CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पिराहा पारस : लागूऔषधका एकपछि अर्को घटनामा पूर्वयुवराज

पिराहा पारस : लागूऔषधका एकपछि अर्को घटनामा पूर्वयुवराज

विश्वका झन्डै दुई सयमध्ये ४५ देश यस्ता छन्, जहाँ अहिले पनि कुनै न कुनै रूपमा राजतन्त्र छ। राजतन्त्र रहेका त्यस्ता ४५ देशमध्ये एउटा हो, दक्षिण पूर्वी एसियाको थाइल्यान्ड। राजा भूमिबोल अदुल्यादेजले आठ सय वर्ष पुरानो  राजतन्त्रलाई त्यहाँ निरन्तरता दिइरहेका छन्। संवैधानिक भनिए पनि व्यवहारतः उनी सक्रिय राजा हुन्, जो यति शक्तिशाली छन् कि सेनाको कमान्ड पनि उनैसँग छ।

तर, त्यही देशको राजधानी बैंककबाट साढे पाँच सय किलोमिटर पर लोङखाई प्रान्तस्थित फोनपिसाई प्रहरी स्टेसनद्वारा २३ असोजमा सार्वजनिक एक अभियुक्तको स्थिति हेर्दा लाग्दैन, थाइल्यान्डको राजतन्त्र यति धेरै शक्तिशाली होला भनेर  ! किनभने, प्रहरी कार्यालयमा थुनामा रहेका अभियुक्त कुनै समय थाइल्यान्डको जस्तै शक्तिशाली राजतन्त्रका उत्तराधिकारी थिए। अर्थात्, उनी
थिए, नेपालका पूर्वयुवराज पारस शाह, जो चार वर्षदेखि थाइल्यान्डमै बसिरहेका छन्।

स्थानीय फोनपिसाई प्रहरी स्टेसनले सार्वजनिक गरेपछि थाई सञ्चारमाध्यमहरूले दिएका चारमध्ये एक तस्बिरमा पूर्वयुवराज पारसको स्थिति यति नाजुक देखिन्थ्यो कि हातमा हत्कडी र फुङ्ग उडेको अनुहारसहित उनी प्रहरीसँग अनुनय  गरिरहेजस्ता देखिएका थिए । (हेर्नूस्, तस्बिर)



मदिरापछि लागूऔषध

२३ असोजमा पक्राउ पर्नुअघि पनि पारस थाइल्यान्डमा गाँजासहित दुईपटक पक्राउ परिसकेका थिए। एकपटक त्यहाँको समुद्री तटको पर्यटकीय केन्द्र फुकेटमा र अर्काेपटक राजधानी बैंककमा। फुकेटको मुद्दामा उनले पछिल्लोपटक पक्राउ  पर्नुभन्दा एक साताअघि मात्र थाई अदालतबाट सफाइ पाएका थिए। अर्काे एकपटकचाहिँ उनी आफैँ बसेको अपार्टमेन्ट तोडफोड गरेकाले पक्राउ परेका थिए। त्यसबापत उनले मोटो रकम जरिवाना तिर्नुपरेको थियो।

दुईपटक गाँजासहित पक्राउ परिसकेकाले पारस थाई प्रहरीको नोटिसमा थिए नै। तर, उनको बानीचाहिँ सुध्रेको थिएन। त्यसमध्ये फुकेट घटनामा २० असोजमा सफाइ पाएपछि उनले आफ्नो फेसबुकबाट थाई प्रहरीप्रति जस्तो आक्रोश  पोखे, सायद त्यसले पनि प्रहरीलाई निगरानी बढाउन प्रोत्साहित गर्‍यो । अदालतबाट सफाइ पाएपछि उनले थाई प्रहरीले आफूलाई फसाउन खोजेको आरोप लगाएका थिए।

अदालतले सफाइ दिए पनि पटकपटक एउटै प्रकृतिका घटनामा पक्राउ पर्नुका बाबजुद लागूऔषध सेवनमा उनको रुचि पछिल्लो समय अरू बढ्दै गएको थियो। उनी आफैँले सार्वजनिक गरेका तस्बिरले पनि यो कुरा प्रस्ट पार्छ। ती  तस्बिरमा उनी निरन्तर लागूऔषधको प्रयोगले गल्दै गएका देखिन्छन्। जस्तो ः १० चैत ०६९ मा उनले शरीरको उपल्लो भागमा लुगा नलगाएको र दाहिने हातको पाखुरामा ट्याटु खोपाएको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे। ८  फागुन ०६९ मा बैंककमा हृदयाघात भएर झन्डै एक महिना अस्पतालमा बसेपछि सार्वजनिक भएको पहिलो तस्बिर थियो, त्यो। अस्पताल बसाइपछि सार्वजनिक त्यस तस्बिरमा पारस हँसिला र हट्टाकट्टा नै देखिन्थे।

३० असार ०७१ मा उनका एक सहयोगीले सार्वजनिक गरेको अर्काे तस्बिरमा चाहिँ पारस पहिलेजस्तो हट्टाकट्टा देखिएनन्। बरू केही दुब्ला देखिए। उनी पहिलेजस्तै हँसिला देखिए पनि केही दुब्लाएका थिए। २३ असोजमा पक्राउ परेपछि  सार्वजनिक तस्बिरमा त उनको शारीरिक बनावट पूरै फरक देखिन्छ। निरन्तर लागूऔषधको प्रयोगका कारण उनको यस्तो स्थिति भएको बुझ्न कठिन छैन।

नेपालमा छँदा पारस जति पनि घटना संलग्न भए, ती सबमा उनले मदिरा सेवन गरेको पाइन्थ्यो। तर, यसको मतलब यो होइन कि, सिंगापुर जानुअघि उनी लागूऔषधका दुव्र्यसनीचाहिँ थिएनन्। खासमा दरबार हत्याकाण्डअघिसम्म उनी  दाजु युवराज दीपेन्द्रजस्तै मदिरा र लागूऔषधका दुव्र्यसनी थिए। दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदनमा दीपेन्द्रका अर्दली प्यूठ रामकृष्ण केसीले 'कालो पदार्थ' -चरेस) भरिएको चुरोट पारसले नै दीपेन्द्रसम्म पुर्‍याइदिएको खुलासा गरेका  छन्। केसीले छानबिन समितिलाई बयान दिँदै भनेका छन्, 'पारस हाँस्दै सवारी भयो। म हातमा लिएर गएको थिएँ। मैले दिएँ। टक्र्याइबक्सियो

-युवराज दीपेन्द्रलाई)।'

स्रोतका अनुसार सिंगापुरबाट चार वर्षअघि थाइल्यान्ड गएपछि पारसमा लागूऔषधको लत अरू बढ्न थाल्यो। यद्यपि, गत वर्ष हृदयाघात भएर अस्पताल भर्ना हुनुअघिसम्म उनले लागूऔषध सेवन धेरै घटाइसकेको दाबी बैंककमा छँदा  पारसका आश्रयदाता तथा मातृभूमिका लागि नेपाली युवाको अभियानका अध्यक्ष सुनील खड्काको छ। खड्काका भनाइमा, उनी अनुमति लिएर मात्र लागूऔषध सेवन गर्थे।

लागूऔषधकी दुव्र्यसनी थाई युवती कन्निका चाइसनसँगको सम्बन्धका कारण पारसको लागूऔषधमा लत अरू बढेको थियो। कन्निका तिनै हुन्, जसले पारसलाई सिंगापुरबाट थाइल्यान्ड बसाइ सर्न उत्प्रेरित गरिन्। थाइल्यान्डमा प्रत्येकपटक  पारस पक्राउ पर्दा कन्निका पनि साथै हुने गरेकी छन्। भलै थाई प्रहरीले उनलाई भने पक्राउ गरेको छैन ।



पछिल्लो घटना: फसाइएको शंका

२९ चैत ०४५ मा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गरेको नागरिकतामा पारसको जन्ममिति १५ पुस ०२८ उल्लेख छ। यस हिसाबले उनी ४३ वर्ष पुगिसकेका छन्। राजतन्त्रकालमा राजापछि शक्तिशाली मानिने युवराजाधिराज  भइसकेका व्यक्ति पनि हुन् उनी। र, ज्ञानेन्द्र राजाका हैसियतमा विदेश भ्रमणमा जाँदा राजकाज सम्हाल्ने अवसर पाइसकेका छन्। तर, उमेर अनुसारको शोभनीय सार्वजनिक छवि छैन उनको। बरू किशोरवयमा कुनै विवादमा नपरेका  पारस युवा र त्यसपछिको अवस्थामा पुगेपछि एकपछि अर्काे विभिन्न घटना र वितण्डामा मुछिँदै आएका छन्। चाहे त्यो रक्सीको सुरमा गाडी चलाउँदा गायक प्रवीण गुरुङको मृत्यु -२२ साउन ०५३) भएको घटना होस् वा पारिवारिक  व्यापारिक साझेदार सिद्धार्थ राणामाथि भएको कुटपिट -१५ असोज ०६१)को घटना होस्।

राजतन्त्रकालमा राजगद्दीको उत्तराधिकारीसमेत भइसकेका पारसको व्यवहार किन यस्तो हुन्छ त ? मदिराको नशामा परेपछि बेहोसीमै यस्ता घटना हुने गरेको उनी आफैँले सार्वजनिक रूपमा भनिसकेका छन्। अर्काे र उत्तिकै महत्त्वपूर्ण  कारण पारसको सरसंगत बताउँछन् खड्का। भन्छन्, "नियतवश नै उनीहरूले पारसलाई फसाइदिने गरेका छन्। यो कुरा आफैँले बुझ्न नसक्दा उहाँ एकपछि अर्को विवादास्पद घटनामा पर्दै बदनाम भइरहनुभएको छ।"

थाइल्यान्डमा बस्न थालेपछि पारस पक्राउका घटनालाई केलाउने हो भने खड्काको दाबी आंशिक रूपमा सत्य पनि लाग्छ। जस्तो ः ३ जेठ ०६८ मा फुकेटमा पक्राउ गर्दा थाई प्रहरीले पारसको कोठाबाट प्रतिबन्धित लागूऔषध पनि फेला  परेको दाबी गर्‍यो। अनि, २३ पुस ०६९ मा पनि उनी पक्राउ परे, आफू बस्दै आएको अपार्टमेन्टमा तोडफोड गरेको अभियोगमा। तीन महिनाअघि मात्र अर्थात् २६ असारमा गाँजा बोकेको आरोपमा पक्राउ परे र छुटे।

यी सबै घटनाका दौरान कन्निकालगायत लागूऔषध दुव्र्यसनीको टोली पनि उनीसँगै हुन्थ्यो । तर, प्रहरीले अरूलाई छाडिदिन्थ्यो, पारस एक्लै पक्राउ पर्थे। स्रोतका अनुसार पछिल्लो पक्राउमा पनि कन्निका र अन्य दुव्र्यसनी साथी उनीसँगै  थिए। तर, यसपटक पनि प्रहरीले पारसलाई मात्रै पक्राउ गर्‍यो। कन्निका र अरूचाहिँ उम्किए।

बैंंककबाट प्राप्त समाचार अनुसार खासमा पारस चढेको गाडीलाई स्थानीय प्रहरीको गाडीले 'ओभरटेक' गरेर अवरोध खडा गरी पक्राउ गरेको थियो। सामूहिक रूपमा चढेको गाडीलाई प्रहरीको गाडीले अवरोध गर्दा पारस पक्राउ पर्ने तर  कन्निकालगायत अरूचाहिँ उम्कनुलाई आश्चर्यजनक मानिएको छ। खड्का प्रश्न गर्छन्, "यही कुरा रहस्यको विषय छ, किन प्रहरीले साथमा रहेका अरूलाई पक्रन्न, खालि पारसलाई मात्र पक्राउ गर्छ ?"

दरबारका तत्कालीन सैनिक सचिव मेजर जनरल -अवकाशप्राप्त) टीका धमला पनि पारसलाई जुन घटनामा पक्राउ गरिन्छ, त्यस क्रममा समूहमा भए पनि पक्राउचाहिँ एक्लै पर्नुले षड्यन्त्रको गन्ध आएको बताउँछन्। भन्छन्, "उहाँलाई  एउटा मुद्दा सकिनासाथ फेरि पक्राउ गर्ने गरिएको छ। मुद्दा चल्दै गर्दाचाहिँ किन पक्राउ पर्नुहुन्न त्यसो भए ? उहाँबाट गल्ती त भएको होला। तर, शंका गर्ने ठाउँचाहिँ अवश्य छ।" पूर्वदरबार निकटस्थहरूका भनाइमा पारस कुलतमा  फसेका पक्कै हुन् तर उनका निकटस्थहरूले उनीबाट आर्थिक लाभ उठाइरहेका छन्। स्मरणीय छ, पारस नेपालका पूर्वयुवराज पारस मात्र होइनन्, एक सम्पन्न र समृद्धशाली परिवारका सदस्य पनि हुन्।

पूर्वराजप्रासाद सेवाका एक उच्च अधिकारीका भनाइमा परिवारसँग जतिसुकै कटुता भए पनि अप्ठ्यारो पर्दा पूर्वराजपरिवारले जति पनि खर्च गर्न सक्छ भनेर कमजोरीमाथि टेकेरै पारसलाई फसाइएको हुन सक्छ। ती अधिकारी भन्छन्, "खास  गरी फुकेटमा तोडफोडको अभियोग लाग्नुभन्दा अघि नै पारसलाई फसाएर पैसा झार्ने गिरोह संलग्न रहेको आशंका भइसकेको थियो।"

त्यस बेला तोडफोडको जरिवानाबापत झन्डै ३५ लाख रुपियाँ तिर्नुपर्ने भए पनि उनका पिता एवं पूर्वराजा ज्ञानेन्द्रले त्यो रकम उपलब्ध गराएनन्। त्यसपछि पारसका काका स्वर्गीय धीरेन्द्रका छोरीहरू र थाइल्यान्डमा रहेका नेपालीले रकम  जुटाएर गिरफ्तार पारसलाई मुक्त गराएका थिए। यसपटक पनि पक्राउ परेपछि पारसलाई छुटाउन धीरेन्द्रकी माहिली छोरी शीताष्मा बंैकक पुगिन्। परिणाम, २९ असोजमा २२ लाख रुपियाँ तिरेर उनी धरौटीमा रिहा भएका छन्।

पारसका हितैषी प्रभञ्जनबहादुर सिंह विदेशी भूमिमा पक्राउ पर्ने र यताबाट लगिएको धरौटी रकम तिरेर छुटाउने क्रम दोहोर्‍याइरहनुभन्दा पारसलाई नेपाल नै ल्याउन पहल गर्नुपर्ने बताउँछन्। भन्छन्, "धन्न, अहिले ग्रामको दरले गाँजा  फेला परेको भन्दै पक्राउ गरिएको छ। र, छुट्न सफल हुनुभएको छ। भोलि साथमा ५० किलो गाँजा वा चरेसजस्ता लागूपदार्थसहित पक्राउ पर्नुभएको भनियो भने के हालत होला ?"

थाई कानुन अनुसार कुनै व्यक्ति २० ग्रामभन्दा कम लागूपदार्थसहित पक्राउ पर्‍यो भने १० वर्ष कैद वा एक लाख भाटसम्म जरिवाना हुन सक्छ। तर, एक सय ग्रामभन्दा बढी यस्ता सामग्रीसहित पक्राउ पर्ने दोषीलाई मृत्युदण्डकै सजायको  व्यवस्था छ। धन्न यसपटक पनि जमानत बुझाएर थुनामुक्त भएका छन् उनी। तैपनि, एउटा प्रश्न जीवितै छ, के पारस अबचाहिँ सुध्र्रेर नेपाल फर्केलान् त ?

०५० देखि ०६४ सालसम्म पारसले मच्चाएका वितण्डाले जनतालाई त दुःखी बनाएको थियो नै, राजतन्त्रको बदनामीको एक प्रमुख कारण उनी पनि बनेका थिए। अहिले विदेश गएर बस्दा पनि उनका यस्ता क्रियाकलाप रोकिएका छैनन्।  बरू झन् बढेका छन्, जसका कारण उनका अभिभावकसमेत यो पिराहापनबाट वाक्कदिक्क भइसकेका छन्। अझ उनका पछिल्ला क्रियाकलापले त अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीकै बेइज्जती हुन पुगेको छ।









 २३ असोज ०७१

थाइल्यान्डको च्याङमाईको नोङ खाईमा नौ ग्राम गाँजा र ५ दशमलव ८ आईसीआई भेनमसहित पक्राउ । झन्डै २२ लाख धरौटी बुझाएर ३१ असोजमा रिहा ।

 २६ असार ०७१

थाइल्यान्डको सुखुमभितस्थित डेभिस होटलबाट ११ ग्राम गाँजासहित पक्राउ । पछि धरौटीमा रिहा । 

 २३ पुस ०६९

आफू बस्दै आएको बैंककस्थित अपार्टमेन्टमा होहल्ला र तोडफोड गरेको आरोपमा पक्राउ । जरिवाना तिरेपछि रिहा ।

 ७ कात्तिक ०६९

थाइल्यान्डको फुकेटमा गाँजालगायत लागूऔषधसहित पक्राउ । पुनःस्थापना केन्द्रमा बस्न आदेश दिइए पनि छाती दुखेको भन्दै बस्न अस्वीकार ।

 १९ मंसिर ०६९

लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेपछि पुनःस्थापना केन्द्रमा बस्न आदेश दिइए पनि नबसेपछि फेरि पक्राउ ।



 ३ जेठ ०६८

दरबारमार्गस्थित बहिनीज्वाइँ राजबहादुर सिंह स्वामित्वको रोयल क्यासिनोका कर्मचारीसँग झगडा र कुटपिट

 २५ मंसिर ०६७

कांग्रेस नेतृ सुजाता कोइरालाका छोरीज्वाइँ रुबेल चौधरीसँग चितवनको मेघौलीस्थित टाइगर टप्स होटलमा वादविवाद र गोली प्रहार ।

 १२ वैशाख ०६५

कमलादीस्थित मनसुन डिस्कोमा रक्सीको नशामा वितण्डा ।

 १५ असोज ०६१

बानेश्वरस्थित होटल एभरेस्टको ग्यालेक्सी डिस्कोमा व्यापारिक साझेदार सिद्धार्थ राणाको खुट्टा भाँचिने र उनकी श्रीमती निलिमाको अनुहारमा चोट लाग्ने गरी आक्रमण ।

 २३ असार ०६१

मध्यरातमा आफूलाई पछ्याउँदै एभरेस्ट होटलसम्म आइपुगेकी पत्नी युवराज्ञी हिमानीलाई तर्साउन होटलभित्रै हवाई फायर । नारायणहिटी दरबारमा पिता राजा ज्ञानेन्द्रको जन्मदिनको भोज सकेर पारस मध्यरातमा एभरेस्ट होटल पुगेका थिए ।

 २२ साउन ०५७

रक्सीको नशामा पारसले चलाएको गाडीको ठक्करबाट संगीतकार प्रवीण गुरूङको मृत्यु । त्यसअघि लाजिम्पाटस्थित एक्स जोन डिस्कोमा वितण्डा ।

 १३ चैत ०५३

भरतपुरस्थित बसपार्कमा स्थानीय युवासँग वादविवाद र कुटपिट । भाग्दै गरेका पारसको गाडीद्वारा प्रहरीको गाडीलाई ठक्कर ।

 १९ माघ ०५३

होटल सोल्टीका फ्लोर म्यानेजर गोविन्द प्रधानलाई पिस्तोल ताकी भयभीत बनाएका ।

 असार ०५३

मध्यरातमा पारसद्वारा अनियन्त्रित रुपमा चलाइएको गाडीले ठक्कर दिँदा पुतलीसडकमा एक ट्याक्सी चालकको मृत्यु ।









स्वदेश र्फकन किन अनिच्छा ? 

८ फागुन ०५९ मा बैंककमा हृदयाघातपछि उपचारका लागि एक महिना अस्पताल र पाँच महिना पुनःस्थापना केन्द्रमा बिताएका पारसले भनेका थिए, 'अब म छिट्टै नेपाल र्फकनेछु।' यस्तो सार्वजनिक प्रतिबद्धताका बाबजुद उनी र्फकेनन्।  बरू २६ असार र २३ असोजमा गरी दुईपटक गाँजासहित पक्राउ परे। आखिर सार्वजनिक प्रतिबद्धताका बाबजुद पारस नर्फकनुको कारण के थियो ?

उनले नेपाल आएर वितण्डा मच्चाइदिए भने राजतन्त्र पुनःस्थापनाको अभियानमा असर पर्ने पूर्वराजा र उनका सहयोगीहरूको विश्लेषण थियो। यही कारण उनलाई आउन प्रोत्साहित गरिएन। र, अरू कुरामा हठ गर्ने पारसले पनि नेपाल  र्फकने कुरामा हठ गरेनन्। यसका पनि केही कारण थिए। ती थिए, उनका निकटस्थहरू अहिले काठमाडौँमा नहुनु र सुरक्षा चिन्ता।

पत्नी हिमानीसँगको तीतो सम्बन्धका बाबजुद पारस ०६७ सालसम्म नियमित रूपमा काठमाडौँ आउँथे । बाबुआमा र छोराछोरीको जन्मोत्सव वा चाडबाडमा उनी नियमित रूपमा आइरहेकै थिए। तर, २५ मंसिर ०६७ मा चितवनको टाइगर  टप्समा कांग्रेस नेतृ सुजाता कोइरालाका छोरीज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरीसँग विवाद हुँदा पिस्तोल पड्काएको अभियोगमा प्रहरीले पक्राउ गरेपछि उनी पहिलेजस्तो नेपाल आउन छाडे।

त्यो घटनापछि पूर्वयुवराजको हैसियतमा उनलाई दिइएको सुरक्ष्ाा पनि हटाइएको थियो। निर्मल निवास स्राेतका अनुसार एकातिर प्रहरीले पक्राउ गर्नु, अर्काेतिर आफूलाई दिइएको सेनाको सुरक्ष्ाा पनि हटाइएपछि पारसले थप असुरक्षित महसुस  गर्न थाले। नयाँ राजनीतिक परिस्थितिमा नेपालमा रहँदा आफूमाथि पुराना अभियोग पनि ब्यूँझने हुन् कि भन्ने डर भयो उनलाई। र, उनी नेपाल फर्किन अनिच्छा जाहेर गर्न थाले।

नेपाल आउन उत्प्रेरित नहुनुको अर्काे कारण हो, हित्तचित्त मिल्ने आफ्ना साथीहरू लाखापाखा लाग्नु। उनी सिंगापुर र थाइल्यान्डतर्फ लागेपछि प्रभञ्जनबहादुर सिंह र प्रगुन राणाजस्ता हितैषीले पनि फरक बाटो रोजे। जस्तो: पूर्वप्रधानसे नापति किरणशमशेरका नाति प्रगुन परिवारसहित अमेरिकातर्फ लागे।

निकटस्थमध्ये अर्का सहयोगी प्रभञ्जन त झन् अध्यात्मको बाटोमा छन्। पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका पुत्र हुन् उनी। पारस काठमाडौँमा हुँदा हमेसा साथमा रहन्थे। अहिले प्रभञ्जनको जीवनशैली कति बदलिएको छ भने उनी  गेरुवस्त्रमा भेटिन्छन् र चप्पलसमेत लगाउन छाडेका छन्। उनको अधिकांश समय डोटीको खप्तडस्थित खप्तड बाबाको निर्जन आश्रममा एक्लै बित्न थालेको छ।

साभार : नेपाल साप्ताहिक 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis