CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नयाँ फेशन नयाँ दुर्व्यसन

नयाँ फेशन नयाँ दुर्व्यसन

नयाँ फेशन नयाँ दुर्व्यसनउहिले बूढापाकाको अम्मल थियो हुक्का। पाहुनाको सत्कारमा एक चिलिम तमाखु टक्य्राउने चलन पनि थियो। अहिले हुक्का फेशन भएको छ। शहरबजारका रेस्टुरेन्टहरूले तन्नेरीलाई विभिन्न सुगन्धका हुक्का उपलब्ध गराएका छन्।
'हुक्काले हानि गर्दैन, यो चुरोटजस्तो होइन,' भन्ने जस्ता भ्रम फैलाइएका छन्। र त, चुरोट नखानेहरू पनि हुक्कातिर तानिएका छन्। सत्य के हो भने हुक्का स्वास्थ्यका लागि चुरोटभन्दा कम्ती घातक हुँदैन। जानकारहरू यसलाई 'दुर्व्यसनको दैलो' भन्न पछि पर्दैनन्, किनभने यसले प्रयोगकर्तालाई ड्रग्ससम्म पुर्या'उन सक्छ।
धनबहादुर खड्काले हुक्का पाइने थुप्रै रेस्टुरेन्ट घुमेर यो नयाँ फेशनको ज्वरो नाप्न खोजेका छन्।
......
'फिंगर हानी बस्नु (चुरोटको खरानी झारिरहनु) भन्दा पाइप (हुक्का) तान्नु बेस्ट होइन त ब्रो,' राजधानीको ठमेलस्थित रिफ रेस्टुरेन्ट एन्ड लाउन्ज बारमा भेटिएका रोजन शिवाकोटीले हुक्का तान्नुको कारण खुलाउँदै भने। अन्य पाँच जना साथीसहित शुक्रवार सन्ध्याका लागि त्यहाँ आइपुगेका उनको समूहले हुक्का तान्न थालेको चार वर्ष भयो। दाइहरूसँग घुम्न जाँदा पहिलोपल्ट स्ट्रबेरी फ्लेभरको हुक्का चाखेका थिए उनले। 'फलफूलको धुवाँ चाखेको छस् भनेर दाइहरूले हुक्का तान्न लगाएका थिए,' उनले सम्भि्कए। फलफूलको जुसमात्रै होइन, धुवाँ पनि हुन्छ भन्दा छक्क परेका उनले पछि थाहा पाए– त्यसैलाई हुक्का भन्दा रहेछन्।
उनले समूहका अरूलाई आफूले नै सिकाएको भन्दै धक्कु लगाए, 'यी बच्चाहरूलाई मैले मजा आउँछ नभन्या भए अहिलेसम्म 'त्यो त 'टिकट फिक्स्ड सुड्डो' (हजुरबा) ले तान्ने कुरा हो' भनिबस्थे।'
कुनै समय बूढापाकाको अम्मलको रूपमा रहेको हुक्का अहिले युवाको प्रिय भएको छ। नेपालको शहरी क्षेत्रमा आधुनिक हुक्काको स्वादले तानिएर हुक्का तान्न पुग्ने युवाको संख्या बढ्दो छ। हुक्का नपाइने रेस्टुरेन्ट र बारहरू अहिले युवाको रोजाइमा नपर्ने खतरा बढिरहेको छ। त्यसैले साइनबोर्डमुनि वा छिर्ने ढोकैमा रेस्टुरेन्ट/बार सञ्चालक लेख्न बाध्य छन्, 'यहाँ हुक्का पनि पाइन्छ।' राजधानीमा हुक्का वा सिसाको नामबाटै खुलेका एक दर्जन ठूला रेस्टुरेन्टले पनि युवाहरूको हुक्का मोह प्रस्ट्याउँछ।
हुक्का फेशन
अधिकांश पारखीले यसलाई फेशनका रूपमा लिएका छन्। आकर्षक डिजाइनमा निर्मित हुक्का अघि राखेर साथीहरूसँग गफ गर्दै खाजा/खाना खानुको आनन्द नै बेग्लै भएको सामाखुसीकी समृद्धि लिम्बू बताउँछिन्। सामाखुसीकै 'हुक्का ९११ रेस्टुरेन्ट'मा भेटिएकी उनले धुवाँ उडाउँदै भनिन्, 'खाजा आउञ्जेल टाइमपास पनि हुन्छ।' आधुनिक हुक्कालाई धूम्रपानका रूपमा नलिइने भएकाले सजिलो भएको उनले बताइन्। अहिलेकी व्यस्त अभिनेत्री प्रियंका कार्की पनि हुक्का तान्नुलाई रमाइलोको एउटा तरिकाभन्दा बढी ठान्दिनन्। अमेरिका रहँदाखेरि साथीहरूसँग पहिलोपल्ट हुक्काको धुवाँ चाखेकी उनले भनिन्, 'बर्थडे पार्टी, साथीभाइको जमघट आदिमा हुक्का तानिन्छ।'
चुरोट खाएको सुइँकोमात्रै पायो भने छोराछोरीलाई घरनिकाला गर्न खोज्ने बाबुआमाले हुक्का तान्न भने 'प्रेरित' गरिरहेका छन्। शुक्रवार ठमेलको सिसा ट्यारेन्ट रेस्टुरेन्टमा भेटिएकी सन्ध्या गुरुङले आफ्नो घरमै तीन थान हुक्का रहेको बताइन्। उनले घरमै पहिलोपल्ट 'डबल एप्पल फ्लेभर'का हुक्का तानेकी थिइन्। 'कलेजबाट कहिलकाहीँ ढिलो आउँदा साथीहरूसँग हुक्का तान्न थालेँ भन्दा हिट्लर (दाइ) पनि त्यति रिसाउँदैन।' अहिले उनलाई दाइ र आमासँगै बसेर हुक्का तान्न 'शुक्रवार' कुर्नुपर्दैन।
हुक्का तान्न मस्त देखिने धेरै धूम्रपानका गैरअम्मली (ननस्मोकर) छन्। धूम्रपान स्वास्थ्यका लागि हानिकारक ठान्नेले सानका रूपमा हुक्का प्रयोग गरेको पाइन्छ। बुद्ध बार ठमेलमा भेटिएका सञ्जोक महर्जन धूम्रपान स्वास्थ्यका लागि हानिकारक भएको विज्ञता प्रस्तुत गर्दै आफूले हुक्कामात्रै लिने गरेको बताउँदै थिए। आफूसँग बसेकी युवतीको कथा उस्तै रहेको जानकारी दिए। उनले भने, 'मुखभरि धुवाँ तानेर आकाशमा उडाउनुहोस् त कम्ती रमाइलो हुन्छ। हानि पनि नगर्ने, रमाइलो पनि हुने भएपछि लिनु नराम्रो हो र?'
चुरोटको 'च' पनि उच्चारण गर्न नचाहने अभिनेत्री अनिता आचार्यलाई हुक्काको स्वाद भने थाहा छ। किनभने, साथीभाइको जमघट, बर्थडे पार्टी आदिमा हुक्काका उपस्थिति अनिवार्य भइसकेको छ। उनले भनिन्, 'अचेल पार्टीहरूमा हुक्का अनिवार्य हुन्छ। त्यसैले साथीकै करकापमा हुक्काको स्वाद लिएकी छु।' पुतलीसडकको वाइफाई क्याफेमा भेटिएका रमेश शाहीले त यस्ता कार्यक्रममा हुक्का राखिनुलाई फुर्सदको सदुपयोग गर्ने राम्रो विकल्प भएको बताए। उनले भने, 'सबै जम्मा हुञ्जेल कुर्नुभन्दा हुक्का तान्दै गफ गर्नु उपयुक्त हुन्छ।' पाहुना सत्कारका रूपमा खुवाइने चिया, कफी र जुसको ठाउँ पनि हुक्काले लिन थालेको छ। त्यसैले अचेल शहरिया खानदानी घरमा तीन चार थान हुक्का अनिवार्य ठहरिन्छ। आफ्नो घरमा दुइटा हुक्का भएको बताउने सबिना राई भन्छिन्, 'पोहोर मामुको साथीले एउटा हुक्का पनि नराखेको भन्दै गिज्याएछन्। त्यसपछि बाबाले एकै पटक दुइटा ल्याइदिनुभयो।' घरकी कान्छी भएकाले हुक्का बनाउने काम उनकै थाप्लोमा आइलाग्छ। त्यसैले उनी आफूलाई हुक्का पारखीमात्रै होइन, 'एक्सपर्ट'का रूपमा चिनाउँछिन्।
धुवाँमा रुमल्लिएको विश्वास
हुक्काको धुवाँले स्वास्थ्यमा असर नगर्ने अधिकांश हुक्कापारखी दाबी गर्छन्। यसको वास्तविकता नबुझी गरिने केही तर्क विश्वमै प्रचलित छन्। जस्तोः हुक्काको पानीले धुवा“मा रहेको खराब तŒव फिल्टर गर्छ...यसको लत बस्दैन, किनभने यसमा निकोटिन हुँदैन... फलफूलको मात्रा बढी हुने भएकाले यसले हानि गर्दैन...आदि आदि।
मोडल अजित रायमाझीलाई पनि यही भ्रम रहेछ। 'हुक्कामा अलिअलि सुर्तीको धुलो हुन्छ,' उनले भने, 'त्यो फिल्टर हुने भएकाले असर गर्दैन।' विभिन्न अध्ययनहरूले यी भ्रमलाई चिरिसकेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २००५ मा गरेको अध्ययनले पानीबाट धुवाँ गुज्रँदै आए पनि त्यसले सुर्तीमा हुने निकोटिन छान्न नसक्ने प्रमाणित गरिसकेको छ। निकोटिन पनि सेवन गरिने भएकाले यसले धूम्रपानको लत बसाउने अत्यधिक सम्भावना रहन्छ। डब्लूएचओका अनुसार एक घण्टा हुक्का तान्दा प्रयोगकर्ताले एउटा चुरोटको धुवाँभन्दा सय गुना बढी धुवाँ पान गर्छ।
धेरैले पानीबाट आउने भएकाले त्यो धुवाँ नभएर बाफ ठान्ने गरेका छन्। नियमित हुक्का सेवनकर्ता नवजीवन उमाविका विद्यार्थी भूपेन्द्र थापा आत्मविश्वासका साथ भन्छन्, 'पहिले–पहिलेका बूढाहरूले खाने हुक्का 'डेन्जरस' हुन्थे। आधुनिक हुक्कामा पानीको बाफ न आउने हो। बाफले के नै गर्छ र?' हुक्कापारखीमा अर्काे ठूलो भ्रम पनि छ– हर्बल हुक्का स्वास्थ्यका दृष्टिले फाइदाजनक छ। तर, अध्ययनले यो झन् खतरनाक भएको देखाएको छ। हर्बल सिसामा झनै धेरै हानिकारक टार र निकोटिन उत्पादन भइरहेको हुन्छ।
कति हानिकारक छ?
मुख्य भ्रम भनेको हुक्काले स्वास्थ्यलाई हानि गरे पनि चुरोटको भन्दा चाहिँ कम गर्छ भन्ने हो। धेरै युवाको साझा भनाइ रहन्छ, 'हुक्का त लिएको हुँ, चुरोट कहाँ हो र!' फेसेज क्याफे ठमेलमा भेटिएका अबिन रायमाझीले हुक्काबारे प्रश्न गर्दा झोँक्किदै भनेका थिए, 'हुक्का पिउनु ठूलो कुरा होइन, चुरोट खाने गर्याय छैन क्यारे।' चुरोट पिउने भन्दा २ सय ५० प्रतिशत बढी हानिकारक तŒव सेवनकर्ताले हुक्काबाट ग्रहण गरिरहेका हुन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताले हुक्का र चुरोट सेवनकर्तालाई लिएर गरेको एक अध्ययनले यो प्रमाणित गरेको हो। शोधका अनुसार सुर्तीजन्य पदार्थलाई जलाउन प्रयोग गरिने कोइलाका कारण कार्बन मोनोअक्साइडजस्तो घातक ग्यास उत्पादन हुन्छ, जुन धुवाँसँगै हुक्कापारखीले सेवन गरिरहेका हुन्छन्।
भक्तपुर क्यान्सर हस्पिटलका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आरपी बरालका अनुसार हुक्कामा रहेको सुर्तीजन्य पदार्थले मात्रै चार हजार रसायन उत्पादन गर्छ, तीमध्ये ६० वटाले क्यान्सर निम्त्याउँछन्। उनी भन्छन्, 'क्यान्सरका साथै रक्तचाप, मधुमेहजस्ता अन्य रोग पनि हुन सक्छन्।'
सन फ्रान्सिस्को जनरल हस्पिटल अन्तर्गतका दुई शोधकर्ताले गरेको अध्ययनले त हुक्काले मुटु र श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने खतरा बढी रहेको पत्ता लगाएका छन्।
दुर्व्यसनको दैलो
हुक्कामा युवाको आकर्षण बढ्नुको मुख्य कारण भनेकै यसको स्वाद हो। किनभने, हुक्कामा स्वादिला फ्लेभर प्रयोग गरिएका हुन्छन्। पहिलोपल्ट चुरोट सेवन गर्दा यसको गन्धले जति कमलाई दोहोर्याुउन मन लाग्छ, त्यति नै बढी हुक्का सेवनकर्ता यसको स्वादकै कारण अम्मली भइदिने खतरा बढ्छ भन्छन्, सुर्तीजन्य पदार्थमा लामो समय अध्ययन गरेका अध्येता शान्तालाल मुल्मी। हुक्कामा स्ट्रबेरी, डबल एप्पल, बबलगम, स्टारबज, सेक्स अन द बिच, मिन्ट, ब्ल्यू मिक्स, नाइटक्विन, पान रसना आदि स्वाद मिसाइन्छन्। नेपालमा भने डबल एप्पल र स्ट्रबेरी सबैभन्दा लोकप्रिय फ्लेभर हुन्। विश्व स्वास्थ्य संगठनले यही फ्लेभरका कारण सुर्तीको स्वाद नलिएरै सेवनकर्ताले निकोटिन लिइरहेको हुने बताएको छ। निकोटिनका कारण हुक्का वा सिसाको लगातार सेवनपछि लत लाग्ने उल्लेख गरिएको छ।
यिनै कारणले हुक्का दुर्ब्यसनलाई स्वागत गर्ने खुला दैलोको रूपमा विकसित हुँदै गरेको शान्तालाल मुल्मी बताउँछन्। 'प्रयोगकर्ता हुक्का, चुरोट हुँदै हार्ड ड्रग्ससम्म पुग्ने खतरा बढ्दै गएको छ,' उनले भने। उनका अनुसार प्रयोगकर्ता यस्तै 'क्रोनोलोजिकल अर्डर'मा लागुपदार्थ सेवन गर्दै उकालो लाग्छन् भन्ने त छैन तर हुक्का पनि लागुपदार्थभित्रै पर्ने भएकाले यसले दुर्व्यसनतिर धकेल्न सघाउँछ।
अहिले चुरोट र रक्सीलाई जीवनको एक पाटोकै रूपमा लिने अमृत मगरले नशाका रूपमा पहिलोपल्ट हुक्का नै प्रयोग गरेका थिए। उनले भने, 'साथीहरूसँग हुक्का लिँदालिँदै चुरोट सिकियो।' सधैँ हुक्का 'एफोर्ड' गर्न नसक्ने र समय पनि नहुने भएकाले सिगरेट सिकेको उनले बताए। वसन्तपुरस्थित जिन्स रेस्टुरेन्ट एन्ड बारमा भेटिएका अधिकांश धूम्रपान सेवनकर्ता युवायुवतीले हुक्काबाटै सुरु गरेको वा लत बसेको बताएका छन्। कतिले त हुक्कामै चरेश भरेर पनि खाने गरेको बताएका छन्। त्यहीँ भेटिएकी रोजी पोखरेलले भनिन्, 'वाइन खाँदा चुरोट चाहिन्छ, चुरोटले मुखमा गन्ध आउँछ। यसकारण हुक्का बेस्ट!'
ठमेललाई आधार बनाएर रेस्टुरेन्ट व्यवसाय गरिरहेका राम गिरीका अनुसार पछिल्लो छसात वर्षमा हुक्काको माग अत्यधिक बढेको हो। उनी भन्छन्, 'अहिले खाना खुवाउने होटेलदेखि कफी सर्भ गर्नेसम्मका क्याफेले हुक्का नराखी व्यवसाय चम्काउँछु भन्ने सपना नदेखे हुन्छ।' भर्खरै सार्वजनिक एक अध्ययनले पछिल्लो पाँच वर्षमा दुर्व्यसनी दोब्बर भएको देखाएको छ। यसले धेरैलाई सोच्न बाध्य बनाएको छ, कतै हुक्का दुर्व्यसनसम्म पुग्नका लागि युवाको खुला दैलो त भइरहेको छैन। किनभने, सन्तानले चुरोट खान्छ कि भनेर खल्ती छाम्ने र मुख सुँघ्ने बाबुआमाहरू हुक्का खान भने हौस्याइरहेका छन्। गृहमन्त्रालयले गरेको सर्वेक्षणअनुसार २०६३ देखि २०६९ जेठसम्म प्रत्येक वर्ष ११ दशमलब ३६ प्रतिशतले दुर्व्यसनी बढेका छन्। दुर्व्यसनीमा पनि ४८ प्रतिशत २५ वर्षभन्दा कम उमेरका र ३२ प्रतिशत १५ वर्षमुनिका छन्। 'जुन उमेर समूहमा हुक्काले लोकप्रियता हासिल गरिरहेको छ, त्यही समूह लागुऔषध दुर्व्यसनमा फस्दै गएको तथ्यले एकअर्कासँग सरोकार राख्ने सम्भावना रहेकाले अनुसन्धान जरुरी भएको छ,' स्वास्थ्य पत्रकार अनील न्यौपानेले भने।
प्रचार गर्न पाइन्छ?
सिसा ट्यारेन्ट बार, हुक्का ९११, हुक्का बार, सिसा बार आदि नामका मात्रै राजधानीमा दर्जन बढी ठूला रेस्टुरेन्ट र बार छन्। अन्य नाममा खुलेका प्रायः सबै रेस्टुरेन्ट वा बारले सूचना जारी गरेका छन्– 'यहाँ हुक्का पनि पाइन्छ।' हुक्कालाई नेपालको धूम्रपान नियन्त्रणसम्बन्धी ऐनले चुरोटसरह नै राखेको छ। स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्री खड्का पनि त्यसो गर्न नपाइने बताउँछन्। उनी भन्छन्, 'रेस्टुरेन्ट पनि सार्वजनिक स्थल हो, त्यहाँ बिक्री वितरण गर्न पाइँदैन।' ऐनले सरकारी भवन, स्वास्थ्य संस्था, शिक्षण संस्था, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेस्टुरेन्ट, मिनी मार्केट, हाटबजार, पसल र धार्मिक स्थलजस्ता धेरै मानिस कार्य गर्ने र जम्मा हुने कुनै पनि सार्वजनिक स्थलमा वा सय मिटर नजिक धूम्रपान गर्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरभित्रको घर या पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइँदैन। यसैगरी यी रेस्टुरेन्टले १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाउने ऐनको पनि धज्जी उडाइदिएका छन्।
हुक्काको आकर्षक चित्रसहितका बोर्ड राखेर उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्या पर्स, प्याकेटमा कुल बाहिरी भागको कम्तीमा ७५ प्रतिशत भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ' भन्ने व्यहोराको मन्त्रालयले तोकेबमोजिमको चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रंगिन चित्र प्रस्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषमा छाप्नु तथा अंकित गर्नुपर्ने सरकारी नियमलाई चुनौती दिइरहेका छन्। सूचना केन्द्रका निर्देशक खड्काले नियम लागू भइसकेपछि त्योअनुसार प्रशासनले नियमन गर्नुपर्ने बताए। 'सधैँ हामीले नै प्रहरीलाई सूचना काट्नु नपरोस् भनेर सहायक जिल्ला अधिकारीलाई नियमन गर्ने जिम्मा दिइएको छ।' उनले हुक्कालाई प्राथमिकतामा राखेर राखिएका नाम र सार्वजनिक स्थलमा हुक्का बेचिनु वा सेवन गर्नु गैरकानुनी भएको बताए।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis