CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बन्द सफल भयो, हुर्रे !

बन्द सफल भयो, हुर्रे !


आमहडतालको दिन भएकाले आज अड्डा कसरी जाने होला भनेर सोच्दै थिएँ । पल्लो घरको रेडियोबाट निरन्तर एकपछि अर्को राष्ट्रिय गीत बजिरहेको थियो । एउटा गीत असाध्यै समसामयिक थियो ः

जाग लम्क चम्क हे नौजवान हो

आफ्नै ढंगले नयाँ रंगले

देश सिँगार्न यो... ।

उता त्यो गीत बजिरहेको थियो, यता आफ्नो घरको रेडियोले समाचारमा भन्दै थियो, नेपाल बन्दकर्ता नौजवानहरूको एउटा जत्थाले ललितपुरमा हडतालको
घोषित समय सुरु नहुँदै चालकलाई भित्रै राखेर ट्याक्सीमा आगो लगाइदिए ।

घडी हेर्छु, भर्खर ६ बज्दै छ । हाम्रा नौजवान आज कति साह्रो जाँगरिला भएछन् । एकाबिहानै कुखुरोभन्दा पहिल्यै जागेछन् । बोतलमा पेट्रोल र गोजीम्ाा सलाई बोकेर सडकतिर लम्किएछन् । त्यहाँ गएर ट्याक्सीमा आगो झोसेछन् । त्यही आगोको उज्यालोमा उनीहरू चम्किएछन् । खरानीले देश सिँगार्न उनीहरू अघि बढे छन्, क्रान्तिकारी रंगका साथ, अनौठो ढंगका साथ ।

एउटा श्रमजीवीलाई ध्वस्त बनाएर प्रारम्भ भएको आमहडताललाई सफल बनाउन सवारीसाधनहरू तोडफोड गर्दै, जलाउँदै, काँधमा टायर र हातमा सलाई बोकेर दिनभरि नौजवानहरू चम्किरहे, लम्किरहे आफ्नै ढंगले । हातहातमा ढुंगा र लाठी बोकेर, काँधमा काँध जोडेर भाटा उचाल्दै उनीहरूले परेड खेले, नयाँ रंगले ।  देश पूरै सिँगारे नौजवानहरूले, ढुंगाले, मुढाले, धूवाँलेे, जलेका गाडीले, लडेका मोटरसाइकलले, पुतलाले, इँटाले र धूलोले । हरतरहले उनीहरूले बन्द सफल बनाए ।

बन्द सफल भयो किनभने आमहडतालमा लाखौँ श्रमजीवी मजदुरको रोजीरोटी बन्द भयो । मुलुकभरिका बजार बन्द भए । उद्योग, कलकारखाना, पेसा-व्यवसाय बन्द भए । अर्बौंको व्यापार नोक्सानीमा गयो । बन्द सफल भयो । मुलुकभरिका लाखौँ विद्यालय, कलेज बन्द भए । लाखौँ विद्यार्थी, शिक्षक र कर्मचारी  कामविहीन भए । बन्द सफल भयो । ढुवानीहरू बन्द भए । यातायातहरू बन्द भए । हजारौँ यात्रु ठाउँठाउँमा अलपत्र परे । उनीहरूका यात्रा बन्द भए । बन्द सफल भयो । नेपाल एक दिन ठप्प भयो, फेरि एक दिन पछि पर्‍यो । बन्द सफल भयो । घरको कम्पाउन्डमा करोडौँ पर्ने गाडी छोपिराखेर अंगरक्षक मात्रै लिएर  सडकमा उत्रिएका बन्द आह्वानकर्ताहरूले एउटा गरिब ट्याक्सी ड्राइभरले जीवनभरिको कमाइमा ऋण थपेर आफ्नो बनाएको ट्याक्सीलाई खरानी बनाए । ड्राइभरकी पत्नी र छोराछोरीहरू आफ्नो एक मात्र गरिखाने भाँडो र अभिभावक जलेेको देखेर धुरुधुरु रोए, बन्द सफल भयो । आमाको स्कुटरमा बसेर घर जाँदै  गरेका नाबालकहरू आमा र आफूहरूलाई लछारपछार पारेर नौजवान अंकलहरूलेे सडकमा लडाउँदा कहालिई कहालिई रोए । बन्द सफल भयो । सिकिस्त भएकी आमाको मुख अन्तिमपटक हेर्न अस्पतालतिर जाँदै गरेको एउटा युवाको मोटरसाइकललाई बीच बाटोमा लडाएर आगो लगाएर नौजवानहरूले ताली बजाए ।  बन्द सफल भयो ।

नेपाल बन्द पूरै सफल हुन्थ्यो तर अलिकति कमजोरी केमा मात्र रह्यो भने बन्दका क्रममा जलाइएको ट्याक्सी त ध्वस्त भयो तर ड्राइभरको भने कपाल मात्रै जल्यो, बाँकी केही भएन । नौजवानहरूको कमजोरी यसमा देखियो । तैपनि, नेताहरूले चित्त बुझाए । उनीहरूले नौजवानहरूको हौसला बढाउँदै आफ्नो चोरी  औँलो र माझी औँलो ठड्याएर विजयको मुद्रामा 'भी' बनाउँदै घोषणा गरे, बन्द पूर्ण रूपमा सफल भयो ।

साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis