यसो भनिरहँदा नेपाली चलचित्रको महानायक उपाधि पाएका राजेश हमालको मुखाकृति
हल्का तन्कियो, फिस्स मुस्कुराए। रंगमञ्चमा आफूलाई खरो रूपमा उतारेकाले नै
हुनसक्छ, उनले गाली खाएका छैनन्, उल्टो अपेक्षाभन्दा बढी ताली पाइरहेका
छन्। ३ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेपछि
राजेश हमालले रंगमञ्चमा पनि
आफूलाई अब्बल प्रमाणित गरेका छन्। अढाई दशक निरन्तर चलचित्रका हमाल लाइभ
पर्फमेन्समा काम गर्दैन वा गर्न सक्दैन भन्ने कुरालाई पनि गलत सावित
गरिदिएका छन्। कुनै बेला दिल्ली र मुम्बईका रंगमञ्चसमेत चहारेका हमाल
नेपाली चलचित्रको कामबाट फुर्सद हुँदा लुसुक्क गुरुकुल छिर्थे। अहिले
उत्तरढोकास्थित थिएटर भिलेजमा तिनै रंगकर्मीहरूलाई दर्शक बनाएर उनी आफ्नो
अभिनय कला देखाइरहेका छन्। राजेश हमाललाई नाटक कोर्टमार्सलका लागि कर्णेल
हुँदै बि्रगेडियर बनेको सुहाएको पनि छ। अनुप बरालद्वारा निर्देशित
कोर्टमार्सलकै प्रसंगमा हमालसँग विदुर खतिवडाले गरेको कुराकानी ः
नाटकमा अभिनय गर्नुको खास कारण ?
नाटक अभिनयकै एउटा विधा हो, पछिल्लो १०-१५ वर्षमा नेपालमा नाटकको जुन
विकास भैरहेको छ, म त्यसबाट प्रभावित थिएँ, काठमाडौंमा विशेष तरिकाले नाटक
मञ्चन हुन थालेकाले पनि यसमा काम गर्ने रहर थियो।
नाटकका लागि कत्तिको फिट हुनुहुँदो रहेछ त ?
यो अन्तरालमा आयोजित सबै पार्टी, समारोहमा जाँदा यही विषयमा मात्र
कुराकानी हुन्छ। नहेरेकाले पनि तपाईंको नाटक हेर्न आउनुपर्नेछ भन्न
थाल्नुभएको छ। एक वरिष्ठ रंगकर्मीले राजेशजी तपाईं त नाटककै लागि
जन्मिनुभएको रहेछ, किन थिएटरलाई निरन्तरता दिनु हुन्न भन्नुभयो।
दर्शकहरूबाट पनि असाध्यै राम्रो प्रतिक्रिया पाएको छु।
फरकधारका चलचित्रमा रुचि भएका कारणले पनि यो उपलब्धिमा रमाउनुभएको हो कि ?
म व्यावसायिक चलचित्रका लागि काम गर्दै आएको कलाकार हुँ, त्यसकारण अहिले
नै म रंगमञ्चको कलाकार हुँ भन्दिनँ। आत्मसन्तुष्टि मिलेको छ, यसमा भिजेर
प्रत्यक्ष अभिनय गर्नुपर्छ, चलचित्रमा जस्तो प्राविधिक तथा अन्य किसिमका
सहुलियत पनि उपलब्ध हुँदैनन्। एक हिसाबले भन्दा नाङ्गो रूपमा प्रस्तुत
हुनुपर्छ। चलचित्रमा अन द स्पट नमिलेको कुरा पछि सच्याइन्छ, तर नाटकमा त जे
बोल्यो त्यो गयो।
रंगमञ्चले तपाईंलाई आकषिर्त गरेको हो ?
यदि भूमिका सहि सावित भयो भने कलाकारलाई ठुलो आत्मसन्तुष्टि मिल्ने रहेछ।
यदि कोही राम्रो कलाकार बन्ने चाहना राख्छ भने उसले रंगमञ्चमा अभिनय गरे
हुन्छ। रंगमञ्चमा सहकर्मी कलाकारहरूसँग गजबको कोअर्डिनेसन हुने रहेछ। जबकि
चलचित्रमा व्यक्तिपरक भूमिका र अभिनय रहन्छ । रंगमञ्चमा टिमवर्क,
कोअर्डिनेसन, इन्टर्याक्सन बढी हुँदो रहेछ।
चलचित्रमा व्यावसायिकता सुरु गर्ने नायक रंगमञ्चको सीमित आम्दानीमा कसरी टिक्ला ?
सुरुमा कलाकार कलाकारिता गर्ने इच्छाले डोरिएको हुन्छ। म चलचित्रमा आउँदा
पनि एकदमै राम्रो आम्दानी हुन्छ भनेर आएको होइन। कलाकारिता गर्ने तीव्र
इच्छा थियो, कसरी कहाँ गएर गर्ने भन्ने थियो। रंगमञ्चमा यो मेरो पहिलो
अनुभव हो। व्यावसायिक रूपमा आएको भन्दा पनि चाहनाले डोर्याएको हो ।
रंगमञ्चका कलाकार बेढंगी हुन्छन्, चलचित्रका कलाकारहरूमा नाटकीयता देखिन्छ, तपाईंलाई कताका सहज लागे ?
मैले रंगमञ्चका कलाकारसँग बढी घुलमिल भएको अनुभव गरें। टिमवर्क र
कोअर्डिनेसनमा निर्भर रहने भएकाले रंगमञ्चका सहकर्मीमाझ बढी आत्मीयता पाएँ।
नाटक मञ्चन हुनुपुर्व ऊर्जा साटासाट गर्ने मञ्चन पछि त्रुटिका बारेमा कुरा
गर्ने भएकाले स्वाभाविक रूपमा परिवारजस्तो सम्बन्ध बन्दो रहेछ।
रंगमञ्च दर्शक आधारित छैन नि ?
रंगमञ्च दर्शक आधारित विधा होइन, रंगमञ्चका लागि पारखीहरू नै हुनुपर्छ।
रंगमञ्चको जुन भाव छ, जुन प्रस्तुति छ त्यसलाई पारखीहरूले नै बुझ्न सक्छन्।
रंगमञ्चको यो प्रवेश उमेर सुहाउँदो छ ?
मेरो उमेर सुहाउँदो भूमिका भनेको त कलेजकालीन युवाको हो (लामो हाँसो)। यो उमेरमा यो नाटक गर्नु पनि मेरो कलाकारिताको सबल पक्ष हो।
गर्लफ्रेन्डलाई देखाउनुभयो ?
छैन, देखाएको छैन। उहाँलाई चाँडै नै ल्याउँदैछु, तर कुन दिन ल्याउँछु त्यो तपाईंलाई चाहिँ भन्दिनँ।
हाम्रोमा भैरहेको रंगमञ्चिय अभ्यासलाई कसरी लिनुहुन्छ ?
म यो विषयमा असाध्यै सकारात्मक छु, गुरुकुल बन्द हुँदा म निराश भएको थिएँ।
गुरुकुल बन्द भए पनि त्यसले नेपाली नाटक संस्कृतिको जुन आधार खडा गर्यो,
त्यसले अहिले विस्तारित रूप देखाइसकेको छ।
अभ्यास गर्दाको अनुभव कस्तो रहयो ?
अभ्यास गर्दा असाध्यै केन्दि्रत भएर गर्नुपर्यो। मैले ३ सय जति चलचित्रमा
काम गरें होला, तर कोर्टमार्सलको स्क्रिप्ट जति बोकेर हिँडें, त्यति कुनै
पनि चलचित्रको स्क्रिप्ट बोकिनँ। रंगमञ्चमा चलचित्रजस्तो रिटेक खाने कुरा
पनि हुँदैन, जे अभिव्यक्त हुन्छ त्यो सीधै दर्शकसामु पुग्छ, त्यसकारण यहाँ
कि त ताली खानुपर्यो कि गाली। त्यसैले म सुरुदेखि नै गम्भीर थिएँ। मेरो
अभिनयमा पनि निखार आएको अनुभूति भएको छ।
निर्देशक अनुप बरालको प्रतिक्रिया ?
अनुपजीका कारण पनि मैले यो नाटकमा काम गरेको हुँ। अनुपजी निर्देशक भएकाले
गल्ती भएको स्थानमा सच्याउन सल्लाह दिनुहुन्छ, राम्रो भएको ठाउँमा राम्रो
भन्नुहुन्छ। उहाँको निर्देशकीय क्षमताबाट म पहिल्यैदेखि प्रभावित थिएँ।
चलचित्र र नाटकको निर्देशनमा मैले पाएको भिन्नता भनेको चलचित्र पुरै
निर्देशक नियन्त्रित हुन्छ, तर रंगमञ्चको निर्देशकले जति अभ्यास गराए पनि
जब मञ्चन सुरु हुन्छ त्यतिबेला केही गर्न सक्दैन। रंगमञ्चको निर्देशक चाहिँ
फुटबल टिमको कोचजस्तो, बाहिर बसेर हेरिरहेको हुन्छ, जब नाटक सकिन्छ, कुदेर
कलाकारहरू भएको स्थानमा पुग्छ र प्रतिक्रिया दिन थाल्छ।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !