CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यु ट्युबमा भाइरल भएको एउटा गीत : तिमी र म घुम्न जाऊँ न

यु ट्युबमा भाइरल भएको एउटा गीत : तिमी र म घुम्न जाऊँ न

'पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो
 लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊँ न .....।' 

माइक्रोबस होस् वा रेस्टुराँ, मोबाइल होस् वा रेडियो । अहिले सर्वत्र बजार पिटेको छ, यो नेपाली गीतले । यो गीतमा यस्तो जादु छ, जसलाई एकपटक सुनेपछि नदोहोर्‍याई धीत मर्दैन । जति सुन्यो, उति सुनौं-सुनौं लाग्छ । यसको अर्को विशेषता के भने सरसर्ती गीत सुनेपछि मुखमा झुन्डिहाल्छ । अनि, जो कोही यही गीत गुनगुनाउन थाल्छन् ।

यो गीत इन्टरनेटमा यसरी भाइरल भएको छ, जता हेर्‍यो उतै गीतको कभर सङ र भिडियो फेला पर्छ । युट्युबमा गीतको भिडियो अपलोड गर्ने अघोषित प्रतिस्पर्धा नै चलेको छ । सहरदेखि दूरदराजका बस्तीसम्म, दार्जीलिङदेखि सात समुन्द्रपारिका मुलुकसम्म यसको आयाम फैलिएको छ । अनौठो त के भने, यो गीतको अफिसियल भिडियो सार्वजनिक भएको छैन । केवल युट्युबमा 'लिरिकल अडियो' राखिएकै भरमा यसले हंगामा मच्याएको हो । 

माघ २ गते बिहान १२ बजे युट्युबमा अपलोड भएलगत्तै यो गीतको 'भ्युअर्स' गुणात्मक रूपले बढ्दै गयो । यो समाचार तयार पार्दासम्म त्यो संख्या ११ लाख ३६ हजारभन्दा बढी पुगिसकेको छ । यससँगै स्वत:स्र्फूत रूपमा गीतलाई दुरुस्तै आफ्नो आवाजमा उतार्ने (कभर सङ) र भिडियो (मासअप) बनाउने होड चल्यो, युट्युबमा । यो गीतको ४ सयभन्दा बढी त कभर सङ नै बनेको छ । देश-विदेशमा रहेका तन्नेरीहरूले आ-आफ्नै शैलीमा भिडियो बनाएका छन् र यो क्रम बढ्दो छ । कतिपय भिडियो त यति रचनात्मक एवं जोडदार छन्, जसले अफिसियल भिडियोमाथि नै दबाब पैदा गरेको छ । नेपाली संगीतको इतिहासमा कुनै पनि गीतले भर्चुअल वल्र्डमा यस्तो व्यापकता पाएको थिएन । 

'जस्ट अ क्विक कभर फर यु गाइज, किप लिसनिङ एन्ड सपोर्टिङ' भन्दै यसको कभर सङ अपलोड गरेकी छिन्, अमेरिकाबाट निकी कार्कीले । यसलाई युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको छ । कार्की युट्युब सेलिब्रेटी हुन् । द कार्टुन्ज क्रियु नामबाट अर्को मासअप अपलोड भएको छ, जसको भ्युअर्स १ लाख ३६ हजार नाघेको छ । बी बोइङसहितको यो पर्फमेन्स निकै जोडदार छ । कतिले आफै नृत्य संयोजन गरेर त कतिले अरू नै फुटेज जोडेर यसको भिडियो तयार गरेका छन् । यो गीतको प्रभावमा बुटवलका युवतीहरूले छाता ओढेर फेसबुकमा फोटो अपलोड गर्ने अभियान नै चलाएका छन् । 

हास्यप्रधान चलचित्र 'रेसम फिलिली' को गीत हो यो । वैशाख ११ को प्रदर्शन मिति पर्खिरहेको उक्त चलचित्र गीतकै कारण 'बहुप्रतीक्षित' बनेको छ । गीतका सर्जक कालिप्रसाद बाँस्कोटा भन्छन्- 'गीतले स्वत: चलचित्रको मार्केटिङ गरिरहेको छ ।' संगीतकारका रूपमा बढी चिनिएका कालिप्रसादले पहिलो पटक यो गीतमा आवाज दिएका हुन् । उनलाई अर्की 'फ्रेस गायिका' सोमिया बराइलीले साथ दिएकी छिन् । मानसराज यो गीतका को-राइटर हुन् । 

'क्लासिकल प्रेमको' विम्ब छ, गीतमा । मौलिक र क्याची शब्द चयन गरिएको छ । भाका पहिले कतै सुनिएझैं लाग्ने खालको छ, रोमान्टिक लोकशैलीको । सर्जक बाँस्कोटाकै शब्दमा 'गीतले गाउँले युवाको इमान्दार प्रेम दर्साउँछ ।' 

यो गीत रचना गर्ने क्रममा बाँस्कोटाले बोलीचालीको भाषामा बढी ध्यान दिएका थिए । 'एकदमै सरल र क्याची शब्द चयन गरेको छु,' बाँस्कोटा भन्छन्-'सरसर्ती सुन्दै जाँदा श्रोताहरू कतै पनि अलमलिँदैनन् ।' गीत सोचेजस्तै भयो । एक हरफ स्थायी सुनाउनासाथ जो-कोहीको मुखबाट 'अहो !' फुत्किहाल्ने । 

खासमा यो गीत 'रेसम फिलिली'का लागि रचना गरिएको थिएन । अरू नै प्रयोजनका निम्ति बाँस्कोटाले यसको स्थायी र लय तयार गरेका थिए, केही वर्षअघि । पछि रेसम फिलिलीमा यो गीत राख्ने निधो भयो । गीतको भाव, लय र प्रसंग चलचित्रको मुख्य पात्रको चरित्रसँग ठ्याक्कै मिल्दो थियो । 

यसअघि भिसा गर्लमा साथै काम गरेका अभिनेता विनय श्रेष्ठले संगीतकार बाँस्कोटालाई 'रेसम फिलिली'का लागि पनि गीत तयार गर्न प्रस्ताव गरेका थिए । बाँस्कोटाले तुरुन्तै आफूसँग भएको गीत सुनाइदिए । 'एक-दुई हरफ सुन्नासाथ मलाई यो गीत मन पर्‍यो,' बिनयले भने- 'किनभने मलाई यस्तै अग्र्यानिक फ्लेबरको गीत चाहिएको थियो ।' 

गीतले जोडेको साइनो

चलचित्र चल्नुअघि नै गीत हिट भयो । अत: यसले गायक बाँस्कोटा र गायिका सोमिया बराइलीको जीवनमा नयाँ तरंग ल्याइदियो । कतिसम्म भने, ५ सयले लाइक गरेको बाँस्कोटाको फेसबुक फ्यान पेजमा गीत सार्वजनिक भएलगत्तै लाइक गर्नेको संख्या १२ हजार पुग्यो । फेसबुक लगअन गर्नासाथ उनलाई प्रश्नको ओइरो लाग्न थालेको छ । 'धेरैले तपाईं साँच्चै यसको गायक हो भनेर सोध्छन्,' बाँस्कोटा भन्छन्- 'भ्याएसम्म उनीहरूको जवाफ फर्काउँछु ।' उनले यसअघि भिसा गर्ल, मञ्जरी, मुखौटा, मालतीको भट्टीजस्ता चलचित्रलगायत लैजा रे, हाम्रो मिलनजस्ता चर्चित गीतमा संगीत दिइसकेका छन् । 

यही गीतपछि १९ वर्षीया सोमियाको व्यस्तता बढेको छ । एब्सुलेट लन्ज एन्ड बारमा सम्मिश्रण ब्यान्डसँग गीत गाउने क्रममा उनी यो गीतसँग जोडिइन् । चलचित्रका निर्माता एवं अभिनेता विनय श्रेष्ठले नै उनलाई यो गीत गाउन अफर गरेका थिए । 'गीतको शब्द र लय सुन्नासाथ म प्रभावित भएँ,' सोमियाले भनिन्- 'गाउँदा पनि रमाइलो भयो ।' यसअघि सोमियाले सुगम पोखरेलसँग 'के यो माया हो' चलचित्रको 'किन उदास' गाएकी थिइन् । 

अहिलेको पुस्तामा यी दुवै उति परिचित अनुहार भने होइनन् । कीर्तिपुरका स्थायी बासिन्दा बाँस्कोटा तिलगंगा अस्पतालमा काम गर्छन् । सोमिया टाइम्स कलेजबाट स्नातक गर्दैछिन् । गीत रेकर्ड गर्ने क्रममा समेत उनीहरूवीच खासै चिनजान थिएन । गीत हिट हुनुका पछाडि एरेन्जर अल्मोडा राणा उप्रेतीको पनि उत्तिकै हात रहेको बाँस्कोटा बताउँछन् ।



कस्तो छ अफिसिलय भिडियो 

'जालैमा' बोलको यो गीतको असली भिडियो चाहिँ कस्तो होला ? अहिले निकै चासोको विषय भएको छ । निर्माणपक्षले यसलाई सार्वजनिक गरेको छैन । इन्टरनेटमा भाइरल बनिरहेका बेला गीतको अफिसिल भिडियो राख्दा कस्तो नतिजा आउला ? द्विविधा छ । 

यो गीतको अफिसिल भिडियो निकै राम्रो बनेको अभिनेता विनय श्रेष्ठले बताए । श्रेष्ठ चलचित्रका मुख्य पात्र हुन् । केटा र केटी प्रेम भैसकेपछिको अवस्थामा यो गीत राखिएको छ । 'बढीमा बढी सिक्वेन्स स्टोरीमा मिल्ने खालको छ' विनयले भने । 

गीत इन्टरनेटमा भाइरल भएपछि अफिसियल भिडियो पुन छायांकन गरेर राम्रो बनाउने प्रयास गरिएको छ । 'हामीले एकदमै मेहनत गरेका छौं,' श्रेष्ठले थपे- 'सम्भवत: यसले सोचेजस्तै रिजल्ट दिन्छ ।' यद्यपी अहिले नै भिडियो सार्वजनिक गर्ने योजना छैन । भिडियो सार्वजनिक गर्दा चलचित्रको स्टोरी पनि सार्वजनिक हुने बिनयले बताए । 



यसरी रचिएको थियो

कालिप्रसाद बाँस्कोटा, गीतकार/संगीतकार तथा गायक

खासमा 'रेसम फिलिली'का लागि भनेर यो गीत तयार भएको थिएन । अर्कै प्रयोजनका लागि यसको रचना भएको हो, करिब एक-डेढ वर्षअघि । गीतमा मौलिक नेपालीपन चाहिन्छ भन्ने लाग्यो । त्यसका निम्ति चलनचल्तीको शब्दलाई जस्ताको तस्तै उतार्ने सोच थियो । एउटा सामान्य गाउँले युवा, जो पढेलेखेको छैन, उसले कसरी प्रेम गर्छ ? युवतीलाई कसरी फकाउँछ ? त्यसलाई गीतमा उतार्नु थियो । केटी अलि बाठी हुन्छे । अत: उनीहरूको सवाल-जवाफलाई घतलाग्दो ढंगले गीतमा ढाल्नु थियो । मेरो दिमागमा स्थायी फुर्‍यो, 'पारि त्यो डाडाँमा हेर, घामलाग्यो घमाइलो...।' यद्यपि यसअघि नै मैले गीतको ट्युन तयार गरिसकेको थिएँ । 

गीत लेख्दादेखि गाउँदासम्म एउटै कुरामा बढी केन्दि्रत थिएँ, यसलाई कसरी धेरै भन्दा धेरै सरल बनाउने ? गीतको हरेक शब्द जनजिब्रोमा सजिलै झुन्डिने खालको हुनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यसै अनुसार गीत तयार भयो । ज-जसलाई सुनाए, उनीहरूले गीत मन पराइदिए । 

पछि 'रेसम फिलिली'मा मैले संगीत दिनुपर्ने भयो । चलचित्रमा यही गीत राख्ने निधो भयो । यसले मुख्य पात्रको मनोभाव पनि झल्काउँथ्यो । पछि गीतलाई केही मोडिफाइ गरेर चलचित्रमा राखियो । 

रोमान्टिक लोकलयको गीत भएकाले यसमा कसको आवाज सही हुन्छ भनेर पनि म धेरै घोत्लिएँ । लोकगायक जयनन्द लामाभन्दा अरू कोही पनि यसका लागि फिट देखिनँ । जयनन्द लामाको गायकीबाट म एकदमै प्रभावित छु । यद्यपि यो गीतका लागि उहाँसँग प्रस्ताव राख्न सकिनँ । उहाँ नेपालमा हुनुहुन्छ कि बाहिर ? त्यो पनि थाहा छैन । अन्तत: गीतमा म आफ्नै स्वर दिन तयार भएँ । एक दशकदेखि गीतकार र संगीतकारका रूपमा काम गरिरहेको भए पनि यो नै मेरो पहिलो गायन थियो । 

गीतमा फिमेल भोकलका लागि सोमियालाई लिइयो । त्यसदिन उनी अर्कै गीतका लागि आएकी थिइन् । यद्यपि विनय श्रेष्ठले उक्त गीतका लागि सोमियाको नाम सिफारिस गरे । उनको आवाज मैले खोजेजस्तै थियो । डोरेमी स्टुडियोमा हामीले सजिलै यो गीत गायौं । 

गीत हिट हुन्छ भन्नेमा म शतप्रतिशत ढुक्क थिएँ । यद्यपि यति धेरै भाइरल बन्छ भन्ने सोचिएको थिएन । अहिले जताजतै यो गीत बजेको सुन्छु, रेडियो, मोबाइलदेखि चियापसलसम्म । माइक्रोमा चढेका बेला पनि यही गीत बज्यो, म दंग भएँ । चियापसलमा मानिसहरू यहि गीतको चर्चा गरिरहेका थिए । उनीहरू भन्दै थिए- 'यो गीत विदेशमा बस्ने नेपालीले गाएको हो ।' उक्त कुरा सुनेर हाँसो पनि उठ्यो । 



बिन्दास छिन् सोमिया

नेपाली संगीतवृत्तमा खासै चिनिएको नाम होइन, सोमिया बराइली । यद्यपि करियरको पूर्वार्द्धमै उनी सुपरहिट भइन्, एउटै गीतले । संयोग नै भनौं, अर्को गीत रेकर्डिङका सिलसिलामा डोरेमी स्टुडियो पुगेकी सोमियालाई 'पारी त्यो डाँडामा' गीत गाउने अफर आयो । तात्तातो अफरलाई सोमियाले सहर्ष स्वीकार गरिन् । 'म अर्कै गीत गाउन पुगेकी थिएँ' सोमियाले भनिन्- 'मेरो स्वर सुनेपछि काली दाइले यो गीतका लागि अफर गर्नुभयो ।'

 सोमियालाई यो गीतसँग जोड्ने काम अभिनेता विनय श्रेष्ठले गरे । सोमिया र विनयको भेट झम्सिखेलस्थित एक बारमा भएको थियो, जहाँ सोमिया गीत गाइरहेकी थिइन् । विनयकै सिफारिसमा सोमियाले उक्त गीत गाउने अवसर पाइन् । 

यसअघि उनले चलचित्र 'के यो माया हो' मा सुगम पोखरेलसँग 'उदास' शीर्षकको गीत गाएकी थिइन् । 'संगीतमा सानैदेखि रुचि थियो' कालो फिटिङ जिन्स र सेतो टिसर्टमा सजिएकी सोमियाले भनिन्-'स्कुलको कार्यक्रम तथा साथीभाइहरूको जमघटमा गीत गाइन्थ्यो ।' 

स्कुल पढ्दाताका नै उनले एउटा विज्ञापनको जिंगल गाउने अवसर पाइन् । त्यही जिंगल गाउन लगाउने व्यक्तिले नै सोमियालाई चलचित्रमा गीत गाउन लगाए । त्यसपछि उनले सुगम पोखरेलसँग थप दुई गीत गाइन् । यही क्रममा सोमिया समिश्रण ब्यान्डमा आबद्ध भइन् । यद्यपि, संगीतवृत्तमा उनी खासै चिनिएकी थिइनन् । 

एकदिन विनय श्रेष्ठले फोन गरेर ' रेशम फिलिलीको गीत इन्टरनेटमा भाइरल भएको' खबर सुनाए । उनले फेसबुक तथा युट्युब हेरिन् । गीतले अनपेक्षित उचाइ लिइसकेको थियो । आफ्नै आवाजमा गाइएको गीतको थुप्रै कभर सङ, कभर भिडियो बनेको देखेर उनी दंग परिन् । 'गीत हिट हुन्छ भन्ने त लागेको थियो' सोमियाले भनिन्- 'तर, यत्तिको भाइरल होला भन्ने सोचिएको थिएन ।' अनपेक्षित यो सफलताले उनलाई 'नसोचेको चर्चा' प्रदान गर्‍यो । 

टाइम्स कलेजमा स्नातक गरिरहेकी सोमिया अब्रोड स्टडीको तयारीमा थिइन् । यद्यपि यही गीतले उनमा द्विविधा पैदा गर्‍यो, विदेश जाने कि यही क्यारियर बनाउने ? आखिर उनले विदेश जाने मनस्थिति बदलिन् । 

'अहिले गीतका लागि धेरै अफर आउन थालेको छ' टेकुको एक रेकर्डिङ स्टुडियोमा गफिइरहँदा सोमियाले भनिन् । साप्ताहिकसँग भेट्नुअघि उनी ठमेलको स्टुडियोमा गीत रेकर्ड गराइरहेकी थिइन् । केही समयको बिश्राममा उनी त्यहाँ आइपुगेकी थिइन्, आफ्नै पल्सर बाइक हुँइक्याउँदै । अक्सर केटाहरूसँग संगत गर्न रुचाउने सोमिया हक्की स्वभावकी छिन् । त्यसैले पनि उनलाई कतिपयले 'केटाजस्तो' भनिदिन्छन् । 



कस्ता-कस्ता छन् भिडियो

जालमा शीर्षकबाट युट्युबमा थुप्रै कभर सङ, भिडियो, मासअप अपलोड गर्ने अघोषित प्रतिस्पर्धा नै चलेको छ । त्यसमध्ये कतिपय भिडियो निकै रचनात्मक छन् । लाग्छ, ती खारिएका निर्देशकले मेहनतसाथ तयार गरेका हुन् । कथावाचन, दृश्यांकन विधि, प्रस्तुति सबैमा विविधता पाइन्छ । 

एउटा कोठालाई रेकर्डिङ स्टुडियोको आवरणमा सजाएर बनाइएको भिडियोलाई धेरैले रुचाएका छन् । ल्यापटपमा गीत लेखिरहेको, संगीत संयोजन गरिरहेको दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएको यो भिडियोमा युवा र युवतीले गीत रेकर्ड गराइरहेको देखिन्छ । यो भिडियोमा ग्राफिक्सको पनि भरपुर प्रयोग छ । भिडियोलाई ९३ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियो हेरेर थुप्रैले प्रतिक्रियासमेत जनाएका छन् । 

अर्को भिडियो कुनै होस्टलजस्तो ठाउँमा खिचिएको छ । त्यसमा तीन जना युवा छन्, जसमध्ये एउटा युवा केटीको गेटअपमा प्रस्तुत भएका छन् । उनीहरूले उक्त भिडियोलाई सिसिटिभी क्यामेराले खिचिएजस्तै शैलीमा उतारेका छन् । यो कमेडी भिडियो त्रिकोणात्मक प्रेममा आधारित छ । 

'डोन्ट फर्गेट टु लाइक आवर हार्ड वर्क भिडियो' भन्दै पोस्ट भएको एउटा भिडियोको नृत्य संयोजन गजबको छ । पाँच युवतीमध्ये दुई जनालाई केटाको गेटअपमा उतारिएको छ । एउटै कोठाभित्र छायांकन गरिएको यो भिडियोमा पनि ग्राफिक्स प्रयोग गरिएको छ । 

त्रिभुवन विमानस्थल नजिकैको पैदल मार्गमा दृश्यांकन गरिएको भिडियो पनि उत्तिकै रुचाइएको छ । युवा र युवतीको प्रेमालापलाई रोमाञ्चक ढंगले खिचिएको यो भिडियोमा स्टुडियोमा गीत गाइरहेको दृश्य पनि समावेश छ । 

कोठाभित्र दुई स-साना नानीलाई नृत्य गराएको भिडियो पनि रमाइलो छ । यस्तै 'चिहानकी परी' नाममा पोस्ट भएको भिडियो ४५ हजार पटक हेरिएको छ । सेतो टिसर्ट र कालो पाइन्ट लगाएका तीन युवतीले एकै ठाउँमा बसेर गीतको तालमा टाउको र जिउ हल्लाएका छन् । उनीहरूले केस अघिल्तिर झारेर अनुहार छोपेका छन् । 

'दार्जीलिङ गोज फिलिली' शीर्षकको भिडियो निकै मेहनतसाथ तयार गरिएको छ । त्यहाँका रैथाने एवं घुम्न आएका पर्यटकलाई उक्त भिडियोमा अटाइएको छ । यो भिडियोमा चौरास्ता आसपास टहलिरहेका, घुमिरहेका, फोटो खिचिरहेका, घोडा घुमाइरहेकाहरूलाई गीतको तालमा कुम र टाउको हल्लाउन लगाएर नचाइएको छ । 

म्याटेस प्रोडक्सनले तयार गरेको भिडियोले पनि गीतको भावअनुसार कथा र दृश्य प्रस्तुत गरेको छ । यसमा दौरा-सुरुवाल लगाएको केटा र साडीमा सजिएकी केटीबीचको प्रेमलाप कैद भएको छ । उनीहरूको हाउभाउ एवं पहिरन पुरानो शैलीको छ । भिडियोको कलर र ग्राफिक्समा पनि मेहनत गरिएको छ । 

एउटा खुट्टाले नृत्य गर्ने नीलम ढुंगानाले पनि यही गीतमा आधारित भिडियो पोस्ट गरेकी छिन् । उनले क्यामेरा अघिल्तिर उभिएर एउटै खुट्टाले नृत्य गरेकी छिन् । बी बोइङ स्टाइलको अर्को भिडियो निकै रचनात्मक छ । केही युवा र युवतीले नृत्य गरेको यो भिडियो धेरै पटक हेरिएको छ । 

पोखराको जंगल फेस्टिबलदेखि युरोप, अमेरिकाका विभिन्न स्थानमा भिडियो बनाएर पोस्ट गरिएका छन् । कुनै विदेशी भूगोलमा दुई नेपाली युवाले राष्ट्रिय झन्डा बोकेर पनि भिडियो बनाएका छन् । एकै रंगको जुत्ता, हाप पाइन्ट र टिसर्ट लगाएका तीन युवतीले छतमा नृत्य गरेर भिडियो पोस्ट गरेका छन् । 'कभर डान्स भिडियो इन के पप स्टाइल' शीर्षकको उक्त भिडियोको नृत्य संयोजन प्रशंसनीय छ । तन्नेरी मात्र होइन, वयस्कदेखि स-साना बालबालिकाले समेत यो गीतमा अभिनय गरेर भिडियो बनाएका छन् भने राजेश हमाल र करिश्मादेखि सलमान खानसम्मका फिल्मी नृत्यलाई यो गीतको भिडियो बनाइएको छ । यसैगरी काला-गोरा विदेशीहरू नाचेको दृश्यमा पनि यो गीतलाई मिक्स गरी रमाइला भिडियोहरू तयार पारिएका छन् ।



पुरुष    : पारि त्यो डाँडामा हेर, 

        घाम लाग्यो घमाइलो 

        लाग्यो मलाई रमाइलो, 

        तिमी र म घुम्न जाऊ न

महिला : अनि घामले मलाई सताउला, 

        काली मलाई बनाउला

        तिमी पिरतीको छाता ओढाउन

पुरुष  : खोलाजस्तै बगौ हामी, 

        पिरतीको तालैमा

        माछी मारौ जालैमा, 

        हुन्छ कि नाइँ हुन्न भनन 

महिला : अनि जालमा एक्लै पार्छौ कि, अझकल्टोमै छाड्छौ कि 

        सिन्दूर लाउँछौ कि नाइँ भन न 

        हो बैगुनी, भै माया नमारे नि 

        कहिले हो 

        हो निष्ठुरी... भै भुली नजानु नि कहिले हो¬२

पुरुष : म पनि केमा कम छु नि, 

        पाखुरीमा दम छ नि 

        सम्पत्ति कमाइन्छ नि, 

        सुनचाँदीले तिम्लाई भरौंला 

महिला : सुनचाँदी चाहिँदैन,

        सम्पत्तिलाई आइँदैन

        माया गर्छौ कि नाइँ भन न 

        पारि त्यो डाँडामा हेर, 

        घाम लाग्यो घमाइलो

        लाग्यो मलाई रमाइलो, 

        तिमी र म घुम्न जाऊँ न 

        अनि घामले मलाई सताउला, 

        काली मलाई बनाउला    

        तिमी पिरतीको छाता ओढाउन- २तिमी र म घुम्न जाऊँ न

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis