आठ महिनाअघिसम्म काठमाडौँका बुकेश महर्जन, २३, आफू बीबीएस तेस्रो वर्ष पढ्दै गरेको सामाखुसीस्थित आशीर्वाद कलेजमा समेत खासै चिनिएका थिएनन्। अहिले भने कलेजभन्दा बाहिरसमेत उनका फ्यान बढ्दै छन्। कारण हो, उनको कला।
बुकेश पेसाले वेब डिजाइनर हुन्। ग्राफिक डिजाइन पनि उनले जानेको काम हो। आठ महिनाअघि टिसर्टका
लागि उनले डिजाइन गरेको कार्टुनकै कारण नेपाली टिसर्टको नयाँ र छुट्टै बजार निर्माण हुन पुगेको छ।
सामाजिक सञ्जाल फेसबुकमा झ्याम्मिरहने उनले ठट्टैठट्टामा एक दिन एउटा ठट्यौलो पेज बनाएका थिए, 'च्वाँक मैचा'। अर्थात्, राम्री केटी। त्यो फेसबुक पेज एकाएक लोकपि्रय बनेपछि उनलाई अर्को हौसला मिल्यो। र, मैचालाई जोडी मिलाइदिए, बौचा। अब बन्यो, 'मैचा व बौचा'। अर्थात्, केटा र केटी।
फेसबुक पेजमा कार्टुनका रूपमा देखिए, दुई 'क्लासिकल' नेवारी शैलीमा सजिएका केटा र केटी। अचानक पेजलाई पछ्याउने र रुचाउनेहरू सोचेभन्दा बढी भए। एक दिन बुकेशले त्यही जोडीसहितको कार्टुन राखेर एउटा टिसर्ट डिजाइन गरी फेसबुक पेजमै राखे। भन्छन्, "अनि त फ्यानहरूले त्यही डिजाइनको टिसर्ट चाहियो भन्दै हैरान पार्न थाले। मलाई पनि टिसर्टकै रूपमा पि्रन्ट गर्नुपर्छ
भन्ने लाग्यो।"
फेसबुक पेजमा जिस्केर बनाएको एउटा डिजाइनको परमिार्जित रूपलाई उनले 'कल्चरल प्रमोसन'मा बदल्दै थुप्रै किशोरकिशोरीको मन जितेका छन्। अन्ततः उनले 'मैचा व बौचा'को त्यही नामबाट पि्रन्टेड टिसर्ट फेसबुक प्रयोगकर्तालाई बाँडेनन् मात्रै, नेपाली र विदेशी बजारसम्म पुर्याए, ट्रेडमार्ककै रूपमा।
नेवारी संस्कृतिको रहस्यबारे सानैदेखि चाख राख्ने काठमाडौँका रैथाने यी तन्नेरी संयोगवश मौलिक कार्टुन डिजाइनमा टिसर्ट पि्रन्ट गर्ने पहिलो नेपाली बनेका छन्। उनले बनाउने सबैजसो कार्टुनमा कुनै न कुनै सांस्कृतिक पहिचानको स्वाद पोखिएकै हुन्छ।
'मैचा व बौचा' लोकपि्रय भएपछि उनलाई अन्य शुभेच्छुकले भन्न थालेछन्, 'एउटै जात र संस्कृतिको बढी प्रमोसन भयो।' अनि, अर्को डिजाइन गरेछन्, 'माइला र माइली', 'च्याङ्बा र मैच्याङ' अनि 'गोर्खे'। अब त उनी यति चनाखो भइसके कि हरेक डिजाइनलाई सांस्कृतिक महत्त्वसँग जोडेर बनाउँछन्। 'गोर्खे' नामको दौरा-सुरुवालसहितको कार्टुनमा गोर्खालीपन झल्किन्छ भने 'माइला र माइली'मा प्रस्ट चिनिने पहाडी भेषभूषा छ। त्यस्तै 'च्याङ्बा र मैच्याङ'मा तामाङ भेषमा सजिएका केटा र केटीको चित्र।
उनको व्यावसायिक रूपमा टिसर्ट कम्पनीसँग मिलेर विदेशसम्मै प्रचार भएको छ। टिसर्टको माग अस्ट्रेलिया, अमेरकिा, बेलायतलगायत देशमा बस्ने नेपालीबाट हुँदै आएको बुकेश बताउँछन्। गएको दसैँ-तिहारलाई लक्षित गरी निकालिएको टीका, पिङ र जमरासहित केटाकेटी रमाएको कार्टुन भएको टिसर्टको पनि राम्रै बिक्री भयो ।
उनका अनुसार यस्तै डिजाइनका तीन हजारभन्दा बढी टिसर्ट बिक्री भइसकेको छ। आठ हजार फेसबुक फ्यान र अन्य साथीभाइबाट उनलाई दैनिकजसो 'अर्डर' आउँछन् । एकमुष्ट अर्डर आएपछि उनी डिजाइन टिसर्ट कम्पनीलाई दिन्छन्। जसै टिसर्ट बजारसम्म पुग्छ, उनले रोयल्टीबापत प्रतिटिसर्ट ५० रुपियाँ पाउँछन्।
किशोरकिशोरीका लागि यस्ता टिसर्ट सांस्कृतिक पहिचानको माध्यम पनि बनेको छ। त्यसो त उनी जातीय र सांस्कृतिक पहिचान मात्रै होइन, राष्ट्रिय संकेत पनि झल्काउँछन्। भन्छन्, "मेरा डिजाइनले जातीय पहिचान र राष्ट्रियता दुवै मुद्दालाई एकैचोटि सम्बोधन गरेजस्तो लाग्छ।" साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !