CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » कसरी ल्यायो ‘गाई’ले यत्रो सिट ?

कसरी ल्यायो ‘गाई’ले यत्रो सिट ?

NC२०६४ मा संविधान सभामा माओवादीले प्रत्यक्षमा १२० र समानुपातिकमा १०० गरी २२० सिट जित्यो पनि। तर यस पटकको चुनावमा ऊ ८० सिटमा खुम्चन पुग्यो। मधेसकेन्द्रित दलहरु पनि खुम्चिए। कांग्रेस र एमालेले अघिल्लो संविधान सभामा भन्दा सिट बढाएर पहिलो र दोस्रो शक्ति बन्न सफल भयो। त्यसबाहेक यस पटक सफल भएको अर्को कोही छ भने त्यो गाई हो। अर्थात् कमल थापाको राप्रपा नेपाल। प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको राप्रपा नेपालले समानुपातिकबाट २३ सिट जितेको छ। अघिल्लो संविधान सभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दा त्यसको विरोध गर्ने जम्मा चार जना
सदस्य राप्रपा नेपालका थिए। यस पटक थप १९ सिटका साथ यसको आवाज संविधान सभामा गुञ्जने छ। कसरी ल्यायो त गाईले यत्रो सिट?
चुनावै कमल थापाको एजेन्डा
२०६४ सालको संविधान सभा चुनाव माओवादीको एजेन्डा थियो तर २०७० सालको चुनाव कमल थापाको एजेन्डा हो। संविधानतः दुई वर्षभित्र बनाउनु पर्ने संविधान बनाउन नसकेपछि संविधान संशोधन गर्दै म्याद थप्दा त्यसको विरोध कमल थापाले गरेका थिए। उनले यो संविधान सभाले संविधान बनाउन नसक्ने भएकोले ताजा जनादेश लिन अर्को संविधान सभाको निर्वाचन गर्नुपर्ने माग गरेका थिए। सुरुमा उनको यो मागलाई कसैले वास्ता गरेका थिएनन्। तर कालान्तरमा नयाँ संविधान सभाको निर्वाचन गराउनै पर्ने बाध्यता आइपर्‍यो। संविधान सभाको ५ वर्षका क्रममा दलहरुका गतिविधिमा निराश भएका मतदाताले ‘च्वाइस’ पाउँदा गाईमा छाप हानिदिए।
चलाखीपूर्ण नारा
अघिल्लो चुनावमा सबैलाई हेर्‍यौँ पटकपटक माओवादीलाई हेरौँ यस पटक नारा खुबै बिकेको थियो। यस पटक भने कुनै दलको नाराले कसैलाई तानेको थिएन। बरु राप्रपा नेपालको नारा ‘एक भोट दाइलाई एक भोट गाईलाई’ खुबै चल्यो। तराईतिर ‘एक भोट गाछी (रुख) मेँ, एक भोट बाछी (गाई) मेँ’ नारा चलेको थियो। प्रत्यक्षमा एक सिट पनि नजित्ने थाहा पाएरै कमल थापा स्वयं प्रत्यक्षमा निर्वाचनमा लडेका थिएनन्। मतदाताले दुई वटा भोट दिन पाउँदा एउटा च्वाइसमा प्रमुख दलका गतिविधिबाट वाक्क भएकाहरुलाई तान्न र हिन्दुत्वको कार्ड फ्याँक्न उनले यस्तो नारा दिएका थिए जसमा उनी सफल देखिए।
सबभन्दा बढी भोट काठमाडौँबाट
यस पटकको निर्वाचनमा गाईलाई सबैभन्दा बढी भोट काठमाडौँ उपत्यकाबाट आएको छ। राप्रपा नेपाललाई २३ सिट पुर्‍याउन काठमाडौँ उपत्यकाका मतदाताहरुको ठूलो योगदान छ। काठमाडौँका १० मध्ये सात क्षेत्र र भक्तपुरको एक क्षेत्र र ललितपुरका दुई क्षेत्रबाट प्रत्येक क्षेत्रमा गाईमा १० हजारभन्दा बढी छाप हानिएको छ। काठमाडौँका १० क्षेत्रबाट मात्रै गाईलाई १ लाख ११ हजार ३११ मत गएको छ। ललितपुरका तीन क्षेत्रबाट आएको ३४ हजार ७०७ र भक्तपुरका दुई क्षेत्रबाट आएको १८ हजार ५८५ पनि जोड्ने हो भने उपत्यकाबाट मात्रै गाईले १ लाख ६४ हजार ६०३ मत पाएको छ। गाईले देशभरबाट पाएको भोट भने छ लाख ३० हजार ६९७ हो। अघिल्लो संविधान सभामा यसले देशभरबाट पाएको मत १ लाख १० हजार ५ सय १९ मात्रै थियो। यस पटक काठमाडौँका १० क्षेत्रबाट मात्रै उसले अघिल्लो चुनावमा देशभरबाट पाएको भन्दा बढी मत पायो।
काठमाडौँ ३, ६ र १० बाहेक अरु सात क्षेत्रमा गाईमा १० हजारभन्दा बढी समानुपातिक भोट परेका छन्। १० हजारभन्दा बढी भोट आउने क्षेत्रमा उपत्यकाका ललितपुर २ र ३ अनि भक्तपुर २ पनि पर्छ। काठमाडौँ बाहिर कमल थापाको गृहजिल्ला मकवानपुर ३ र पर्सा १ मा मात्रै गाईमा १० हजारभन्दा बढी भोट आएको छ। हेर्नुस् निर्वाचन आयोगको तथ्याङ्क-
काठमाडौं 1 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 11013
काठमाडौं 2 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 15058
काठमाडौं 4 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 13023
काठमाडौं 5 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 13098
काठमाडौं 7 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 10147
काठमाडौं 8 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 10521
काठमाडौं 9 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 12343
भक्तपुर 2 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 10944
ललितपुर 2 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 10375
ललितपुर 3 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 15044
मकवानपुर 3 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 13704
पर्सा 1 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 11321
ताप्लेजुंग, धनकुटा, ओखलढुंगा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, धादिंग, रौतहट, गोरखा, लमजुंग, गुल्मी, पाल्पा, अर्घाखांची, मुस्तांग, म्याग्दी, बागलुङ, पर्वत, रुकुम, रोल्पा, प्यूठान, सल्यान, दाङ, मुगु, कालिकोट, जाजरकोट, बाजुरा, अछाम, बझाङ्ग, डोटी र बैतडी जिल्लाका क्षेत्रहरुमा गाईलाई ५०० भन्दा कम मत आएको आयोगको तथ्याङ्कले देखाउँछ। त्यसो भए सचेत वर्ग बस्ने भनिएको राजधानीका लाखौँ जनताले गाईलाई किन मन पराए त ?
१) यहाँका मतदाता लहडी छन्, पञ्चायतकालमा नानिमैयाँ दाहाललाई जिताउने यहीँका मतदाता हुन्। पञ्चायत कालमा अत्यधिक बहुमतले जिताउने पद्मरत्न तुलाधरलाई यहीँका जनताले २०५६ को चुनावमा पञ्चायत कालका प्रधानमन्त्री मरिचमान सिंहभन्दा कम मत दिएर हराएका थिए। यहाँका मतदाताले कृष्णप्रसाद भट्टराई जस्ता नेतालाई दुई पटक पराजित गरेका छन्। यस पटक यहाँका मतदाताले प्रमुख दलका नेताहरुको आक्रोश यसरी पोखेका हुनसक्छन्। अझ रमाइलो त देशका २४० क्षेत्रमध्ये सबैभन्दा बढी समानुपातिक मत गाईमा काठमाडौँ २ बाट आएको छ, जहाँबाट प्रत्यक्षमा माधव नेपाल चुनिएका छन् र जसले सभासदको प्रमाणपत्र लिएपछि २०४७ सालको संविधान राम्रो भएको प्रतिक्रिया दिएर तलाउमा ढुंगा हानी प्रतिक्रिया कस्तो आउने जाँचेका थिए। के यसबाट केही तारतम्य मिलेको तपाईँ देख्नुहुन्छ?
२) जनगणनाको तथ्याङ्कलाई आधार मान्ने हो भने ८० प्रतिशतभन्दा बढी हिन्दु भएको देशमा चुपचाप केही नेताले सुटुक्क धर्म निरपेक्ष घोषणा गरेको हिन्दुहरुलाई भित्रभित्रै मन परेको थिएन। त्यसैले हिन्दुत्वको कुरा उठाउने पार्टीलाई आफ्नो आस्थाको पार्टीलाई एक मत दिएपछि बाँकी रहेको मतले समर्थन गरिदिए। यसमा दलका नेतादेखि वाक्क भएर राजै फर्काउन चाहनेको संख्या पनि होला।
कमल थापालाई चार सिटको पार्टीबाट २३ सिटमा पुर्‍याउन काठमाडौँ उपत्यकाका मतदाताको सबैभन्दा बढी योगदान देखियो। तपाईँलाई के लाग्छ, काठमाडौँका मतदाता किन कमल थापाप्रति आकर्षित भएका होलान् ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis