CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » एक नेपाली ‘प्लेब्वाय’सित पाँच घण्टा

एक नेपाली ‘प्लेब्वाय’सित पाँच घण्टा

Image result for asian playboy maleजीवन क्षेत्री -  पाँच घण्टा बस चढेर राजधानी पुग्नु थियो । सँगैको सिटमा बस्ने मानिससँग बातचित कसरी सुरु भयो, मलाई थाहा छैन तर यात्राको पट्यार कम गर्न अक्सर म आफैं वार्तालाप सुरु गर्ने गर्छु । कुरा सुरु भएपछि उक्त वयस्क मानिसबारे मेरो मनमा आएको पहिलो शब्द थियोः प्लेब्वाय, नेपाली प्लेब्वाय ।
तर कुरा सुन्दै जाँदा ऊ र चेखबको विख्यात कथा ‘लेडी विद द
डग’को पात्र गुरभबीच यति समानता आउन थाल्यो कि यात्राभर मैले आख्यान साहित्यका महारथी चेखबलाई याद गरेंः यस्तै मानिसको रामकहानी याद गर्दै त उनले उक्त कथा लेखेका होलान् ।
उमेर, अन्दाजी ३५ देखि ४० वर्ष । कद, औसतभन्दा होचो । छालाको रङ, गहुँगोरोभन्दा केही अँध्यारो । गाउँमा हुर्केको मानिस झैं खँदिलो र अररिएको जस्तो लाग्ने शरीर । कपाल बीचबाट कोरेर दुईतिर लर्काएको । अनुहारबाट मुस्कान लगभग कहिल्यै नहराउने । स्वभावले अति बहिर्मुखी, एकाध घण्टा चुप लागेर बस्न नसक्ने जस्तो । बोली र हाउभाउमा गाउँले मानिसको जस्तो सहजता । मध्य र सुदुरपश्चिमको ठिमाहा नेपालीजस्तो लाग्ने लवज । पेशाले गाडी चालक । नेपाली गुरभको छोटो वर्णन यस्तो थियो ।
बहिर्मुखी भएका कारणले स्वभावतः उसले आफ्नो जीवनी दुरुस्त उतार्न थाल्यो भने मचाहिं जिज्ञासापूर्वक उसका कुरा सुन्न थालें । जब लाग्थ्यो उसले कुनै कुरा लुकाउँदैछ वा भन्न धक मान्दैछ, ‘अनि?’ भनेर मैले कान ठाडा पार्थें र उसले आवाज कम गरेर फुस्फुसाउँदै विवरण दिन्थ्यो ।
एउटा अनजान मानिसको कहानी अरुलाई सुनाएर मनोरञ्जन दिने वा उसले भनेको कुरामा बढाइचढाइ गरेर एउटा भद्दा लेख सिर्जना गर्ने मेरो आशय हैन । त्यसै पनि प्रेमलगायतका मानवीय भावनाहरु लेखिने र पढिने कुरा हैनन् । तीबारे जसले जे सुने वा पढे पनि अन्ततः त्यही शाश्वत सत्य हुन्छ जुन व्यक्तिले आफैं अनुभुत गर्छ । यसै पनि शब्दमा ढालिंदासम्म कुनै पनि भावनाले जटिलता र कोमलता गुमाएर यान्त्रिकता र कठोरता हासिल गरिसकेको हुन्छ । त्यसमाथि पढ्ने मानिसले आफ्ना तमाम आग्रह, पूर्वाग्रह र मानसिक द्वन्द्वको सापेक्षमा राखेर पढ्दा लेखकले जे परिकल्पना गरेर कुनै कुरा लेखेको हो, त्यसको सुक्ष्म अंश मात्र त्यसमा बाँकी रहेको हुन्छ ।
त्यसैले त्यो वार्तालापमा के कस्ता शब्द प्रयोग भए भन्ने कुरा गौण हो र तिनलाई यहाँ दोहोर्‍याउनु उचित हुँदैन । लेखौं कि नलेखौं भनेर महिनौं अनिर्णित भएपछि अन्ततः उक्त यात्राको अनुभवलाई शब्दमा उतार्ने निर्णयमा म पुग्नुको एउटा कारण छः सतहमा हेर्दा समाजमा यस्ता पात्रहरुको घनत्व जति देखिन्छ, यथार्थमा त्यसको मात्रा धेरै छ भन्ने मेरो आँकलन । त्यसबाहेक प्रेम र यौनलाई चुरोटको सर्को वा सुर्तीको फ्वाँकजस्तै सहज रुपमा लिने अहिलेको पुस्ताका युवाहरुका लागि उक्त मानिसको जीवनले महत्वपूर्ण पाठ पनि दिन सक्ने मेरो बुझाइ छ ।
सुविधाका लागि अहिले त्यो मानिसलाई गुरभ नै भनेर पुकारौं, उसले बताएको नाम मैले अब बिर्सिसकेको छु । मध्य पश्चिमको एउटा पहाडी जिल्लाको विपन्न परिवारमा जन्मेको ऊ सानैदेखि बिग्रेर दुई कक्षा पुगेपछि नै पढाइ छाडेर गाउँका अग्रजहरुको सिको गर्दै किशोरकालमा भारत पुग्यो । राजमार्गका होटलहरुमा भाँडा धस्काउँदा धस्काउँदै एक दिन एउटा नेपाली ड्राइभरको नजरमा पर्‍यो ऊ र त्यही दिन उसको भाग्यले पल्टा मार्‍यो ।
क्रुर होटल मालिकले बिदा दिन नमानेपछि पछाडिको ढोकाबाट महिनौंको तलब त्यसै छाडेर भागेको किशोर गुरभ अचानक एउटा दयालु नेपाली ट्रक ड्राइभरको छत्रछायाँमा पुग्यो र केही दिनमै खलासीको रुपमा दरियो । उजाड मरुभुमिजस्तो लाग्ने होटलबाट अचानक ऊ बम्बइ महानगरीमा पुग्यो । खलासी भएको केही वर्षमा ट्रक चलाउन जान्नु र ड्राइभरमा दरिनु ठूलो कुरै थिएन । अरु धेरै नेपाली झैं त्यहाँका कोठीहरुमा पुगेर असमयदेखि नै वयस्क व्यवहार गर्नु अनि बम्बइमा गल्ली गल्ली ओगटेका ‘डन’हरुको फूट सोल्जर बन्नु स्वभाविक थियो । वफादारी र धृष्टतापूर्ण साहसका लागि ऊ चाँडै नै नाइकेहरुको नजरमा आएर ससानो ग्याङको नेतृत्वमा नै पुग्यो ।
यो विवरणचाहिं उसले अलि पछि भनेको थियो । वार्तालापको सुरुआतचाहिं उसको विहेबाट भएको थियो । शायद मुम्बइमा खलासी नै रहेको बेलामा हुनुपर्छ, घर आएका बेला तराइमा महेन्द्र राजमार्ग नेरको एउटा गाउँमा दिदीको घरमा जाने मौका जुरेछ । योग्यता शुन्य भए पनि गुरभ अब खाइलाग्दो युवा भइसकेको थियो । त्यतै नजिकैको घरकी एउटी युवतीमा उसको नजर परेछ । 
यहाँनिर उसलाई निरक्षर हुनुको पीडा बोध भयो किनकि युवती डिग्री पढेकी थिई । उमेर कमै भए पनि भारतमा विभिन्न स्त्रीहरुसित व्यवहार गरेर उसले त्यस क्षेत्रमा हासिल गरेको अनुभव प्रयोग गर्ने अवसर पायो । केटीको घर अगाडि किराना पसल थियो, त्यहाँ गुरभ निरुद्देश्यजस्तो दिनहुँ जान्थ्यो, पछिल्लो खल्तीबाट काइँयो निकालेर कपाल कोर्थ्यो अनि घरी के, घरी के किनेर खाँदै टहलिन्थ्यो । भरे जान्थ्यो, आजका लुगा धुन्थ्यो, अनि भोलिपल्ट अर्का सफा कपडा लगाएर चुस्त भएर निस्कन्थ्यो अनि उही दैनिकी दोहोर्‍याउँथ्यो । चाउचाउदेखि चिसो पेयसम्म, पसलमा पाइने धेरैजसो कुरा किनेर खाँदाखाँदा उसको हजारौं लगानी भयो तर करीब बीस दिन जतिपछि ऊ युवतीको ध्यान तान्न सफल भयो । वार्तालाप सुरु हुनासाथै प्रश्न आयो, योग्यता र जागिरको । उसले बतायोः डिग्री सकेर भारतमा छु, अफिसमा काम गर्छु, कम्प्युटरको काम हुन्छ । 
दुखजिलो गरेर पढेकी तर बाउ बितिसकेर विपन्नताले हैरान युवतीले त्यत्तिको योग्य युवकलाई छोड्ने सम्भावना थिएन । केही दिनमै उनीहरु भागेर बिहे गरे । श्रीमतीलाई पहाडको आफ्नो घरमा लगेर छाडेर गुरभ फेरि बम्बइ हानियो तर जति दिन नेपाल बस्यो, त्यति दिन भयभीत भइरह्योः श्रीमतीले एक हरफ अंग्रेजी बोली भने के जवाफ दिने होला ?
श्रीमतीसित अहिले कस्तो सम्बन्ध छ त ? यो प्रश्नमा उसको सहज उत्तर थियोः 'अब एउटा छोरो जन्मेर ठूलै भइसकेको छ, बुढीलाई गाउँकै स्कुलमा जागिर मिलेको छ । अरु त ठिकै छ तर अहिले पनि उसको धेरै बेर संगत गर्न डर लाग्छ, अंग्रेजीमा कुरा गर्न सुरु गरी भने?'
यतिका वर्षसम्म ती महिलाले लोग्नेको डिग्रीबारे असलीयत थाहा नपाएकी होलिन् भन्ने कुरा त्यति पत्यारिलो थिएन तर उसले चाहिं स्वभाविक मूस्कानसाथ भन्दै गयो 'अहिले पनि ससुराली जानुपर्‍यो भने बसबाट झरेपछि पहिले उसलाई पर पुग्न दिन्छु अनि बल्ल बिस्तारै पछिपछि जान्छु, बाटोमा भेटै नहुन गरी ।'
नेपाली गुरभको कहानी यहाँसम्म अनौठो भए पनि उति आपत्तिजनक छैन । तर यसपछिको भागको चाहिं प्रकृति नै अलग छ । वर्षौं बम्बइमा काम गरेपछि केही वर्षदेखि गुरभ अब नेपालमा छ र चिनजानको मन्त्री वा सभासद्ले करारमा एउटा जिल्ला अदालतमा उसलाई ड्राइभरमा नियुक्त गरेको छ । कार्यालयबाट बिदा हालीहाली गुरभ अब अवैध प्रेमको फूल फूलाउन राजधानी हिंडेको छ । ऊसित दुईटा सिम लाग्ने ब्ल्याकबेरीको नक्कल गरेर बनाइएको चिनियाँ फोन छ ।
मेरै सामुन्ने उसले दुई महिलाहरुलाई फोन गरेर भोलिपल्ट भेट्ने फरक फरक समय मिलाउँछ, आजलाई त बाटोमै रात परिसकेको छ । घरमा श्रीमतीले यो फोनका रेकर्डहरु फेला पारेमा के हुन्छ भनेर म सोध्छु । उसँग जवाफ पहिल्यै तयार छ 'घर नपुग्दै यी दुइटै सिम बाहिर निस्किसक्छन् अनि फोनमा भोडाफोन र एअरटेलका भारतीय सिम लाग्छन् । घरमा फोन गर्नुपर्‍यो भने ल्याण्डलाइन फोन छँदैछन् ।'
उसका नियमित शिकार ती महिलाहरुबारे उसले बिस्तृत विवरण दिन्छ । कतै अनौठो त कतै दिगमिग लाग्ने उसको कहानी सुन्दै जाँदा मलाई लाग्छ, यो मानिसमा या त मानसिक समस्या छ, हैन भने पुरुष हर्मोनको अधिकता हुने कुनै शारीरिक समस्या नै छ । फर्केर हेर्दा लाग्छ, मनोरोग विज्ञानमा जेलाई हाइपोमेनिया भनिन्छ, शायद त्यो मानिसको अन्तहीन मुस्कान र महिलाहरुलाई आकर्षित गर्ने क्षमतालाई त्यसले व्याख्या गर्न सक्छ । 
उक्त यात्राको केही दिन अघि उपन्यासकार दाजु नयनराज पाण्डेले पोखराबाट फर्कंदा माइक्रोबसमा भेटिएका एक जोडी पात्रहरुको विवाहेतर प्रेम सम्बन्धबारे लेखेको यात्रा संस्मरण पढेको थिएँ । सम्बन्धहरुको चरित्र यता पनि उस्तै थियो तर सबै पात्रहरुका आआफ्नै विशिष्टताहरु थिए । 
गुरभले सुनाउने प्रत्येक नयाँ अनुभवसँगै पात्र फेरिए पनि घटनाक्रमको चरित्र दोहोरिइरहँदा पट्यार लागिसकेको थियो । अचानक वार्तालाप फरक दिशामा मोडियो । उसले अब एकाएक उसका मालिक न्यायधीशहरुको चरित्र चित्रण गर्न थाल्यो । हुन पनि गाडी चालक भएकाले अरु कसैलाई भन्दा बढी उसलाई उनीहरुको निजी जीवनबारे थाहा थियो । न्यायधीशहरुलाई वयान गर्न उसले प्रयोग गरेका भद्दा र अश्लील शब्द जति कुरुप सुनिन्थे, त्योभन्दा कुरुप समाजका प्रतिष्ठित र उमेर ढल्किसकेका मानिसहरुको करतुत लाग्थ्यो । उसको बयानअनुसार न्यायधीशहरुको निवासमा बाल यौन दुराचार यति धेरै थियो कि भन्दाभन्दै ऊ आफैं दारा किटेर तिनीहरुलाई सराप्थ्यो, अनि धित मर्ने गरी आमाचकारी गाली गर्थ्यो र शान्त हुन्थ्यो ।
ऊ आफैं जुन कर्ममा संलग्न थियो, त्यो अनैतिक हो र त्यसको राम्रो नतिजा हुँदैन भन्ने उसलाई बोध थियो । पटक पटक ‘यो पाप त काशी गएर नुहाए पनि कट्दैन’ भनेर आफैं भन्थ्यो । खास गरी मुम्बइ रहँदाका आङ सिरिंग हुने कहानी सुन्दा मैले पटक पटक सोधेको थिएँः एचआइभी परीक्षण गराउनुभएको छ ? प्रश्न भुइँमा खस्न नपाउँदै ऊ भन्थ्यो 'भगवानका कृपाले अहिलेसम्म त्यो रोग लागेको छैन ।'
न्यायधीशहरुको करतुतबारे उसको बलियो धारणा थियोः तिनको अपराध कुनै पनि हालतमा क्ष्यम्य छैन । ऊ भन्थ्योः तिनीहरुलाई त नरकमा लगेर तेलका कराइमा उमाले पनि तिनका लागि सजायँ कमै हुन्छ । उसका यी अभिव्यक्तिहरुले मानिसको मनोविज्ञानबारे महत्वपूर्ण कुराहरु बोल्थे । समाजमा ससाना र जीविकाका लागि अपराध गर्नेहरुमा बरु गल्ती र हीनताबोध हुन्छ, केही नभए पनि तिनीहरुमध्ये कति भगवान्सित डराउँछन् । मन्दिर गएर पूजा र दान गरे पनि हृदयमा कतै न कतै उनीहरुमा पाप–धर्मको परवाह हुन्छ । तर संगठित पाराले पद र शक्तिको पर्दाभित्र बसेर अपराध गर्नेहरुमा त्यो हुँदैन । त्यस्तै अपराधमा समेत कानुन र विवेक दुवैको प्रयोग गरेर न्याय दिनुपर्ने न्यायधीशहरुको करतुत सुनेपछि आम मानिस र खास गरी निर्धा र विपन्नहरुले न्यायालयमा पुगेर किन न्याय पाउँदैनन् भन्ने प्रश्नको उत्तर मिल्थ्यो । 
अन्ततः राजधानी पुगेर हामी उर्त्यौं । तर उक्त नेपाली गुरभले गरेको विद्यमान् नेपाली समाजको चित्रण कहिल्यै नबिर्सिने गरी मेरो मानसपटलमा अंकित भएको छ ।
लेखकको ब्लग South Asia and Beyond  मा प्रकाशित लेख प्रेम, विवाह र यौनः एक नेपाली प्लेब्वायको कथा को संपादित अंश ।

साभार  : उज्यालो अनलाईन 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis