CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कम्युनिस्ट' पाखण्ड

कम्युनिस्ट' पाखण्ड

साम्यवादको इतिहास एक सय पचास वर्षअघि सुरु भयो।  सम्भवतः अब कही दशकमै समाप्त हुन्छ। एक अर्ब तीस करोड जनसंख्या भएको चीनमा सात करोड मानिस मात्रै कम्युनिस्ट पार्टीका सदस्य छन्। भारतमा एक करोड पनि छैनन्। लाओस्, भियतनाम, क्युबा, बोलिभिया र पेरुलगायतका देशमा अब थोरै मात्र कम्युनिस्ट छन्। एकजना लेखकले भनेका छन्– 'कम्युनिज्म भनेको च्युइङ्गम
चपाएजस्तै हुन्छ। एकै क्षणपछि गुलियो हराएर तीतो आउन थाल्छ।'  
'ब्ल्याक बुक अफ कम्युनिज्म' पुस्तकमा कम्युनिस्ट शासकहरूले कम्बोडिया, चीन, रुस, हंगेरी, पोल्यान्ड, अल्बानिया, उत्तर कोरिया, पूर्वजर्मनी, चेकोस्लोभाकिया, रुमेनियालगायतका देशमा करोडौं मानिसको निर्मम हत्या गरेको सप्रमाण वर्णन गरिएको छ। राष्ट्रवादी र प्रजातन्त्रवादीहरूले पढ्नैपर्ने सो पुस्तकमा कम्युनिस्टहरू कति क्रूर, निर्दयी, अहंकारी, अपराधी र पाखण्डी हुन्छन् भन्ने चित्रण गरिएको छ।  
माओ, स्टालिन, लेनिन, पोलपोट, किम–इल–सुङ, खु्रश्चेभ, फिडेल क्यास्ट्रो आदिदेखि अल्बानियाका अनबर होजा र रुमेनियाका चाउचेस्कू जस्ता शासकले करोडौं मानिसको हत्या गरे। त्यस्ता क्रूर, अमानुषिक र जघन्य अपराधीको अन्धानुकरण गरेर नेपालमा माओवादीले हजारौंको हत्या गरे। बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा प्रचण्ड अर्थात् पुष्पकमल दाहालले सफाइ दिए– 'मेरा हातबाट कोही पनि मरेनन्।'  
यो कथन पाखण्डपूर्ण अभिव्यक्तिको पराकाष्ठा हो। त्यसो त संसारका कुनै पनि कम्युनिस्ट शासकले 'आफ्नै हातले' कहाँ मान्छे मारे त? मार्न मात्र लगाए। प्रचण्डले त्यसै गरे।  बाबु्राम, वैद्य सबैले त्यसै गरे। नेपालमा कम्युनिस्टहरू प्रबल देखिएपछि अभूतपूर्व रूपमा विदेशी हस्तक्षेप बढ्यो। आन्तरिक र बाह्य हस्तक्षेपका बारेमा राजनीतिशास्त्र वा अन्तर्राष्ट्रिय कानुन स्पष्ट छन्। ती सबै खालका हस्तक्षेप भइरहेकै छ। एक राज्यद्वारा अर्काे राज्यका द्वन्द्वकारी शक्तिहरूबीचको हस्तक्षेप होस् वा सरकारलाई टिकाउन आन्तरिक शक्तिलाई अवैध रूपले समर्थन गर्ने काम भएकै छ। त्यस्तै, बाह्य हस्तक्षेपका रूपमा नेपालको आन्तरिक मामिलामा गरिने हस्तक्षेप प्रस्ट देखिन्छ।  युद्धभन्दा कम देखिने दाण्डिक (प्युनिटिभ) हस्तक्षेप यहाँ देखिएको छैन, तर कम्युनिस्टहरू त्यो  निम्त्याउन तयार छन्।  
सन् १९५६ को २४ अक्टोबरमा वार्सा सन्धिअनुसार हंगेरी सरकारले सोभियत संघसँग सैनिक सहायता मागेको थियो। अफगानिस्तानमा राष्ट्रपति नजिबुल्लाहको कम्युनिस्ट सरकारले रुसी सेना बोलायो। पोल्यान्ड, चेकोस्लोभाकिया, रुमेनिया, अल्बानिया, पूर्वजर्मनीलगायतका पूर्वी युरोपमा कम्युनिस्टहरूले नै विदेशी सेना बोलाए। यस्तो हस्तक्षेप गराउन कम्युनिस्टहरू कति प्रवीण हुन्छन् भन्ने थुप्रै उदाहरण छन्। सन् १९६२ मा चीन र भारतको युद्धमा भारतको ठूलो क्षति हुँदा भारतीय कम्युनिस्टहरू प्रशन्न भएको कुरा विप्लवदास गुप्ताले आफ्नो 'नक्सालाइट मुभमेन्ट इन इन्डिया' पुस्तकमा लेखेका छन्। २७ जनवरी १९७३ मा भियतनाम युद्ध टुंगिएको घोषणा  गरियो र १३ जुन १९७३ मा पेरिसमा त्यसबारे हस्ताक्षर भयो। अमेरिका र भियतनाम दुवैले पश्चात्ताप गरिसकेका थिए, तर अन्य देशका कम्युनिस्टहरू भियतनामी कम्युनिस्टहरूलाई उकास्दै थिए।  
नेपालमा कम्युनिस्ट विद्रोहका नामा दरिद्र किसान–मजदुरका हजारौं छोरोछोरी मारिए। आज तीन–चार सय जति माओवादी 'एबीसी' क्लासका राणा जस्ता भएका छन्। बाँकी सबै कंगाल नै छन्। सत्तामै नरहेको भए हामीलाई अन्तर्राष्ट्रिय न्यायालयमा लगिसक्थे' भनेर प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अधिव्यक्तिमा सन्त्रासको मनोविज्ञान (फियर साइकोलोजी) मात्र प्रतिध्वनित र प्रतिबिम्बित भएको पाइन्छ।  
एघार वर्षसम्म माओवादीले हजारौंको हत्या गर्‍यो, तर त्यसको औचित्य पुष्टि गर्न सकेन। त्यसैले माओवादीले भन्ने गरेको कथित जनयुद्ध जघन्य अपराध मात्रै हो। कम्युनिस्ट पाखण्ड प्रदर्शन गरिरहेका माओवादीहरू साँच्चैका अपराधी हुन्।  यस्ता अपराधीहरूलाई प्रत्यक्ष र परोक्ष रूपले सघाउने र उकास्नेहरू पनि अपराधका मतियार हुन्। त्यसैले उनीहरूले पश्चात्ताप गर्नै पर्छ। अन्तराष्ट्रिय अदालतले शान्तिविरुद्ध अपराध, युद्ध अपराध र मानवताविरुद्ध अपराधको परिभाषा राम्ररी गरेको छ। युद्धमा प्रत्यक्ष र परोक्ष सामेल नभएका व्यक्तिलाई मार्न पाइँदैन भनिएको छ। कथित जनयुद्धका नाममा माओवादीले हजारौं निर्दाेषलाई मारेका छन्। आज पनि पीडितका परिवारले त्यो बिर्सेका छैनन् र बिर्सने पनि छैनन्। त्यसैले बाबुरामले भनेका होलान्, सत्ताको धुरीमा नचढेको भए अन्तर्राष्ट्रिय कानुनरूपी भालूले खाने थियो। हेरौं, उहाँहरू आफू पक्राउ परिने डरले कहिलेसम्म सत्तामा बसिरहनुहुन्छ? एकदिन त तल झर्नै पर्छ। लाखौं यहुदीको जनबध (जेनोसाइड) जस्तो जघन्य अपराधमा संलग्न हिटलरले आत्महत्या गरे। सद्दाम हुसेनले मृत्युदण्ड पाए। पूर्वयुगोस्लाभियाका तानाशाह मिलोसेभिकको दुर्गति भयो। सन् १९७१ मा पूर्वीपाकिस्तान (बंगलादेश) युद्धमा भारतीय सेनाले लाखौं बालिकालाई बलात्कार गरेको र लाखौं निर्दा]षलाई मारेको भन्दै भारतीयविरुद्ध पाकिस्तानले हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उजुरी गर्‍यो। तर कम्युनिस्ट पाखण्ड सहने बानी परेका नेपाल देशका 'उदार लोकतन्त्रवादी' नेपाली जनता तबसम्म हाँसिरहने छन्, जबसम्म उनीहरूकै छोरी, पत्नी र दिदीबहिनीहरूको बलात्कार हुँदैन।





-- तरुण 




Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis