CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बाइक चोरीको भित्री कथा

बाइक चोरीको भित्री कथा

बाइक चोरीको भित्री कथारातको १२ नाघिसकेको छ। कुकुर अरू रातभन्दा बढी नै भुकिरहेको छ। काठमाडौं मस्त निद्रामा रहँदा दुर्गा श्रेष्ठ भने कुकुरको एकोहोरो भुकाइका कारण ब्युँझन्छन्। साढे एक बजेतिर भुकाइ केही मथ्थर हुन्छ। उनी
भुसुक्कै निदाउँछन्।


बिहान उठेर अगाडिको ढोका खोल्न खोज्दा खुल्दैन। कसैले बाहिरबाट छेस्किनी अड्काइदिएछ क्यारे– सोच्दै उनी पछाडिको ढोकाबाट बाहिरिन्छन् र ढोका उघार्छन्। मनमा त्यति बेला चिसो पस्छ, जति बेला आँगनमा पार्क गरेको स्प्लेन्डर बाइक देख्दैनन्। श्रेष्ठ अलमल्ल पर्छन्। कसलाई भन्ने? छिमेकीलाई? कि प्रहरीलाई? दुवै गर्न सक्दैनन्, किनकि उनी स्वयं प्रहरी हुन्;

ट्राफिक प्रहरी चोरी शाखाकै प्रमुख!

उनी अनुसन्धान गर्न थाल्छन्। घरबाट निकालेर कच्ची बाटोमा बाइक डोर्‍याउँदै धोबीखोलाको किनारसम्म निकालेको डोब स्पष्ट देख्छन्। त्यसपछि वरपर आफूले चिनेका ट्याक्सी ड्राइभरसँग सोधपुछ गर्छन्। रातको साढे एक–दुई बजेतिर एकजना मान्छे विनाहेल्मेट स्प्लेन्डर बाइक चढेर धोबीखोलाको किनारै–किनार ओम अस्पतालअगाडिबाट उकालो लागेकोसम्म पत्तो लाग्छ।

श्रेष्ठले बिहान १० बजेतिर मात्रै ट्राफिक महाशाखामा बाइक चोरी भएको टिपाउँछन्। उनको उजुरी टिप्ने साथीले जानकारी दिन्छन्, 'सर, तपाईंको उजुरी त १३ नम्बरमा पर्‍यो।'

बाइक खोजीका लागि श्रेष्ठ आफैं लागिपर्छन्। धेरै सुत्र लगाएपछि उनको बाइक कपनतिर रहेको पत्ता लाग्छ। आफ्नै बाइक सस्तो मूल्यमा किन्न उनी राजी हुन्छन् तर अर्को सुत्रबाट खबर आउँछ– 'बाइक त अर्कैले किनेर लगिसक्यो।' २०६५ सालमा हराएको उनको बाइक अहिलेसम्म पत्ता लागेको छैन।

त्यसयता उनले चोरिएका सयौं बाइक धनीको जिम्मा लगाइसके तर आफ्नै बाइक आजसम्म भेट्न सकेका छैनन्।

...

केही वर्षयता बाइक चोरीका घटनामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाउँछ। कति बेला, कहाँबाट, कसरी बाइक चोरी हुन सक्छ– पत्ता लगाउन गाह्रो छ। 'बाइक चोरीको घटनामा कमी आएको छ। चोरी गर्ने गिरोह पक्राउ परेका छन्,' महानगरीय प्रहरी महाशाखा प्रमुख डिआइजी केशव अधिकारी भन्छन्, 'यसबाट चोरी नियन्त्रण भइहाल्यो भन्नेचाहिँ होइन।'

काठमाडौंबाट मात्रै बर्सेनि औसत एक हजार बाइक चोरी हुन्छन्। लगभग ३० प्रतिशतमात्रै फेला पर्ने सम्भावना हुन्छ। बाइक फेला परे पनि बाइक चोरी गर्ने थोरैमात्र प्रहरी फन्दामा पर्छन्। बाइक प्रहरीकहाँ आइपुग्दासम्म कम्तीमा चार–पाँचजनामा घुमिसकेको हुन्छ। धेरै केसमा प्रहरीको फन्दामा परिसकेपछि मात्र चालकलाई आफूले चलाएको बाइक चोरीको हो भन्ने पत्तो लाग्छ।

काठमाडौंबाट चोरी भएका बाइक विरलैमात्र उपत्यकामा गुढ्छन्। यहाँबाट चोरिएका बाइक सप्लाई हुने ठाउँ हुन्, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, धादिङका ग्रामीण भेग। 'यहाँबाट चोरी हुने अधिकांश बाइक 'पल्सर' नै हो। यसको पिकअप क्षमता राम्रो भएकाले ग्रामीण भेगका उबडखाबड बाटोमा सहजै दौडिन सक्छ,' डिआइजी अधिकारी भन्छन्। उनका अनुसार सबै चोरी भएका बाइक ग्रामीण भेगमा मात्रै दौडिँदैनन्। महँगो बाइकका पाटपूर्जा महँगै हुने भएकाले टुक्रा परेर पाटपूर्जा बेच्ने पनि हुन्छन्। टुक्रा पारिएको बाइकको इन्जिन भने तराईका खेतमा पानी तान्न प्रयोग हुने गरेका बताइए पनि प्रहरीसँग यसको रेकर्ड छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखा चोरी शाखाका प्रमुख, प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठ भन्छन्, 'बाइकको इन्जिन तराइमा पानी तान्न प्रयोग हुन्छ भन्ने सुने पनि प्रत्यक्ष नदेखेकाले भन्न गाह्रो छ।' उनको अनुभवमा बाइक चोरीमा संगठित गिरोहभन्दा पनि व्यक्तिको संलग्नता धेरै छ। चोरीमा संलग्न हुनेहरू केही समय लगातार चोरी गर्छन् र केही समय चुप लागेर बस्छन्। केही समय पछि पुनः चोरी गर्न थाल्छन्।

चोरीमा संलग्नको पहिचान भए पनि प्रमाण जुटाउन गाह्रो हुने श्रेष्ठले बताए। 'कि बाइक चोर्दै गर्दा समात्न सक्नुपर्छ। चोर समातिए पनि सजिलै कानुनको हातबाट उम्किहाल्छन्।'

उनले एउटा तीतो अनुभव सुनाए, 'एकजना चोरलाई पहिचान गरेर समात्यौं तर, प्रमाण जुटाउन सकिएन। न चोरी भएको बाइक ऊबाट बरामद भएको छ, न अन्य केही प्रमाण छन्। सार्वजनिक अपराधमा मुद्दा चलाउन हनुमान ढोका पठाइयो। परिसरले मुद्दा चलाउनुअगावै निजी वकिल बन्दी प्रत्यक्षीकरणको पूर्जी लिएर छुटाउन पुगे। त्यसपछि ऊ भागेको भाग्यै छ।'

...

बाइक चोरी हुने प्रमुख स्थान निःशुल्क पार्किङ, पार्टी तथा कुनै समारोहको पार्किङ स्थल, लामो समयसम्म एकनासले पार्किङ गरिरहने ठाउँ, अस्पतालको पार्क आदि हुन्। जहाँ बाइकको आवतजावत धेरै भए पनि मान्छेले कमै मात्र याद गरिरहेका हुन्छन् । चाडबाडअघि पनि बढी चोरी हुने गर्छ। निरीक्षक श्रेष्ठ भन्छन्, 'दरबारमार्गमा सडक महोत्सव हुँदा एक्लो चोरले सातवटा बाइक चोरेको थियो।' चोरी शाखाबाट खटिएका प्रहरीले बाइक चोर्दाचोर्दै रंगेहात पक्राउ गरेका भटना पनि छन्। 'शिक्षण अस्पताल प्रांगणबाट धेरैलाई रंगेहात समातेपछि अहिले त्यहाँको चोरीमा नियन्त्रण आएको छ,' उनले भने।

...

चोरी भएको बाइक फेला परे पनि थोरैमात्र बाइक बु‰न आउँछन्। कसैले कागजपत्र आफूबाट हराइसकेको बताउँछन् त केही सम्बन्धित व्यक्ति विदेशमा रहेको। केही बाइकको धनी त प्रहरी स्वयंले पनि पत्ता लगाउन सक्दैन। कतिपयको च्यासिस र इन्जिन नम्बर केरमेट गरिएको वा फेरिएकाले समस्या हुने डिआइजी अधिकारी बताउँछन्। धनी पत्ता नलागेको बाइक प्रहरीले भन्सार कार्यालय पठाउँछ।

भन्सार पुगेको बाइक केही दिन थन्किन्छ र पुनः दर्ता नहुने गरी कवाडीका रूपमा बिक्री गरिन्छ। कवाडीलाई बेचिएका बाइकको पाटपूर्जा भने धेरै हदसम्म काम लाग्ने हुन्छन्। निरीक्षक श्रेष्ठ भन्छन्, 'आममानिसलाई कवाडी आफैंले चोरीको बाइक किनेको जस्तो लाग्छ। तर, त्यसो हुँदैन।' उनको अनुभवका बाइक चोरीमा केही वर्कशप सञ्चालक भेटिए पनि कवाडीवाला र रिकन्डिसन हाउसवालाको भने प्रत्यक्ष संलग्नता हालसम्म देखिएको छैन।

नयाँ बानेश्वरस्थित एक वर्कशपमा काम गर्ने मिस्त्री भन्छन्, 'हामीले जानीजानी चोरीको बाइक बनाउने होइन। बाइक चढेर आउनेले मर्मत गरिदे भनेपछि गर्नेपर्‍यो। प्रहरीजस्तो ब्लुबुक माग्ने कुरा पनि भएन।'

...

प्रहरी अनुसन्धानअनुसार पहिले ग्राहकको खोजी हुन्छ अनि मात्र बाइक चोरहरू सक्रिय हुन्छन्। स्टकमा राख्न गाह्रो हुने भएकाले पनि चोरले पहिले ग्राहकको खोजी गर्छन्। बाइक चोरिएपछि दलालकहाँ जानकारी पुग्छ। उसैले ग्राहकलाई खबर गर्छ। फिल्डबाट बाइक चोर्नेहरू खलाँसी र दुर्व्यसनी धेरै हुने गरेको प्रहरी बताउँछ। कोही रमाइलोका लागि पनि चोर्ने गर्छन्। एकपटक चोर्दा कसैले पत्तो नपाएपछि फेरि चोर्न थाल्नेहरू पनि छन्। बाइक चोर व्यावसायिक चोरभन्दा पनि मौकाको फाइदा उठाउनेहरू धेरै छन्।

चोरिएको बाइक बिक्री नभएसम्म नम्बर फेरेर काठमाडौंकै सडकमा कुदाइन्छ। तर, चढ्नेलाई चोरीका बाइक हो भन्ने पत्तो हुँदैन। निरीक्षक श्रेष्ठ भन्छन्, 'काठमाडौंमा चेकजाँच गर्दा भेटिएका चोरीका बाइक चढ्ने अधिकांशलाई उक्त बाइक चोरीको भन्ने पत्तो नै हुँदो रहेनछ।' उनका अनुसार बन्धकीका रूपमा थोरै पैसा दिएर बाइक चढ्ने धेरै हुन्छन्। कोही भने पछि पास गर्ने आश्वासनमा बाइक चढिरहेका हुन्छन्। श्रेष्ठको सुझाव छ, 'यातायात व्यवस्था विभाग गएर आफैंले बाइक पास नगरेसम्म ढुक्क नभए हुन्छ। त्यसो नगरेका ९५ प्रतिशत बाइक चोरीका हुन्छन्।'



आर्थिक वर्ष हराएको पक्राउ धनी जिम्मा

२०६७/०६८ १,५३२ ७४३ ४००

२०६८/०६९ १,४५३ ४७१ ३०२

२०६९/०७० ८५२ ३९९ २३८

२०७० (कात्तिकसम्म) १४३ ८७ ४८
साभार : नागरिक न्युज
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis