काभ्रेको भगवती माविबाट सात कक्षा सकेर जब म आठ कक्षादेखि काठमाडौं प्याफलस्थित कान्ति इश्वरी राज्यलक्ष्मी मावि पढ्न थालेँ, धेरै आश्यर्चलाग्दा घटना र पलहरू शंखलाबद्ध रूपमा सँगसँगै अघि बढ्न थाले। पहिलो आश्चर्य त केटी नै केटीले भरिएको विशाल विद्यालय देखेर लागेको थियो। एक चौथाइभन्दा कम संख्याका केटीहरू केटाहरूका अगाडि लाज र हिनताबोध सँगालेर प्रत्येक कक्षाको एक कुनामा हराउने कहाँ काभ्रेको परिवेश, कहाँ केटीहरूको मात्र वर्चस्व भएको त्यत्रो शानदार र भव्य काठमाडौंको विद्यालय; तुलना गर्न मिल्ने ठाउँ नै थिएन।
विद्यालयको पहिलो दिन सहरी हाउभाउका छात्राहरूको अगाडि सामञ्जस्य मिलाउँदै धक फुकाएर प्रस्तुत हुन सक्ने कुरै भएन। त्यसैले शिक्षक–शिक्षिकाले पढाइरहँदा पैंतालिस मिनेटको सयम एकदम छिटो बितेजस्तो लाग्थ्यो भने दुई वटा कक्षाबीचको दुई–चार मिनेटको अन्तर पनि मलाई दुई–चार घन्टामा बिस्तार भएझैं लाग्दथ्यो।
त्यति बेला केटीहरूमाझ दसैं, तिहार, नयाँ वर्षलगायतका अवसरमा शुभकामना साटासाट गर्ने तरिका पनि अहिलेभन्दा निक्कै पृथक थियो। नेपाली सिनेमाभन्दा हिन्दी सिनेमाकै जगजगी भएको त्यो बेला केटीहरू आफूलाई मन परेको भारतीय सिनेमाका अभिनेता, अभिनेत्रीको पोस्टकार्ड एक–अर्कालाई दिएर शुभकामना लिनेदिने गर्दथे। धर्मेन्द्र, श्रीदेवी, जयप्रदा, सञ्जय दत्त, अनील कपुर, जुही चावला, दिव्या भारतीलगायतका भारतीय कलाकार केटीहरूका प्रिय रोजाइभित्र परेका थिए। विद्यालयको सामुन्ने लहरै खोलिएका पोस्टकार्ड पसलमा अति नै चित्ताकर्षक मनमोहक फूलहरू र प्राकृतिक सुन्दरता झल्किएका पोस्टकार्ड हुने गर्दथे तर ती कसैको रोजाइभित्र पर्दैनथे। पसलमा त्यति राम्रा फूलहरूको पोस्टकार्ड देखेपछि शुभकामनाको सन्देश त हिरो–हिरोइनको फोटोले भन्दा फूलले पो दिन सक्छन् जस्तो लाग्थ्यो मलाई तर आफूभित्रको त्यो खुल्दुलीको जवाफ एउटा घटनाले आफसेआफ दिलायो। मैजस्तो फूलप्रेमी एक साथीले अर्कीलाई हिरो–हिरोइनको तस्बिर अंकित पोस्टकार्ड नदिएर अति नै आकर्षक फूलको पोस्टकार्ड प्रदान गरिछन् तर पाउने साथीको मनमा सञ्जय दत्तले सपनाको राजकुमार सरहको स्थान पाएका रहेछन्, त्यसैले जसले दिए पनि सञ्जयको पोस्टकार्डमात्र दिऊन् भन्ने उनको आकांक्षा हुँदो रहेछ। आफ्नो चाहनाविपरीत कसैबाट फूलको कार्ड पाएपछि उनीभित्र एकाएक यति क्रोध जाग्यो कि दिने साथीकै अगाडि त्यो कार्ड धुजाधुजा पारेर भुइँमा फ्याँक्न उनले एकरत्ति ढिला गरिनन्। दिने साथीलाई उनको त्यो रवैयाले धेरै विक्षिप्त बनायो र ती दुईबीचमा भनाभन र कटुता नै उत्पन्न गरायो। शुभकामना दिनेजस्तो पवित्र कार्यमा फूलकै पोस्टकार्डले त्यति ठूलो भाँजो हालेको प्रत्यक्ष देखेपछि कसैलाई फूलको पोस्टकार्ड दिने आँट मलाई पनि आएन। भारतीय हिरो–हिरोइनबारेमा म पूर्णतः अनभिज्ञ थिएँ। त्यसमाथि कसलाई कुन हिरो वा हिरोइन मन पर्छ, त्यो जानेर दिनु कसरी? त्यस सँगसँगै कलाकारका फोटा शुभकामनाको संवाहक बन्छन् भन्ने मलाई लाग्दै लागेन। त्यसैले आफूलाई पोस्टकार्ड दिनेहरूलाई समेत 'मेरो तर्फबाट तिमीलाई पनि धेरैधेरै शुभकामना है' भनेर मुखैले काम तमाम गर्ने नयाँ शैलीलाई मैले अवलम्बन गरेको थिएँ। साथीहरूको जमातमा मेरो त्यो शैलीको कुरा काट्ने काम भयो कि भएन त्यो मैले थाहा पाइनँ तर फूलको पोस्टकार्ड दिने साथीसँगको जस्तो झगडाको भने मैले कसैसँग सामना गर्नुपरेन।
छात्रामात्रै पढ्ने भएकाले हाँसो, ठट्यौली, टीकाटिप्पणीमा केटीहरू स्वच्छन्दता र स्वतन्त्रताको भरपुर उपयोग गर्दथे तर कतिपय परिवेशमा केही छात्राका व्यवहार अति नै छाडा र अश्लीलतामा उम्लेरसमेत पोखिने गर्थ्याे। तिनका बोली, संकेत र व्यवहार केटीहरूकै जमातभित्र पनि बिल्कुल पचाउन नसकिने किसिमका हुन्थे। विद्यालयको सुरुको दिन छात्रामात्रैको भवसागर देखेर गर्वले फुलेको मेरो छाती तिनका केही आलोच्य व्यवहारको प्रत्यक्ष साक्षी बन्नुपर्दा भने कताकता खुम्चिएको जस्तै अनुभूति हुन्थ्यो। केटीहरू श्लील ढंगले चल्न र शालीन व्यवहारले अघि बढ्न छात्रछात्रा दुवैको संयुक्त शिक्षा अपरिहार्य नै रहेछ कि भन्ने बोध गराउँथ्यो। प्रत्येक अवस्था र परिवेशभित्र राम्रा र नराम्रा दुवै पक्ष जबर्जस्त गाँसिएर आएका हुने रहेछन्। संसारमा कुनै पनि कुरा न दोषैदोषले भरिएको हुने रहेछ न त पूर्णतया दोषमुक्त नै हुने रहेछ भन्ने कुरा मनन् गर्दा त्यो परिवेश आज पनि मेरो सामुन्नेमा आउने गर्दछ।
काठमाडौंको विद्यालय जान थालेको त्यस्तै दुई–तीन दिन बितेको थियो होला। गणित पढाउने प्रकाश सरले 'हालखबर के छ? केही असजिलो महसुस त भएको छैन नि?' भनेर मेरो नजिकै आएर सोध्नुभयो। उहाँ मेरो भिनाजूको साथी हुनुहुन्थ्यो। नयाँ स्कुलको सरसँगै चिनजान गराइदियो भने केही सजिलो हुन्छ भनेर स्कुल जानुभन्दा अघि नै भिनाजूले उहाँलाई घरैमा डाकेर मसँग चिनजान गराइदिनुभएको थियो। त्यसैले मप्रति अविभावकत्व दर्शाउँदै ती सरले सोधखोज गर्नुभएको थियो। उहाँ हाम्रो सेक्सनलाई भने पढाउनु हुन्थेन। यसरी आफूलाई नपढाउने शिक्षकसँग मैले कुराकानी गरेको देखेपछि कतिपय केटीहरूलाई ठूलै शंका भएछ। जब सर मसँगको कुरा सिध्याएर आफ्नो बाटो लाग्नुभयो, चार–पाँच जना केटीहरूले एकाएक मलाई घेरेर सोधे, 'त्यो प्रकाश सर तिम्रो ब्वाइफ्रेन्ड हो?'
गाउँले परिवेशबाट भर्खर काठमाडौं छिरेकी मैले उनीहरूले इंगित गरेको ब्वाइफ्रेन्डको आशय बुझ्नु त परै जाओस्, ब्वाइफ्रेन्ड भन्ने शब्द पनि सुनेकी थिइनँ। उनीहरूले भनेको ब्वाइफ्रेन्डलाई मैले बाइफ्रेन्ड भन्ने बुझेकी रहेछु। पेनफ्रेन्डजस्तै बाइफ्रेन्ड पनि एक किसिमको साथी हुँदो रहेछ क्यारे! तर बाइफ्रेन्ड भनेको कस्तो खालको साथी हो, त्यो थाहा नभएको हिनताबोधचाहिँ मसँग थियो। त्यसैले 'हैन–हैन उहाँ कुनै खाले पनि साथी हैन, उहाँ त गणित पढाउने सर हो नि' भन्ने सहज जवाफ दिएँ।
'हामीलाई नपढाउने सरसँग तिमीले छुट्टै कुरा गर्नुपर्ने अरू के हुन्छ त? उहाँ तिम्रो ब्वाइफ्रेन्ड नै हो,' उनीहरूले आफ्नो रटान दोहोर्यााइरहे।
'सर पनि कहीँ साथी हुन्छ? सर त सरै हुनुहुन्छ नि जहिलेसुकै,' भनेर आफ्नै गाउँले पाराको अडानबाट म पनि टसमस भइनँ। कक्षा सुरु भएकोले कुरा यत्तिमै सकियो। साथीहरूको सोधाइप्रति मेरो कुनै गुनासो थिएन। बाइफ्रेन्ड भन्ने कस्तो खाले साथी रहेछ, त्यो थाहा पाउन पाए हुन्थ्यो भन्नेचाहिँ लागिरह्यो। ठूलो मान्छे र सानो मान्छेबीच साथी भयो भने त्यसलाई बाइफ्रेन्ड पो भन्दा रहेछन् कि क्या हो भन्ने सोचाइ घर पुगेपछि पनि आइरहेको थियो।
काठमाडौंको परिवेशले थोरै समयमा धेरै कुरा बुझाउँदै लग्यो। कतिपय केटीहरूको मुखबाट बारम्बार ब्वाइफ्रेन्डको मात्र कुरा सुनिन थाल्यो। टिफिनको समय र कक्षा सकिने समयमा विद्यालयको अगाडिी जिब्रो पड्काउँदै आफूलाई मन परेका केटीको पछि लाग्न झुत्ती खेलिरहेका आवारा किसिमका केटाहरू र सोही मनोवृत्तिमा रमाउने कतिपय केटीको व्यवहारले गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको चरित्रलाई छर्लङ्ङ हुने गरी उतारिरहेका थिए। आफूलाई मन परेको ह्यान्डसम केटालाई अर्कै केटीले ब्वाइफ्रेन्ड बनाई भन्दै अलापविलाप गर्ने केटीहरूको पनि कक्षामा अभाव थिएन। गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड बनिसकेपछि केटाकेटीबीच सुरु हुने अश्लील र अपरिपक्व मायाप्रेमदेखि धोका, तिकडम, आँसु, वेदना, परित्याग, बदलालगायत सबै अवस्थाहरू कक्षामा निर्धक्क छरपष्ट पार्थे केटीहरू। गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डभित्रका भद्दा र सुन्नै असजिलो लाग्ने व्यवहार देख्दै, सुन्दै र बुझ्दै गएँ, तब प्रकाश सरसँग जोडेर केटीहरूले मप्रति आरोपित गरेको शब्दले मलाई भित्रभित्रै जलाउन थाल्यो। 'ओ हो उनीहरूले सरलाई भनेको शब्द त मेरो बुझाइको बाईफ्रेन्ड नभएर ब्वाइफ्रेन्ड नै रहेछ' भन्ने बुझ्नेबित्तिकै मभित्र लज्जाबोध र आक्रोश दुवै एकैसाथ उत्पन्न भएको थियो। सडकबाट सुरु भएर सडकमै अन्त्य हुने त्यति बेलाको अति नै घिनलाग्दो र घटिया उखरमाउलो कृत्यकै अर्थमा सरजस्तो पवित्र र श्रद्धाजनक नातालाई ब्वाइफ्रेन्डमा जोडेको देखेर आफंैलाई हुनसम्मको ग्लानि भएको थियो।
विगतको कुरालाई बल्झाएर त्यस्तो आरोप लगाउने केटीहरूसँग रस्साकस्सी गर्नु पनि उपयुक्त थिएन, त्यसैले भित्रभित्रै खुम्चिएर, मुर्मुरिएर भए पनि बाहिर चुपचाप बसिरहेकी थिएँ म। सात–आठ महिनापछि कक्षा आठका सबै विद्यार्थी र शिक्षक–शिक्षिका दक्षिणकाली पिकनिक गएका थियौं। त्यति बेला रमाइलो गर्ने सिलसिलामा प्रकाश सरले भक्तराज आचार्यको एउटा प्रेमभावले ओतप्रोत गीत गाउनुभएको थियो (अहिले गीत ठ्याक्कै सम्झना भएन)। चौरमा गोलो घेरामा बसेर हामी त्यो गीत सुनिरहेका थियौं। त्यति बेला सरलाई मेरो ब्वाइफ्रेन्ड बनाउने तिनै केटीहरू मसिना ढुंगाका टुक्रा मतिर फाल्दै 'सरले तेरै निम्ति गीत गाउँदै हुनुहुन्छ' भन्ने आशयले मलाई जिस्क्याइरहेका थिए, अनि कहिले सरको अनुहार र कहिले मेरो अनुहारतिर हेरेरै उनीहरूले गीत गाइन्जेलको अवधि गुजारेका थिए। एउटा अविभावकको झंै भूमिका निर्वाह गरेर सरले सोध्नुभएको सामान्य हालखबरको प्रसंगलाई लिएर केटीहरूको मनमा कायम भइरहेको गलत धारणाले त्यति बेला काठमाडौंका केटीहरूमा ब्वाइफ्रेन्डको भूत कति गहिरोसँग सवार भएको रहेछ भन्ने स्पष्ट झल्को दिन्छ। त्यो सवालसँग सरको इज्जत र प्रतिष्ठा जोडिएकोले केटीहरूसँग तिनका कुराको प्रतिवाद गर्दै चर्को स्वर गर्ने कुरा पनि उचित हुँदैनथ्यो। खाएको विष पो लाग्छ, खाँदै नखाएको विष लाग्ने डर नभएकोले उनीहरूको हेराइ र जिस्काइलाई मैले बेवास्तै गरेर टारिदिएकी थिएँ।
साभार : फेसबुक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !