काठमाडौं, फाल्गुन १३ - भट्टराई सरकारले कुनै बेला आफ्नाबारे राम्रो सन्देश प्रवाह गर्न सुरु गरेको नाम चलेका गुन्डा नाइकेहरूमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धान एक वर्षमै तुहिने देखिएको छ । सरकारले अनुसन्धान फितलो पार्दै अझै समय लम्ब्याएर गुन्डा नाइकेहरूलाई उन्मुक्ति दिन सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीलाई संकेत गरिसकेको छ । विभाग र प्रहरीले तीनपटक गरेर २ सय ५ दिनको अनुसन्धान म्याद गुजारिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले 'सम्भव भएसम्मको' अनुसन्धानबाट तयार गरिएको प्रस्तावित राय
पठाउन भनेर विभागलाई जानकारी गराइसकेको छ । तर विभागले 'माथिको लाइन क्लियर' नभएको भन्दै अहिल्यै राय नपठाउन भनेको जानकार अधिकारीहरूले कान्तिपुरलाई बताए । स्रोतका अनुसार सत्तारुढ एमाओवादीले सम्हालेको अर्थ मन्त्रालयले यस सम्बन्धमा 'ग्रीन सिग्नल' नदिएकाले अप्ठ्यारो परेको हो । सत्ता साझेदार मधेसी मोर्चाको प्रमुख घटक मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवं उप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारको असन्तुष्टिका कारण यो अवस्था सिर्जना भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा सबैभन्दा बढी अकुत सम्पत्ति कमाएको देखिएका गणेश लामा उक्त पार्टीका केन्द्रीय सदस्यका साथै गच्छदारका निकट सहयोगी हुन् । पछिल्लो समय गच्छदारसँग नजिक रहेर नेपाल प्रहरीभित्र सरुवा बढुवामा समेत राम्रो प्रभाव पार्न सफल मानिएका लामालाई अनुसन्धानबाट चेप्न उच्च प्रहरी अधिकारीहरू पनि हच्केको बताइन्छ । विभागले गत वर्षदेखि सम्पत्ति रोक्का गरेर गुन्डा नाइकेहरूमाथि सुरु गरिएको छानबिनलाई अनुसन्धान अधिकृत परिवर्तन गरेर लम्ब्याउने कसरत गरेको थाहा भएको छ । 'राजनीतिक परिस्थिति उपयुक्त भएन, त्यसैले यस्तो गरिएको हो,' एक जानकार अधिकारीले भने । गुन्डा नाइकेका साथै उनीहरूको सानिध्यमा रहेर अकुत सम्पत्ति आर्जन गर्ने अन्य केहीमाथि छानबिन सुरु गरेको विभागमा एक वर्षभित्रमा चारजना महानिर्देशक परिवर्तन भइसकेका छन् । यसलाई पनि अर्थपूर्ण मानिएको छ । विभाग र ब्युरोले २०६८ माघमा गुन्डा नाइकेहरू गणेश लामा, दीपक मनाङे, चक्रे भनिने मिलन गुरुङ, पर्शुराम बस्नेत र अभिषेक गिरीको सम्पत्ति रोक्का गरी संयुक्त रूपमा सम्पत्ति छानबिन सुरु गरेका थिए । त्यसपछि क्यासिनोमा खेल्नेहरूमाथि लगानी गरेर अकुत सम्पत्ति जोडेका भनिएका लोकबहादुर श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, कविन शाक्य र बलराम सापकोटामाथि पनि अनुसन्धान सुरु गरिएको थियो ।
छानबिन दायरामा ल्याइएका सबै गुन्डा नाइकेहरू हरेकसँग कम्तीमा २० करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति हुनसक्ने अनुमान गरिएको थियो । तीमध्ये लामासँग सबैभन्दा बढी ५० करोड रुपैयाँसम्मको अवैध सम्पत्ति हुनसक्ने भनिएको थियो । तर अनुसन्धान हुँदैछ भन्ने हल्ला पहिल्यैदेखि चलेको हुनाले उनीहरूले धेरैजसो अवैध सम्पत्ति छानबिन सुरु गर्नुअघि नै लुकाइसकिएको पाइएको थियो । 'लुकाएको सम्पत्ति खोतल्ने सामथ्र्य हामीसँग भएन । कसैले त्यसका लागि उत्प्रेरित पनि गरेन,' एक अनुसन्धान अधिकृतले कान्तिपुरसँग भने । ती अनुसन्धान अधिकृतका अनुसार गुन्डा नाइकेहरूसँग नजिक कैयौं व्यक्तिका नाममा थुप्रै घरजग्गा पाइएको छ । 'तिनीहरूमाथि पनि छानबिन गरेको खण्डमा मात्रै अनुसन्धान सोचेजस्तो हुनसक्ला,' उनले भने ।
गुन्डा नाइकेहरूका नाममा देखिएकै सम्पत्तिका हकमा पनि विभाग र ब्युरोले पछिल्लो समय त्यति हौसिएर अनुसन्धान गरेको देखिँदैन । 'थानकोटमा थुप्रै जग्गा देखिएको छ । तर कस्तो जग्गा भनेर हेर्न जाने जाँगरसमेत कसैसँग छैन,' एक ब्युरो अधिकारी भन्छन्, 'त्यहाँ गएपछि न थाहा हुन्छ कस्तो जग्गा कति मूल्य पर्ने भनेर ।' अनुुसन्धानकै क्रममा पत्ता लागेका विभिन्न बैंकिङ कसुरसम्बन्धी विषयवस्तुलाई पनि विभाग र ब्युरोका अधिकारीहरूले मतलब गरेका छैनन् । एक करोड मूल्य नआउने जग्गा धितो राखेर बैंकहरूले २० करोड रुपैयाँसम्म ऋण दिइएको देखिएको छ । गुन्डा नाइकेहरूको अकुत सम्पत्तिमाथिको अनुसन्धान तुहिने अवस्थामा हुँदा विभागमा पछिल्लो समय परेका कतिपय सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीहरूमाथि कारबाही अगाडि बढाउन मतलब गरिएको छैन । गैरकानुनी रूपमा चर्को ब्याजमा ऋण लगानी गरी अवैध सम्पत्ति बटुलेका भनिएका एक सिंह थरका व्यक्तिमाथि विभिन्न व्यक्तिले उजुरी दिइसकेका छन् । तिनै व्यक्तिले शुक्रबार ब्युरोका एक उच्च अधिकारीलाई महाराजगन्जस्थित ब्युरो कार्यालयमा गएर विशेष भेटवार्ता गरेको आगन्तुक रेकर्डबाटै देखिएको छ । यसै गरी अनुसन्धानमा तानिएका लोकबहादुर श्रेष्ठले पनि गत असोजमा एक उच्चअधिकारीलाई निवासमै गएर भेटेको बताइन्छ । 'हाम्रो काम सकियो भनेर विभागलाई राय प्रतिवेदन पठाए पनि त्यहीं थन्कने अवस्था छ,' एक अधिकृत भन्छन्, 'अब जहिले पठा भन्छन्, जे गर भन्छन् गरौंल्ाा । तर पठाउन पाइएला र, यहाँ राम्रै उठबस हुन थालिसक्यो ।'
सुन्दर खनाल - कान्तिपुर