हरेक महिलाको चाहना हुन्छ– आफ्नो अनुहार सुन्दर होस्, जीउडाल मिलेको होस्। तर, कोठी, चायापोतो, दाग, अनावश्यक रौँ आदि सौन्दर्यमा खलनायक भएर देखापरेपछि तिनलाई निर्मूल पार्न उनीहरू ब्युटी पार्लर पुग्छन्, विज्ञापनका पछि लाग्छन्। विशेषज्ञ, छालाको डाक्टरबाट उपचार गराउनुपर्नेमा उनीहरू कोठी, दाग, धब्बा हटाइमाग्न प्रचारित ठाउँमा पुग्छन्, जथाभावी लेजर गराउँछन्। नतिजा– भएको सुन्दरता पनि गुमाउँछन्। आकर्षक स्तन हासिल गर्न 'ब्रेस्ट इम्प्लान्ट' गरेकी एक नेपाली अभिनेत्रीले आफ्नो स्तनको प्राकृतिक स्वरूप नै गुमाइन्। धनबहादुर खड्काले सुन्दरताको खोजीमा रहेका महिलालाई सचेत गराउन खोजेका छन्।
समाचार सार
- धेरै सोधखोज गर्दा अरूले पनि थाहा पाउने र आफ्नो कमजोरी पनि पत्ता लाग्ने भएका कारण गोप्य ढंगले गर्ने डाक्टर र गराउने ठाउँबारे सोधखोजै नगरी इम्प्लान्ट गर्दा फेल हुनुका साथै स्वास्थ्यलाई हानि गर्ने गरेको छ। इम्प्लान्ट निकै होसियारीपूर्वक गरिने प्रक्रिया हो। यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै काम हो। इम्प्लान्ट गर्दा सिलिकन डल्लो प¥यो वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ : डा. जसवन शाक्य, मेडिकल डाइरेक्टर, शुषमा कोइराला मेमोरियल अस्पताल
- मान्छेपिच्छे फरक स्किन, फरक खालका दाग, रौँ र ट्याटू हुने भएकाले तीबारे जान्न जरुरी छ। लेजर मेसिनले गर्ने प्रक्रिया हो भनेर जोसुकैले केही महिना वा दिनको ट्रेनिङले चलाउने गरिएकाले समस्या आइरहेको छ। नेपालमा लेजर मेसिन कसले चलाउन पाउने ? भन्ने मापदण्ड नहुँदा यसको गलत प्रयोग भइरहेको छ। ब्युटिसियनहरूले नै यो काम गर्न सक्ने भए हामीले डम्र्याटोलोजीमा एमबीबीएस किन गर्नुपर्यो ? -डा. सोनिया गुप्ता, डम्र्याटोलोजिस्ट, स्वस्ति लेजर एण्ड स्किन केयर
सुन्दर अनुहार, राम्रो जीउडाल र राम्रै अभिनय क्षमता भएकी नवोदित हिरोइन। उनले काम पाएकै थिइन्। दाम पनि कमाइरहेकी थिइन्। तर, उनले एउटा शारीरिक कमी महसुस गरेकी रहिछिन्। उनलाई आफ्नो स्तनको आकार सानो भएकोमा नमज्जा लागेको रहेछ। 'स्तनचाहिँ ज्यान अनुसार नभएको' भन्ने साथीहरूको प्रतिक्रियाले उनी खिन्न भइरहेकी थिइन्। कला क्षेत्रमा उक्लिँदै गरेकी उनलाई वक्षको साइजकै कारण किन तल पर्ने भन्ने लाग्यो। र, उनले 'ब्रेस्ट इम्प्लान्ट' गर्ने योजना बनाइन्।
स्तन इम्प्लान्ट गरेको केही दिनपछि उनले शुक्रवार संवाददातालाई 'म समस्यामा परेँ' भन्दै फोन गरिन्। आफ्नो सुन्दरतालाई निखार दिन उनले स्तनभित्र सिलिकन राखेकी रहिछन्। तर, त्यो राख्ने क्रममा भएको गडबडीले समस्या आएको रहेछ।
तुरुन्तै कस्मेटिक सर्जन डा. जसवन शाक्यसँग उनलाई भेटाइयो। ती अभिनेत्री समयमै डाक्टरको सम्पर्कमा आएकाले जटिल समस्या आउनबाट त जोगिइन्। तर, स्तन ठूलो बनाउने उनको सपना मात्रै चकनाचुर भएन, चार लाख रुपैयाँ पनि खेर गयो।
थुप्रै हलिउड, बलिउड अभिनेत्रीले ब्रेस्ट इम्प्लान्ट गरेर शरीरको स्वरूप सुन्दर र सेक्सी बनाएको समाचार पढेकी थिइन् उनले। उनी पनि त्यसै गर्न लालायित भइन्। ब्रेस्ट इम्प्लान्ट गर्ने राम्रो ठाउँबारे सोधखोज गर्न थालिन्। इन्टरनेटमा 'गेट द्याट पर्फेक्ट सेप विद ब्रेस्ट सर्जरी' नारा लेखिएको डा. शोभाको पेजमा पुगिन्। 'गोपनीयता पनि कायम रहने र नजिक पनि हुने भएकाले नयाँ दिल्ली पुगेर ब्रेस्ट इम्पलान्ट गरेर आएकी थिएँ,' उनले भनिन्।
उनको स्तनको आकार वृद्धिसँगै झन् सुन्दर देखिने सपना विपनामा परिणत नहुँदै तुहिन पुग्यो। 'सिलिकन राख्न स्तनमुनि बनाइएको घाउबाट सिलिकन देखिन थालेपछि सुरुमा यस्तै होला भनेर वास्ता गरिनँ,' उनले भनिन्, 'निको नहुने संकेत देखेपछि आत्तिएँ। यो कुरा इम्प्लान्ट गर्ने डाक्टरलाई भनेपछि उनले तुरुन्तै नजिक रहेका कस्मेटिक सर्जनलाई भेट्न भने।'
हाल निको भएर काममा फर्किसकेकी उनी यसका कारण भविष्यमा कुनै समस्या देखिन्छ कि भनेर त्रसित छिन्। पहिलेभन्दा स्तन थप झोल्लिँदा कतै अब यस्तै रहने हो कि भन्ने त्रास पनि छ। तर, डा. शाक्य भन्छन्, 'सिलिकन निकालेर फालेको केही समयमै स्तन पुरानै आकारमा आउँछ।' उपचारपश्चात शुक्रवारकर्मीको सम्पर्कमा आएकी उनी मानसिक तनावमा रहेको उनको बोली र व्यवहारबाट प्रस्टै देखिन्थ्यो।
लिंगमा पनि सिलिकन
कस्मेटिक सर्जरी धेरै गरिने देशमा कोरिया पनि पर्छ। सानो लिंगले कम र ठूलो लिंगले बढी यौन सन्तुष्टि दिने भ्रम पालेर बसेका एकजना नेपाली युवाले लिंगमा सिलिकन राखे। कामको सिलसिलामा कोरिया पुगेका उनले लिंगमा सिलिकन राखेर मोटाइ र लम्बाइ बढाएर यौन पार्टनरलाई बढी सन्तुष्टि दिने र आफू पनि सन्तुष्ट हुने रहर यत्तिकै फासफुस भयो। लामो समयसम्म कामको सिलसिलामा कोरिया बसेका उनले नेपाल फर्किने समयमा लिंगमा सिलिकन राखेका थिए। तर, सिलिकन राख्ने प्रक्रियामा भएको गडबडीका कारण यता फर्किनेबित्तिकै समस्या आयो। उनी पनि प्लास्टिक सर्जनको खोजी गर्दै डा. शाक्यकहाँ पुगेका थिए। शल्यक्रिया गरी सिलिकन निकालेर फालिदिएको डा. शाक्यले बताए।
किन हुन्छ यस्तो ?
विश्वमा धेरै पहिलेदेखि सर्वसुलभ भएको स्तन इम्प्लान्ट नेपाल र नजिकैको देश भारतमा पनि सहज भएपछि यसतर्फ धेरै आकर्षित भएका छन्। पत्रपत्रिका र विभिन्न वेबसाइटमा आकर्षक विज्ञापन गरेर आफूले गरेको इम्प्लान्टले 'कसैको जीवन सार्थक' भएको अर्थ लाग्ने खालका सन्देश प्रवाह गर्नेहरू पनि बढेका छन्। यस्तो सर्जरी गरेर आफूलाई 'पर्फेक्ट' देखाउन चाहने भए पनि यस विषयमा खुल्न नसकिने सामाजिक बाध्यताका कारण यस्ता समस्या आइरहेका छन्। सन् २००९ देखि नेपालमै स्तन प्रत्यारोपण गरिरहेका डा. शाक्य यसबारे भरपूर जानकारी लिएर मात्रै अघि बढ्न सुझाउँछन्। भन्छन्, 'तर, सकेसम्म कसैले थाहा नपाओस् भनेर लुकाउने प्रवृत्तिले समस्या आइरहेको छ।' धेरै सोधखोज गर्दा अरूले पनि थाहा पाउने र आफ्नो कमजोरी पनि पत्ता लाग्ने भएका कारण गोप्य ढंगले गर्ने डाक्टर र गराउने ठाउँबारे सोधखोजै नगरी इम्प्लान्ट गर्दा फेल हुनुका साथै स्वास्थ्यलाई हानि गर्ने डा. शाक्य बताउँछन्।
इम्प्लान्ट निकै होसियारीपूर्वक गरिने प्रक्रिया हो। डा. शाक्यका अनुसार यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै काम हो। इम्प्लान्ट गर्दा सिलिकन डल्लो पर्योश वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ। इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ। डा. शाक्यका अनुसार ती अभिनेत्रीको सिलिकन राखेको घाउ निको भएको थिएन। 'राख्नेले पनि होसियारी नअपनाएको र राखेपश्चात ध्यान दिनुपर्ने कुरामा ती अभिनेत्रीले ध्यान नदिएको देखिन्छ,' डा. शाक्यले भने। इम्प्लान्ट गरेपछि एक महिनासम्म एक्सरसाइज पूर्ण रूपमा निषेध गर्नुपर्ने उनले बताए। त्यसैगरी इम्प्लान्ट गर्ने ठाउँ र व्यक्तिको बारेमा राम्ररी बुझेर मात्रै अघि बढ्न उनी सुझाउँछन्। 'अहिले इन्टरनेटको जमाना हो, धेरै कुरा त्यहीँ पढ्न पाइन्छ। त्यसका फाइदा÷बेफाइदा हुन्छन्। सबै पढेर डाक्टरसँग सल्लाह गर्ने र जिज्ञासा मेटाएर मात्रै प्रक्रियामा जानुपर्छ,' उनले भने। इम्प्लान्ट गर्ने डाक्टर कत्तिको अनुभवी र जान्ने छन् भन्ने बारे उनको सफल र असफल केस स्टडी गरेर पत्ता लगाउनुपर्ने उनी बताउँछन्।
इम्प्लान्ट गर्ने तरिका
इम्प्लान्ट सबैभन्दा धेरै स्तन, त्यसपछि नाक, लिंग र नितम्बमा गरिने गरिएको छ। नेपालमा भने ब्रेस्ट र नाकको प्य्राक्टिस भइरहेको छ। ब्रेस्ट इम्पलान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ। जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ। स्तन झुन्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन। सिलिकन मानिसको शरीरभित्र 'एड्जस्ट' भएर बस्ने र कुनै पनि हानि नगर्ने तत्त्व हो। यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने चिकित्सक बताउँछन्। युरोप, अमेरिका र भारतमा स्तनमा सिलिकन भर्ने अपरेसन नेपालको तुलनामा निकै महँगो छ। नेपालमा साढे दुई लाख रुपैयाँसम्ममा हुने अपरेसन विदेशमा कम्तीमा पाँच लाख रुपैयाँमा हुने चिकित्सक बताउँछन्।
स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ। सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ। ४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो। यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्ने गरेको बताइन्छ। नेपालमा सयदेखि २ सय ५० सीसीसम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ। इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ। स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ। इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुमसुम्याउँदा यौन उत्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर नगर्ने चिकित्सक बताउँछन्।
इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर 'पर्फेक्ट' साइजमा देखाइदिन्छ। एक पिस सिलिकनको नेपालमा ७० हजार रुपैयाँ पर्छ। सिलिकनको मूल्य तथा अपरेसन चार्जसहित साढे दुई लाख रुपैयाँमा स्तनको साइज बढाउन सकिन्छ। इम्प्लान्ट गरिने सिलिकनको गुणस्तरअनुसार मूल्य फरक–फरक हुने गरेको छ।
बढ्दैछन् नेपाली
राजधानीका नाम चलेका केही अस्पतालले स्तन इम्प्लान्ट गर्ने सेवा सुरु गरेपछि सेवा लिनेहरू बढेका छन्। पछिल्लो समय यसप्रति चासो राख्ने निकै देखिएका छन्। डा. शाक्यकहाँ पनि इम्प्लान्टका लागि महिनामा पाँचजना जति महिला पुग्ने गरेका छन्। राम्रो आम्दानीको स्रोत भएका तर उमेरअनुसार वक्षको विकास हुन नसकेर 'आफू नराम्री छु' भन्ने हीनताबोधले थिचिएकाहरूले इम्प्लान्टमा बढी चासो देखाउन थालेका छन्। केही दिनअघिमात्रै डा. शाक्यकहाँ एउटी आमाले आफ्नी छोरीलाई ल्याएकी थिइन्। विवाह गर्ने उमेर पुगे पनि स्तनको विकास पर्याप्त नभएकाले छोरीको बिहे नै नहुने डरले उनी त्यहाँ पुगेकी थिइन्। 'धेरै जना त कपडा लगाउँदा राम्ररी नमिलेको भनेर पनि सानो स्तनलाई ठूलो बनाउन आइपुग्छन्,' डा. शाक्यले भने।
सिलिकन राखेर साना स्तनलाई भरिलो बनाउन सकिएजस्तै निकै ठूला स्तनबाट बोसो निकालेर ठिक्कको साइज बनाउने अपरेसन पनि नेपालमै हुन थालेका छन्। स्तन सानो हुँदा महिला जति चिन्तित हुन्छन्, ठूलो हुँदा पनि उत्तिकै चिन्ता गरिरहेका हुन्छन्। अनावश्यक ठूला स्तन भएका महिलालाई ढाडको समस्या देखिने र पहिरन नसुहाउने भएका कारण उनीहरू स्तन घटाइदिनुप¥यो भन्दै कस्मेटिक सर्जनकहाँ पुग्ने गरेका छन्।
उल्टै हानि
शहरियाहरूले अचेल सौन्दर्यमा बढी नै चासो राख्न थालेका छन्। कस्मेटिक वा प्लास्टिक सर्जरी गरेर वा लेजर गरेर सुन्दर बन्न चाहनेहरूको भीड बढ्न थालेको छ। आर्थिक अवस्था बलियो भएका शहरिया महिला तथा पुरुष बढ्दो उमेरसँगै शरीर तथा अनुहारमा देखिने स्वाभाविक चिह्न र छापलाई ढाकछोप गर्न कस्मेटिक सर्जनकोमा पुग्ने गरेका छन्। राजधानीका पत्रपत्रिकामा विज्ञापन गरेर अनुहारको कोठी, दाग, चायापोतो हटाउने, स्तन घटाउने तथा बढाउने, हिपको साइज बढाउने, चाउरीपन हटाउने, अनावश्यक रौँ सधैँका लागि हटाउने ग्यारेन्टी भन्दै सौन्दर्यको व्यापार गर्नेहरू पहिलेदेखि नै सक्रिय छन्।
विश्वका समाचार पढ्दा 'फलानो हिरोले यस्तो गरेर तन्नेरी देखिए, हिरोइनले यसरी अनुहारको दाग मेटिन्' भन्ने समाचारले गर्दा पनि धेरै मानिस आफूलाई माथिका प्रक्रियाबाट सुन्दर बनाउन उद्यत छन्। कालो दाग, चायापोतो, पलाएको मासु, चाउरीपना लगायत समस्याबाट पीडित महिला–पुरुष काठमाडौँमा बग्रेल्ती खुलेका कस्मेटिक सर्जरी क्लिनिक वा ब्युटी पार्लरमा धाउने गरेका छन्। शरीरको छालालाई मेन्टेन गरेर राम्रो देखाउनका निम्ति सबै लागिपरेका छन्। तर, यी कहाँ र कसलाई गराउने भन्नेमा प्रशस्त जानकारी हासिल नगर्दा उल्टै कुरूप हुनु परेका प्रशस्त घटना छन्। विशेषगरी अनुभव र जानकारी बिना नै गरिने लेजरको प्रयोगले यस्ता घटना बढेका छन्।
केही दिनअघि मात्रै स्वस्ति लेजर एन्ड स्किन केयर, नक्सालमा एउटा त्यस्तै केस आएको थियो। दाग हटाउनका लागि एउटा ब्युटी पार्लरमा लेजर गराउँदा एकजना महिलाको अनुहारभरि दाग बस्न पुगेको थियो। स्किनको डाक्टर खोज्दै डा. सोनिया गुप्ताकहाँ आइपुगेकी ती महिलाले दाग हटाउन प्रयोग गरिएको लेजरले आफूलाई झन् कुरूप बनाएको व्यथा सुनाएकी थिइन्। 'जसले पनि लेजर गर्ने भएकाले यस्ता समस्या लिएर हामीकहाँ धेरै आइपुग्छन्,' डा. सोनियाको अनुभव छ, 'काम टेक्निकल भए पनि मान्छेपिच्छे फरक स्किन, फरक खालका दाग, रौँ र ट्याटू हुने भएकाले तीबारे जान्न जरुरी छ। लेजर मेसिनले गर्ने प्रक्रिया हो भनेर जोसुकैले केही महिना वा दिनको ट्रेनिङले चलाउने गरिएकाले समस्या आइरहेको छ। धेरैले 'अटो' मोडमा राखेर लेजर चलाउने गर्छन्। योे मेसिनरी चिजको सिस्टम नजान्नेका लागि दिइएको अप्सनमात्रै हो। कसैको स्वास्थ्य वा सौन्दर्यमाथि यो अप्सन प्रयोग गरेर खेलबाड गर्नु हुँदैन,' डा. सोनिया भन्छिन्।
०००
नाम चलेको एक अस्पतालमा कार्यरत चिकित्सकले सोही अस्पतालमा कार्यरत नर्सको अनुहारमा आएको चायापोतो हटाउन लेजर गरिदिएका थिए। लेजर गरेपछि उनको अनुहारको चायापोतो हट्नुको साटो अनुहार नै कुरूप देखिनेगरी दाग बस्यो। ती नर्स अहिले धुलिखेल अस्पतालमा उपचार गराइरहेकी छिन्। तर, उनको अनुहारको छाला पुरानै अवस्थामा फर्किन सक्ने अवस्था नरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिए।
०००
कालिमाटीमा रहेका अधिकांश ब्युटी पार्लरले केही समयअघिसम्म लेजर थेरापी खूब प्रचार गर्थे। तर, पछिल्लोपटक यो लेजरदेखि सजग भएको पाइयो। 'धेरैमा समस्या आउन थालेपछि हामीले त लेजर मेसिन नै हटायौँ,' कालिमाटीको ग्लोरियस हर्बल ब्युटी पार्लरकी सञ्चालक सुमित्रा रञ्जितले भनिन्, 'जोखिम लिनुभन्दा कामै नग¥यो आनन्द !'
काठमाडौँ मलको चौथो र पाँचौँ तलामा रहेका दुइटा फेसियल सेन्टरबीच सौन्दर्य निखार्न निकै प्रतिस्पर्धा चलिरहेको देख्न सकिन्छ। पाँचौँ तलामा रहेको 'चाइनिज चार्मिङ स्किन केयर एन्ड फेसियल सेन्टर'मा छालासम्बन्धी समस्या, चाउरिपन, चायापोतो, डन्डीफोर, कालो दाग, धब्बा, कोठी, मुसा आदिको सूक्ष्म विद्युतीय प्रणालीबाट हटाइने जानकारी पाइयो। कति पैसा लाग्छ ? त्यहाँकी एक कर्मचारीले भनिन्, 'साइज हेरेर हुन्छ। कोठीको तीन सयदेखि दुई हजार रुपैयाँसम्म लाग्छ। कोठी गनेर पैसा लिन्छौँ। जस्तासुकै कोठी, दाग, धब्बा हटाइन्छ।' कसरी उपचार गरिन्छ भन्ने प्रश्नमा उनले भनिन्, 'चाइनिज प्रविधिबाट उपचार हुन्छ। कोठीलाई मेसिनले निकाल्छ।'
फेसियल हाउसकी सञ्चालक ब्युटिसियन सुषमा महरा भने ग्राहकप्रति जिम्मेवार देखिइन्। उनले आफूले सामान्य खाले समस्याको मात्र उपचार गर्ने बताइन्। 'ट्याटू रिमुभ, सामान्य कोठी, दाग र धब्बा मात्रैको उपचार गर्छाैं। नसक्ने डाक्टरकोमा रिफर गर्छौं।'
नेपालमा लेजर मेसिन कसले चलाउन पाउने ? भन्ने मापदण्ड नहुँदा यसको गलत प्रयोग भइरहेको डा. सोनिया बताउँछिन्। भन्छिन्, 'ब्युटिसियनहरूले नै यो काम गर्न सक्ने भए हामीले डम्र्याटोलोजीमा एमबीबीएस किन गर्नुपर्यो ?'
ब्युटी पार्लरतिर प्रविधि पनि काम चलाउन प्रयोग हुने गरेका कारण समस्या आउने गरेको छ। स्वस्ति लेजर एन्ड स्किन केयरमा रहेको एक करोड मूल्य बराबरको लेजर मेसिन देखाउँदै डा. सोनिया भन्छिन्, 'सस्तो मेसिनले काम हुने भए हामी यस्तो महँगो किन राख्थ्यौँ। उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड नहोस् भनेर यस्तो गरेका हौँ।'
लेजर जादु होइन
डा.धर्मेन्द्र कर्ण, छालारोग विशेषज्ञ, धुलिखेल अस्पताल
लेजर भनेको किरणको मध्यमद्वारा उपचार गरिने पद्धति हो। विशेष खालको मेसिनबाट इलेक्ट्रोम्याग्नेटिक रेडिएसनद्वारा यो पद्धतिमा उपचार गरिन्छ। विशेष प्रकारको कृत्रिम प्रकाश, जसलाई मेसिनको सहायताबाट एकत्रित गर्दा विशेष प्रकारको शक्ति निस्कन्छ, त्यही शक्तिको माध्यमबाट यो विधिमा उपचार हुन्छ। लेजरको प्रयोग कुनै अंगलाई काट्न, प्वाल पार्न, फोर्न, क्षति गर्न र उत्तेजित गर्न प्रयोग गरिन्छ। सबैभन्दा पहिला आँखाको अपरेसनमा प्रयोग भएको यो विधि अहिले मानव शरीरका विभिन्न भागको उपचारमा प्रयोग गरिन्छ।
सन् १९६० पछि छालाका विभिन्न समस्यामा लेजरको प्रयोग हुन थालेको हो। छालाको उपचारमा प्रयोग हुने थालेपछि लेजरको प्रयोगलाई कस्मेटिक प्रयोजनसँग जोडेर हेरिने गरेको पाइन्छ।
लेजर दुई प्रकारका हुन्छन्, एब्लेटिभ र नन–एब्लेटिभ। एब्लेटिभ लेजरले छालाको माथिल्लो तहमा घाउ बनाउँछ। नन–एब्लेटिभले छालाको माथिल्लो भागमा घाउ नबनाई छालामा असर देखाउँछ। लेजरले अनुहारमा भएका कोठी, ट्याटू, मुसा, जन्मजात रहेका नीलो रङका कोठी निकाल्न तथा अनावश्यक रौँ हटाउन सकिन्छ। एब्लेटिभ लेजर गर्नुपर्दा लेजर गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएपछि कोठी तथा दागको प्रकार हेरेर कुन खालको लेजर प्रयोग गर्नुपर्ने हो, त्यो निक्र्योल गरिन्छ। लेजरमा किरणको माध्यमबाट 'अनवान्टेड टिस्यू' लाई हटाउने गरिन्छ। यो पद्धतिमा ब्लेडले चिरेजस्तो नभए पनि दाग तथा धब्बा भएको ठाउँमा एक किसिमको सर्जरी नै भएको हुन्छ।
लेजर विभिन्न प्रकारका हुन्छन्। कस्तो समस्यामा कस्तो खालको लेजर प्रयोग गर्ने भन्ने कुरा विशेषज्ञ चिकित्सकले मात्र निधो गर्न सक्छन्। छालासम्बन्धी विभिन्न रोगमा लेजरले जादु गरेजस्तै क्षणभरमा चट पारिदिने जस्ता भ्रामक प्रचारका कारण धेरैले आफ्नो छालाको भइरहेको सौन्दर्य पनि गुमाइरहेका छन्। आईपीएल (इन्टेन्स पल्स्ड लाइट) लेजर एउटै मेसिनमा रौँ हटाउने, डन्डीफोर हटाउने, चायापोतो हटाउने, चाउरीपना हटाउने भन्दै विभिन्न वेभलेन्थ फिक्सड गरिएको हुन्छ। जसलाई सामान्य तालिम लिएकाहरूले जथाभावी ढंगले चलाइरहेका छन्। ब्युटी पार्लरहरूले समेत यस्ता आईपीएल मेसिन राखेर रौँ हटाउने, चाउरी हटाउने भन्दै सेवा दिन थालेपछि थप भ्रम र अन्योल सिर्जना भएको छ। वास्तवमा यो लेजर होइन। लेजरको प्रकार अनुसार त्यसमा छुट्टाछुट्टै वेभलेन्थ सेट गरिएका हुन्छन्। कस्तो समस्यामा कुन वेभलेन्थको लेजर प्रयोग गर्नुपर्छ भन्ने जानकारी नभईकन लेजर प्रयोग गर्दा त्यसले नकारात्मक असर देखाउँछ। छालाको समस्यामा कसैले लेजर प्रयोग गर्दैछ भने त्यो व्यक्तिले लेजरको बारेमा राम्रोसँग जानकारी हासिल गर्नुका साथै ऊ छालारोग विशेषज्ञ हुनु पनि जरुरी छ। मेसिन हो, सिकेपछि जसले चलाए पनि हुन्छ भन्ने ढंगले लेजरको प्रयोग गर्नुहुँदैन। अत्याधुनिक एउटै लेजर मेसिनको एक करोड रुपैयाँसम्म पर्छ। त्यसैले लेजर जहाँसुकै सर्वसुलभ ढंगले उपलब्ध छैन भन्ने बुझ्न जरुरी छ। धेरैले आईपीएल मेसिनलाई नै लेजरका रूपमा प्रचार गरेकाले धेरैलाई लेजरसम्बन्धी भ्रम रहेको छ।
लेजर गरेपछि एकदमै सुन्दर भइन्छ भन्ने धारणा गलत हो। मानिसले जन्मँदै ल्याएको अनुहारको स्वरूप बदलिने होइन। दाग, कोठी पनि पूर्ण रूपमा हटाउन असम्भव हुन्छ। त्यसलाई केही मात्रामा कम गरेर नदेखिने बनाउन सकिन्छ। कोठीको साइज ठूलो छ भने प्लास्टिक सर्जरी गरेर हटाउनुपर्छ। कोठी हटाएको ठाउँ र अन्य ठाउँको छालाको रङमा केही अन्तर देखिन्छ। लेजर तथा कस्मेटिक सर्जरी गरेपछि छालालाई घामबाट जोगाउन सकिएन भने विभिन्न खालका समस्या देखिन सक्छन्।
सौन्दर्यसँग जोडिएका जुनसुकै समस्यामा पनि लेजरले जादुमय प्रभाव देखाउने प्रचारको पछि लाग्दा भइरहेको सुन्दरता पनि गुम्ने खतरा बढी हुन्छ। लेजरले रौँ, कोठी, ट्याटू हटाउन सकिए पनि चाउरीपना पनि लेजर गरेरै जान्छ भनेर कसैले भन्छ भने त्यो गलत हुनेछ। विभिन्न मिडियामा विज्ञापन देखेकै भरमा लेजरका लागि मरिहत्ते गर्नेहरूले सर्वप्रथम लेजरबारे सामान्य जानकारी राख्नैपर्छ। लेजर सेवा उपलब्ध भएका अस्पताल तथा छाला रोग विशेषज्ञसँग परामर्श गरेरमात्र लेजर प्रयोग गर्ने कि नगर्ने भन्ने निक्र्याेल गर्न सकियो भने भविष्यमा आउने सक्ने समस्याबाट जोगिन सकिन्छ।
साभार : शुक्रबार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !