भने कोही तयार छैन । एकपटक 'नागरिक' भइसकेपछि 'रैती' बन्न कोही चाहन्न । चाहे तिनीहरू राप्रपा नेपालकै समर्थक किन नहोउन । त्यसैले त विष्णु अवतारका नाममा होइन गाईको नाममा भोट मागिँदैछ ।
राजनीति भन्ने पनि अजिब चिज रहेछ । भोट ल्याउन जसले जसको पुच्छर समाते पनि हुन्छ । आज गाई भए पनि ठीकै छ । भोलिका दिनमा गोरुको पुच्छर समातेर भोट बढ्छ भन्ने लागे त्यसो गर्दा पनि राजनीतिमा फरक पर्दैन । धर्मसापेक्ष वा धर्मनिरपेक्षताको आधार मानिसको आचरण हो नारा होइन भन्ने बुझ्न हामीलाई समय लाग्नेछ । धर्म शब्दको सार त्यसलाई 'धारण' गर्नुमा हो न कि माइकिङ गर्नुमा । कति वर्ष पो बिते र ? केही वर्षअघि मात्र माओवादीहरू मठ-मन्दिर र पुजारीलाई के-के तथानाम गरेर हिँड्थे । आज तिनीहरू नै सबैभन्दा लामो टीका लगाएर हिँड्न वा सबैभन्दा ठूलो यज्ञको जजमान बन्न पनि हिच्किचाउँदैनन् । हुन त त्यसमा खासै खराबी पनि केही छैन । मानिसको विचार यदि विवेक र आस्थाका कारण रूपान्तरित हुँदै गएको हो भने त्यो स्वागतयोग्य
कुरा हो । हमेसा 'जडवत' हुनु कुनै बहादुरी होइन मूर्खताको लक्षण हो । प्रदीप गिरीका शब्दमा, 'कुनै पनि वाद चिरन्जीवी हुनका निम्ति त्यसले समयानुकूल काँचुली फेर्नैपर्छ ।'
वैद्यजीको माओवादीले पनि यो सत्य जतिसक्दो चाँडो बुझ्दा उसको आफ्नोलगायत सबैको कल्याण हुनेछ । ठूला दलले नेकपा-माओवादीलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन जति कोसिस गर्नुपथ्र्यो, त्यो गरेनन्, बरु बहिष्कारको कुनातिर धकेलेर आ-आफ्नो पार्टीगत चुनावी गणितको नाफा/नोक्सान मिलाउनतिर लागे भन्ने हामीले पहिलै प्रस्ट लेखे, बोलेका कुरा हुन् । तर त्यसको माने यो होइन कि नेकपा-माओवादीका कार्यकर्तालाई सामान्यजन चढ्ने गाडीमा आगजनी गर्ने र पेट्रोल बम प्रहार गर्ने छुट छ । नेताले 'शान्तिपूर्ण बहिष्कार' को माला जप्ने अनि उसकै कार्यकर्ताचाहिँ आगो लगाउँदै, बम पड्काउँदै हिँड्ने कुरा स्वीकार्य हुन सक्दैन ।
प्रहरी भन्छ, 'त्रास फैलाउने अधिकांश मानिसहरू अज्ञात समूह होइनन्, वैद्य समूहका कार्यकर्ता हुन् ।' प्रहरीको दाबी सत्य हो भने यो ज्यादै गम्भीर विषय हो । विद्रोह गर्ने हक सबैलाई छ, तर आतंकवादी क्रियाकलापमा संलग्न हुने छुट कसैलाई दिन सकिन्न । नेकपा-माओवादीका प्रवक्ता पम्फा भुसाल भन्छिन्, 'हामीलाई बदनाम गर्न यो काम अरू कसैले गरिरहेको छ । बम राखेर आतंकित बनाउने पार्टी नीति होइन ।'
२०४२ सालमा पञ्चायतविरुद्ध भएको सत्याग्रहका दौरान राजधानीको चार स्थानमा बम विस्फोट हुनेबित्तिकै गणेशमानजी र किसुनजीले तत्कालै सत्याग्रह स्थगित गर्दै भन्नुभएको थियो, 'हाम्रो आन्दोलनको आवरणमा छिपेर सामान्य जनतालाई आतंकित पार्ने कामका निम्ति कसैलाई पनि छुट दिन सकिन्न ।' आफ्ना दसौं हजार कार्यकर्ता जेलमा भएको उत्तेजनात्मक परिस्थितिमा पनि गणेशमानजीले त्यस्तो निर्णय लिन हिचकिचाउनु भएन । त्यसैले त नेपाली इतिहासले गणेशमान सिंहलाई 'वीर गणेशमान जिन्दाबाद' भनेर चिरकालसम्म सम्बोधन गर्नेछ । बलिया/बांगाहरूसित आमनेसामने युद्ध गर्न गणेशमानजी कहिल्यै हिचकिचाएनन् । राणा र राजाहरूले वषौर्ं जेल नेल र कोर्रा पानीले प्रहार गर्दा पनि उनले नजर झुकाएनन् । तर आफ्नो दलको आन्दोलन अवधिका दौरानमा निहत्था जनता आतंकवादको मारमा परेको देख्नेबित्तिकै सत्याग्रह रोक्ने आदेश दिन पनि कुनै समय लगाएनन् । पञ्चायतको फौज र पुलिससित डराएर उनले सत्याग्रह आन्दोलन रोकेका थिएनन् । राजनीतिक उद्देश्यका निम्ति गरिने 'सशस्त्र विद्रोह' र 'आतंकबाद' बीच रहेको लक्ष्मण रेखासित राम्ररी परिचित थिए गणेशमानजी । यो मसिनो लक्ष्मण रेखालाई बुझ्ने नेता कार्यकर्ता आज नेकपा-माओवादीमा छँदै छैन भन्ने मेरो दोषारोपण होइन । क्रान्तिकारी दरिनका निम्ति बेला/कुबेला, ठाउँ/कुठाउँ उत्पात मच्चाउँदै हिँड्न जरुरी छैन भन्ने स्मरण गराएको मात्र हो ।
२०४२ सालको सत्याग्रह रोके भन्दैमा कोही माइका लालले यो भन्न सक्दैन गणेशमानजी क्रान्तिकारी थिएनन् भनेर । गणेशमानजी, किसुनजी र गिरिजाबाबुले कसैसित डराएर सत्याग्रह स्थगन गरे भनेर कसले भन्न सक्छ र ? आन्दोलन स्थगनको त्यो साहसिक कृत्यले पञ्चायतलाई मजबुत बनाएन, अपितु जनताको नजरमा झनै कमजोर तुल्याइदियो । त्यसपछिका चार वर्ष नबित्दै पञ्चायत ढल्यो । आजको दिनमा नेकपा-माओवादीले इतिहासको त्यस बिराट घटनाबाट शिक्षा लिनुपर्छ । यदि माओवादी प्रवक्ताको भनाइ साँचो हो भने आन्दोलनमा घुसपैठ भएको छ भने त्यो पार्टीले तत्काल साहसिक निर्णय लिन पछि पर्नु हुँदैन । आत्मबल र साहसको यो प्रदर्शनले मोहन वैद्यजीको पार्टीको उचाइ बढ्नेछ, घट्ने छैन । किनभने नेपालको राजनीति मंसिर ४ पछि पनि जारी नै रहनेछ र त्यसमा पनि नेकपा-माओवादीको महत्त्वपूर्ण सहभागिता अनिवार्यरूपले अपेक्षित रहनेछ ।
अब हुने चुनावतिर लागौं । भर्खरै गरेको पूर्वी नेपाल भ्रमणका दौरानमा मैले केही ज्यादै सकारात्मक कुरा महसुस गरेँ । जनता र चुनावमा भाग लिएका राजनीतिक कार्यकर्तामा आएको परिपक्वता । नाराबाजी र ठूला कुराहरूको भ्रमबाट जनता धेरै मात्रामा मुक्त भएर जीवनका साधारण सत्यको नजिक आएका रहेछन् । जनताले हावादारी सपनाका कुरा पत्याउन छाडेकाले नेताहरूले पनि 'आकाशको जून टिपेर जनताको आँगनमा सुन बनाएर ल्याउने' दन्त्य कथाका गफ दिन कम गरेका छन् । नेपाली राजनीति सपनाको आकाशबाट बिपनाको धरतीमा ओर्लन थालेको शुभ संकेत हो यो । अपवादका घटनालाई छाड्ने हो भने चुनावमा सहभागी दलबीच दुश्मनी र तिक्तताको मात्रा पनि पछिल्लो निर्वाचनको तुलनामा निकै धेरै हदसम्म घटेको छ । राजनीतिमा प्रतिस्पर्धा हँुदैमा व्यक्तिगत दुश्मनी पाल्नु पर्दैन भन्ने संस्कृतिको बीउ रोपिँदैछ । त्यसैले त प्रायः सबैले आ-आफ्नो प्रचार पहिलाभन्दा धेरै सहज तरिकाले गर्ने मौका पाएका छन् ।
मधेसी दलको प्रचार गाडीमा पहाडीया समुदाय सदस्यको उपस्थिति वा पहाडी इलाकामा मधेसी समुदायको सदस्य प्रचार अभियानमा देखिनु, भोलिको समावेशी नेपालको सुखद संकेत हो । मधेसी समुदाय वा आदिवासी जनजातिले आफ्नो जायज हक अधिकार माग्दा काठमाडौंमा बसेर 'देश टुक्रिन्छ' भनेर कोलाहल मच्चाउने स्वयंघोषित 'राष्ट्रवादका ठेकेदार' हरूको शंका पनि समयका साथै निवारण हुँदै जानेछ । कसै-कसैबाट देशभक्तिको सर्टिफिकेट लिनुपर्ने युग विस्तारै अन्तिम सास लिँदै छ । पैसा, भोज भतेर आदिको प्रलोभनमा परेर भोट खसाल्ने सोझा मानिसहरूको संख्या दिनानुदिन घट्दैछ । एक युवा भन्दै थिए, 'अब हामी पहिलाभन्दा धेरै चेतनशील भएका छौं । नेताहरूले हामीलाई धेरै बेवकुफ बनाए । अब यसपटकको चुनावमा उल्लु बन्ने पालो नेताहरूको हो ।'
पुरानो संविधानसभामा ठूलो हुरी बतास बनेर आएका मधेसी दलहरू यसपटक खण्ड-खण्डमा विभाजित छन्, तर पनि वातावरणमा उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमको सानोतिनो हावा अझै बाँकी रहेको महसुस हुन्छ । विजय गच्छदारको चुनाव जित्ने पुरानो र्फमुला यसपटक कति चल्छ, हेर्न बाँकी छ । मधेसी दलमा आएको विभाजनको असर 'प्रत्यक्ष निर्वाचन' हुने सिटमा परे तापनि समानुपातिकतर्फ उनीहरूको संयुक्त दबदबा केही बाँकी नै रहने सम्भावना छ । समानुपातिकतर्फको कुरा गर्दा राप्रपा नेपालले यसपटकको संविधानसभामा आफ्नो स्थिति सुधार्ने निश्चितप्रायः छ । हुनत यो पार्टी संगठनात्मक रूपले ज्यादै कमजोर छ । प्रत्यक्षतर्फ चुनाव जित्न सक्ने उम्मेदवारको यो पार्टीमा खडेरी छ । अध्यक्ष कमल थापासमेत प्रत्यक्ष चुनावमा खडा भएनन् ।
तर यो पार्टीसित 'भावनात्मक' भोटहरू थपिएकाले पुरानो स्थितिमा सुधार हुने आशा गरिएको हो । कति सुधार आउँछ भन्ने विषयमा अतिरन्जित अपेक्षा गर्नुचाहिँ हतारो हुनेछ । किनभने नेपालमा आम मतदाताले भावनात्मक आधारबाट मात्र मतदान गर्दैनन् । मतदातालाई उसको सामाजिक, आर्थिक, राजनीतिक र क्षेत्रीय सम्बन्धहरूको डोरीले पनि बाँधेको हुन्छ । ठूला दललाई जतिसुकै गाली गरे तापनि उनीहरूको व्यापक प्रभावबाट मतदाता सहजै मुक्त हुन सक्दैनन् ।
ठूला दलका ठूला नेताको कुरा गर्दा पहिलो नाम सबैको मष्तिस्कमा प्रचण्डकै आउँछ । कसैले मन पराए पनि नपराए पनि प्रचण्ड आजको मितिसम्म नेपाली राजनीतिका केन्द्रीय व्यक्तित्व बनेर रहेका छन् । हुनत उनको राप र ताप घटेको सत्य हो । तर सत्य यो पनि हो कि आफ्नो निर्वाचन क्षेत्रमा मात्र मत माग्न छाडेर देशव्यापी रूपमा आफ्नो पार्टीलाई मत माग्न हिँड्ने प्रचण्ड विरलै नेताका रूपमा देखिए । सुशील कोइराला वा झलनाथ खनालझैं आफ्नै निर्वाचन क्षेत्रका ढोका-ढोकामा मात्र सीमित भएनन् । शेरबहादुर देउवा वा बाबुराम भट्टराईको हकमा पनि केही हदसम्म यही कुरा भन्न सकिन्छ । राष्ट्रियस्तरको निर्वाचन परिणाम आउँदा यो तथ्यले निश्चित रूपमा प्रभाव पार्नेछ । आज ठूला भनिएका दलहरूको आकारमा निर्वाचन परिणामपछि पनि खासै ठूलो अन्तर परेन भने आश्चर्य नमाने हुन्छ ।
राजनीति भनेको 'तातै खाउँ जल्दी मरुँ' भन्ने खेलमात्र होइन, न त यो एक छाकको व्यवहार हो । लोकतन्त्रमा निर्वाचनहरू आउँछन् र जान्छन् । हारजित भइरहन्छ । त्यसलाई स्वाभाविक रूपले लिन सक्नुमै लोकतन्त्रको गरिमा छ । किसुनजीलाई सम्झन्छु । वर्ष दिनभित्रै संविधान दिए ।
आफैं प्रधानमन्त्री भएको बेलामा पनि चुनाव हारे, तर लोकतन्त्रलाई हार्न दिएनन् । कल्याणपुरमा बुधबार भेटिएका युवालाई सम्झन्छु, जसले भन्दै थिए, 'नेता चाहे जोसुकै जितुन् वा हारुन् तर संविधानसभाचाहिँ नहारोस् ।'
आज बिदा हुनुअघि लेटाङमा भेटिएका किफास मगरलाई कसरी भुलौं ? मगर भाषामा किफास शब्दको अर्थ हुन्छ, चट्टान । तर बिडम्बना २६ वषर्ीय किफास मगर अपांग छन् । उनका पिता ज्यामी मजदुरी गर्छन् । आमा घरको काम गर्छिन् । दाइ कतार गएका छन् । किफासकी भाउजू सुनिताले भावुक स्वरमा भनिन्, 'देशभित्रै काम पाउने वातावरण भएको भए उहाँ किन परिवारलाई छाडेर कतार जानु हुन्थ्यो र ?'
११ कक्षामा अध्ययनरत किफासले कम्प्युटरमा 'बेसिक कोर्स' गरेको छ । उनलाई जम्मा तीनथोक चाहिएको रहेछ ः अलि सजिलो गरी चल्ने 'हि्वलचियर' र सानो व्यवसाय गर्न अलिकति आर्थिक सहयोग । सहयोग उनले मागेको पनि होइन । दुःख सुखका कुरा गर्दै जाँदा मैले थाहा पाएको मात्र हुँ । उनले मलाई पत्रकार भनेर चिनेका पनि थिएनन् । म उनलाई भेट्न लेटाङ गएको पनि थिइन । म त राजनीतिक वातावरण बुझ्नमात्र त्यतातिर गएको थिएँ, किफासलाई देखेपछि त्यतिकै अगाडी बढ्न सकिनँ । छुट्टनिे बेलामा सोधेँ, 'अरू केही भन्नु छ ?' किफास मगरले जवाफ दिए, 'अरू केही चाहिन्न । संविधान चाँडै बनोस् । हामी जस्ताको हक/अधिकार पनि सुरक्षित होस् । हामीले पनि गरी खान पाउँ ।'
तीन दशकभन्दा बढी समय पत्रकारिता गरिसकेपछि म कसैका कुरा सुनेर बिरलै स्तब्ध हुन्छु । त्यस दिन भएँ ।
- साभार : कन्तिपुर्
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !