काठमाडौं । सामान्यत: चिकित्सकहरू भनेका भगवान गनिन्छन् । उनीहरू स्वस्थ खानापानमा जोड दिन्छन् । अम्मली पदार्थ, सूर्तीजन्य पदार्थ र मदिरालाई राम्रो मान्दैनन् । सबै विरामीलाई मदिराबाट टाढै बस्ने सल्लाह दिन्छन् । तर, मौका मिल्यो भने आफूहरू चुर्लुम्मै डुब्छन् त्यही मदिरामा ।
प्रसङ्ग फागुन २० गते बुधबारको हो । त्यो दिन फागुन २० गते डाक्टर्स डे अर्थात् चिकित्सक दिवस । यही मौका पारेर नेपाल चिकित्सक संघ एनएमएले आफ्नो नवनिर्मित भवनमै कार्यक्रम
आयोजना गर्यो । औपचारिकता पूरा गर्दै भाषण सकियो । त्यसपछि सुरु भयो डाक्टरहरूको चियर्स । रक्सी खाए कलेजो ड्यामेज हुन्छ भन्ने स्पेशलिष्टदेखि लिएर किड्नीले काम गर्न छाड्छ भन्ने चिकित्सक अनि मुटु रोगदेखि दिमाग र क्यान्सर रोगसमेत हुन्छ भन्ने चिकित्सकहरू निकै खुसीका साथ ठोक्याइरहेका थिए शिशाका गिलासहरू ।
एनएमएका अध्यक्ष अञ्जनीकुमार झा आफै क्यान्सर रोग विशेषज्ञ हुन् । तर, जब मदिराको गिलास थप्दै गए तब भन्न थाले ‘अरे भैया संधै कहाँ पिउने हो र थप्नुस् भैया थप्नुस् ।’ चुरोट पनि सल्कियो त्यहाँ । अब भन्ने कुरा र गर्ने कुरा एक हुने भएको भए त यो देश किन अधोगतिमा धकेलिन्थ्यो र ? जब चिकित्सकले नै उक्साएपछि नपिउने कसले । पिउँदा पिउँदा मादक पदार्थ लागेर चूर हुँदै गएका एक चिकित्सक भन्दै थिए–‘पिउनुस्–पिउनुस् केही भए म छु नि ।’ भन्दै मध्ये राति भृकुटीमण्डपबाट निस्कँदै गर्दा चिकित्सकहरूको मापसेले झुम्म अनुहार हेर्न लायक थियो । झट्ट देख्नेका लागि डाक्टर्स डे को उपज हैन जँड्याहा डे भन्दा कम थिएन त्यो दृश्य । स्वाइन फ्लुले होलीसमेत खल्लो भएको कान्तिपुर नगरीमा डाक्टरहरू नै यसरी मस्तसंग झुमेपछि कसको के लाग्छ र अनि सर्वसाधारणलाई त के भन्नु खै ?
साभार : साँघु साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !