आशाको एउटा झिनो संकेत देखा परेको छ। एक वर्षभित्र काठमाडौंलाई लोडसेडिङ मुक्त गर्ने योजना साथ नेपाल र दक्षिण कोरियाको कम्पनीबीच आज एउटा
सम्झौता भएको छ। नेपाल ह्वाइट पावर प्रा.लि (एनडब्लुपी) र हुबिकन कम्पनी प्रा.लि (एचबिसी) दक्षिण कोरियाको संयुक्त लगानीमा बन्ने सोलार पावर प्लान्टबाट ऊर्जा उत्पादन गरिनेछ। त्यसले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गर्ने विश्वास कम्पनीले लिएको छ।
कस्तो सोलार ?
काठमाडौंको काभ्रेस्थली र साङ्ला गाविसमा निर्माण गरिने यस आयोजनाले ७ सय २० रोपनी क्षेत्रफल ओगट्नेछ। यसले कूल ४९ मेगावाट विद्युत उत्पादन गर्नेछ।
यति विद्युत उत्पादन गर्नलाई ३ सय वाटको १ लाख ६३ हजार ३ सय ५० सोलार प्यानलको प्रयोग गरिनेछ।
विद्युत उत्पादन भएपछि राष्ट्रिय रुपमा दुई घन्टा र काठमाडौंलाई मात्रै पूरै लोडसेडिङ मुक्त गर्न सकिने ह्वाइट पावरका अध्यक्ष मिश्रले दावी गरे।
हुबिकनका अध्यक्ष सुङले विकोसोन्मुख र अल्पविकसित राष्ट्रमा लगानी बढाउँदै जाने कोरिया सरकारको नीति अर्न्तगत आफूहरु सोलार पावरमा लगानी गर्न इच्छुक भएको बताए।
पब्लिक प्राइभेट पाटर्नरसिप (पिपिपि) मोडलमा निर्माण गरिने यस आयोजनाको प्रतिकिलोवाट ब्याकअप सिस्टम राख्दा यूएस डलर ३३ सय र ब्याकअप सिस्टम नराख्दा २२ सय युएस डलर लागत पर्नेछ।
योजनामा ५१ प्रतिशत कोरियन कम्पनी एचबिसी र बाँकी नेपाली पक्षको लगानी रहनेछ। पिपिए सम्पन्न भएको १५ महिना आयोजनाको निर्माण कार्य सम्पन्न भइ विद्युत उत्पादन सुचारु हुनेछ।
नेपालमा यो अहिलेसम्मकै ठूलो सोलार आयोजना हुनेछ। यसअघि जापानी संस्था जाइकाको सहयोगमा ललितपुरको धोबिघाटमा सोलार आयोजना सञ्चालनमा छ। जाइकाको झन्डै ५४ करोड रुपैयाँ अनुदानमा भौतिक योजना तथा निर्माण मन्त्रालयसँग सम्झौता गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग मिलेर सोलार विद्युत उत्पादन गरिरहेको छ। यसको अधिकतम क्षमता ६ सय ८० किलोवाट मात्रै छ।
अहिले बन्न लागेको भने किलोवाट हैन मेगावाटको योजना हो। त्यो पनि १ वा २ हैन ४९।
यसअघि विद्युत प्राधिकरणले निर्माण गरेको सबैभन्दा ठूलो सोलार प्रणाली हुम्ला र गमगढीको ५०/५० किलोवाट क्षमताका मात्र थिए।
जलविद्युतमा प्रति किलोवाट लागत एक लाख ५० हजार पर्छ। सोलारबाट उत्पादन हुने धोबीघाटमा रहेको आयोजनाकै लागत प्रति किलोवाट ५ लाख ४७ हजार रुपैयाँ परेको छ।
यो बाहेक अरु दुई वटा कम्पनीले पनि सोलार पावरका लागि विद्युत विकास विभागबाट लाइसेन्स लिइसकेको छ। त्यसमध्ये एउटा त यो कम्पनीको आयोजनाभन्दा पनि ठूलो अर्थात् ५० मेगावाटको छ।
पिपल्स डेभलपमेन्ट एन्ड पावर टेक कम्पनीले तनहुँ जिल्लाको मानुङडाँडामा सोलार प्लान्ट राख्ने भएको छ। व्यास नगरपालिकामा अवस्थित मानुङडाँडामा ५० मेगावाटको लाइसेन्स भए पनि तत्कालका लागि २० मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने र सो ऊर्जालाई दमौलीस्थित नेपाल विद्युत् प्राधिकरणको सव स्टेसनमा जोडिने छ। यसका लागि कम्पनीले युरोपेली लगानीकर्ता खोजेको छ।
त्यस्तै अर्को ५ मेगावाटको लाइसेन्स Elegance Power Industries Private Limited ले पाएको छ। (माथिका सबै फोटो धोबिघाट सोलार आयोजनाको हो। बन्दै गरेको बेला सन् २०१२ जनवरीमा फोटो खिचेको हुँ)
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !