट लाइफस्टाइलले आफूलाई थप लोकप्रिय बनाएको बताउँछिन्। खतिवडा भन्छिन्- 'बुलेटमा हिँड्दा अरूभन्दा पृथक् पहिचान बनेको छ, सबैले ऊ लक्ष्मी आई भन्छन्, नचिन्नेहरू पनि चिनजान गर्छन्, सम्भवतः बुलेट चढ्ने महिला थोरै भएकाले पनि मलाई यो जीवनशैली फापेको छ।'

लक्ष्मीले रोयल इनफिल्ड चढेको चार वर्ष भैसकेको छ। चार वर्ष एभेन्जर चढेपछि एक बिहान उनले रोयल इनफिल्ड चढ्ने निर्णय लिएकी थिइन्। 'एभेन्जर लिएर धनकुटासम्मको यात्रा गरेकी थिएँ,' लक्ष्मीले भनिन्, 'बुलेट लिएर धरानसम्म पुगेकी छु।'

धरानमा जन्मिएकी लक्ष्मीको परिवार अहिले इटहरीमा छ। लामो यात्रामा बुलेट लिएर निस्कँदा तेलको खपतले आर्थिक मार पार्ला नि ? लक्ष्मी भन्छिन्- 'माइलेज सोध्नेले बुलेट नचढे हुन्छ।' एउटा चल्तीको भनाइ पनि छ, जति लिटर उति किलोमिटर तर यो उखान मात्र भएको, यथार्थ नभएको लक्ष्मी स्पष्ट पार्छिन्। जसले बुलेट चढ्छ उसले अरू बाइक नचढ्ने लक्ष्मीको तर्क छ। लक्ष्मीले बुलेट चढेको देखेर प्रभावित भएका कलाकार एवं व्यवसायी सन्तोष सिलवाल गिरीले उनीसँग भेट्न समय नै मागेका थिए। बुलेट प्यासन हो, घरमा दुईवटा गाडी भए पनि सन्तोष आफैं पनि बुलेट राइडर हुन्। अरू बाइकले नदिएको आनन्द बुलेटमा पाएको बताउने लक्ष्मीले त्यतिबेला ३ लाख ९० हजार रुपैयाँमा रोयल इनफिल्ड खरिद गरेकी थिइन्। उनकी बहिनीले गाडी किन्न भनेर बैंकमा ५ लाख रुपैयाँ राखिदिएको थुप्रै भैसकेको छ, झन्डै यही खर्चमा गाडी नै आइहाल्छ नि, किन बाइकमा हिँड्नुपर्‍यो भन्ने बहिनीको भनाइ थियो तर उनी आफू बुलेटमै सन्तुष्ट भएको बताउँछिन्। 

रोयल इनफिल्डको यात्रा सुरक्षित भएको लक्ष्मीको जिकिर छ। उनका अनुसार अहिलेसम्म नेपालमा रोयल इनफिल्डमा दुर्घटनामा परेर कसैको निधन भएको जानकारी छैन। रोयल इनफिल्डरहरू संयमित व्यक्तित्व भएको उनको दाबी छ। रोयल इनफिल्ड चलाउने केही अपवादबाहेक सबैले संयमित भएर बाइक चलाउँछन्। लक्ष्मी भन्छिन्- यसमा बिस्तारै पिकअप लिएर एउटा गति लिएपछि त्यसमै रहेर यात्रा गरिन्छ।

लक्ष्मी हिन्दी चलचित्रमा थानेदारको अपिरियन्स देखेर प्रभावित भएकी हुन्, उनले बुलेट चढ्ने कारण कुराकानीको मध्यक्रममा गएर खुल्यो। थानेदार भएको हिरो भुटुङटुङ बाइक चलाउँदै हिँडेको चलचित्र दबंग धेरैले हेरेको हुनुपर्छ। भर्खरै मात्र प्रदर्शनमा आएको जबतक है जान नै किन नहोस् शाहरूख खान त्यहाँ पनि बुलेटमै सवार देखिन्छन्। 'साउन्ड नै मीठो,' लक्ष्मीले भनिन्-'बुलेटको ओर्जिनल साउन्ड पटक्कै हार्मफुल छैन।' हिरोको मात्र किन कुरा गर्ने जिन्दगी ना मिले दोवारामा नायिका कैटरिना कैफ नायक हृतिक रोशनलाई पछाडि राखेर बुलेटमा दौडिएको पनि देखिएकै हो। 

'बलियो तिघ्रा भएकाहरूले पनि रोयल इनफिल्ड चलाउन नसकेको पनि देखेकी छु' लक्ष्मी भन्छिन्- 'यसलाई जबर्जस्ती चलाउन खोज्नेले स्ट्यान्ड पनि लगाउन सक्दैन। टेक्निक लगाए जो कसैले सक्छ।' बाइक हेभी भए पनि महिलाले मज्जाले चलाउन सक्ने लक्ष्मीको तर्क छ। जान्यो भने सबैभन्दा सजिलो सवारी साधन हो यो, तर अर्को समस्या बुलेट जुनसुकै वर्कसपमा बन्दैन। केही मात्र यस्ता वर्कसप छन् जसले बुलेटको स्क्रु खोल्ने आँट गर्छन्। 

बुलेट चढेर हिड्ने युवतीहरूको सान बेग्लै हुन्छ। मोडिफाइ गरिएको पल्सरमा बेपत्ता हुइँकिने तन्नेरीहरू पनि युवतीले चलाएको बुलेट देखेपछि शान्त हुन बाध्य हुन्छन्। ऊ हेर्न त्यो बुलेट, केटीले हाँकिरहेकी छे, यार, लक्ष्मी भन्छिन्- 'त्यो बिचरोको फुई तत्कालै र्झछ।'

'एक युगमा एउटीले चलाएको देख्न सकिन्छ यार,' इटहरीमा बुलेट चलाउने क्रममा आकाश सुब्बा नामका युवकले दिएको यो प्रतिक्रियाले लक्ष्मीलाई गर्व महसुस गरायो। त्यतिमात्र होइन, धरानस्थित बुलेट बाइकको सर्भिस मेकानिक्सले बुलेट चलाउने युवती भन्दै थप दुई टुक्रा मासु ख्वाएको क्षण पनि लक्ष्मी बिर्सन चाहन्नन्। उमेरले चार दशकको हाराहारीमा पुगेकी लक्ष्मी रहर भए पनि अबका केही वर्षपछि नियमित रोयल इनफिल्डमा हिँड्न नसकिने हो कि भन्ने चिन्तामा पनि थिइन्। लक्ष्मीले भनिन्- 'तरुण दलको नेतृत्व तहमा रहुन्जेल बुलेट नै चढ्छु तर त्यसपछि उमेरले पनि यो जीवनशैली त्याग्नुपर्ने अवस्था आउनसक्छ, तर मेरो रोयल इनफिल्डसँगको साइनो जीवनभर रहनेछ।'  

सोनु गुरुङ, पोखरा

म बुलेटमा हिँड्न थालेको डेढ वर्ष भयो। माछापुच्छ्रेको छायाँ देखिने फेवातालको किनारको लेकसाइडमा उनी बुलेटमै बतासिन्छिन्। सुन्दर नगर पोखरामा सुन्दर बाइकमा हुत्तिँदाको मज्जा बेग्लै हुन्छ, सोनुको आफ्नै अनुभव हो यो। यहाँका बाटाहरू फराकिला छन्, बुलेटमा हान्निएर कहिले लेकसाइड त कहिले ड्यामसाइड अनि अलिपरको पामेपुग्दा उनी रोमाञ्चक अनुभूति गर्छिन्। त्यसो त उनी कास्कीका मनोरम पर्यटकीय स्थल एवं छेउछाउका पर्वत, बागलुङ, स्याङजासम्मका थुप्रै टुर बुलेटमै तय गर्छिन्। 

'केटाहरूले बुलेट-बुलेट भनेर जिस्क्याउँछन्' बुलेट लेडी सोनुले हाँस्दै भनिन्-'बुलेट आइ भनेर कराउँदा झट्ट रिस उठे पनि आफ्नो परिचय बुलेट राइडर बनेकोमा दंग पर्छु।' सोनु सानो उमेरदेखि नै टम ब्वायजस्तो जीवनशैलीमा हुर्किइन्। त्यही भएर पनि मोटरबाइकप्रति उनको सम्बन्ध सानो उमेरदेखिकै हो। बाइकप्रतिको रुचि सानो उमेरदेखिकै भएकाले उनले बाइकका सबै भिन्न स्वरूपसँग मित्रता गरिन्। 'भिआर केही अग्लो भएकाले चलाएकी छैन,' सोनुले भनिन्- 'आरएक्सदेखि सिबिजेड, पल्सर, इन्टाइसर, एभेन्जर सबै चलाइसके, तर रोयल इनफिल्ड चलाउँदा पाइने सन्तुष्टि अन्यत्र छैन।' 

पातलो शरीरकी सोनु झट्ट हेर्दा बुलेट चढि्छन् जस्ती पनि देखिन्नन्, तर पोखरा-काठमाडौं, पोखरा-जोमसोम, पोखरा-बुटवल, पोखरा-नारायणगढसम्मका टुर उनले बुलेटमै सम्पन्न गरिसकेकी छिन्। मनाङ, जोमसोम, बुटवल तथा रूपातालसम्मका लङटुर टि्रप अविश्मरणीय भएको उनको अनुभव छ। सोनुका अनुसार टेक्निकल्ली चलाउन जान्यो भने बुलेट जत्तिको सजिलो अर्को बाइक छैन। 

१५ वर्षको उमेरदेखि बाइक चलाउन थालेकी सोनुका विदेशी पति बेन्जामिन वर्सनले पनि बुलेट लाइफस्टाइल रुचाउने श्रीमतीको चाहनामा कुनै रोकटोक लगाएका छैनन्। एक्लै टुरमा हिँड्दा ममिले सतर्कता अपनाउने सल्लाह दिनुहुन्छ, सोनु भन्छिन्- 'म त्यसलाई सुरक्षित यात्राका लागि दिइएको शुभकामनाका रूपमा ग्रहण गर्छु,' तर उनले बुलेट बाइक चलाएर देखाएको सानमा परिवार पनि उत्तिकै रमाएको छ। 

रोयल इनफिल्डरहरूको टिमले टुरिज्म फर जोमसोम नाराका साथ सम्पन्न गरेको जोमसोम टुरमा सहभागी भएकी सोनु मुक्तिनाथ पुगेर बुलेटमै सकुशल पोखरा आउन सफल भइन्। साहसी लेडिराइडरका रूपमा जोमसोममा राइडर क्लबले उनलाई सम्मानसमेत गर्‍यो। दुई महिनाअघि उनी पर्यटकहरूको एउटा समूह लिएर यही हेभी बाइकमा मनाङ पुगेकी थिइन्। चामेदेखि उता केही कठिनाइ भए पनि उनले यात्रा भने पूरा गरेरै छाडेको बताइन्। नयाँ वर्षमा उनी काठमाडौंसम्म बुलेटमै आएकी थिइन्। 

५० किलोग्राम तौलकी सोनु चितवनमा जन्मिएर पोखरामा हुर्किएकी हुन्। युवतीभन्दा पनि युवक साथी धेरै भएकी सोनु आफ्नो बाइकमा साथीहरू वा श्रीमान्लाई राखेर पोखराका विभिन्न स्थानमा पुग्छिन्। बाइक जसरी उनको हबी भयो त्यसरी नै उनको प्रोफेसन पनि भएको छ। 'हार्ट एन्ड टियर्स क्लब' मा म्यानेजरका रूपमा कार्यरत सोनु फरेनरहरूलाई बाइक सिकाउने, बाइक भाडामा दिने, टुर गाइडको भूमिकामा बाइकमै यात्रा गर्ने, चार-पाँच दिनको बाइक प्याकेज चलाउने जस्ता क्रियाकलापलाई व्यवस्थित गर्ने आदि जिम्मेवारी निर्वाह गर्छिन्। सोनु भन्छिन्- 'अफिसकै कामको सिलसिलामा म बुलेटमा यात्रा गरिरहेकी हुन्छु।' पोखरा-बुटवल-नारायणगढ-पोखरा यात्रा एक्लै तय गरेकी सोनुका अनुसार स्पेयर पार्ट्स लिन बुटवल पुग्दा पेट्रोल नपाएर सबैसँग १-१ लिटरका दरले ६ लिटर तेल हालेपछि उनको यात्रा सुचारु भएको थियो। नारायणगढ पुग्न गाह्रो भए पनि त्यसपछि उनी सामानका साथमा पोखरा फर्किइन्। तीन दिनको उक्त टुर साँच्चै रोमाञ्चक भएको उनले बताइन्। 

अहिले उनलाई बुलेटबाहेकका अन्य बाइक चलाउन मन लाग्दैन। बुलेट 

चढ्दाको फिलिङ्स अरू बाइक चढ्दा पाउँदिन्, सोनुले भनिन्- बुलेट चढ्दा शरीरमा हुने एकप्रकारको भाइब्रेटले यसप्रतिको आशक्ति अझ बढाएको छ। सहजै स्लो-डाउन हुने भएकाले हेभी भए पनि बुलेट नै सजिलो भएको बताउने सोनु राख्न-झिक्न पनि बुलेट नै सजिलो हुने बताउँछिन्। उनी रोयल इनफिल्ड इलेक्ट्रा ३ सय ५० सीसी तथा थन्डरवर्ड ५ सय सीसी चलाउँछिन्। साधारणतया प्रतिलिटर १२ किलोमिटर तय गर्ने बाइक चलाउन उनी पैसा नभएको समयमा मम, ड्याड र श्रीमान्को मद्दत लिन्छिन्। सोनु भन्छिन्- प्यासन हो, खर्चको मतलव छैन। 

पोखरामा बुलेट अरू चलाउने युवती नदेखेकी सोनु स्कुटर चढ्ने साथीहरूलाई बुलेट चढ्ने सल्लाह दिन्छिन्। साथीहरू स्कुटर चलाउँछन्, उनीहरूसँगै बुलेटमा हिँड्दा ब्यालेन्स नमिले जस्तो लाग्ने उनी बताउँछिन्। सोनु भन्छिन्- 'म रोयल इनफिल्डको साउन्डकै फ्यान हुँ, अरू बाइकको आवाजले इरिटेट गर्छ।' 

निर्मला खड्का, उर्लाबारी

'हेइ जंकी गर्ल !' उर्लाबारी मोरङकी निर्मला खड्का फरक्क फर्केर हेर्छिन्। उनलाई लाग्छ, जंकी गर्ल भनेर गरिएको सम्बोधन उनैप्रति लक्षित छ। नलागोस् पनि किन ? आखिर उर्लाबारी आसपासका युवाहरूले उनलाई यही उपनामले बोलाउँछन्। त्यसो त इनफिल्डर लेडी निर्मलालाई 'माइली' भनेर चिन्नेहरू पनि उत्तिकै छन्। 'खासमा माइला-माइलीहरू अरूभन्दा पृथक् हुन्छन नि !' करिब तीन वर्षयता रोयल इनफिल्डर चलाउँदै आएकी निर्मलाले भनिन्- 'छोराछोरीमा अरूभन्दा माइला-माइली नै फरक प्रकृतिका हुन्छन्।' 

उर्लाबारीमा जन्मिएर त्यहीं हुर्किएकी २५ वर्षीया निर्मला २०५९ सालदेखि बाइकको सफरमा रमाउन थालेकी हुन्। अरूझैं युवतीहरूभन्दा पनि युवकहरूको संगत रुचाउने उनको स्वभावले बाइकप्रतिको आशक्ति बढाएको थियो। दाइ र दाइका साथीहरूसँगै उनले पनि बाइक जीवनशैली अँगालेकी थिइन्। 'स्थानीय सहकारीको आरएक्स बाइक थियो,' पुराना दिनहरू सम्भ“mदै निर्मलाले भनिन्- 'त्यो बाइकबाटै अभ्यास सुरु भयो, पछि त्यही बाइकमा उनी ६ किलोमिटर पूर्वको दमकसम्मको यात्रा तय गर्न थालिन्।'

सानो उमेरदेखि नै हिपहप गेटअपमा हिड्न रुचाउने निर्मला रोलिङ स्टोन, निर्वाणा, किडरक पि्रन्ट गरिएका टिसर्ट र हाफपाइन्टमा चोक बजारमा निस्किन्थिन्। झट्ट हेर्दा केटाहरूझैं देखिने अनि केटाहरूकै ग्रुपमा हिँड्ने निर्मलालाई देखेर धेरैजसो यो केटा कि केटी भनेर झुक्किन्थे पनि। माइलीका क्रियाकलाप यतिमा मात्र सीमित थिएनन्। दाइका साथीहरू उनलाई ओह जंकी भाइ भनिदिन्थे, त्यसले त अझ अन्यौलमा पारिदिन्थ्यो। 'अहिले पनि मलाई दाइहरू भाइ के छ भन्छन्,' १७ वर्षे उमेरमै नेपाली सेनाका जवानसँग लगनगाँठो कसेकी निर्मलाले भनिन्-'त्यसमाथि तेक्वान्दोमा ब्राउन बेल्ट लिइसकेको भएकाले धेरैले केटाहरूजत्तिकै साहसी मान्छन्।' तेक्वान्दोबाहेक भलिबल, फुटबल आदि खेल पनि उनी केटाहरूसँगै खेल्थिन्। केही वर्ष काठमाडौंमा बिताएपनि उनी उर्लाबारीलाई छोड्न सक्दिनन्। उर्लाबारीमै रमाइलो छ, श्रीमान् देश-विदेश जहाँ भए पनि म प्रायः उर्लाबारी नै बस्छु, उनले भनिन्। निर्मलाको इच्छा आर्मी हुने थियो, तर अहिले आर्मीकी श्रीमती बनेर त्युसमै रमाएको उनी बताउँछिन्। 

आरएक्सपछि उनले अन्य बाइक पनि चलाइन्। ६३ सालमा घरमै हिरो होन्डा प्यासन भित्रिएपछि उनको बाइक यात्रा थप गतिशील भयो। प्यासन लिएर उनी दिनहुँजसो उर्लाबारी-विराटनगरको भित्री बाटोमा हुइँकिन्थिन्। त्यही वर्षको अन्त्यमा उनले विवाह पनि गरिन्। 

'मेरो बाइकप्रतिको मोह बुझेर नै दाइले रोयल इनफिल्ड किनेर मलाई गिफ्ट दिनुभयो,' धरानको सो रुमबाट खरिद गरिएको मरुन कलरको क्लासिक रोयल इनफिल्डका बारेमा उनले भनिन्- 'त्यसपछि नियमित इनफिल्ड चलाउँदै आएकी छु।' ०६५ सालतिर उनले आईईसी कलेज, विशालनगरमा ब्याचलर्स तहको इन्टेरियर डिजाइनिङ कोर्स गर्न थालिन्। तत्कालीन समयमा छाउनीदेखि विशालनगरसम्म रोयल इनफिल्डमा यात्रा गर्दा धेरै युवाले उनलाई फर्की-फर्की हेरेको उनलाई अझै सम्झना छ। अहिले त उनी सातवषर्ीय छोरालाई पनि लिएर सर्ट टुरमा निस्कन्छिन्। उर्लाबारी नै बस्न थालेकी निर्मलाका अनुसार अहिले उर्लाबारीमा इनफिल्डर्स क्लब स्थापना भएको छ, जसमा उनी पनि मेम्बर बन्दैछिन्। पूर्वमा बिर्तामोड र पश्चिममा विराटनगरसम्म बुलेटमै यात्रा तय गरिसकेकी निर्मला यसपटकको दसैंमा श्रीमान् भेट्न इलामसम्मको टुर गर्ने योजनामा छिन्। ५ फिट १ इन्च मात्र अग्ली भएकाले उनलाई बाइक चढ्दा दुईवटै खुट्टा टेक्न गाह्रो हुन्छ। 'एकपटक भिआर चलाउन मन लागेर पुल छेउको बारमा टेकेर चढेकी थिए' निर्मलाले भनिन्- 'पछि ओर्लने बेलामा पनि त्यहीं आएर ओर्लनुपर्‍यो।' काठमाडौं रहँदा उनले थुप्रै पटक छाउनी-नगरकोटसम्मको यात्रा तय गरेको कुरा बताइन्। निर्मलाको अनुभवमा नयाँ छँदा ३०-३५ किलोमिटर प्रतिलिटर चल्ने रोयल इनफिल्डले अहिले बढीमा २५ किलोमिटरसम्म माइलेज दिन्छ। श्रीमान्ले दिने पैसाले इन्धन हालेर नै उनको इनफिल्डर बन्ने चाहना पूरा भैरहेको छ। 'रोयल इनफिल्ड चढ्ने श्रीमतीको चाहना श्रीमानले पूरा गर्नै पर्‍यो नि !' निर्मलाले हाँस्दै भनिन्- 'हेर्दा हेभी जस्तो लागे पनि यसमा यात्रा गर्नुजस्तो सजिलो अरू बाइकमा हुँदैन।' बुलेट चलाउने बानी परेपछि साह्रै सजिलो लाग्न थाल्ने उनले बताइन्। निर्मलाले भनिन्- 'अब यो बाइक बेचेर ब्लाक कलरको ५ सय सीसीको रोयल इनफिल्ड किन्ने योजनामा छु।' 

सिर्जना थापा, ललितपुर

सिर्जना थापा अर्थात् 'सिरु' थापा प्रोफेसनल रोयल इन्फिल्डर हुन्। २३ वर्षीया सिर्जना थुप्रै पटक इनफिल्ड टुरमा पनि निस्किएकी छिन्। ३ सय ५० सिसि इलेक्ट्रा रोयल इनफिल्डमा निस्कँदा उनलाई हेर्नेहरू जिब्रो टोक्न बाध्य हुन्छन्। ऊ बुलेट लेडी आई भन्दै उनलाई हेरिरहन्छन्, मुख्य कुरा त उनको प्रोफेसनल ढंगको राइडिङ स्कील देखेर पनि सबै दंग पर्छन्। 'मैले आफूपछि राम्रोसँग रोयल इनफिल्ड चलाउने लेडी उनैलाई देखेको हो,' अर्की इनफिल्डर लेडी लक्ष्मी खतिवडाले भनिन्- 'उनी सहरमा रोयल इनफिल्ड लिएर निस्किएको देखेका आधारमा मैले अनुमान गरेकी हुँ, उनमा कन्फिडेन्स पाइन्छ।' सिरुले सन् २०१० देखि रोयल इनफिल्ड चलाउन थालेकि हुन्। 

बाइकप्रतिको क्रेजले नै सिर्जनाको हेभी मोटरसाइकलप्रतिको मोह बढाउँदै लगेको हो। उनमा सानो उमेरदेखि नै बाइकर्स बन्ने चाहना थियो। टेलिभिजन शोमा समेत उनको राइडिङ स्किल सार्वजनिक भएको थियो। अक्सर उनलाई ललितपुर क्षेत्रमा देखिन्छ। प्लिएजर स्कुटीबाट सुरु भएको उनको बाइक यात्रा रोयल इनफिल्डसम्म पुग्यो। ५ फिट १ इन्च अग्ली सोनु साथीहरूको संगतबाटै इनफिल्डर भएकी हुन्। 'मेरो साथीको बुलेट बाइक थियो, उसले चलाएको देखेर नै म पनि आकषिर्त भएँ,' सिर्जनाले भनिन्- 'सुरुमा त डर लागेको थियो तर पछि कम्फर्टेबल फिल भयो।' जस्तोसुकै अवस्थामा बुलेटलाई सहज ढंगले ह्यान्डल गर्न सक्ने सिर्जना अहिले रोयल इनफिल्डसँग युजटु भैसकेको बताउँछिन्। बीचमा एभेन्जर, अपाचे, इन्टाइसर, यमाहा एफजेड पनि चलाएकी सिर्जना सबै ब्रान्डका सबै मोटरसाइकल चलाउन पोख्त मानिन्छिन्। 

नख्खिपोटकी सिर्जनाले भीएलसीसी इन्स्िटच्युटबाट मेकअपसम्बन्धी डिप्लोमा कोर्स पूरा गरेकी छिन्। ललितपुरदेखि डिल्लीबजारसम्मको यात्रामा उनी बुलेटमै देखिन्थिन्। सिर्जना भन्छिन्- 'सानो उमेरदेखि नै बाइक चढ्न मन लाग्ने, अहिले बाइकको राजा रोयल इनफिल्डमा निस्कँदाको सान नै भिन्दै।' 

सिर्जना सिंगापुरमा जन्मिएकी हुन्। लाहुरे पिताकी छोरी सोनु जीवनमा सबै कुराको अनुभव सँगाल्नुपर्ने मान्यता राख्छिन्। विशेष गरी साहसिक क्षेत्र उनको रुचिमा पर्छ। 'टेलिभिजनमा कार-बाइक रेस हेरेर रमाउँथे, मोटोरेस, फर्मुला वान मेरा फेभरेट हुन्, अन्य एड्भेन्चरस कार्यमा पनि उत्तिकै रुचि थियो।' उनले भनिन्- 'त्यो रोमाञ्चक अनुभव आफैंले हासिल गर्नुपर्छ भनेर बाइक चढ्न थालें।' साथीको रोयल इनफिल्ड बाइक चलाउँदा एकप्रकारको छुट्टै आनन्द आएको उनले बताइन।

मेकअप आर्टिस्टका रूपमा पि|mलान्सर जब गरिरहेकी सिर्जना केही समय अस्टे्रलिया पनि बसिन्। अस्टे्रलियामा रहँदा उनले मेकअप आर्टिस्टका रूपमा लघु चलचित्रहरूमा काम गरेकी थिइन्। सिर्जना भन्छिन्- 'अहिले पनि राम्रो प्रोजेक्टबाट अफर आए गर्न तयार छु।' त्यसो त सिर्जना व्यवसायी पनि हुन्। उनले विदेशबाट आफैंले आयात गरेका सामग्रीको बिक्री-वितरण गर्ने ट्रेडिङ हाउस सञ्चालन गरिरहेकी छिन्। अध्ययन बाहेक अतिरिक्त क्रियाकलापमा बढी रुचि राख्ने सिर्जनाले रोयल इनफिल्डमा सबैभन्दा लामो काठमाडौं-पोखरा टुर गरेकी छिन्। त्यसबाहेक थुप्रै पटक काठमाडौं नगरकोट टुर सम्पन्न गरेकी छिन्। भक्तपुरको फराकिलो बाटोमा बुलेट हुइँक्याउँदा उनलाई अत्यधिक आनन्द आउँछ। सिर्जनाका अनुसार लामो दूरीको यात्राका निम्ति क्रुज टाइपको यो बाइक उत्तिकै उपयोगी छ। 

सिर्जना नेपालमै केही गर्ने उद्देश्यका सन् २००९ मा नेपाल आएकी हुन्। आएको दोस्रो महिनामै उनले बाइक सिकिन्, तेस्रो महिनामा रोयल इनफिल्ड खरिद गरिन्। अबका केही वर्ष स्वदेशमै रहेर कामलाई निरन्तरता दिने चाहना सिर्जनाको छ।

'ऊ हेर त, क्या बुलेट रै'छ यार' कुनै राम्री युवती देख्दा अहिलेका तन्नेरीहरूबाट यस्तै संवाद सुनिन्छ। युवती कसरी बुलेट बनिन् ? यो त स्वयं ती युवाहरूलाई पनि थाहा नहोला, तर उनीहरूले बुलेटलाई राम्री युवतीको पर्यायका रूपमा संकेत गरेको हुनुपर्छ। 'रोयल इनफिल्ड' अर्थात् 'बुलेट' मोटरसाइकलको लोकपि्रयतालाई युवतीसँग क्यास गरिएको पनि हुनसक्छ। रोयल इनफिल्डलाई मोटरसाइकलको क्षेत्रको राजा वा रानी जे भने पनि हुन्छ। रानीचाहिँ यसकारण की, यो बाइक आफैंमा ग्ल्यामरको प्रतीक हो। बुलेटको नागबेली बनावटलाई युवतीसँग तुलना पनि गर्न सकिन्छ। यसलाई विश्वबजारमा साम्राज्य स्थापना गर्ने एकमात्र बाइक ब्रान्ड भने पनि हुन्छ। यो बाइक अन्य बाइकभन्दा विलकुल फरक स्वरूप, प्रकृति र स्वाभावको छ। यसले पनि बुलेटलाई सधैं अरूभन्दा फरक बनाएको छ। साप्ताहिकले आपmनो यो अंकमा ग्लामरस बुलेट चलाउने नेपाली युवतीहरूको अनुभव समेट्ने प्रयास गरेको छ। बुलेटमा सवार हुने सबै युवतीलाई समेट्न नसकिए पनि जति समेटिएका छन्, उनीहरूले हेभी बाइकप्रतिको आपmनो लगाव खुलेर बयान गरेका छन्। बुलेट लेडी र बुलेट बाइक सौन्दर्यका पर्याय हुनसक्छन् भन्ने कुरा चलचित्र जिन्दगी ना मिलेगी दोबारा हेरेका दर्शकले पनि अनुभव गरेको हुनुपर्छ। उक्त चलचित्रमा क्याटरिना 

कैफले चलाएको बुलेटको लामो दृश्यसँगै आउने रोमाञ्चक भिज्युअल उत्तिकै सुन्दर देखिएको छ। बुलेट नेपाली लेडी र बुलेट बाइकको यो सम्बन्ध लेडी इनफिल्डरहरूले गरेको बयानबाट अझ प्रस्ट हुनेछ।

मेघराज पौडेल, इन्चार्ज रोयल इनफिल्ड

नेपाली महिलाहरू बुलेटसँग कत्तिको नजिक छन् ?

महिलाहरू नजिकिने क्रम बढ्दो छ, हिजोका दिनमा महिलाहरूले बुलेट चढ्ने आँट गर्नु दुस्साहसका रूपमा बुझिन्थ्यो, त्यो परिभाषा अहिले बदलिएको छ। साहसिक क्षेत्रका सबै जस्तो विधामा महिलाहरूले पनि उत्तिकै सहभागिता जनाउन थाल्नुभएको छ। नेपालभर करिब एक दर्जन महिला बुलेटसँग गाँसिएका छन्। यो सुरुवात हो, अब महिलाहरूलाई पनि कम आँक्न मिल्दैन। 

बुलेटप्रति महिलाहरूलाई इनकरेज गर्न के कार्यक्रम सञ्चालन गर्नुभएको छ ?

अहिले ज-जसले बुलेट चलाइरहनुभएको छ, उहाँहरूलाई रोयल इनफिल्डको नेपालका लागि ब्रान्ड एम्बेसडर घोषणा गर्दैछौं। यो उहाँहरूलाई गरिएको सम्मान हो, साथै नेपालभर आयोजना हुने रोयल इनफिल्ड टुरमा उहाँहरूलाई सहभागि गराउँदैछौं। नेपाली महिलाहरूका निम्ति विशेष सुविधा प्याकेज पनि ल्याउने भएका छौं। सर्भिसिङलगायत अन्य मेकानिकल पार्टमा पनि महिलाहरूलाई ज्ञान प्रदान गर्नेछौं। राइडर सेफ्टी क्याम्पेनिङ चलाउँछौं। हाम्रा शोरुममार्फत बुलेट चलाउने टे्रनिङ पनि दिनेछौं। 

रोयल इनफिल्डको नेपाली बजार कस्तो छ ?

हामीले सन् २००२ देखि रोयल इनफिल्डलाई नेपाल भित्र्याएर औपचारिक रूपमा कारोबार सुरु गरेका हौं। त्यो पहिलो वर्ष लक्ष्यभन्दा बढी ४८ वटा बाइक बिक्री गरेका थियौं। अहिले आएर १ हजार बाइक बिक्री गर्ने लक्ष्य राखेका छौं। रोयल इनफिल्ड अहिले बजारमा विश्वकै सबैभन्दा पुरानो बाइक उत्पादक मानिन्छ। विश्व बजारमा भारतमा उत्पादन हुने रोयल इनफिल्डको राम्रो उपस्थिति छ। सुखद पक्ष के हो भने हामी सबैभन्दा धेरै बुलेट बाइक बिक्री गर्ने राष्ट्रमा परेका छौं। विश्वयुद्ध पछि सुरु भएको यो बाइकले विश्वभरमै इज्जत कमाएको छ। 
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis