CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » चर्चित १० फेसनेबल नेपाली

चर्चित १० फेसनेबल नेपाली

नेपालमा सबैभन्दा स्टाइलिस व्यक्ति को होला ? प्रतिस्पर्धा र आकर्षणको आजको युगमा कसले पेसा र समाजको अपेक्षाअनुसार आफूलाई समयअनुकूल बनाइरहेको होला ?
यसपटक साप्ताहिकले आफ्नो क्षेत्रअनुसारकै फेसन गर्ने व्यक्तिहरूको खोजी गरेको छ। स्वदेशमा मात्र होइन, विदेशमा पनि फेसन डिजाइनमा ख्याति कमाएका युवा डिजाइनर विश्व गौतमसँग मिलेर साप्ताहिकले नेपालका सबै क्षेत्रका एक-एक जना फेसन कन्सस व्यक्तिको खोजी गरेको हो। कला, संगीत, मिडिया, उद्योग-व्यवशाय, शिक्षा एवं बैंकिङसम्मका सय जना सार्वजनिक व्यक्तित्वमध्येबाट उत्कृष्ट १० 'फेसन कन्सस' व्यक्ति छानिएको हो। साप्ताहिकले धेरैको अभिमत लिएर सार्वजनिक छवि भैकन पनि आफ्नो पेसा र प्रतिष्ठाअनुसारको जीवन शैली अपनाउन नसकेका सेलिब्रेटीको पनि खोजी गरेको छ। समयअनुसार आफूलाई सुधार गर्नुपर्ने आवश्यकता भएका ती सेलिब्रेटीको नाम उल्लेख गर्नुको अर्थ उहाँहरूको मानमर्दन भने होइन।

सामान्य भाषामा फेसनेबल हुनुलाई राम्रो पहिरन लगाउने व्यक्ति भन्ने बुझिन्छ। नेपाली समाजमा जसले महँगो पहिरन लगाउँछ, उसैलाई फेसनेबल भन्ने चलन पनि छ। विज्ञहरू भने आमनेपालीभन्दा फरक धारणा राख्छन्। उनीहरूका अनुसार फेसनले प्रत्येक व्यक्तिको मनोविज्ञान एवं जीवन शैली वर्णन गर्ने हुँदा यसको अर्थ निकै गहिरो छ। एउटा सेलिब्रेटी आकर्षक भएर हिँड्नु सामान्य कुरा हो। कुनै सामान्य मानिस आफ्नो पेसाअनुसारको पहिरन एवं जीवनशैलीमा छ भने उसले सेलिब्रेटीहरूभन्दा असल जीवन बिताइरहेको छ। यस अर्थमा फेसन पहिरनसँग मात्र सम्बन्धित छैन, उसले अँगाल्ने विचारसँग पनि सम्बन्धित छ। 

नेपालका पहिलो व्यवसायिक मोडल प्रशान्त ताम्राकारले मोडलिङ प्रारम्भ गरेको २५ वर्ष पुगेको छ। फेसन उद्योगसँगको आफ्नो लामो सहकार्यका विषयमा उनले बेलाबेलामा आफ्नो अनुभव साट्दै आएका छन्। ताम्राकारको विचारमा नेपालीहरूमा फेसनसम्बन्धी पुरानो धारणा परिवर्तन हुन थालेको छ। आममानिस अहिले गाँस, बास र कपासको समस्याबाट माथि उठेर अन्य विषयबाहेक फेसनको पनि चर्चा गर्न थालेका छन्। नेपाली फेसनमा आएको यही परिवर्तनलाई आधार बनाएर देशका १ सय सार्वजनिक व्यक्तित्वमध्ये १० जना फेसन कन्सस व्यक्तित्व छानिएको हो। यसमा सकेसम्म पेसाअनुसारको फेसन एवं जीवनशैली अपनाउने व्यक्तित्वहरूलाई समेट्ने प्रयास गरिएको छ।

१ सृष्टि श्रेष्ठ 

मिस नेपाल आफैंमा निकै गह्रौं पद हो। सीमित युवतीबीच प्रतिस्पर्धा भए पनि यसमा छानिन आवश्यक पर्ने पूर्वाधारका कारण यसले आधुनिक युवतीको प्रतिनिधित्व गर्छ। मिस वल्र्डको ठूलो प्लेटर्फममा प्रतिनिधित्व गर्ने भएकाले पनि यसको महत्व बढेको हो। त्यति मात्र होइन, मिस नेपाल भएपछि आफ्नो क्षमताअनुसारको पेसामा जाने ढोका खुल्छ। आफ्नो प्रतिभाअनुसार सजिलै आफूले चाहेको क्षेत्रमा प्रवेश गर्न सक्ने वातावरण बन्छ। विश्वभरि नै यो प्रतियोगिता जितेपछि ठूला-ठूला उपलब्धि हासिल भएका अनेकौं उदाहरण छन्। मिस इन्डिया, मिस अमेरिका वा मिस बेलायत हुनेहरूले सजिलै ती देशका कला क्षेत्रमा उचाइ हासिल गरेका छन्। 

फेसन कन्सस नेपाली युवती खोज्ने क्रममा साप्ताहिक तथा फेसन डिजाइनरको टिमले पहिलो ध्यान मिस नेपालका प्रतियोगीमा दिएको थियो। विगत १५ वर्षका १२ मिस नेपालमध्ये सबैभन्दा फेसनेवल युवतीका रूपमा सृष्टि श्रेष्ठ देखा परिन्। यद्यपि यो छनौट गर्दा नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा सृष्टिलाई टक्कर दिने अन्य युवती छन् कि छैनन् भन्ने कुरामा पनि ध्यान पुर्‍याइएको थियो। त्यो खोजमा मिस नेपालमा प्रतिस्पर्धा गर्ने युवतीहरूको शैक्षिक अवस्था, ज्ञान, पारिवारिक वातावरण एवं संस्कार अन्य क्षेत्रका युवतीहरूमा भन्दा बढि देखिएपछि मिस नेपालमा प्रतिस्पर्धा गरिरहेका युवतीहरूतर्फ ध्यान दिइएको थियो।

सृष्टि नै किन ?

सन् २०११ की मिस नेपाल सृष्टि श्रेष्ठको उचाइ अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्ने युवतीसरह नै थियो। उनको उचाइ ५ फिट १० इन्च छ। बेलायतमा मोडलिङको अनुभव गरिरहेकी हुनाले उनी अन्तर्राष्ट्रिय मञ्च विशेषगरी मिस वल्र्ड प्रतियोगितामा सहज देखिएकी थिइन्। उनको उचाइ अनुसारको तौल -५५ किलोग्राम) स्वस्थ व्यक्तिको सूचक हो। खैरो आँखा, लामो केश, घण्टौंसम्म मुस्कुराइरहन सक्ने क्षमता, बौद्धिकता एवं सकारात्मक सोच उनका गुण हुन्। उनी युरोपीयन-अमेरिकनजस्तो असाध्यै गोरी छैनन् तर काली वर्णमा पनि पर्दिनन्। पातली भैकन पनि उनको छातीको चौडाइ ८३ सेन्टिमिटर छ। अन्तर्राष्ट्रिय मोडलमा हुनुपर्ने अधिकांश गुण प्रकृतिप्रदत्त रूपमा हुनु नै उनी सर्व स्वीकार्य हुनुको कारण हो। नर्सिङमा स्नातक गरिरहेकी सृष्टि राजनीतिक घटनालाई पनि चासोपूर्वक हेर्ने सुन्दरी हुन्। 

चितवनमा जन्मिएकी सृष्टिले प्रकृतिले दिएका यति धेरै आकर्षक पक्षको राम्रो रेखदेख गरेकी छिन्। खानपिन, शैली एवं मानिसहरूसँगको व्यवहारबाट पनि सृष्टि नेपालकी नम्बर एक फेसन कन्सस युवतीका रूपमा छानिएकी हुन्। बेलायतको एउटा मोडलिङ एजेन्सीमा वाषिर्क ५ हजार पाउन्डमा अनुबन्ध भैसकेकी सृष्टिले चितवनमा थालेको समाजसेवाका कारण पनि उनको सकारात्मक मूल्यांकन भएको हो। फेसन कन्सस युवती खोज्ने क्रममा सृष्टिले सबैभन्दा राम्रो अंक प्राप्त गरे पनि उनलाई पच्छ्याउने युवतीहरूमा भाल्भिका सुब्बा तथा नायिका निशा अधिकारी थिए। 

२ बाबुराम भट्टराइ

नेपालमा भनेजस्तो राजनीतिज्ञ नभएको गुनासो बारम्बार सुनिन्छ। नेताहरूमा अध्ययन, चिन्तन एवं भिजनको कमी भएको गुनासो पनि सुनिने गरेको छ। राजनेताहरू अलोकप्रिय भए पनि यिनै नेताहरूमध्येबाट फेसन कन्सस व्यक्तिको खोजी गर्दा डा. बाबुराम भट्टराई छानिएका हुन्। नेताबाट जनताले के अपेक्षा गरेका छन्, त्यो अपेक्षा पूरा गर्दै आफूलाई कसरी मेन्टेन गरेका छन् भन्ने कुराको खोजी गर्दै जाँदा अरूको तुलनामा डा. बाबुराम भट्टराईको व्यक्तित्व बढी आकर्षक पाइएको हो। 

अनेकन् व्यक्तिसँग गरिएको सोधपुछमा डा. बाबुराम भट्टराई अरू नेताको तुलनामा बढी अध्ययन गरेको, मुखले मात्र होइन, वास्तविक जीवनमै साधारण जीवनशैली अपनाएको, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रधानमन्त्रीका रूपमा सुहाउने खालको भएका बताएका थिए। कतिपय उनी पातलो शरीरका कारण आकर्षक देखिएको, ज्यानअनुसार पहिरन सुहाएको, राजनेताले लगाउनुपर्ने साधारण रङ्गका पहिरन प्रयोग गरिरहेको पनि बताए। १० वर्ष उनको दलले गरेको युद्धका कारण १३ हजार मानिस मर्दा पनि उनको छवि घृणाको पात्रका रूपमा नदेखिनु पनि उनको छविको आकर्षण पक्ष हो।

यद्यपि उनमा पद, साधारण जीवनशैली एवं विकासवादी सोच हुँदाहुँदै पनि कतिपयले उनको बोली कर्कस भएको बताएका थिए। डा. बाबुराम भट्टराईसँगै फेसन कन्सस नेताहरूमा एमाले अध्यक्ष झलनाथ खनाल तथा कांग्रेसका युवा नेता गगन थापाको नाम पनि अग्रपंक्तिमा थियो। 

३ रविना देशराज

बैंकर रविना देशराज फेसन कन्सस व्यक्तिहरूमा अग्रणी छिन्। चार दशक उमेर पार गरेर पनि टिनएजरजस्तै मस्तीमा रमाउनु, साथीभाइको ठूलो सर्कल बनाउनु, ज्ञान-विज्ञानमा पनि उत्तिकै चासो राख्नु, सामाजिक सञ्जालको उपयोग राम्रोसँग गर्नु, आधुनिक ग्याजेटमा रमाउनु, योग-ध्यान एवं आसनहरू प्रयोग गरेर बिना खर्च स्वस्थ्य रहने सूत्रलाई जीवनमा लागू गर्नुजस्ता कारणले उनी सबै निर्णायकको आँखामा परेकी हुन्। जीवनका प्रत्येक मिनेट महत्वपूर्ण हुन्छन् भन्ने सोचका कारण हरेक भेटघाट एवं काम समयमै सक्ने व्यवहार कुशल बानीका कारण पनि रविना अरूभन्दा स्मार्ट देखिएकी हुन्। 

रविना देशराज मेगा बैंककी माथिल्लो तहकी कर्मचारी हुन्। यद्यपि उनीभन्दा एक तह माथिका कार्यकारी निर्देशकहरूले समेत उनीसँग परामर्श लिने गरेको स्वयं बैंकर्सहरू बताउँछन्। आम बैंकर्सहरू जनताबीच कमै लोकप्रिय हुने तथ्यलाई ध्यान दिँदा रविना भने सेलिब्रेटी बैंकर्सका रूपमा परिचित छन्। उनले खोपाएको टाटु, पार्टीहरूमा उनले लगाउने परिहनको रङ्ग एवं डिजाइनका कारण उनी 'बैंकर्स प्लस' अर्थात् बैंकरभन्दा पनि माथि देखिएकी हुन्। रविनालाई मेगा बैंककै अनिल केसरी शाह एवं लक्ष्मी बैंकका सुमन जोशीले पच्छ्याएका छन्। 

४ डा. आरजु देउवा

नेपाली समाजमा आरजु देउवासँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती, सभासद्, समाजसेवी, अभिजात्य वर्गकी प्रतिनिधिजस्ता अनेक फुर्का गाँसिएका छन्। विज्ञहरूको टोलीले भने देउवालाई फेसन कन्सस, ठाउँअनुसार बोल्न सक्ने क्षमता भएकी एवं अध्ययनशील व्यक्तित्वका रूपमा मूल्यांकन गरेको छ। आफ्नो पहिचान बनाइसकेपछि मात्र विवाह गर्ने, राजनीतिक व्यक्तित्वसँग विवाह गरे पनि आफ्नो छुट्टै पहिचान कायम गर्न सक्ने, आफूलाई लागेको कुरा सार्वजनिक गर्न धक नमान्ने सामाजिक कार्य एवं नेपाली कांग्रेसको राजनीतिको सिलसिलामा उनले गरेका दुर्गम गाउँका भ्रमणले पनि उनको व्यक्तित्व निखारिएको हो। यी सबै पहिचान हुँदाहुँदै पनि खानपान, जीवनशैली एवं आधुनिक ग्यासेटसँगको उनको सामीप्यताले आधुनिक महिलामा हुनुपर्ने सबै गुण छन् भन्ने कुरा सावित गर्छ।

५ निर्वाण चौधरी

बहुराष्ट्रिय नेपाली कम्पनी चौधरी ग्रुपको प्रमुख कार्यकारी हुनु नै निर्वाण चौधरीको गह्रौं परिचय हो। जम्मा तीन दशक उमेरका निर्वाण फोब्र्स पत्रिकाले सार्वजनिक गरेको गरिब देशका मिलेनियर उद्योगपतिका जेठा छोरा हुन्। यी दुई परिचयलाई सुहाउने जीवनशैली बिताइरहेका निर्वाणलाई विज्ञ टोलीले फेसन कन्सस उद्योगपतिका रूपमा छनौट गरेको छ। अनुहार र उचाइलाई ध्यान दिएर पहिरन छनौट गर्ने निर्वाण ब्रान्ड कन्सस उद्योगपतिमा पर्छन्। उनी स्थान र भेटघाटमा जम्मा हुने व्यक्तित्वलाई आधार बनाएर ब्रान्ड र रंग छनौट गर्छन्। त्यति मात्र होइन, कसलाई कसरी प्रभावित तुल्याउन सकिन्छ भन्ने कला उनले राम्रोसँग सिकेका छन्। उनले सार्वजनिक गर्दै आएका फेसन र घुमघामसम्बन्धी धारणाले पनि उनको रुचिलाई प्रस्ट पार्छ। निर्वाणको फेसन कन्सस व्यक्तित्वलाई उनकै बुवा विनोद चौधरी तथा युवा उद्योगपति सौरभ ज्योतीले पछ्याएका थिए।

६ अनुराधा कोइराला

समाजसेवाकै माध्यमबाट नाम, दाम र अन्तर्राष्ट्रिय व्यक्तित्व निर्माण गर्नु चानचुने कुरा होइन। त्योभन्दा पनि महत्वपूर्ण कुरा आफ्नो ख्याति जोगाइराख्नु हो। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले यी सबै कुरालाई एकसाथ अघि बढाइरहेकी छिन्। फेसन कन्सस व्यक्तित्वको हकमा पनि उनी सफल छिन्। उनले छानेको कामले बेलायतका राजकुमार चाल्र्ससहित अन्तर्राष्ट्रिय सेलिब्रेटीको ध्यान तान्यो। जबकि यही कामबाट समाजसेवा गरिरहेका धेरै व्यक्तित्वले उनले जति सार्वजनिक मञ्च र सार्वजनिक व्यक्तित्वलाई आकषिर्त गर्न सकेनन्। यस्ता कार्यक्रमहरूमा पनि उनको पहिरन व्यक्तित्व सुहाउँदो हुने गरेको छ। सिएनएन हिरो, कोरियाको अन्तर्राष्ट्रिय समाजसेवा एवार्डजस्ता सार्वजनिक मञ्चमा उनी अत्यन्त सालिन र भद्र देखिएकी थिइन्। ती मञ्चमा उनको प्रस्तुति पाको समाजसेवीको थियो। समाजसेवीले तडकभडकपूर्ण पहिरन लगाउनु हुँदैन तर आँखामै बिझाउने गरी दुःखी पनि देखिनु हुँदैन भन्ने मान्यतालाई उनले आफ्नो जीवनमा गम्भीरतापूर्वक लागू गरेकी छिन्। समाजसेवीका रूपमा अनुराधालाई इन्दिरा रानामगर तथा इन्सेकका पूर्वकार्यकारी प्रमुख गौरी प्रधानले पच्छ्याएका थिए। 

७ विजय लामा

पाइलट, कलाकार एवं टेलिभिजन प्रस्तोता विजय लामा अर्का पहिरन कन्सस सेलिब्रेटी हुन्। सबै पाइलट कलाकार हुन सक्दैनन्। सबै कलाकार राम्रा टेलिभिजन प्रस्तोता पनि हुन सक्दैनन्। सबैभन्दा महत्वपूर्ण कुरा सबै कुरामा उत्तिकै चुस्त र व्यवस्थित हुनु उनको अर्को गुण हो। ब्रान्ड कन्सस विजय लामाको बोली उनको व्यक्तित्व सुहाउने किसिमको छ। उनले प्रत्येक पेसाअनुसार फरक पहिरन छनौट गरेर त्यो भूमिका राम्रोसँग निर्वाह गरिरहेको छ। पाइलटका रूपमा उनका भनाइ पत्रपत्रिकामा आउँदा उनी कलाकार विजय लामा भएको छनकसमेत दिदैनन्। फेसन कन्सस सेलिब्रेटी लामाले बहुमुखी प्रतिभाले मात्र सबै पेसालाई उचित न्याय दिन सक्छ भन्ने कुरा पनि सावित गरेका छन्। विजय लामालाई जिपी तिमल्सेना तथा रामकृष्ण ढकालले चुनौती दिने प्रयास गरेका थिए। 

८ विजयकुमार

पत्रकारिताको आकर्षण बढ्दो छ। लेखनका हिसाबले छापा पत्रकारिता, आवाजका दृष्टिकोणबाट एफएम एवं ग्ल्यामरका हिसाबले टेलिभिजन पत्रकारिताको महत्व बढ्दै गएको छ। यही अवस्थालाई ध्यान दिँदै पत्रकारहरूबीच फेसन कन्सस व्यक्तित्व खोज्न साप्ताहिक एवं फेसन विज्ञ टिमले निकै मेहनत गरेको थियो। लेखन, वाचनशैली, विश्वसनीयता, अध्ययनशील एवं गह्रौं व्यक्तित्वका हिसाबले विजयकुमार सबैभन्दा अघि देखिए। विजयकुमारको शैली पछ्याउने पत्रकारको संख्या प्रशस्तै भएका कारण पनि धेरैले विजयकुमारलाई नै अघि सारे। त्यति मात्र होइन, पाँच दशकपुग्दा पनि विजयकुमारको लवाइ युवाहरूकै जस्तो हुनु, टेलिभिजनमा टाईसुटमा पनि आकर्षक देखिनु र टेलिभिजन प्रस्तोताको भिडमा अझै पनि बेग्लै देखिन सक्नु उनको विशेषता हो। विजयकुमारको शारीरिक संरचनाले पनि सुनमा सुगन्ध थपेको छ। विजयकुमारलाई दिलभूषण पाठक तथा साझा सवालका प्रस्तोता नारायण श्रेष्ठले पच्छ्याएका थिए।

९ इन्दिरा जोशी

आफ्नै गायन शैली, फेसनमा कन्सस, राम्रो नृत्य गर्ने क्षमता, आकर्षक व्यक्तित्व एवं गीतको छनौट आदि कारणले इन्दिरा जोशी फेसन कन्सस व्यक्तित्व मानिएकी हुन्। साहित्य, कला, संगीतमध्येबाट सबैभन्दा आकर्षक एवं फरक शैलीमा देखिएका कारण इन्दिरा यो छनौटमा परेकी हुन्। उनले लगाउने पहिरनमा एसेसरिजहरू पनि म्याचिङ मिलेका हुन्छन्। उनले मञ्चमा गीत प्रस्तुत गर्दा लगाउने पहिरन र पार्टी पहिरन पनि फरक हुने गरेको छ। यसले उनी ठाउँअनुसार कस्तो फेसन गर्नुपर्छ भन्ने कुरामा प्रस्ट छिन् भन्ने कुरा सावित हुन्छ। सञ्चारमाध्यममा पनि उनको तस्बिरलाई महत्व दिइने भएकाले इन्दिरा यो छनौटमा गरेकी हुन्। इन्दिरालाई गायिका आस्था राउत एवं समर लभका लेखक सुविन भट्टराईले पच्छ्याएका थिए।

१० युवराज शर्मा

शिक्षकहरू फेसनेबल भएर हिँडेको देखिँदैन। बोर्डिङ स्कुलको प्रतिस्पर्धा प्रारम्भ भएपछि फेसनले शिक्षामा पनि नजानिँदो तवरले प्रवेश पाएको छ। विद्यालयमा विद्यार्थी तथा शिक्षकले लगाउने औपचारिक पहिरनले मात्र होइन, आउट ड्रेसको नयाँ शैलीका कारण पनि स्कुल-कलेजहरू फेसमनय भएका छन्। यहि क्रममा नेपालका सयौं स्कुल कलेजका शिक्षक एवं कार्याकारी प्रमुखहरूको जीवनशैली अध्ययन गरिएको थियो। काठमाडौंका राम्रा विद्यालय तथा कलेजका कार्यकारी प्रमुखहरूको उठबस, शालीन एवं विद्व्त शैली, उनीहरूले लगाउने पहिरनको आकर्षण आदि विश्लेषण गर्दा हिमालयन ह्वाइट हाउसका प्रमुख कार्याकारी सबैको नजरमा अग्रपंक्तिमा रहे।

फेसन विज्ञहरूका अनुसार युवराज शर्मा विद्यालय, पार्टी एवं अनौपचारिक भेटघाट आदिमा अनुकूल पहिरनमा देखिन्छन्। विशिष्ट शैलीमा कुरा गर्ने र अभिभावकहरूलाई विश्वस्त तुल्याउने आफ्नो शैली उनले विगत १५ वर्षदेखि कायमै राखेका छन्।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis