CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पारस जीवन-मृत्युको दोसाँधमा, बाबुआमाको कस्तो बेवास्ता कठै !

पारस जीवन-मृत्युको दोसाँधमा, बाबुआमाको कस्तो बेवास्ता कठै !


सिमराको यही घरमा छन् अहिले ज्ञानेन्द्र र कोमल

पूर्व युवराज पारस शाह अचेत अवस्थामा बैँककको अस्पतालको बेडमा लडेको तीन दिन भइसक्यो। उनी जीवन-मृत्युको दोसाँधमा छन्। अस्तिसम्म पारसको बारेमा नानाभाँती गालीले भरिने माइसंसारका कमेन्टहरुमा उनीप्रति सहानुभूति झल्किएका कमेन्टको बाहुल्य छ। तर एक्लो छोराले मृत्युसँग संघर्ष गर्दैगर्दा बाबु पूर्वराजा ज्ञानेन्द्र शाह र आमा पूर्व रानी कोमल भने सिमरामा छुट्टी मनाउँदैछन्। बरु दाजु भेट्न साख्खै एक्ली बहिनी र अरु बहिनी, बहिनीज्वाइँ उता पुगिसके, बाबुआमाको मन चाहिँ कस्तो मानेको होला त्यो आफन्त प्रभुशमशेर राणाको घरमा बसिरहन। एक महिनाका लागि भनेर पूर्व राजपरिवार सिमरा पुगेका थिए। अहिलेसम्म उनीहरु उतै छन्।  
बाबुको त ल भैगो, अलि कठोर मन होला मानौँ। आमाले त नौ महिना कोखमा राखेर हुर्काएको पो त। कसरी बस्यो होला छोराको यस्तो अवस्थामा पनि यसरी बस्न ? धेरै टाढा पनि त हैन नि बैँकक। कति व्यापारी त खिसिक्क केही हुँदा बैँककमा जँचाउन जान्छन् परिवारैसहित।
त्यसो त पत्‍नी हिमानी पनि बैँकक गएकी छैनन्। तर उनी नजानुको कारण अर्कै छ। उता बाबु पारस ढल्दा यता छोरी कृतिकालाई पनि पेट दुखेर हैरान थियो। त्यही रात उनलाई काठमाडौँमा ल्याएर अस्पतालमा भर्ना गरिएको थियो, भोलिपल्ट अपरेसन भयो। बिहीबार भने उनी डिस्चार्ज भइसकेकी छिन्।
पारस युवराज नहुँदै विवादमा थिए। शाहज्यादा हुँदा प्रहरीलाई कुटेकोदेखि लिएर सार्वजनिक ठाउँमा गोली चलाएकोसम्मका घटनाले उनको छवि गिराएको थियो। प्रवीण गुरुङलाई गाडीले किचेर मारेपछि त उनीविरुद्ध आन्दोलन गरी दरबारमा हस्ताक्षरसमेत बुझाइयो। त्यही भएर ज्ञानेन्द्रले पारसलाई युवराज घोषणा पनि दशैँको बेला पारेर सुटुक्क गर्नुपरेको थियो।
सुजाताका ज्वाइँ रुबेल चौधरीसँग भएको विवाद सार्वजनिक भएपछि भने उनीप्रति निकै सहानुभूति फैलिएको थियो। उनलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही चलाउन खोजे पनि खासै केही कारबाही भएन।
राजतन्त्र अन्त्यको घोषणासँगै ज्ञानेन्द्रले आफू नेपालमै बस्ने घोषणा गरे। पारस भने पहिला सिंगापुर र पछि गत वर्षदेखि थाइल्यान्डमा थिए। थाइल्यान्डमा उनी केटी साथीसँग बस्थे। साढे पाँच वर्षअघि पनि उनलाई हर्ट अट्याक भएको थियो। तर तत्काल उपचार भएकोले उनी बचे। मुटुको रोगका लागि उनलाई केही औषधि दिइएको रहेछ। उता थाइल्यान्डमा बसेपछि परिवार पनि भएन सम्झाउने, औषधी खान छाडेका रहेछन् भन्ने खबर आएको छ।
हुन पनि टेन्सनै हुन्छ नि, तपाईँहरुलाई थाहा होला नि प्रवीण गुरुङको केसमा नक्कली चालक खडा गर्दा बाउले एक पैसा नदिएको, सबै साथीहरुले तिरिदिनुपरेको बयान। अस्ति थाइल्यान्डमा मुद्दा पर्दा पनि धरौटी तिर्न सुको दिएनछन्। बहिनीहरुले तिरिदिँदा हकारेछन्। त्यसैले उनले काठमाडौँ जिल्ला अदालतमा अंश मुद्दा हाल्ने तयारी गरेको खबरसमेत सार्वजनिक भएको थियो। बेलायती युवराज्ञीभन्दा सौन्दर्यमा के कम भन्न मिल्ने पूर्व युवराज्ञी हिमानी थिइन्। तर वैदेशिक रोजगारीका लागि विदेशमा गएर बाध्यताले छुट्टिनु परेको जस्तो अवस्था थियो श्रीमान् श्रीमतीको।
बेबी किङको मुद्दा ब्युँतन सक्छ
साढे दुई सय वर्ष पुरानो इतिहास बोकेको राजतन्त्रलाई जनमत संग्रह जस्तो वैधानिक प्रक्रिया बिना यत्तिकै हटाउँदा पनि खासै ठूलो विरोध नहुनुको एउटा कारण उनको छवि पनि थियो। तर उनी त्यसरी बिग्रेको भए पनि यसको दोष आमाबाबुलाई समेत प्रत्यक्ष/अप्रत्यक्ष आइहाल्छ। धनी बाबुको छोरा बिग्रेर हिँडेको देख्यो भने हाम्रै समाजमा सर्वसाधारणले बाउआमाले बेलैमा तह लाउन नसकेको भनेर आलोचना गर्छन्। राजपरिवारकै भए पनि एक्लो छोरालाई समयमा तह लगाएर राखेको भए पारसले यसरी सबैलाई दुःख दिएर हिँड्दैन थिए होलान्। इतिहासमा के के मात्र हल्ला चलेन उनीबारे ! एक पटक त पारसले गोली हानेर हिमानीको हत्या गर्‍यो भनेर यति हल्ला फैलियो कि त्यो हल्लालाई निस्तेज पार्न उनीहरु कार्यक्रमै बिना हनुमानढोकामा सार्वजनिक रुपमा देखिनुपर्‍यो। त्यतिबेला म च्यानल नेपालमा काम गर्थेँ। बिना सन्दर्भ भए पनि र खासै केही समाचार नभए पनि हिमानी हिँड्दै गरेको दृश्य टिभीमा केही समय देखाइएको थियो। तर भन्नेहरुले कहाँ भन्न छाडे र, हिमानी हिँड्दा खुट्टा लर्बराएको जस्तो देखिन्थ्यो, केही त भएकै होला हैसम्म भने।
पारसलाई केही भयो भने बेबी किङको मुद्दा फेरि ब्युँतन सक्छ। त्यसै पनि दलहरुको नालायकीपनाले उनीहरुप्रतिको मोहभंग हुँदैछ सर्वसाधारणको। राजतन्त्रप्रति सहानुभूति बढ्न सक्छ। पारसका एक्ला छोरा ह्रदयेन्द्रको चिनामा राजयोग छ भनिन्छ। उनलाई राम्रो साइतमा जन्माउन राजपुरोहितबाट मंगलमय समय निर्धारण गरी निर्धारित समयमा सिजेरियन गरी उनको जन्म गराइएको चर्चा उतिबेलै चलेको हो। अहिलेको तरल राजनीतिक स्थिति हेर्दा त्यस्तो केही नहोला भन्न पनि सकिन्न। हेर्दै जाउँ समयले के के देखाउने हो हाम्रो पुस्तालाई। हामीले वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र गरी तीन राजा घोषणा भएको हेर्‍यौँ। राजतन्त्र गएको पनि हेर्‍यौँ। गणतन्त्र पनि हेर्‍यौँ। प्रधानमन्त्री त कति हो कति हेर्‍यौँ। अब के के हेर्नुपर्ने हो! By Salokya, on February 22nd, 2013 on mysansar 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis