आउट दिएको चित्त नबुझे 'पेवेलियन' पुगेर अनशन बस्ने, बलिङ्ग गर्दा आउट नदिए अम्पाएर विरुद्ध हुटिङ्ग गर्ने र त्यसबाट पनि काम नबने मध्य पिचमा धर्ना कस्ने उपाय नेपाली क्रिकेटरहरुले अब अपनाउनु पर्छ।
बिलाश राई
खेलको 'ख' नजाने'नि 'जय नेपाल' र 'लाल सलाम' भन्न जान्ने वाञ्छित योग्यताका बलमा छलाङ्ग मार्दै खेल संघको टुप्पोमा टुप्लुकिन आइपुग्ने पदाधिकारीहरूले श्रीमती, साला/साली, भाञ्जा/भाञ्जी, मन्त्री/मन्त्राणी आदिको जम्बोरी बोकेर वेला–कुवेला विदेश भ्रमण गर्दै खेलकुद विकासका लागि मरिहत्ते गरेको बासी बयानबाजी जति गरे'नि तुरिन्न। खेल राजनीतिलाई दह्रो काउन्टर दिने गरी राष्ट्रिय क्रिकेट खेलाडीले आफ्नो भत्ता झवाम र तलब क्वाम पारिदिएको आरोप लगाउँदै क्यान पदाधिकारीहरूको पाँडे–पजनी नभएसम्म खेल बहिष्कारको घोषणा गरेको विषय चाहिं अहिले चर्चाको केन्द्रमा छ। मैदानको उछलकुदमा सीमित खेलाडी मागपत्र बोकेर वार्ता एवम् पत्रकार सम्मेलनमा व्यस्त रहेको परिदृश्यले नेपालमा खेलाडी राजनीतिज्ञको उदयको संकेत गरेको छ। राजनीतिक खेलाडी भर्सेज खेलाडी राजनीतिज्ञहरूको भाले भिडन्तका कारण यो वर्ष नेपाली खेल क्षेत्रले अन्तर्राष्ट्रिय स्पर्धामा उत्पातै सफलता हात पार्ने समेत छ्याङ्ग भएको छ।
खेलाडीले तलबभत्ता, सुविधा, वृत्ति–विकास, तालिम, पूर्वाधार, प्रशिक्षण आदिका जायज माग राख्दै आएकोमा यसपालि निर्वाचित संघलाई सुक्या ठुटो झैं डङ्ग्रङ्ग ढालेर अग्रगामी थिति बसाल्ने विछट्टको माग थपुवा गर्न पुगे। अझ् दलहरूले झवाट्ट नेपाल बन्द वा चक्काजाम गरिदिएर सामान्यजनलाई झ्ट्का दिए झैं क्रिकेटरहरूले खेल बहिष्कारको घोषणा गरी परिआउँदा आफूहरू पनि दलका नेता तथा कार्यकर्ता भन्दा कम अनुशासित र गतिशील नरहेको सावित गरे। निर्वाचित संघ भङ्ग गरी उपल्लोस्तरको समन्वय समिति बनाउने क्रिकेटर प्रस्तावलाई अनुचित ठहर्याउन मिल्दैन। उच्चस्तरीय राजनीतिक समिति थोपरी निर्वाचित सरकारलाई थच्याउन मिल्छ भने जाबो क्यानमाथि एउटा समितिरूपी बोतल ठड्याउँदा के आपत्ति? राजनीतिक नेतृत्वलाई दुरुस्त पछ्याउन सक्ने अतिरिक्त दक्षताका कारण निकट भविष्यमै नेपाली क्रिकेटरहरूले ठूलै बाजी मार्नेमा अब हामी जस्ता क्रिकेटप्रेमीहरूले शंका गरिरहनु पर्दैन।
टी–२० विश्वकपमा अपेक्षा गरिए भन्दा उम्दा प्रदर्शन गर्दै देश–विदेशबाट वाहवाही बटुलेका नेपाली क्रिकेटर घर फिर्नासाथ दोस्रो चरण प्रवेश गर्न नसक्नुको कमजोरी हटाउन मैदानमा डट्ने अपेक्षा थियो। मागपत्र बोकेर वार्तास्थल वरिपरि लुखुरलुखुर डुल्दै गरेका बागी क्रिकेटरलाई आगामी लक्ष्यबारे सोध्दा फटाकसँग भने, “अर्कोपल्ट हामी अफगानिस्तान विरुद्ध भारी जित निकाल्छौं।”
“बङ्गलादेश र जिम्बाबेलाई नहराई कसरी उँभो लागिएला?”
“खेलेर मात्र बस्यौं भने क्यानमा सिस्टम कसले बसाल्छ? फेरि, पुरानो हिसाब फच्चे नपारुञ्जेल अफगानिस्तानबाहेक अरू बारे सोच्ने कुरो'नि आएन!” क्यान पदाधिकारी पनि के कम? खेलाडीका माग पूरा गरेर 'खाई न पाई, छालाको टोपी लाई' हुन उनीहरू पदाधिकारी बनेका हैनन्। खेलाडीले खेल्न छाडेर के लछारपाटो लाग्थ्यो, खेलाडीको सट्टा प्रशिक्षकलाई नै मैदानमा उतारिदिए। लुइरेहरूले सुनाएको घुइरे सम्चार अनुसार रन र विकेट बारे थोरै मात्र जान्या भए पदाधिकारी आफैं काम्रो कस्ने सुरमा थिए अरे। चिची/पापा दुवै लुँड्याउन पा'भे जात्रै हुँदो हो बरु! 'खेल छउन्जेल संघ छ र संघ रहुन्जेल चैन छ' भन्ने भलिभाँती बुझेका पदाधिकारीहरूका लागि खेलाडी नाथे भाँडमै गए'नि मतलब हुने कुरो भएन।
विपक्षीलाई मैदानमा चित् फर्काउन क्रिकेटरहरू आफ्नो तरकस नवीन शस्त्रहरूले भर्छन्। सिम, स्वीङ्ग र रिभर्स स्वीङ्गदेखि आजकाल कन्ट्रास्ट स्वीङ्ग बलिङ्गको पनि चर्चा छ। आजित भए'सी सिमरले फाल्ने 'विमर' होस् या लेग स्पिनरको गुगली, सबै विरोधी ढाल्न उध्याइएका औजार हुन्। अफ स्पिनरले फाल्ने 'दुसरा' को पासोमा परी खप्पु ब्याट्सम्यानहरू हत्तु हुन पुग्या छन्। नेपाली क्रिकेटरद्वारा अन्वेषित बहिष्काररूपी 'तिसरा' ले भने रिप्पु राजनीतिक कार्यकर्ता उर्फ क्यान पदाधिकारीलाई 'क्लिनबोल्ड' गरेको छ। मौलिक 'तिसरा' लाई थोरै परिमार्जन सहित मैदानमा प्रयोग गर्न सकिए यो हाम्लाई विश्वकप दिलाउने जब्बर हतियार हुन सक्छ। आउट दिएको चित्त नबुझे 'पेवेलियन' पुग्नासाथ अनशन बस्ने, बलिङ्ग गर्दा आउट नदिए अम्पाएर विरुद्ध हुटिङ्ग गर्ने, त्यसबाट पनि काम नबने मध्य पिचमा धर्ना कस्ने! त्यति गर्दा'नि माखो नमरे पत्रकार सम्मेलन गर्दै मैदान छाड्ने। स्वदेशी आविष्कार 'तिसरा' ले अपार सफलता पाओस्, हाम्रा राजनीतिक खेलाडी र खेलाडी राजनीतिज्ञहरूको गठजोडले आगामी विश्वकप दिलाओस्। शुभकामना!
साभार : हिमाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !