सयौंको लाइक थियो, केही घन्टामै ३ हजार नाघ्यो। विमलको वालमा लेख्ने र फ्रेन्ड रिक्वेस्ट पठाउनेहरूको संख्या पनि उस्तै छ। उनको वालमा आई लभ यु लेख्ने, वा त्यस्तै खालका म्यसेज पठाउने केटीहरू पनि प्रशस्तै भेटिए। अझ राम्रो खेल्नुपर्छ, देशको नाम उच्च बनाउनुपर्छ भनेर उत्साहित गर्दै वालमा लेख्ने र म्यासेज पठाउने त गनी साध्य भएन।
पाकिस्तानविरुद्ध गरेको त्यही एक गोलले १५ वषर्ीय ठिटो विमल रातारात हिरो भए। अखिर उनी को हुन् ? कसरी यहाँसम्म आइपुगे ? धेरैका निम्ति चासोको विषय भएको छ। घरेलु फुटबलमा तहल्का मच्चाइसकेका फरवार्डहरू भरत खवास, अनिल गुरुङ, जुमनु राई, सन्तोष साहुखल आदि हुँदाहुँदै उनले साफ च्याम्पियनसिपको नेपाली राष्ट्रिय टिममा स्थान बनाए। आफूलाई मनपर्ने फरवार्ड भरतसँगै उनले पाकिस्तानविरुद्ध खेल्ने अवसर पाए। सिनियर खेलाडीहरूको भीडमा उनले आफू मैदानमा ओर्लन पाउने आशै गरेका थिएनन्। गोल खाएपछि मैदान छिराउने आश्वासन पाएका विमलले अन्ततः नेपालका निम्ति अमूल्य गोल नै गरे। त्यो गोलको खुसी उनले जर्सी खोलेर हावामा उडाउँदै मैदानमै चिप्लेटी खेलेर गज्जबले मनाए।
एन्फा एकेडेमीमा रहेर चार वर्षयता गरेको मेहनतले विमललाई अहिलेको हैसियत दिलाएको हो। नवलपरासी, भुताहाका विमल पहिले काठमाडौंमा सम्पन्न एन्फा एकेडेमी छनोटमा असफल भएका थिए। दोस्रो पटकको प्रयासमा छनोट भएर फुटबल खेलाडी बन्ने सपना पूरा गर्ने प्रयासमा उनी निक्कै परिश्रम गर्न थाले। काठमाडौंमा भएको छनौटको एक महिनापछि नै बुटवलको छनोटमा सहभागी हुन पुगे। 'राम्रो मेहनत गरेकाले छानिने आशाचाहिँ थियो तर, भरोसा थिएन। गुरुहरूले मेरो खेल मन पराए। त्यसपछि एकेडेमीका निम्ति छानिए, साह्रै खुसी लाग्यो,' उनले भने।
उनले दुई वर्ष बुटवलस्थित एन्फा एकेडेमीमा रहेर फुटबलसम्बन्धी कला सिके, आफूलाई निखारे। विमल दुई वर्षदेखि ललितपुरस्थित एन्फाको केन्द्रीय एकेडेमीमा छन्। बिहान र साँझ गरी दैनिक ४ घन्टा प्रशिक्षण गर्दै आएका विमल सुरुमा फरवार्ड पनि थिएनन्, लेफ्ट विङ्समा खेल्थे। गत वर्ष काठमाडौंमा आयोजित एएफसी यू-१४ फेस्टिबलदेखि मात्र उनले गोल गर्ने कामको जिम्मेवारी पाएका हुन्। एएफसी यू-१४ मा उनले ८ गोल गर्दै आफूलाई अब्बल सावित गरिदिए। त्यसपछि उनले नियमित फरवार्डको भूमिका निर्वाह गर्दै आएका छन्।
कक्षा १० मा अध्ययनरत विमलले जापानमा गत वर्ष सम्पन्न यू-१४ फेस्टिबलमा ७ गोल गरे। एक महिनाअघि राजधानीमै आयोजित साफ यू-१६ च्याम्पियनसिपमा सर्वाधिक ६ गोल गर्दै नेपाललाई फाइनलसम्म पुर्याए। प्रशिक्षण तथा अभ्यासमा राम्रो गरेकाले उनले २०६८ असोज ४ गते दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमै राष्ट्रिय टिममा डेब्यू गरिसकेका थिए। राष्ट्रिय टिमबाट पाकिस्तानविरुद्धको खेल उनको दोस्रो खेल हो।
विमलले अर्को किर्तिमान के पनि बनाएका छन् भने उनी राष्ट्रिय टिमको जर्सी लगाउने र गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्। साफको १६ वर्षे इतिहासमा पनि उनी सबैभन्दा कम उमेरका गोलकर्ता हुन्। एकेडेमीमा छनोट हुनुअघि उनी सिनियरहरूसँगै आफ्नै गाउँमा फुटबल खेल्थे। 'राजेश दाईले राम्रो खेल्छस्, तैंले फुटबलमै प्रगति गर्छस् भनेर उत्साहित गर्नुहुन्थ्यो,' ५ फिट १० इन्च अग्ला विमलले भने।
विमल सानो छँदा उनको परिवार पोखरामा थियो। उनका बुवा होमबहादुर नेपाल प्रहरीमा थिए। 'म ३ कक्षामा पढ्दा मोटरसाइकल एक्सिडेन्टमा बुबा बित्नुभयो। त्यसपछि हामी नवलपरासी नै फर्कियौं,' विमलले सुनाए। उनकी आमा धनमाया गृहिणी हुन्। आमा र बहिनी मनीषा नवलपरासीमै बस्छन्। आफ्नो भविष्यका सम्बन्धमा विमलले भने, 'सकेसम्म राम्रो खेल्दै थुप्रै गोल गर्ने इच्छा छ। भविष्यमा राम्रो खेलाडी बन्ने सोंच छ। सम्भव भए विदेशको राम्रो क्लबबाट पनि खेल्न चाहन्छु।'
अहिलेसम्म गर्लफ्रेन्ड छैनन्
- विमल घर्तीमगर, फरवार्ड, नेपाली राष्ट्रिय टिम
भर्खर १५ वर्षको मानिस राष्ट्रिय टिममा खेल्न पाउँछु भन्ने लागेको थियो ?
मैले बहराइन र कुवेत भ्रमणमा राम्रै परिश्रम गरेको थिए। कुवेतको क्लब अल अरबीविरुद्ध ह्याटि्रक पनि गरे। त्यसैले राष्ट्रिय टिममा परेजस्तो लाग्छ,। यद्यपि सिनियर खेलाडी थुप्रै भएकाले खेल्न पाउँछु भन्ने नै लागेको थिएन। मौका पाएँ भने गोल हान्छु भन्नेचाहिँ थियो।
पाकिस्तानविरुद्ध गोल गर्ने विश्वास थियो ?
नेपाल एक गोलले पछि परेपछि मलाई मैदान छिराउने आश्वसन प्रशिक्षक एवं अफिसियलहरूले दिनुभएको थियो। त्यसैले खेल्न पाउने आशा जाग्यो। वार्मअप गरेपछि मलाई मैदानमा पठाइयो। सबैले मबाट गोलको आशा गर्नुभएको थियो। मैले त्यत्रा -१८ हजार) दर्शकका अघि पहिले खेलेको थिइन। तैपनि म डराएको थिएन। मैदानमा प्रवेश गरेलगत्तै केही गर्छु भन्ने जोस भित्रैदेखि आयो। म गोल गर्ने अवसरको प्रतीक्षामा थिए। मौका मिले गोल गर्छु भन्नेमा कन्फिडेन्ट थिए। अन्त्यमा मौका मिल्यो र गोल पनि गरे, खुसी लाग्यो।
फुटबल खेलाडीहरूलाई पछ्याउने युवती थुप्रै हुन्छन्। गर्लफ्रेन्ड छिन् कि छैनन् ?
-हाँस्दै) छैनन्। अहिलेसम्म गर्लफ्रेन्ड छैनन्। भविष्यमा के गर्ने भन्ने कुरा सोचेकै छैन।
पाकिस्तानविरुद्ध गोल गरेपछि फेसबुक वालमै 'मन पराएको कुरा लेख्ने थुप्रै युवती छन् नि ?
-हाँस्दै) मैले अहिले फेसबुक राम्रोसँग हेरेकै छैन।
फेसबुक नहेरे पनि फोन त आउँछ होला नि ?
गोल गरेपछि 'राम्रो गर्यौं' भनेर धेरै फोन आए। म टिमसँग व्यस्त थिए। त्यसैले धेरै फोन आएपछि मोबाइल नै अफ गर्नुपर्यो।
तपाईंलाई मनपर्ने क्लब कुन हो ?
बार्सिलोना -स्पेनी क्लब), किनभने लियोनल मेसी खेल्छन्। सधैं राम्रो टिम हुने भएकाले मनाङ्मस्र्याङदी मलाई मनपर्ने नेपाली क्लब हो।
मनपर्ने खेलाडी ?
अर्जेन्टिनाका लियोनल मेसी। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्। नेपालीमा लेफ्ट विङ्सबाट खेल्ने विजय गुरुङ मनपर्छन्। उनी निक्कै स्किलफुल छन्।
फुर्सदमा के गर्नु हुन्छ ?
टेलिभिजनमा फुटबल हेर्छु।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !