CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अतृप्त भोक

अतृप्त भोक

बाला असाध्यै मायालु छिन् तर के गर्ने ?
उसिनुमाया रोकिइन् । आँखा भरिएर आयो । कसरी आँसु लुकाउ“जस्तो भयो उनलाई । काँधमा अल्झाएको पछ्यौरी तानिन् र मेरो विपरीत दिशातर्फ फर्किइन् । छेउमै बाला
हाँसिरहेकी थिइन् । उनको हातमा कपाल बाँध्ने रबरब्यान्ड थियो । उनका कोमल सुकिला औँलाहरू रबरब्यान्डमा झुन्डिएको फूलसँग खेलिरहेका थिए । गुलाबी रङको प|mकमा नीला बुट्टाहरू छरपस्ट पोखिएका छन् । उनलाई यही प|mक असाध्यै मन पर्छ  रे । 

बाला उसिनुमायाकी कान्छी छोरी हुन् । उनीभन्दा माथि एक छोरा थिए र अर्की एक छोरी । साथीको साइकल चढेर बजार जाँदै गर्दा दुर्घटनामा परेर छोराको मृत्यु भएको रहेछ । साइकल पूरै टुक्रिएको थियो रे । साइकलको टुक्राभन्दा बढी उनको छोराको शरीर टुक्रिएको हुनुपर्छ । 'छोरा मरेपछि उसको साथीको बा आमाले साइकल मागे । रिन लिएर नयाँ साइकल किनेर दियौँ,' उसिनुमायाले दुःखेसो पोखिन् ।    

जेठी छोरी उनले काम गर्ने गलैंचा कारखानामा काम सिक्दा सिक्दै एकजना ठिटोसँग लापत्ता भइन् । कहाँ छिन् कुनै खबर छैन ।  

'शीलाको भन्दा यै बालाको माया लाग्छ । त्यो शीला त माया मारेर गइहाली । त्यसमाथि यसको बाउ राति राति रक्सी धोक्ने । दिउँसो काम गर्छन् । दिनभरिको कमाइ रक्सीमै सिध्याउँछन् । बालाको त, मुखै हेर्दैनन् । जे जति गर्‍याछु मेरै पाखुराले हो । ऊ त लोग्नेको नाम मात्रै । अस्ति धन्नै मरेनन्, भट्टीको रक्सीले,' उनले अप्ठ्यारो गरी खोकिन् । लाग्छ, छातीमा सहँदै आएको पीडा ढुंगा भएर जमेको छ । दुई तीनचोटि झ्यालबाट बाहिर थुकिन् । थुकेर पीडा जाने भए कति थुक्थिन् होली । अघि नै देखि मेरो आँखा उनको पहेंलो पित्तले फुलीसँग जुधिरहेको छ । सपना देखेकी होलिन्, कुनै दिन सुनको फुली कमाएर यो पित्तले फुली फ्याकुँला । पटकपटक त्यही फुली उनको आँसुले भिज्छ र सुकाउँछिन् त्यही पछयौराको टुप्पोले । हाम्रो कुराकानीबाट बिरक्तिएर हो कि, बाला त्यहाँबाट हिँडिन् । उसिनुमाया पनि बालाकै पछि पछि लागिन् । 

'म यसको कपाल कोरिदिन्छु । रिसाएर हिँडेकी रैछ,' उनले बालालाई समातेर मेरो नजिकै ल्याइन् । बालाले एकचोटि मलाई हेरिन् र मुसुक्क हाँसिन् । कति मीठो मुस्कान ! कति भरिलो ओठ ! मानौं महले भरिएको । कति मिलेको बायाँ गालाको डिम्पल !  र, कति सुन्दर आँखा !  यति राम्री बालाको जन्म दिने उसिनुमायाको भाग्य...! म नजानी उनको निधारमा टोलाउन पुगेँ । उमेरका धषर्ाहरूले नापेको उनको निधारको चौडा फराकिलो छ । त्यही निधारमा अस्ति भर्खर श्रीमान्को मुखबाट थुकका छिटाहरू बर्सिए बालाकै विवादमा ।

'तेरो कुहिएको कोख थुइक्क !' 

हप्ता बित्छ । महिना बित्छ । वर्ष बित्छ । यहाँ उसिनुमायाको जीवन नै बित्न आँटिसक्यो । बाला भने अझ फक्रने क्रममा छिन् । पन्ध्र वर्षकी हुँदा पहिलोपटक उनको बलात्कार भयो । बलात्कार गर्ने चालीस वषर्ीय छिमेकी नन्दाराम ढुक्कसँग उनकै घर वरपर हिँड्छन् । उनलाई रंगेहात पक्रेकै हो । तर, सजिलैसँग छुटे । उनलाई छुटाउन पैसा र राजनीतिक सम्बन्धहरू तैनाथ थिए । 

त्यसपछि सुरु भयो बालाको शरीर लुट्ने क्रम । कहिले छिमेकीबाट । कहिले आफन्तबाट । कहिले बटुवाबाट । र, कहिले पुलिसबाटै । उनको चित्कार केवल उसिनुमायाले सुन्छिन् । 

ढोकामा ताल्चा मारेर के गर्नु । बाहिरी संसार हेर्नैपर्‍यो बालालाई । नत्र भने जथाभावी गरिदिन्छिन् । उनलाई स्वतन्त्र छोड्ने क्रममा विषालु कीराहरू कुनै झ्यालबाट कुनै ढोकाबाट पस्छन् र बालालाई पालैपालो टोक्छन् । धेरैपटक बालाले आफ्नी आमालाई दुःखेको स्तन देखाउँथिन् । स्तनमा मानव दाँतका घीनलाग्दा आकार रातो नीलो रङ्गमा देखिन्छन् । असह्य हुन्छ उसिनुमायालाई । उनलाई पटक पटक छोरीसँग आफ्नो हत्या भएको महसुस हुन्छ ।     

यसरी नै दिनदिनै बाला लुटिन्छिन् । उसिनुमाया कामबाट घर र्फकंदा बालाको हालत नाजुक भइसकेको हुन्छ । लुटिएको बेला बाला आमासँग खुबै रिसाउँछिन् । लात हान्छिन् । कपाल लुछ्न जान्छिन् । बालालाई फकाउन आमालाई हम्मे हम्मे नै पर्छ ।

'थानामा रिपोर्ट दिएकै हुम् । पुलिसले केही गरेनन् । उल्टै सहमति हो सहमति भन्दै मेरो खेलाँची गरे । सकिन्न रैछ, पैसा र नेतासँग लड्न' 

नन्दारामद्वारा बलात्कृत हुनु एउटा विज्ञापन जस्तै बन्यो बालाको लागि । क्रमशः यौनप्यासीहरू बालाको ढोका कुर्न थाले । कसैले बालाको हातमा खानेकुरा राखिदिन्थे । कसैले सस्ता कस्मेटिक्सका सामग्रीहरू टीका, नेलपलिस, लिपिस्टिक, पाउडर, चुरा आदि आदि । उसिनुमायाले आफ्नी छोरीको सुरक्षाको लागि विभिन्न ठाउँमा गएर गुहार मागिन् । कसैले पनि उनको अनुनय विनयको वास्ता गर्न भ्याएनन् । कोही सहयोगको नाउँमा उसिनुमायाको घरसम्म पुगे पनि बालालाई देखेपछि, 'छोरी नै यस्ती रैछ' भन्दै र्फकने गरे । 

अब उनी सहयोग माग्नसमेत थाकेकी थिइन् । झन्नै दुई महिनासम्म घरमै छोरीको पहरेदार बनेर बसिन् । भोको पेटले त्यसरी बस्न दिएन । घरको कच्ची झ्यालढोका । ताल्चा मारे पनि उस्तै । त्यही घरमा बालालाई छोडेर उसिनुमाया फेरि काममै हिँडिन् । गलैंचा कारखानाका मालिकले काम नदिएपछि उनी खोलातिरमा गिट्टी कुट्ने काम गर्न थालिन् । दिनभर शरीर ढुंगाको थुप्रोमा मन बालामा गर्दै समय बित्न थाल्यो । 

एकदिन, भर्खर काममा हिँड्न लागेको बेला बालाले आमाको हात तान्दै आफ्नो पेटमा देखाइन् । पेट पुटुस्स निस्किएको थियो । उसिनुमायाको आँखामा अन्धकार छायो । बालालाई समातिन् । उनको कपाल लुछिन् । गालामा पिटिन् । तानेर भित्तातिर हुत्याइन् । र डाँको छोडेर रोइन् । बाला पनि उसिनुमायासँगसँगै रोइन्, ह्वाँऽऽह्वाऽऽह्वाऽऽ ।  

बालाको बाबु लमक लमक गर्दै उनीहरू नजिकै आए । भुइँमा खुट्टा बजार्दै गर्जे, 'तेरो छोरीको तमासा हेरेर बस् । लाज नभाको तँ...' त्यसपछि उनले बालाको अनुहारभरि थुके र, बाहिर निस्के । 

बालाले बुझिरहेकी थिइन यो सब के भइरहेको छ भनेर । उनी आमालाई रुन साथ दिइरहेकी थिइन् ।  

भोलिपल्ट, उसिनुमायाले छोरीलाई तान्दै मेडिकल लगिन् । अलिकति जम्मा पारेको रकम मेडिकलमै खन्याइन् र बालाको पेट सफा पारिन् । त्यतिबेला बाला जोड जोडले चिच्याइन् । उनलाई पनि आफ्नो गर्भको टुसाको औधि माया लागेछ क्यारे । बाहिर उसिनुमायाको मुटुलाई पनि सन्चो थिएन । त्यहाँ बालाको चित्कार रोपिएको थियो । उनी दुखेको मुटु अँठ्याउँदै लामो लामो सास फेरिरहेकी थिइन् ।

फेरि पनि त्यस्तै हुने आशंकाले उसिनुमायाले डाक्टरसँग बिन्ती गरिन्, 'डक्टर साप मेरी छोरीलाई डिपो हो कि के भन्छ नि बच्चा नपाउने सुई, हो त्यही लगाइदिनुस् ।' हो, अहिले बालालाई सुई लगाउने गरिएको छ । जसको कारण्ा उनको शरीर मोटाउँदै गएको छ । अनुहारमा भने उस्तै चमक छ । बल्ल अठारकी त भइन् । उनको यौवन कतिजनाले लुट्छन् कुनै हिसाब छैन । असह्य चोट सहेर बस्न बाध्य छिन् गरिब उसिनुमाया ।   

एकदिन बालाको बाबुले छोरीको अनुहारमा खुबै नियालेर हेरे । उसिनुमायाले सोचिन्, बल्ल छोरीको माया पलाउन थालेछ । यही मौका छोपिन् उसिनुमायाले । 

'बालालाई के गर्ने होला । यसो उपाय सोच, न बूढा ।' उनले श्रीमान्लाई आशातीत नजरले हेरिन् । केही नसुनेझैँ गरी बालाको बाबु बाहिर निस्के । उसिनुमाया असाध्यै निराश भइन् ।

दिनभर काममा मन गएन । ढुंगा फुटाउँदा पटक पटक हथौडोले आफ्नै औँलामा हानिन् । गिट्टीका टुक्राहरू उनको रगतले रंगिए । उनको मन भने धमिलो कुहिरोले छोपिएको थियो । त्यस दिन उनी कामबाट अलि चाँडै घर फर्किन् । सडकमा जुलुस थियो । बालाले झ्यालबाट जुलुसको रमझम हेरिरहेकी थिइन् । जुलुसमा धेरै महिलाहरू थिए । उनीहरूको हातमा विभिन्न नाराहरू लेखिएको प्लेकार्ड देखिन्थ्यो ।

'हामी पनि मान्छे हौँ । मान्छेजस्तै बाँच्न देऊ ।'

'हाम्रो शरीर आफ्नो हो । आफ्नै इच्छामा चल्न देऊ'

'हामी महिला आमा हौँ । सम्मान गर सम्मान गर' 

'यौन हिंसा अन्त्य गर । अन्त्य गर ।'

पर नपुगुन्जेल बाला जुलुसकै लाइनमा टोलाइरहिन् । उनको मुन्टो झ्यालभन्दा बाहिर निस्केको थियो । जुलुस ओझेल परेपछि बाला पनि एकचोटि जोडले चिच्याइन् । मानौं उनले पनि आफ्नो अधिकारको आवाज उठाइन् । त्यतिखेर उसिनुमायालाई आफ्नी छोरी संसारकै सुन्दर युवती लागिन् । उनले झ्यालमै टोलाइरहेकी बालालाई नथाकुन्जेल हेरिन् । 

सोचिन्, बाला यस्ती नभएकी भए संसार हाँक्ने थिइन् ! उसिनुमाया ढोकाको ताल्चा खोलिन् र भित्र पसिन् । 

बाला आमालाई देख्नेबित्तिकै लाडिइन् । चोर औँला टोक्दै उनी आमाको नजिक गइन् । उसिनुमायाले छोरीलाई अँगालिन् । बालाको हातमा आँसु तप्प तप्प चुहिए । आमाको अनुहारमा हेर्दै बालाले सोधिन्-'आम्मा इन वाको ?' बालाको प्रश्नले उसिनुमायाको छाती चर्कियो । उनी झन् डाँको छोडेर रोइन् । बालाले आफ्नो हातले आमाको आँसु पुछिदिँदै भनिन्- 'आमा म यानी उन्तु नि अब' एकाएक उसिनुमायालाई आफ्नो संसार उज्यालो लाग्यो । उनले उज्यालोमा बालालाई गहिरोसँग नियालिन् । 

'मेरी बाला संसारकी राम्री ।'  

त्यही रात, उता कुनामा बाला छटपटिएको जस्तो चाल पाइन् उसिनुमायाले । उनले आफ्नो श्रीमान्लाई उठाउन खोजिन् । दायाँ छामिन् । बायाँ छामिन् । कतै भेटिनन् । सिरानीमुनिबाट सलाई निकालिन् र कोरिन् । एउटा काँटीको उज्यालोमा उनले बाला छटपटाइरहेको कुनामा आफ्नो श्रीमान्लाई नग्न अवस्थामा देखिन् । सलाईको काँटीको उज्यालो उसिनुमायाको आँखामा सर्‍यो । उनीभित्रबाट एउटी आमा जुर्मुराइन् । एउटी स्वास्नीमान्छे जुर्मुराइन् । तब, उसिनुमाया जुरुक्क उठिन् र आफ्नो गिट्टी कुट्ने हथौडो लिएर सरासर त्यही कुनातिर गइन् जहाँ उनको श्रीमान् बालाको शरीरमाथि मनोमानी उपि|mररहेको थियो... ।   

उनको बयान लिन आएकी म एउटा पाठ पढेर फर्कें । एउटी विवश आमाको पाठ जो आफ्नी छोरीलाई सधैं एउटा सुन्दर फूलको रूपमा देख्छिन् । र, पटक पटक त्यो फूल लुटिएको पीडामा आफूलाई सिध्याउने प्रयास गर्छिन् ? तर कहिल्यै सक्दिनन् । 

जब उनी फेरि प्रयास गर्छिन् बाला चोर औँला टोक्दै आइपुग्छिन्, 'आम्मा होवायो... -भोक लाग्यो) ।'
साभार : कोशेली 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis