CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वैद्यको बन्दले बित्थामा गुमेको ज्यान

वैद्यको बन्दले बित्थामा गुमेको ज्यान

laasआर्यघाटमा दनदन एउटा शव जलिरहेको छ। यो ठाउँमा शव जलाउनकै लागि ल्याइने हो। कुनै नयाँ कुरा हैन शव जल्नुमा। तर शवसँगै मन पनि जलेका छन्। एउटा सोच्दै नसोचेको घटनाले यो परिवारमाथि बज्रपात नै भयो। संविधान सभाको निर्वाचन बहिस्कार गर्न आन्दोलन चलाइरहेको वैद्य माओवादीको उपहार थियो यो शव। उनीहरुले थोपरेको यातायात बन्दमा गाडी चलाउनु राजु
देउजाको मृत्युको कारण थियो। चितामा श्रीमान्‌को शव जल्दा मृतकको परिवारको नाममा श्रीमतिमात्रै थिइन्। छन त उनका दुई सन्तान पनि थिए, १२ वर्षकी छोरी र १० वर्षका छोरा। आमाबुबा पनि थिए। तर उनीहरुले अन्तिम पटक अनुहार हेर्नसमेत पाएनन्। हिजो रातिअबेरसम्म हाइवेमा बस कुरेर बसेका थिए। तर बन्दका कारण काठमाडौँ आउने बस पाउन सकेनन्। स्थलमार्गबाट जाने प्रयास असफल भएपछि हवाई मार्गबाट जाने प्रयास भयो। तर त्यसको पनि टिकट पाउन सकेनन्। आगोले धेरै नै जलेको शव गलिसकेको भन्दै आजै अन्त्येष्टि गरियो। खरानी भयो शरीर, खरानी भए सपना, खरानी भए सबै कुरा। विलिन भयो यो परिवारको अभिभावक।
खासमा उनी बन्दको बेला गाडी चलाउन इच्छुक पनि थिएनन्। घरमै बसिरहेका राजुलाई ट्रक साहु हरि प्रसाइँले जीतपुरमा धान पुर्‍याउन जाऔँ भनेपछि नाइँनास्ति गर्न सकेका थिएनन्। राजुसँगै साहु पनि ट्रकमै गएका थिए।
निजगढबाट जीतपुर राम्रैसँग पुगे। सामान झारे। तर फर्कने बेला अर्थात् गएको बिहीबार पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको पसाहा पुलनजिकै नचिताएको भयो।
ट्रक गुडिरहेको थियो। अचानक छेउको जंगलबाट केही मान्छे निस्के, पेट्रोल बम हाने। त्यो चालक बस्ने क्याबिनमै छिर्‍यो। दनदन आगोले लपक्कै टिपिहाल्यो। चालकसँगै साहु र खलासी पनि थिए। झ्याल छेउमै रहेका खलासी हाम्फालेकाले धेरै आगोले जल्न पाएन। राजु र साहु हरिलाई आगोले समात्यो।
स्थानीय र प्रहरीले उनको उद्दार गर्दासम्म उनीहरु निकै जलिसकेका थिए। एम्बुलेन्सबाट उनीहरुलाई वीरगञ्ज पुर्‍याइयो। तर त्यहाँबाट पनि थप उपचारका लागि काठमाडौँ रिफर गरियो। शुक्रबार राति काठमाडौँ ल्याइपुर्‍याइएका राजुले अन्तिम श्वास आइतबार बिहान फेरे। उनीसँगै उपचारका लागि काठमाडौँ ल्याइएका हरिको अझै गम्भीर अवस्थामा उपचार हुँदैछ।
देशको भविष्य कोर्ने भनिएको संविधान सभाको निर्वाचनको संघारमै उनका दुई सन्तान टुहुरा भएका छन्। पाँच जनाको परिवारको कमाइको एक्लो स्रोत गुमेको छ।

के भन्छन् त दुई पात्र ?

राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएको छ । त्यस क्रममा राज्यशक्तिको दुरुपयोगका कारणले कतिपय दुःखद घटना पनि घटेका देखिन्छन् । त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं । कतिपय देशी विदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन् । त्यसैगरी, राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि हाम्रो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका छन् ।
मोहन वैद्य ‘किरण’
आज प्रेस विज्ञप्ति जारी गर्दै
वर्तमान निर्वाचन प्रक्रियाप्रति पृथक धारणा राख्ने दल तथा सोसँग सम्बद्ध मोर्चाका सम्बन्धमा म के भन्न चाहन्छु भने – उहाँहरु नेपाल, नेपाली भूगोल, नेपाली जनताको समस्या र हाम्रो राजनीतिक रुपान्तरणको प्रक्रियाप्रति पूर्ण जानकार हुनुहुन्छ। नेपाली जनताका नाममा राजनीतिक विचारधाराका आधारमा राजनीति गर्छु भन्ने उहाँहरुजस्ता व्यक्ति वा समूहले देशको स्थायित्व, शान्ति र समृद्धिको मार्गप्रशस्त गर्ने यस महत्वपूर्ण निर्वाचनमा आमजनसमुदायको भावनाविपरित कुनैपनि कार्य गर्नुहुनेछैन भन्ने मेरो विश्व्ाास थियो। उहाँहरुले सार्वजनिक रुपमा नै बहिष्कार शान्तिपूर्ण हुने कुराको उद्घोष गर्नुभएको कुरा पनि म यहाँ स्मरण गर्न चाहन्छु। लोकतान्त्रिक प्रणालीमा निर्वाचन प्रक्रियाप्रति विमति राख्दै निर्वाचनमा सहभागी नहुनु उहाँहरुको स्वतन्त्रता र राजनैतिक दलको स्वेच्छाको विषय हो।
संविधानसभाको निर्वाचनमा भाग नलिनु एउटा कुरा हो, तर बहिष्कारको नाममा आफूले सार्वजनिक रुपमा
व्यक्त गरेको धारणाविपरित राजनीतिमा हिँसाको प्रयोग हुनु अत्यन्त दुःखदायी विषय हो। जुनसुकै उद्देश्यले
गरिएको भएतापनि हिँसाको परिणाम दुःखदायी हुने र त्यसबाट सर्वसाधारण नागरिक नै पीडित हुने भएकाले
यस्तो कार्य निन्दनीय छ। एकातर्फ निर्वाचनमा आफ्नो सैद्धान्तिक असहमति रहेको भन्दै निर्वाचनमा
सहभागी नभई शान्तिपूर्ण बहिष्कार गर्ने भनी प्रचारबाजी गर्ने, अर्कोतर्फ सार्वजनिक स्थानहरुको शान्ति र
सुव्यवस्थाको प्रतिकूल हुने कार्य गरी आमजनसमुदायलाई लक्षित गरी विध्वंसात्मक र हिँसात्मक कार्यको
सहारा लिई निहत्था यात्रु बसेका सवारी साधन तोडफोड गर्ने, आगजनी गर्ने, सार्वजनिक ठाउँमा बम राखी
सर्वसाधारणलाई आतङ्कित पार्ने र ज्यान मर्नेसम्मको कार्य गर्नु मानवताविरोधी एवं अमानवीय कार्य हुन्, जुन् कदापि क्षम्य हुन सक्दैन। त्यस्ता अमानवीय, क्रुर एवं हिँसात्मक र कायरतापूर्ण कार्यको म घोर भर्त्सना गर्दछु। साथै, त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कानूनबमोजिम कारबाही चलाउन सरकार दृढ संकल्पित रहेको पुनः जानकारी गराउन चाहन्छु। सार्वजनिक परिवहनका यात्रुको ज्यानै लिने उद्देश्यले बम प्रहार गरी नाबालक, महिला, ज्येष्ठ नागरिक लगायतका जनताहरुलाई घाइते, अङ्गभङ्ग बनाउने एवं ज्यान मर्नेसम्मको अवस्थामा पुर्‍याउने र कसैको मताधिकारको प्रयोगबाट वञ्चित गराउन बलको प्रयोग गर्ने कार्य हाम्रो जस्तो लोकतान्त्रिक विचारमा आधारित समाजमा कुनैपनि दृष्टिकोणबाट राजनीतिक कार्य हुनै सक्दैन।
संविधानले निर्दिष्ट गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रताले सँधै शान्तिपूर्ण व्यवहार र स्वस्थ राजनीतिक चरित्रको अपेक्षा गर्दछ। राजनीतिक चरित्रभन्दा बाहिर गई सामाजिक सुसम्बन्धमा खलल पर्ने, हिँसात्मक कार्य गर्न दुरुत्साहित गर्ने र अदालतको आदेश पालना नगर्ने जस्ता अभिव्यक्ति संविधान र कानून विपरितको कार्य र गैरजिम्मेवारीपनाको पराकाष्ठा हो। अझैपनि म उहाँहरुलाई बन्द, हड्ताल लगायत विरोधका सम्पूर्ण कार्यहरु तत्काल रोकी राजनैतिक व्यवहार प्रदर्शन गर्दै जनभावनाको सम्मान गर्न आग्रह गर्दछु। यसबाट नै आगामी दिनका लागि उहाँहरुको राजनैतिक मर्यादा र भविष्य पनि सुरक्षित अवतरण हुनसक्दछ। संविधान र कानूनविपरित हुने कार्यले निरन्तरता पाएको अवस्थामा सरकार आफ्नो जिम्मेवारीबाट विमुख हुन सक्दैन र आम मतदाता लगायत सबै नागरिकको जीउ, धन र मानवअधिकारको रक्षाको लागि सरकारले प्रभावकारी रुपमा कारबाही गरी दोषीलाई कानूनी दायरामा ल्याउँछ भन्ने विश्वास दिलाउन चाहन्छु।
हालै भएका बन्द, हड्ताल, आगजनीको क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दछु र मृत्युवरण गर्नुभएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते एवं अङ्गभङ्ग हुनुभएका महानुभावहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु।
खिलराज रेग्मी 
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष
आज देशवासीका नाममा सम्बोधन गर्दै

साभार :माई संसार 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis