कन्सर्ट आतंक
२ माघको मध्याह्न काठमाडौँको हनुमानढोका डबलीमा नेपाली सेनाको ब्यान्डबाजासहित बेग्लै तामझाम थियो। सन्दर्भ थियो, १६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, रेडक्रसलगायत अन्तर्राष्ट्रिय संगठनका उच्च अधिकारीको समेत बाक्लै चहलपहल रहेको सो कार्यक्रमका प्रमुख अतिथि थिए, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी।
ठीक त्यही समय वसन्तपुर डबलीको आडैमा रहेको कुमारीघरमा भने त्यो तामझामले उल्लास होइन कि उराठलाग्दो वातावरण बनाएको थियो। लोडसेडिङ्को समय भएकाले कुमारीघरको झ्यालैमुनि ठूलो जेनेरेटर चलाइएको थियो। कुमारीघरभित्र धूवाँको पिरोले आँखा खोल्न र राम्ररी सास फेर्नसमेत मुस्किल थियो। मानिसको होहल्ला, एकोहोरो बजिरहेको भूकम्प गीत, त्यसमाथि ब्यान्डबाजा।
यति कारण काफी थिए, जीवित देवीका रूपमा मुलुकले विश्वसामु गर्वका साथ चिनाउने कुमारीघरभित्रको वातावरण अस्तव्यस्त बनाउन। कुमारीको रेखदेखमा लागेको शाक्य परिवारका सातौँ पुस्ताका महेन्द्र शाक्य भन्दै थिए, "सधैँ यस्तै हो, जीवित देवीको समस्यामा कसैलाई वास्ता भए पो !"
भूकम्प दिवसमा आयोजित समारोह किन पनि उल्लेख्य छ भने कार्यपालिकाका प्रमुख नै सहभागी कार्यक्रम राज्यको कानुनलाई मिचेर सरकारमातहतकै निकायहरूले अवैधानिक रूपमा आयोजना गरेका थिए। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ -५) अनुसार संरक्षित क्षेत्रभित्र परम्परागतबाहेकका कुनै पनि कार्यक्रम आयोजना गर्नका लागि पुरातत्त्व विभागबाट स्वीकृति लिनुपर्छ। तर, राज्यले कानुनको पालना गरेर स्वीकृति लिने काम भने गरेन। पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत सौभाग्य प्रधानांग भन्छिन्, "कार्यक्रमका लागि विभागले स्वीकृति दिएको छैन।"
युनेस्कोको विश्व सम्पदामा सूचीकृत हनुमानढोका क्षेत्रमा देखिएको गैरकानुनी अतिक्रमणको यो सानो नमुना मात्रै हो। यसभन्दा भयानक त हनुमान ढोकाजस्ता स्मारक परसिरमा बिनाअनुमति मनोमानी रूपमा भइरहेका सांगीतिक कार्यक्रम -कन्सर्ट)हरू हुन्। गत एक महिनाको अवधिमा मात्रै हनुमानढोका दरबार परसिरमा चार ठूला कन्सर्ट आयोजना भइसकेका छन्, १६ मंसिरमा विश्व एड्स दिवस, ९ र १० पुसमा क्रिसमस र २७ पुसमा। उच्च क्षमताका लाउडस्पिकर राखेर गरनिे त्यस्ता कार्यक्रमले हनुमानढोकाभित्रका संरचना नै जोखिम परेको बताउँछिन्, हनुमानढोका दरबार संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंह। भन्छिन्, "कन्सर्टकै कारण भूकम्पको जस्तै जोखिम देखिएको छ। मन्दिरका झिँगटी झर्नेसम्मका घटना भएका छन्, सानै भए पनि असर त परेकै छ।"
सबैभन्दा बढी असर परेको चाहिँ कुमारीघरलाई नै हो। कन्सर्टका लागि बनाइने स्टेज प्रायः कुमारीघरमै जोडिएका हुन्छन्। ड्रमसेट लाउडस्पिकरलगायत उपकरणका कारण हुने कम्पनले घर नै भत्किएलाजस्तो हुने कुमारीको रेखदेखमा रहेका शाक्य बताउँछन्। हनुमानढोका परसिरको संरचना ध्वनि अत्यधिक प्रतिविम्बित हुने खालको छ। एक स्थानीय त कन्सर्टका बेला कम्पनका कारण झ्यालको सिसा नै फुटेको सुनाउँछन्। त्यसमाथि कुमारीघरको संरचना धेरै पुरानो छ। सन् ७५७ मा राजा जयस्थिति मल्लले बनाउन लगाएको कुमारीघरको जीर्णोद्धार सन् १९६६ मा भएको हो।
ध्वनि प्रदूषणले सबैभन्दा ठूलो असरचाहिँ कुमारीको शिक्षामा परेको छ। अध्ययनमा बाधा नपरोस् भनेरै मध्याह्न १२ बजेदेखि ४ बजेसम्म कुमारीको दर्शन गर्नसमेत बन्द गरिन्छ। तर, जब कन्सर्ट हुन्छ, कुमारीघरभित्र आतंककै वातावरण सिर्जना हुन्छ। शाक्य भन्छन्, "एकअर्कासँग बोलेको समेत सुनिँदैन, पढ्ने त कता हो कता !"
हनुमानढोका दरबार परसिरको संग्रहालयको रेखदेख संग्रहालय विकास समितिले गर्छ भने बाहिरी क्षेत्रको व्यवस्थापनको जिम्मेवारी पाएको छ, काठमाडौँ महानगरपालिकाको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले। तर, संरक्षण कार्यक्रम भनिए पनि महानगरपालिका पर्यटकबाट प्रवेश शुल्क उठाउन र दिउँसो सवारीसाधनलाई त्यस क्षेत्रमा प्रवेश रोक्नमै सीमित देखिएको छ। यसैको उदाहरण हो, संरक्षण कार्यक्रमको कार्यालयअगाडि अनुमति नै नलिई कन्सर्टलगायत कार्यक्रम हुनु।
आफ्नै कार्यालयअगाडि एकपछि अर्को अवैधानिक गतिविधि हुँदा पनि संरक्षण कार्यक्रमसँग क-कसले त्यस्ता कार्यक्रम गरे भन्ने जानकारीसमेत हुँदैन। कार्यक्रम प्रमुख हरिसकुमार श्रेष्ठ भन्छन्, "परम्परागतबाहेक कुनै पनि कार्यक्रमलाई स्वीकृति दिँदै दिँदैनौँ, त्यही भएर क-कसले गरे भन्ने रेकर्ड हामीसँग छैन।"
यस्ता अनियन्त्रित गतिविधिले स्मारकको सुरक्षामै गम्भीर चुनौती सिर्जना गरेको सुनाउँछिन्, प्रमुख पुरातत्त्व अधिकृत प्रधानांग। पछिल्लो समय देखिएका अत्याधुनिक गतिविधिले त्यस क्षेत्रका वास्तुकला र प्राचीन परम्परालाई ओझेलमा पार्दै लगेको प्रधानांगको भनाइ छ।
हुन पनि, जुन अद्वितीय पक्षका लागि हनुमानढोका विश्व सम्पदामा सूचीकृत भएको हो, त्यही पक्ष ओझेल पर्न थालेको छ। ९ पुसमा वसन्तपुर डबलीमै भएको एउटा सांस्कृतिक कार्यक्रमलाई नै उदाहरणका रूपमा लिऔँ न, जसमा अधिकांश नृत्य हिन्दी गीतमा प्रस्तुत गरएिका थिए। प्रधानांग भन्छिन्, "पर्यटकले यस्तो स्थानमा परम्परागत बाजा, संस्कृति र रहनसहनको अपेक्षा गरेका हुन्छन्, जुन अवाञ्छित मानवीय गतिविधिका कारण दुर्लभ बन्न थालेका छन्।"
हनुमानढोका परसिरभित्र हुने कन्सर्टजस्ता गतिविधिसँग आर्थिक पक्ष पनि जोडिन्छ। राजनीतिक दल र स्थानीय क्लबहरूको स्वार्थका कारण चाहेर पनि कतिपय सुधारका कार्यक्रम लागू गर्न नसकिएको संरक्षण कार्यक्रम प्रमुख श्रेष्ठ बताउँछन्। पोहोर इन्द्रजात्राकै समयको उदाहरण हेरौँ। स्थानीय क्लबहरूले हनुमानढोका क्षेत्रका मन्दिरलगायत प्राचीन संरचनामा विज्ञापनका फ्लेक्सहरू टाँगे। त्यसलाई हटाउने जमर्को गर्यो, संग्रहालय विकास समितिले। तर, क्लबहरूको प्रमण्डल पुगिहाल्यो, कार्यकारी निर्देशक सिंहको कार्यकक्षमा। जबकि, हनुमानढोका क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, २०६४ मै व्यापारकि प्रचारप्रसारका साइनबोर्डहरू राख्न नपाइने उल्लेख छ। यसबारे क्लबका प्रतिनिधिहरू भलीभाँती जानकार छन्। त्यसमाथि धेरै मानिस जम्मा हुने गतिविधि सम्पदाका लागि सधैँ जोखिमपूर्ण रहने बताउँछिन प्रधानांग। अझ मदिरा तथा अन्य नशालु पदार्थ सेवन गरेकाहरू उत्तेजनामा रहने भएकाले कुनै पनि बेला प्राचीन सम्पदामा क्षति पुग्ने जोखिम रहन्छ। राजनीतिक कार्यक्रममा त भिडन्तको सम्भावना झन् बढ्छ।
दरबार क्षेत्र संरक्षणका लागि पुरातत्त्व विभाग, संग्रहालय विकास समिति, हनुमानढोका दरबार हेरचाह अड्डा र महानगरपालिकाजस्ता निकाय क्रियाशील छन्। यद्यपि, दलका प्रतिनिधि र क्लबका हर्ताकर्ताका अगाडि उनीहरू निरीह देखिन्छन्। रातको समयमा सामान झार्ने र अर्को दिन बिहानैबाट कार्यक्रम थालिहाल्ने जबरजस्ती प्रवृत्ति देखिएको छ। तर, अनुमति नै नलिई हुन लागेको कार्यक्रममा आफ्नै 'नगर प्रहरी' भएको महानगरपालिकाले अहिलेसम्म हस्तक्षेप गर्ने हिम्मत जुटाउन सकेको छैन। पुरातत्त्व विभागले आफैँ कारबाही गर्न सक्दैन। उसले स्थानीय प्रशासनलाई पत्र लेख्ने र अदालतमा मुद्दा दायर गर्नेसम्मका काम गर्न सक्छ। लामो अदालती प्रक्रियामा जानु जनशक्तिका हिसाबले पनि विभागका लागि अप्ठ्यारो भएको प्रधानांग सुनाउँछिन्। त्यसो भए जबरजस्ती हुने यस्ता कन्सर्टहरू रोक्ने जिम्मेवारी कसको त ?
के छ प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा ?
संरक्षित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान गर्न, खानेपानी वा ढलका लागि जमिन खन्न, सडक बनाउन वा मर्मत गर्न, चलचित्र सुटिङ् गर्न, पर्व-मेला, नाचगान वा सवारी साधन पार्किङ् गर्न वा पोस्टर, तस्बिर टाँस्न पुरातत्त्व विभागबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्नेछ। तर, परम्परागत नाचगान, पर्व-मेला गर्न चलाउन पुरातत्त्व विभागको स्वीकृति आवश्यक पर्ने छैन। कसैले स्वीकृति नलिई वा निर्देशनविपरीत कुनै कार्य गरेमा निजलाई १० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ।
बेरोकटोक सवारी आवागमन
प्राचीन स्मारक संरक्षण ऐन र हनुमानढोका क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्डमा समेत सवारीसाधनको आवतजावत र पार्किङ्लाई नियन्त्रण गरनिुपर्ने उल्लेख छ। तर, युनेस्को विश्व सम्पदामा सूचीकृत हनुमानढोका पुग्दा संरक्षणका पाइला चालेको अनुभव गर्न सकिँदैन। हनुमानढोका क्षेत्रमा सवारीसाधनको प्रवेश रोक्न काठमाडौँ महानगरपालिकाले मखनटोल, काष्ठमण्डप, झोछेँ र न्युरोडको जुद्धसालिकअगाडि नाका बाँधेको छ। तर, संरक्षण कार्यक्रमलाई ठाडो चुनौती दिँदै असरल्ल पार्किङ् भएका दृश्य निकै सामान्य लाग्छन्। विशेष गरी प्रहरी र सेनाका सवारीसाधन निर्बाध रूपमा चलिरहेका भेटिन्छन्। आफूलाई 'स्टाफ' -प्रहरी वा सैनिक) बताएपछि नगर प्रहरीले पनि रोक्ने जाँगर देखाउँदैन। हनुमानढोका दरबार क्षेत्रमा महानगरीय प्रहरी परसिरका अलावा सेनाको शार्दूलजंग गुल्म र ग्यारजिन गण छन्। तिनका सवारीसाधनलाई पनि कुनै रोकटोक छैन। हनुमानढोका दरबार संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंह त संग्रहालय छिर्ने बाटोसमेत अवरुद्ध हुने गरी प्रहरीकै गाडी पार्किङ् गरनिे गरेकाले दिक्क छिन्। भन्छिन्, "बैठक हुन्छन्, गुनासो गर्यो, एक-दुई दिन कम हुन्छ, पछि फेर ित्यस्तै।"
अझ सवारीसाधनको प्रवेश बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै निषेध गरएिकाले त्यसपछि अवस्था झन् जटिल बन्छ। साना सवारीसाधन मात्रै होइन, ठूल्ठूला मालवाहक सवारीसमेत रातभर तीव्र गतिमा कुदिरहन्छन्। स्थानीय शोभन शर्मा भन्छन्, "अहिले बनेका पक्की घर त नराम्ररी थर्कन्छन् भने पुराना स्मारक र मन्दिरमा कस्तो असर परेको होला ?" हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख हरकिुमार श्रेष्ठ भने वैकल्पिक बाटोको व्यवस्था हुन नसक्दा सवारीसाधनको आवागमनलाई पूर्ण रूपमा रोक्न नसकिएको सुनाउँछन्। हनुमानढोका दरबार क्षेत्रभन्दा पूर्व र पश्चिमका क्षेत्रलाई जोड्ने वैकल्पिक बाटो दिन सकेमा समस्या समाधान हुने श्रेष्ठको दाबी छ।
पाटन दरबारमा पनि उस्तै
कन्सर्टका लागि कतिसम्मका जबरजस्ती तरकिा अपनाइन्छन् भन्ने अर्को ज्वलन्त उदाहरण हो, 'शान्तिका लागि शिक्षा' नारा बोकेर देश दौडाहामा निस्किएको चर्चित ब्यान्डले १४ पुसमा पाटन दरबार क्षेत्रमा गरेको कन्सर्ट। कार्यक्रम आयोजनका लागि गृह मन्त्रालयको सिफारसि लिएर नेपथ्य पुरातत्त्व विभाग पुगेको थियो। त्यसमा स्थानीय मंगलटोल सुधार समितिको समेत सहमति थियो। पाटन दरबार क्षेत्रमा यस्ता कार्यक्रम गर्न नदिन गरिएको सहमतिमा यस समितिले समेत औपचारकि सहमति जनाएको पुरातत्त्व विभागका एक अधिकारी बताउँछन्। तर, अनुरोधहरूका बाबजुद सम्पदामा प्रतिकूल असर पर्ने भन्दै पुरातत्त्व विभागले स्वीकृति दिन अस्वीकार गर्यो। तैपनि, कन्सर्ट सम्पन्न भयो। कुनै सरकारी निकायले अनुमतिबेगर भएको त्यस कन्सर्टलाई रोक्न सकेनन्।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !