CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » क्यासिनोमा विश्वास गर्न नसक्ने शैलीको 'रहस्यात्मक छापा'

क्यासिनोमा विश्वास गर्न नसक्ने शैलीको 'रहस्यात्मक छापा'


क्यासिनोमा प्रहरी नजर


एउटा भनाइ छ भारतीय बिहारका सन्दर्भमा- गुडिरहेको मोटरमा एकाध व्यक्तिले ढुंगा बर्साउँछन्, अनि गर्वसाथ उक्त तोडफोड हामीले गरेको भनेर विज्ञप्ति निकाल्ने गरिन्छ। यसको मतलव हो कि हाम्रो समूह वा हामी ज्युँदै छौं
है। ठ्याक्कै यही कुरा यतिखेर नेपाल प्रहरीमा पनि लागु भएको देखिन्छ। जब जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रहरी प्रमुख आउँछन्, उनीहरुले आफू आएको जानकारी दिनका लागि तथा अब 'केही हुन्छ' भन्ने पार्नका लागि चर्चामा आउने काम गर्छन्। र, यस्तो काम जिल्लाअनुसार फरक हुने गरे पनि ''एक्सन स्पट' भने उही हुने गर्छ।
पोखरामा चाहिँ हरेक नयाँ प्रहरी प्रमुखले क्यासिनोमा छापा मारेर आफू सक्रिय नै रहेको संकेत देखाउने गरेका छन्। पछिल्लो पटक कास्की प्रमुखका रूपमा पोखरा पुगेका एसपी केदार रिजालले पनि आफ्ना पूववर्तीहरुकै कार्यशैली पछ्याउँदै ग्राण्ड क्यासिनोमा छापा मारे। ९ जना नेपालीलाई पक्राउ गरेर उनले आफू 'अरुजस्तो नभएको' सन्देश दिन खोजे। छापा मार्न गएको टोलीमाथि हातपात गरेको भन्दै एक जना कर्मचारीसमेत पक्राउ गरेर उनले सबैको ध्यानाकर्षण गराउन सकेका छन्।
यसरी छापा मार्नु प्रहरीको कर्तव्य नै हुन सक्छ। तर जुनसुकै प्रहरी प्रमुखले पनि सुरुमै छापा मार्ने त्यसपछि बसुन्जेल अनुगमनसमेत नगर्ने प्रवृत्तिलाई स्थानीयले रहस्यमयरूपमा बुझ्ने गरेका छन्। पोखरेलीहरुकै प्रतिक्रियालाई आधार मान्ने हो भने यस्तो क्रियाकलाप प्रहरी प्रमुखको आफू बसुन्जेलका लागि 'आय निश्चित गर्ने प्रक्रिया' मात्र हो। क्यासिनो कर्मचारीले नै 'सेटिङ' नमिलुन्जेलमात्र छापा मार्ने काम हुने बताउनुले पनि प्रहरीको सक्रियता केका लागि भन्ने प्रष्ट हुन्छ।
क्यासिनो नेपालमा पछिल्लो पटक विवादको विषय बन्दै आएको छ। सरकारले क्यासिनो सञ्चालन अनुमति दिएपछि त्यसलाई व्यवस्थापन गर्ने जिम्मा पनि उसैको हो। यसका लागि नियमित अनुगमन तथा नियम पालना गराउने कार्य स्वाभाविक हुन सक्ला तर आफू व्यवस्थापन गर्न नसक्ने अनि त्यसको दोष सञ्चालकलाई तथा त्यहाँ जाने ग्राहकलाई दिन मिल्दैन। क्यासिनोमा जुवा खेल्न नेपाली पुग्ने वातावरण कसरी बन्यो? के त्यहाँ जान प्रहरीले रोक्नुपर्दैन? त्यसैले स्पष्ट छ कि प्रहरीको सहानुभूतिविना त्यहाँ नेपाली पुग्नै सक्दैनन्। तर आफ्नै कमजोरी लुकाउँदै त्यहाँ पुगेकालाई पक्रेर के के न गरिटोपल्यौं भन्नु कम्तिमा पनि प्रहरीका लागि साहसको विषय पक्कै हैन।
अझ क्यासिनोका कर्मचारीले नै खुलेयाम भनेका छन् कि हामीलाई कतिपय अवस्थामा छापा मार्ने खबर पहिले नै थाहा भइसक्छ। यस्तो बेला आफैं जुवा खेलिरहेका नेपालीलाई लुकाउने गरेको पनि उनीहरुले बताएका छन्। यसबाट थाहा हुन्छ कि छापा मार्ने अख्तियार प्राप्त प्रहरी संगठनभित्रै समस्या छ। आफैंभित्रको समस्या नछिमोली अन्यत्रको समस्या निमिट्यान्न पार्न सकिन्न। त्यसैले सबैभन्दा पहिले संगठनलाई नै जिम्मेवार बनाउने कार्यमा लाग्नु नेपाल प्रहरीका लागि बुद्धिमानी कार्य हुनेछ।
क्यासिनो एउटा व्यवसायका रूपमा रहँदै आएको छ। त्यसैले यसलाई व्यवसायकै रूपमा व्यवस्थित गर्ने तथा राज्यले लिएको नीति/नियममा हिँडाउने काम गर्नु नै पर्छ। यसमा विवादै छैन तर क्यासिनोका कर्मचारीदेखि स्थानीय जनतासमेतले विश्वास गर्न नसक्ने शैलीको 'रहस्यात्मक छापा' ले भने समस्या छिमोल्न सहयोग गर्दैन। फेरि अर्को कुरा के पनि हो भने मुलुकमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या जुवा खेलाउने क्यासिनोमात्र हुँदै हैन। योभन्दा ठूला समस्या निकै छन्। बलात्कार, अपहरण, हत्या जस्ता घटना दिनानुदिन बढिरहेका छन्। तर यस्ता घटनाप्रति भन्दा किन कम मानिस प्रभावित हुने क्यासिनोतिर सबै प्रहरी प्रमुखको ध्यान सबैभन्दा पहिले पुग्छ भन्ने प्रश्न अझै टड्कारो छ। क्यासिनोमा छापा मार्ने प्रहरीको कार्यलाई जनताले स्वागत गर्न नसक्नुको प्रमुख कारण पनि यही हो। जुन प्रहरीले बुझ्न आवश्यक छ।

-- नागरिक
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis