काठमाडौं, हिमालयन फाइनान्समा सञ्चालक तथा कर्मचारी मिलेर ४६ करोड रुपैयाँ हिनामिना गरेका छन् । आरोपी २६ जनामध्ये २३ जना फरार छन् ।
प्रहरीले सो फाइनान्सका तत्कालीन अध्यक्ष हिमालयनभक्त प्रधानांग, महाप्रबन्धक श्यामकृष्ण श्रेष्ठ तथा ललितपुर शाखाका प्रमुख अनुप प्रधानलाई पक्राउ गरिसकेको छ । १२ जना सञ्चालकसहित कर्मचारी र ऋणी गरी २६ जना मिलेर
फाइनान्सलाई घाटामा लगेको प्रहरी दाबी छ ।
फाइनान्सकी तत्कालीन सिइओ सिसम मल्ल तीन महिनाअघि बालकल्याण समितिको कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् । प्रहरीले खोजी सुरु गरेलगत्तै उनी फरार छिन् ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत पाटन अदालतमा सोमबार बैंकिङ कसुर मुद्दा दायर गरेको हो । तत्कालीन अध्यक्ष प्रधानांगको योजनाअनुसार नियमविपरीत कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।
नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले फाइनान्समा भएको अनियमितता अनुसन्धान गरी तीनजनालाई पक्राउ गरेको हो । पूर्वअध्यक्ष सिसम मल्ल प्रधान र सञ्चालकहरू तीर्थराम वैद्य, मदन खत्री, अग्नि भट्टराई, फणिन्द्र खरेल, ऐश्वरलाल प्रधानांग तथा कर्जा विभागका कर्मचारी उदयचन्द्रलाल मल्ल, रमेशचन्द आचार्य र महेश हुमागाईंविरुद्ध मुद्दा दायर भएको छ । सिआइबीले फाइनान्सका अन्य १४ जना ऋणीविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
फाइनान्सका सञ्चालक र कर्मचारीले थोरै धितोमा धेरै कर्जा प्रवाह गरेका थिए, त्यस्तै कतिपय ग्राहकलाई थाहै नदिई उनीहरूको नाममा ऋण निकाली आफैँले खर्च गरेका थिए । 'कुनै ग्राहकले धितो राखेर पाँच लाख कर्जा लिएका थिए, तर त्यही धितोबाट कागज मिलाई २५ लाख कर्जा लिएको देखाएर २० लाख आफैँले प्रयोग गरेको देखिन्छ,' एक अनुसन्धान अधिकृतले भने ।
कतिपय कर्जा नक्कली कागजपत्रका आधारमा दिइएको समेत प्रहरीले जनाएको छ । सबै अनियमितता अध्यक्ष प्रधानांगकै निर्देशनमा भएको खुलेको छ । उनका कारण फाइनान्स अहिले आर्थिक संकटमा फसिसकेको छ । अध्यक्ष प्रधानांगकै कारण कतिपय निर्दाेष कर्मचारी र ऋणीहरूसमेत फसेका छन् । प्रधानांगलाई गत १९ माघमा प्रहरीले पक्राउ गरेको थियो । उनी चुरेभावर पार्टीका नेतासमेत हुन् । पार्टीबाट मन्त्री भएका बद्री न्यौपानेले प्रधानांगलाई छुटाउने कोसिस गरेका थिए ।नवराज मैनाली/नयाँ पत्रिका