देशमा राजनीतिक र आर्थिक क्रान्तिको थालनी गरेको ऐतिहासिक शहर विराटनगर १०० वर्ष पुग्नै लाग्दा मणि हराएको नाग जस्तो भएको छ ।
तस्वीरः मीनरत्न बज्राचार्य
मुलुकलाई ६ जना प्रधानमन्त्री दिने नगर हो– विराटनगर । पूर्व प्रधानमन्त्रीहरू बीपी कोइराला, मात्रिकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको राजनीति विराटनगरबाटै उठेको थियो । “कोइराला निवासमै तीन प्रधानमन्त्री जन्मिए”, गिरिजाप्रसादका सहपाठी रहेका स्वतन्त्रता सेनानी भीमराज नौलखा (८७) भन्छन्, “र, पनि विराटनगरले अधोगति बेहोर्नु पर्यो ।”
पंचायतकालका शिक्षा तथा सञ्चार राज्यमन्त्री राधाप्रसाद घिमिरे (८३) शासकहरूले यसलाई समस्या उत्पादन गर्ने शहर ठान्दा यहाँको उद्योग–व्यापार अन्यत्र सरेर विराटनगर ‘भाइब्रेन्ट सिटी’ बाट ‘डाइङ सिटी’ हुनपुगेको बताउँछन् । हरेक कुरालाई काठमाडौंकेन्द्रित बनाउँदै लैजाँदा विराटनगर जिम्लिएको बताउने समाजसेवी तोरेन्द्रमानसिंह प्रधान (८२) भन्छन्, “यहाँबाट धेरै जना माथि उठे, तर यो नगरलाई पछाडि छाड्दै ।”
चम्किलो इतिहास
शिखरनाथ भाष्यको यात्रा वर्णन अनुसार वि.सं. १९७१ मा बडाहाकीम जीतबहादुर खत्रीले आधुनिक विराटनगरको जग बसाएका थिए । कर्णेल खत्रीले त्यसवेला ‘मौरङ’ सदरमुकाम रंगेलीमा रहेको गोश्वारा, माल, अमिन, वनजाँच, हुलाक, अडिटर, जेल र अस्पताल विराटनगर सारेका थिए । ‘विराटनगर’ नामकरण भने १९७६ सालमा शिकार खेल्न मोरङ आएका केशरशमशेर राणाले गरेका थिए । त्यसवेलासम्म विराटनगरलाई ‘गोग्राहा’नै भनिन्थ्यो । त्यसयताको ९९ वर्षमा विराटनगरले मुलुकमा ठूल्ठूला उतारचढाव ल्याएको छ । महाभारतकालीन राजा विराटको नामबाट यो नगरको नामकरण भएको हो । विराट राजाको राजधानीको भग्नावशेष विराटनगर दक्षिणको भेडियारी गाउँमा फेला परेको थियो । कौरवहरूले लुटेका विराट राजाका गाई पाण्डवहरूले फिर्ता ल्याएको किम्वदन्ती अनुसार पहिला यो ठाउँलाई गोग्राहा भनिन्थ्यो । पाण्डवहरूले विराट राजाकै दरबारमा गुप्तबासको एक वर्ष विताएको विश्वास गरिन्छ ।
बडाहाकीम खत्रीका उत्तराधिकारी कर्णेल शिवप्रताप शमशेर थापाले पनि विराटनगर निर्माणमा मनग्ये योगदान गरे । विराटनगरमा कृष्णप्रसाद कोइरालाले भारतीय मारवाडीहरू बोलाएर व्यापारिक वातावरण बनाएका थिए । बस्ती विस्तार भएसँगै कृष्णप्रसाद कोइरालाको सक्रियतामा १९९६ सालमा नेपालकै दोस्रो शिक्षालयको रूपमा आदर्श विद्यालय स्थापना भयो । त्यसअघिसम्म राजधानीमा मात्र दरबार हाईस्कूल थियो । नेपालमा राजधानी (फर्पिङ) पछि विद्युत्को आवश्यकता महसूस गर्ने पहिलो शहर पनि विराटनगर नै थियो । त्यो आवश्यकता पूर्र्तिका निम्ति अहिलेको वारङ्गी र सिंहदेवी गाविसबीचको चिसाङ्ग खोलामा विद्युत्गृह निर्माण गरिएको थियो– ‘मोरङ हाइड्रो इलेक्ट्रिक कम्पनी’को नामबाट, जसलाई २०२३ सालको बाढीले बगायो ।
**अधोगतिको कारण **
राणा र पंचायती शासकहरू विराटनगरको क्रान्तिकारी छविप्रति जहिल्यै पूर्वाग्रही रहे । पञ्चायत छिप्पिंदै जाँदा विराटनगर शिथिल हुँदै गएको प्रा. पोखरेल बताउँछन् । मोरङ व्यापार संघका पूर्व अध्यक्ष सुरेशकुमार शर्मा (७०) राणा र पञ्चहरूको शंकालु नजरकै कारण २०४० सालपछि काठमाडौं आर्थिक रूपमा विराटनगरबाट टाढिंदै गएको बताउँछन् । देशकै उत्पादनको करीब ७० प्रतिशत बजार ओगट्ने काठमाडौं टाढिएपछि आर्थिक राजधानीको हैसियत बनाएको विराटनगर मूर्झाउन थाल्यो । यही शहरको कारोबारबाट मुलुकको औद्योगिक घराना बनेका गोल्छा, दुगड जस्ता समूहले व्यापारलाई राजधानीकेन्द्रित बनाउँदै लगे भने अरू उद्योगीहरू पनि वीरगञ्ज, हेटौंडा, सिमरा, भैरहवा, बुटवलतिर सर्न थाले । शर्मा भन्छन्, “अब काठमाडौं–निजगढ फाष्ट ट्रयाक बनेपछि विराटनगरले राजधानीमा व्यापार गर्ने दिन आउनेछ ।”
विराटनगर उपमहानगरपालिकाको आर्थिक सामथ्र्य बढाउने ठूला परियोजनाहरू त कार्यान्वयन भएनन्, भएनन् नगरले आत्मविश्वास पनि गुमाउँदै गएको देखिन्छ । नयाँ बसपार्क बनाउन जर्मन विकास ब्याङ्कले दिने रु.१८ करोड अनुदानको प्रस्ताव एक वर्षदेखि अलपत्र छ । उपमहानगरले अनुदानको ७५ प्रतिशत रकम बसपार्कसँगै बन्ने व्यावसायिक भवनमा खर्च गर्न चाहेपछि ब्याङ्कले प्रस्ताव सच्याउन भनेको छ । फोहोर व्यवस्थापनको लागि फिनल्याण्ड सरकारले दिने भनेको रु.६० करोडको योजना त फिर्ता नै भएको छ ।
४२ किलोमिटर चक्रपथ बनाउने नेपाल सरकारको योजना पनि परिणाममुखी छैन । योजना लागू भएको १५ वर्षमा ३९ किलोमीटर बाटो खोलेर २८ किमीमा ग्राभेलसम्म गरिएको छ । भारतीय लगानीको संयुक्त भन्सार जाँच चौकी निर्माण पनि नेपालतर्फ जग्गा अधिग्रहण हुन नसक्दा त्यसै रोकिएको छ । संयुक्त जाँच चौकी बनाएर विराटनगरसँग जोडिएको कटहरी गाविससम्म मालबाहक रेल ल्याउने योजना थियो । बर्खे ढल व्यवस्थापन गर्न एशियाली विकास ब्याङ्क, नेपाल सरकार र उपमहानगरको रु.३ अर्ब २५ करोडको योजनामा ठेकेदार छनोट हुनै सकेको छैन । यी यस्ता आयोजनाहरू हुन्, जसले विराटनगरको आत्मबल र सामथ्र्य बढाउने थिए ।
अपार सम्भावना
डम्बरकृष्ण श्रेष्ठ
अहिलेको अवस्था चाहिं कस्तो भने, विराटनगरले कोलकाताबाट वीरगञ्जभन्दा २२५ किमी नजिक हुनुको फाइदा पनि लिन पाएको छैन । कोलकाता–वीरगञ्ज दूरी ७७७ किलोमीटर छ भने विराटनगर–कोलकाता ५५२ किमी । मोरङ व्यापार संघका अध्यक्ष बोहरा विराटनगरका उद्योगीहरू काठमाडौं–निजगढ फास्ट ट्रयाकको पर्खाइमा रहेको बताउँछन् । संघका पूर्व अध्यक्ष सुरेशकुमार शर्माले फास्ट ट्रयाक बनेपछि विराटनगरले स्थानीय उत्पादनसँगै कोलकाताको सामान पनि सस्तोमा राजधानी पुर्याउने बताए । भारत–चीन राजमार्ग र सुक्खा बन्दरगाहको योजनाले पनि विराटनगरको सम्भावनालाई उज्वल बनाएको बताउँदै शर्मा भन्छन्, “त्यसकारण निराश छैनौं ।”
पत्रकार भण्डारी भारत–चीन व्यापारमार्गको रूपमा किमाथांका–जोगवनी सडक बन्दा चीनको ल्हासा सिन्धुपाल्चोकको तातोपानीबाट भन्दा संखुवासभाको किमाथांकाबाट नजिक हुने भएकाले पूर्वाञ्चल चम्कने बताउँछन् । यो सम्भावना हेरेर भण्डारी र विराटनगर भन्सारका पूर्व प्रमुख श्याम दाहालको सक्रियतामा पूर्वाञ्चलको विकास एजेण्डाबारे छलफल आयोजना भएको थियो, जसबाट १३ बुँदे घोषणापत्र बनाएको छ । (हे. भण्डारीको लेख)
पंचायतकालीन मन्त्री राधाप्रसाद घिमिरे विराटनगरका उद्योगी–व्यवसायीहरू जोगवनी–किमाथांका सडकप्रति धेरै आशावादी भएको बताउँछन् । यसमा नेपाल सरकारले उचित गृहकार्यका साथ पहल नगरेको उनको भनाइ छ । यो प्रस्तावित व्यापारिक मार्ग नेपालको भन्दा बढी भारत र चीनको आवश्यकता भएको बताउने घिमिरे नेपाल सरकारले अरुण तेस्रो परियोजनामा पनि भारतको सतलज कम्पनीलाई घचघच्याउन नसकेको ठान्छन् । “अरुण, तमोर लगायतका आयोजनाहरूको सुस्तताले विराटनगरको गतिलाई ढिलो बनाइरहेको छ”, घिमिरे भन्छन् ।
कोइराला परिवारको विखण्डन
बीपीका जेठा छोरा प्रकाश त कांग्रेसलाई समेत त्यागेर राजावादी नै हुनपुगे । भारतीय फिल्म उद्योगमा चर्चित प्रकाशपुत्री मनिषा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई सघाउने अभियानमा विराटनगर आउँदा एक पटक पनि कोइराला निवास गइनन् । २०६६ चैतमा कान्छा काका गिरिजाप्रसादको निधन हुनुभन्दा एक साताअघि आ–आफ्नो अंशमा परेको (जनही आठ कट्ठा ६ धुर) जग्गा बेच्न विराटनगर आएका प्रकाश, श्रीहर्ष र डा. शशांक पनि कोइराला निवास नआई होटलबाटै काठमाडौं फर्किएका थिए । बीपीकी छोरी चेतना अमेरिकामा बस्छिन् । काठमाडौं बस्ने तारिणीका छोरा ज्योतिले चाहिं विराटनगरको अंश आधा मात्र बेचेका छन् । तारिणीकी छोरी कल्पनाको निधन भइसकेको छ । केशवपत्नी नोनाले कोइराला परिवारलाई धेरै हदसम्म बाँधेर राखेको मानिन्छ, तर उनीसँग कान्छा देवर गिरिजाप्रसादकी एक्ली सन्तान सुजाताको मिल्ती थिएन । सुजाता र शेखर पनि मिल्दैनन् ।
सम्भावनाको ढोका खोल्न १३ बुँदा
२०६७ सालको दशैंताका राजधानीबाट आउनुभएका शैलेन्द्र पोखरेललाई विराटनगरमा समय बिताउन गाह्रो भएछ । मसँगको भेटमा उहाँले ‘विराटनगरमा त दुई घन्टा मन वहलाउने ठाउँ पनि रहेनछ, यस्तो ठाउँको भविष्य हुँदैन’ भन्नुभयो । जीवनका प्रारम्भिक काल विराटनगरमै बिताउनुभएका मेरा एक जना अग्रजले यसो भन्दा जीवनको अन्तिम श्वास यहीं फेर्ने सोचेर बसेको म जस्ताको मन चसक्क हुने नै भयो ।
पिताजी कृष्णप्रसाद कोइराला, उहाँका होनहार सुपुत्रहरू बीपी, गिरिजाप्रसाद, मात्रिकाप्रसाद, तारिणीप्रसाद मात्र हैन, मनमोहन अधिकारी लगायतका हस्तीहरूको जन्म र कर्मथलो हो विराटनगर । उहाँहरूको समयमा ‘आज विराटनगरले जे सोच्छ भोलि नेपालमा त्यो हुन्छ’ भनिन्थ्यो । तर, आज ती दिन छैनन् ।
बिकासको गति धिमा हुँदा विराटनगरलाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको छ । विराटनगरमै बसिरहेकाहरू समेत ‘हामी पछि पर्यौं’ भन्ने हीन भावनाबाट ग्रस्त हुन थालेका छन् । यस्तो अवस्थामा आएको पोखरेलको भनाइले मलाई नराम्ररी झ्स्काएकोले दौडेर विराटनगर भन्सारका प्रमुख रहिसक्नुभएका श्याम दाहालकहाँ पुगें । यहीं जन्मिएका, यहींबाट उच्च शिक्षा हासिल गरेका, यहीं सरकारी हाकीम बनेका र सेवानिवृत्त भएपछि पनि विराटनगर नछाडेका दाहालले मेरो मनको कुरा नबुझने कुरै थिएन । हामी सकेको केही गर्नै पर्छ भन्ने टुंगोमा पुग्यौं ।
हामीबीचमा भएको मतो मोरङ व्यापार संघका तत्कालीन महासचिव (अहिले अध्यक्ष) अविनाश बोहरा, उद्योग संगठनका तत्कालीन कार्यसमिति सचिव श्याम पौडेल, मोरङ जिविसका स्थानीय विकास अधिकारी पशुपति पोखरेल, विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी आदिलाई सुनाउँदा उत्साहजनक प्रतिक्रिया पाइयो । विराटनगरको विकासमा सबै राजनीतिक दल र यहाँ जन्मिएर राजधानी या अन्यत्र प्रतिष्ठित भएका व्यक्तित्वहरूको पनि साझा धारणा बनोस् भन्ने हाम्रो चाहना थियो । नभन्दै, हामी विराटनगरको भविष्यलाई लिएर ५ वैशाख २०६७ मा बृहत् गोष्ठी आयोजना गर्न सफल भयौं ।
गोष्ठीले पूर्वी नेपालकै समृद्धिको ढोका खोल्ने पूर्वाधार निर्माणका १३ बुँदा बनायो । पूर्वको प्रमुख व्यापारिक केन्द्र भएकाले विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउँदा समृद्धि हासिल हुने कुरामा विवाद छैन । घोषणापत्रले कार्यान्वयनमा जोड दिएको जोगवनी–किमाथांका सडकले भारत–चीन व्यापार विस्तारबाट लाभान्वित हुने त छँदैछ, पूर्वी नेपालको औद्योगिक र कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउँछ । घोषणा पत्रले भेडियारीस्थित सीमा क्षेत्रमा बन्न लागेको नेपाल–भारत एकीकृत भन्सारलाई पनि महत्व दिएको छ ।
चक्रपथ, बाईपास रोड, सप्तकोशीमा पुल, विमानस्थलको स्तरोन्नति, विद्युत् आपूर्तिमा सुधार, पर्यटन विकास गुरुयोजना आदि प्रस्तावित योजनाहरूले विराटनगरको मुहार फेर्नेछ । १०० वर्ष पुरानो जगमा उभिएको यो नगरमा फर्कने आर्थिक क्रान्ति भनेको निःसन्देह रूपमा समग्र मुलुकको समृद्धि हो । विराटनगरको विकासमा आएको शिथिलतालाई गतिशीलतामा बदल्दा समग्र मुलुकमा अवसरका ढोका खुल्नेछन् ।
मोहन भण्डारी
१०० वर्षभित्र उकालोतिर
१९६८ बस्ती बसाउन प्रारम्भ, जोगवनीसम्म रेल सेवा सञ्चालन ।
१९७१ मोरङको सदरमुकाम रंगेलीबाट स्थानान्तरण ।
१९९३ देशकै पहिलो उद्योग विराटनगर जूट मीलको स्थापना ।
१९९६ ‘आदर्श माध्यमिक विद्यालय’ स्थापना ।
२००० जोगवनीमा इलाहावाद एक्सप्रेस रेल सञ्चालन ।
२००४ ऐतिहासिक मजदूर आन्दोलन र नेपाली कांग्रेसको स्थापना ।
१९८८ राधाकृष्ण खटयात्रा शुरु ।
२००८ मोरङ व्यापार संघको स्थापना ।
२०१३ कोशी अञ्चल अस्पताल उद्घाटन ।
२०१५ विमानस्थल सञ्चालन ।
२०१८ भानु मोरङ नामक कला संस्कृति सम्बन्धी संस्था स्थापना ।
ओरालोतिर
२०४० तेस्रो मुलुकसम्म हुने निर्यात बन्द ।
२०४८ अरुण तेस्रो परियोजना असफल ।
२०५४ ४२ किलोमीटर चक्रपथ निर्माण योजना अपूर्ण ।
२०६६ फोहोर व्यवस्थापन केन्द्र निर्माण योजना अलपत्र ।
२०६९ नयाँ बसपार्क निर्माण योजना अलपत्र ।
सय वर्षमा विराटनगरमा घर र जनसंख्या बढे पनि विकास थपिएन । व्यक्तिवादी नेता मात्रै जन्मिएकाले पूरै देश सुकेको छ ।
उद्योगहरू धरासायी भए पनि विराटनगर खत्तम भएको छैन । समय लाग्ला, तर विराटनगर फेरि चम्किनेमा म आशावादी छु ।
नेपाल भनेको काठमाडौं मात्रै हो भन्ने शासकहरुको मानसिकताले विराटनगरलाई पछि पार्यो ।
देशको करीब ७० प्रतिशत बजार ओगट्ने राजधानी टाढिंदै गएपछि विराटनगरलाई असर पर्यो ।
राजधानीबाट टाढा भएकैले विराटनगरको बजार सुक्यो, तर हामीले विराटनगर छाडेका छैनौं ।
जन्म र कर्मभूमि भएकाले विराटनगर छोड्न सकिएन । राजनीति स्थिर भए भविष्य छ ।
अनुभवी र क्षमतावान उद्योगी–व्यापारी यहाँ छन् । सरकारको साथ पाए गति नलिने कुरै छैन ।
राणा र पञ्चायतले राजनीतिक जागरणको केन्द्र भनेर विराटनगरप्रति वैरभाव राख्यो ।
लक्ष्मण नेवटिया
प्रबन्धक, दुगड ग्रुप
साभार : हिमाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !