साँझ परेपछि नगरवधूको मोलतोल हुने ठाउँका रूपमा बदनाम रत्नपार्कमा पस्न अब सरम मान्नुपर्ने छैन । तर, त्यहाँ पहिलेजस्तो बिनाटिकट घुम्न पाइने छैन । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मात्र खोलिनेछ, रत्नपार्कको मूलद्वार ।
सार्क सम्मेलनको मेसोमा काठमाडौँ महानगरपालिकाले रत्नपार्कको सौन्दर्य ब्यूँताउने प्रयास गरेको हो । यहाँ बारका साथै पोखरी र बालबालिकाका लागि पिङजस्ता संरचना पनि थपिएका छन् ।
रत्नपार्कलाई फुर्सदमा टहलिने सुन्दर स्थान बनाउने महानगरको योजना छ । महानगरका वातावरण व्यवस्थापन प्रमुख रविनमान श्रेष्ठ भन्छन्, "बालबालिकाका साथै स्वच्छ वातावरणमा केही छिन बस्न चाहनेलाई पनि यो ठाउँ उपयुक्त बनाइनेछ ।"
सार्क सम्मेलनको मेसोमा काठमाडौँ महानगरपालिकाले रत्नपार्कको सौन्दर्य ब्यूँताउने प्रयास गरेको हो । यहाँ बारका साथै पोखरी र बालबालिकाका लागि पिङजस्ता संरचना पनि थपिएका छन् ।
रत्नपार्कलाई फुर्सदमा टहलिने सुन्दर स्थान बनाउने महानगरको योजना छ । महानगरका वातावरण व्यवस्थापन प्रमुख रविनमान श्रेष्ठ भन्छन्, "बालबालिकाका साथै स्वच्छ वातावरणमा केही छिन बस्न चाहनेलाई पनि यो ठाउँ उपयुक्त बनाइनेछ ।"
सहरको बीचमा अवस्थित रत्नपार्क सार्वजनिक यातायातका लागि पनि सजिलो छ । यसर्थ, रत्नपार्क पुग्न सजिलो हुनेछ । अपेक्षाकृत मर्मत सम्भार नसकिए पनि बिस्तारै लगानी थप्दै जाने कार्यक्रम छ महानगरको । आर्थिक व्यवस्था विभाग प्रमुख बुद्ध मानन्धरका अनुसार सार्क सम्मेलनका क्रममा रत्नपार्कलाई सिँगार्दा करिब ७५ लाख रुपियाँ खर्च भएको छ । फाउन्टेन निर्माण, घुमुवाका लागि सुलभ र सजिलो बस्ने व्यवस्था, पानी, फलफूल किन्न पाउने व्यवस्था हुने क्रममा छन् । "अबका दिनमा पार्क आत्मनिर्भर बनोस् भन्ने उद्देश्यले टिकटको व्यवस्था गरिएको छ," मानन्धर भन्छन् ।
त्यति मात्र होइन, आगन्तुकलाई महानगरका कर्मचारीले फोहर नगर्न र गरेमा दण्डित हुनुपर्नेमा सचेत गराउनेछन् । निश्चित ठाउँमा फोहर संकलनका लागि 'डस्टबिन' राखिनेछ । 'जति जनता सचेत, उति छेउछाउको वातावरण सफा' भन्ने नारासहित महानगरले रत्नपार्कलाई यसरी नवजीवन दिन लागेको हो ।
वनस्पति विभागले सार्क सम्मेलनकै अवसरमा भक्तपुरको सल्लाघारी, तीनकुनेमा पनि उद्यान बनाएको छ । करिब १७ लाख बजेट तर्जुमा भएको अरनिकोको सालिक भने बनिसकेको छैन । वन विभागले अघि सारेको नारा 'एक नगर, अनेक उद्यान' कार्यक्रम अन्तगर् त भक्तपुर नगरपालिका, स्थानीय उपभोक्ता र वनस्पति विभागको सक्रियतामा उद्यान निर्माण सम्पन्न भएको हो । यसको सफलतालाई अरू उद्यान निर्माणमा पनि नमुनाका रूपमा प्रस्तुत गर्ने योजना विभागको रहेको विभागकी वनस्पति वैज्ञानिक संगीता स्वाँरको कथन छ ।
स्वाँरका अनुसार विभागले लाजिम्पाटको रानीवनमा पनि उद्यानका लागि पहल गरिरहेको छ । यस वर्ष उद्यानमै ५० लाख रुपियाँ खर्चने विभागको योजना छ । महानगरपालिका, वन विभागलगायतसँग मिलेर विष्णुमती नदी किनार, बल्खु, नयाँ बानेश्वर हाइट, महाकांल चौर बौद्ध, टेकु ट्रान्सफर स्टेसन, वाग्मती नदी किनारलगायत स्थानमा उद्यान थप्ने योजना छ ।
सार्क सम्मेलनकै सेरोफेरोमा सहरी विकास मन्त्रालयले पनि नागपोखरीस्थित गुठी संस्थानको जग्गामा सानो उद्यान बनाएको छ । मन्त्रालयका प्रमुख विकास आयुक्त योगेश्वर पराजुली भन्छन्, "तत्काललाई उपत्यकामा १० वटा उद्यान बनाउने योजनामुताबिक काम भइरहेको छ । सहरभित्र फराकिलो जग्गा पाउन मुस्किल छ ।" मन्त्रालयले गोकर्ण ल्यान्डफिल्ड साइट भएको ठाउँ र ललितपुरको नागदहमा पनि उद्यानका लागि अध्ययन गरिरहेको छ ।
उसो त महानगरपालिका पनि अन्य सरकारी निकायसँग मिलेर उद्यान थप्ने ध्याउन्नमा छ । तर, ठूलो परिमाणको जग्गाको अभाव र सरकारी निकायबीच समन्वय नभएका कारण काम तीव्र गतिमा अघि बढ्न सकेको छैन ।
सुके फूल-बिरुवा
मंसिर पहिलो साता विदेशी पाहुनालाई देखाउन भर्खर पिच गरिएका सडक सफा थिए र हराभरा पनि । अहिले क्रमशः तिनको रूपरंग खुइलिँदै छ । मौसमी फूल राम्रोसँग नफक्रिँदै मुर्झाए । बिरुवाहरू तुषारोका कारण पतझड भएका छन् । अर्कातिर तिनको उचित स्याहार, सुसार र रेखदेख पनि खड्किएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन प्रमुख रविनमान श्रेष्ठका अनुसार सार्कका समयमा विभिन्न ठाउँमा ४ सय ५० वटा गमला राखिएका थिए । निजी कम्पनीले तोकेर लिएका ठाउँबाहेक कलंकी, सोल्टीमोड, पुतलीसडक, प्रदर्शनीमार्ग, सुन्धारा, त्रिपुरे श्वरलगायतका क्षेत्रमा उसले गमलामा बिरुवा रोपेको थियो । सिमेन्टको गमलाको भाउ २ हजार २ सय रुपियाँ छ । गमला खरिदमा चारवटा इन्टरप्राइजेजले टेन्डर हालेका थिए । कम लागतका आधारमा छनोटमा परेका कुशल इन्टरप्राइजेजका प्रोप्राइटर ताराप्रसाद ढकाल भन्छन्, "साइज नमिलेर गमला बनाउन र पुर्याउन सकस भयो । फलाम हालेर बनाइएकाले दह्रोचाहिँ हुन्छ ।"
माटाका गमला बटुवाले फुटाउने र चोरी हुने भएकाले यसपटक सिमेन्ट प्रयोग गरिएको श्रेष्ठको भनाइ छ । रबरका गमलाले घामपानी सहन नसक्ने भएकाले प्राथमिकतामा नपरेको उनको भनाइ छ । पाँच सयवटा गमलामा रोप्न ३ हजार ५ सयवटा बिरुवा किनिएका थिए । गमला त्यति थोरै, बिरुवा यति धेरै, एउटामै सातवटा रोपिए त ? श्रेष्ठले अलमलिँदै भने, "केही बिरुवा सडकका दायाँबायाँ पनि रोपिए ।" उनका अनुसार ती बिरुवालाई ६ सयदेखि पाँच हजार रुपियाँसम्म परेको छ । ती बिरुवा पनि आधाभन्दा बढी मरे । केही भाँचिए । केही चोरिए ।
त्यसो त वनस्पति विभागले उपत्यकाको हावापानीलाई हेरेर पारिजात, राजविच्छे, पैयुँ, फिरफिरे, समी, कपुर, मयूर, धुपीलगायत बिरुवा सिफारिस गरेको थियो । श्रेष्ठ भन्छन्, "घरमा रोप्न मन पराइने भएकाले पारिजात सबैभन्दा बढी चोरियो ।" वनस्पति विभागसँग उपत्यकामा लगाउने बिरुवाको नाम मागे पनि महानगरले कुन याममा लगाउनेबारे छलफल गरेन । विभागले कम्तीमा ६ फुटका बिरुवा रोप्न सल्लाह दिए पनि महानगरले जस्तो पाइन्छ, त्यसैमा काम चलायो । विभागका दीपक लामिछाने भन्छन्, "असारमा रोप्ने बिरुवा कात्तिकमा रोप्दा फस्टाउने कुरै भएन ।" स्मरणीय के छ भने महानगरमा वनस्पतिविज्ञ छैनन् ।
रोप्ने मौसम नमिलेकाले अधिकांश बिरुवा मरेको अनुमान छ । बिरुवा मर्नुको अर्को कारण रेखदेखको कमी पनि हो । पर्याप्त जनशक्ति नभएकाले बिरुवाको उचित रेखदेख हुन नसकेको महानगरका श्रेष्ठको तर्क छ ।
यस्तै मौसमी फूलका दुई हजार बिरुवा किनिएका थिए, सार्कको समयमा । तिनको नाम र काम नै मौसमी भएकाले अधिकांश मरिसकेका छन् । एउटा फूलको दाम सालाखाला चार सय रुपियाँ परेको थियो । "एकै ठाउँमा दसवटा बिरुवा भएको बाह्रमासे फूलको दाम चार सय पर्यो, एक सातामै मर्यो," महानगरका एक कर्मचारी ठट्टाको भावमा भन्छन् । महानगरका लेखा शाखा प्रमुख बद्री खड्काका अनुसार न्यु बेन्जामिन इन्टरप्राइजेजमार्फत टेन्डर गरेर फूल ल्याइएको हो । हिउँदमा मर्ने फूलका बिरुवा रोपिएकाले अहिले ती रोपेकै ठाउँमा सुकिसकेका छन् । वनस्पतिविज्ञ संगीता भने मौसमी फूल सुकेका ठाउँमा नयाँ फूल रोप्ने उपाय सुझाउँछिन् । भन्छिन्, "मौसमी फूल वर्षको चारपटक फेर्नुपर्छ ।"
निकट भविष्यमै उपत्यकामा पाँच हजार बिरुवा थप्ने योजना छ महानगरको । बाटोघाटोमा देखिएका बिरुवा र फूल सुकेको देखेका सर्वसाधारणको सुझाव छ, बरू थोरै रोप्नू तर सर्ने किसिमले र हरियाली छाउने खालका ।
साभार : ईकंतिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !