गत फागुनमा जलेश्वरका देवेन्द्रबहादुर सिंहलाई सालाले नयाँदिल्लीबाट दिदीको जन्मदिनमा दुईवटा साडी कुरयिरमार्फत उपहार पठाए। आफ्ना मित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल -टीआईए) कार्गो कार्यालयका प्रमुख भएकाले उपहार सहजै हात लाग्ला भन्ने सोचेका थिए, सिंहले। भइदियो उल्टो।
विमानबाट झर्नासाथै सामान सिंहको हातमा होइन, दलालकहाँ पुग्यो। उसैले विमानस्थलको भन्सार कक्षमा पुर्याएपछि दुईवटा साडीको भन्सार महसुल सात हजार रुपियाँ लाग्ने बतायो। सिंहले सात हजार रुपियाँ तिरेर सामान लिए तर त्यसको रसिद भने पाएनन्। कार्गो प्रमुख रामकुमार राय भन्छन्, "त्यो साडीको मूल्य नै सात हजार रुपियाँ थिएन।"
नेपाललाई विदेशसँग जोड्ने एक मात्र हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अनियमितताको यो सानो नमुना मात्रै हो। राज्य संयन्त्रको संगठित संरक्षणमै विमानस्थलमा यात्रुले अनावश्यक दुःख पाउने र घूस ख्वाउने प्रवृत्ति मौलाएको छ। विमानस्थल यात्रु ठग्ने र कर्मचारी-दलाल-सुरक्षाकर्मीबीचको 'सेटिङ्'मार्फत पैसा कमाउने सदाबहार अड्डा बन्न पुगेको छ। तर, तीमध्ये अत्यन्त न्यून घटना मात्रै मुस्किलले सार्वजनिक हुन्छन्। अध्यागमन विभागका पूर्वमहानिर्देशक सुधीरकुमार शाह भन्छन्, "घटना सार्वजनिक नहुनु भनेको सबै काम कानुनसम्मत भएर होइन, सेटिङ्मा त्रुटि नभएर हो। विमानस्थलमा जहिल्यै अवैध धन्धा, ठगी चलिरहेकै हुन्छ, त्यहाँ पाइला-पाइलामा ठगी हुन्छ।"
दैनिक सात हजार यात्रु आवतजावत गर्ने टीआईएमा राज्यका डेढ दर्जन निकाय कार्यरत छन्। निजी संस्थासमेत जोड्दा यो संख्या तेब्बर हुन्छ। शाह भन्छन्, "गाउँका मानिस त विमानस्थल छिर्नासाथै अलमलिन्छ, जो कसैले उसलाई ठग्न सक्छ।"
टीआईए क्षेत्र प्रवेशपछि कम्तीमा पनि आधा दर्जन ठाउँमा यात्रुहरू ठगिन्छन्। विमानस्थल प्रहरी, अध्यागमनका कर्मचारी, वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम डेस्क, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर र प्रहरीबाट प्रस्थान कक्षका यात्रुहरू बढी ठगिने गरेका छन्।
चक्रपथमा रहेको विमानस्थल प्रवेशद्वार 'गोल्डेनगेट'देखि धावनमार्गसम्म नेपाल प्रहरीका मात्रै ५६ सुरक्षा पोस्ट छन्। प्रस्थान गर्दा यात्रुको पहिलो जम्काभेट यिनै प्रहरीसँगै हुन्छ। प्रस्थान कक्षमा सामान्य जाँचपछि यात्रुहरू टिकट लिएर एयरलाइन्सको काउन्टरमा जानुपर्छ। रोजगारका लागि विदेश जानेहरू भने श्रम स्वीकृति पत्रमा छाप लगाउन श्रम डेस्क पुग्छन्, जहाँ कर्मचारीहरू विभिन्न बहानामा पैसा असुल्छन् । जस्तो : साउदी अरबमा काम गररिहेका भोजपुरका गोपाल दाहाललाई तीन महिनाअघि श्रम डेस्कका कर्मचारीले श्रम स्वीकृति पत्र नक्कली हुन सक्ने भन्दै अड्काउन खोजे। फेसबुकमा भेटिएका उनले भने, "जहाज छुट्न ४५ मिनेटजति बाँकी थियो। लफडा गरे रोकिदेला भन्ने डरले एक हजार रुपियाँ दिएर उम्किएँ।" दाहालको भनाइबाट थाहा हुन्छ, विमानस्थलमा 'इमरजेन्सी खर्च' अनिवार्य हुन्छ।
त्यसपछि एयरलाइन्सको काउन्टरमा जान्छन्, यात्रुहरू। एयरलाइन्स कर्मचारीले समेत यात्रु हेरेर पैसा झार्छन्। धेरै जना त सामान बढी भएको नाममा ठगिन्छन्। त्यहाँको काम सकाएपछि यात्रु विद्युतीय भर्याङ चढेर अध्यागमन कार्यालय रहेको माथिल्लो तलामा जान पाउँछन् तर भर्याङ चढ्ने बेला टिकट र पासपोर्टको पुनः जाँच हुन्छ। कुनै खोट भेटिए यहाँ पनि प्रहरीले रकम नलिई छाड्दैनन्।
त्यहाँबाट पार भएपछि राहदानीमा प्रस्थानको छाप लगाउन अध्यागमनको लाममा बस्नुपर्छ। अध्यागमन कार्यालय जति महत्त्वपूर्ण छ, उति नै बदनाम पनि। त्यहाँ खुलेआम यात्रुसँग घूस मागिन्छ। "यात्रुलाई सबैभन्दा बढी दुःख दिएर पैसा कमाउने ठाउँ यही हो," विमानस्थलस्थित नागरकि उड्डयन प्राधिकरणका अर्का एक उच्च अधिकारी भन्छन्।
पेपर भिसा नक्कली भएको, पासपोर्टमा फोटो नमिलेको जस्ता कारण देखाएर अध्यागमन कर्मचारीले यात्रुहरूबाट पैसा असुल्ने गरेका छन्। खाडी मुलुकमा काम गर्नेहरूलाई त्यहाँको सरकारले पेपर भिसा पठाएको हुन्छ। ती देशको दूतावास नेपालमा नभएकाले पेपर भिसाको प्रामाणिकता जाँच्ने संयन्त्र नहुनु स्वाभाविकै हो। तर, अध्यागमनका कर्मचारीहरूले त्यसैलाई कमाउने माध्यम बनाएका छन्। पूर्वमहानिर्देशक शाह भन्छन्, "यहाँ कानुनी छिद्र पहिल्याएर ठगी हुन्छ।" उदाहरणका लागि १३ वर्षदेखि साउदी अरबमा काम गर्दै आएका सुनसरी, तरहराका शंकर बस्नेतको प्रसंग पर्याप्त छ। दुई महिनाअघि पेपर भिसा लिएर नेपाल आएका उनी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पत्रसहित साउदी उड्न विमानस्थल पुगे। तर, अध्यागमन कर्मचारीहरूले पेपर भिसा नक्कली भन्दै बखेडा झिकिहाले। "एक कर्मचारीले खुसुक्क कानमा आएर बेकारमा किन लफडा गर्नुहुन्छ, थोरै फालिदिएर बुजो लगाइदिए भइहाल्छ नि ! नभए धेरै दुःख पाइन्छ," बस्नेतले साउदीबाट ती कर्मचारीको भनाइ उद्धृत गर्दै फोनमा सुनाए।
०६८ असोजमा सोलुखुम्बुकी डिचेन डोल्मा शेर्पासँग विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले राहदानी नक्कली भएको बखेडा झिकेर एक लाख रुपियाँ घूस मागे। जहाज उड्ने समयमा अत्तो थापेपछि उनले आँसु झार्दै सबै कागजात देखाइन् तर अध्यागमनका कर्मचारी पूर्णबहादुर बस्नेतले छाडेनन्। त्यसपछि उनी घर फर्किइन्। भोलिपल्ट बस्नेतले सहयोग गर्छु भन्दै पैसा लिएर आउन भने। डोल्मा सद्दे कागजात हुँदाहुँदै बस्नेतलाई एक लाख रुपियाँ घूस बुझाएर अमेरिका पुगिन्। तर, उनले गोप्य क्यामेरामार्फत भिडियो खिचेकी थिइन्, जो अमेरिका पुगेपछि सार्वजनिक गरििदइन्। त्यसपछि बस्नेतसहित तीन कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धानको फन्दामा परे।
विदेशबाट फर्किएका यात्रुहरूसमेत उत्तिकै ठगिन्छन्, टीआईएमा। अध्यागमन, कार्गो र भन्सार कार्यालय यात्रु ठगिने नामुद स्थान हुन्। वायुयानबाट ओर्लिनासाथै यात्रु अध्यागमनको लाममा बस्नुपर्छ, राहदानीमा आगमनको छाप लगाउन। ओभर स्टे, अन अराइभल भिसामा छाप नलगाएको जस्ता बेतुकका कारण देखाउँदै अध्यागमन कर्मचारीले कानुनी कारबाही गर्नुपर्ने धम्की दिन्छन्। तर, त्यसको पछाडि उनीहरूको घूस खाने नियत लुकेको हुन्छ।
२४ वैशाखको राती ११ बजे टीआईएको आगमन कक्षबाट सप्तरीका रभिmन यादव, २६, रातोपिरो अनुहार लगाएर लामोलामो श्वास फेर्दै निस्किए। बाहिर पर्खिरहेका आफन्तलाई उनी भनिरहेका थिए, "बल्लबल्ल छाड्यो। त्यति नबुझाएको भए झन्डै एक महिना जेलमा बस्नुपथ्र्यो।"
भिसाको म्याद सकिएर साउदीमा काम गररिहेका उनलाई त्यहाँको सरकारले फर्काइदिएको रहेछ। नेपाल ओर्लिएपछि ड्युटीमा बसेका अध्यागमन कर्मचारीले विदेशमा गैरकानुनी रूपमा बसेको भन्दै कारबाहीको भागी हुनुपर्ने भनेर थर्काए। "मैले आफूसँग यति मात्रै पैसा छ भनेर १ हजार ८ सय रियाल (करबि ४१ हजार रुपियाँ) दिएपछि भने छाडिदिए," यादव सुनाउँछन्। त्यसबाहेक लोडर, कार्गो र वायुसेवाका कर्मचारीहरूले यात्रुका सामान गायब बनाइदिने घटना त सामान्यजस्तै हो।
ठगीको सञ्जाल अध्यागमन कार्यालयमा सीमित छैन, विभागसम्मै गाँसिन्छ। विमानस्थल अध्यागमनबाट पक्राउ परेकाहरूलाई विभागमा ल्याएर मुद्दा चलाइन्छ। तर, अभियुक्तहरू यहाँ धरौटीका साथै घूस खुवाएर सहजै उम्कन्छन्। जस्तो : इराकबाट फर्किएका संखुवासभाका टेम्बा शेर्पा १८ पुसमा विमानस्थलबाटै पक्राउ परे। राहदानी जालसाजी गरेको अभियोगमा पक्राउ परेका उनलाई अध्यागमन विभागमा मुद्दा चलाउन पठाइयो। २५ दिन विभागले राखेपछि उसलाई मुद्दा चलाउने अधिकार हुन्छ। तर, शेर्पा १५ हजार रुपियाँ घूस खुवाएर पहिल्यै हिरासतमुक्त भए। शेर्पा भन्छन्, "अदालतमा मुद्दा चाँडो चलाउनसमेत कर्मचारीले पैसा लिँदा रहेछन्।" तर, केही कर्मचारी प्रलोभनमा पर्नसक्ने विभागका प्रवक्ता तथा निर्देशक कमलराज भट्टराई बताउँछन्।
आगमनतर्फ यात्रु ठगिने अर्को ठाउँ हो, भन्सार। अध्यागमनमा कागजात जाँच गराएपछि यात्रुहरू भन्सारमा सामान 'क्लियरेन्स' गर्न पुग्नुपर्छ। अचम्म ! जहाजबाट आएको सामान भन्सारमा दलालको हातमा पुगिसकेको हुन्छ। दुई महिनाअघि जिल्ला वन कार्यालय काभ्रेका प्रमुख वन अधिकृत गणेश राय लन्डनबाट फर्किएका छोरीज्वाइँ संगीता राय र विक्रम भण्डारीलाई लिन विमानस्थल पुगे। अध्यागमनमा कागजात जाँचपछि भन्सारमा सामान लिन जाँदा उनीहरूका दुईवटा सुटकेस दलालको पासोमा परसिकेका रहेछन्। कार्गो प्रमुखले सहयोग गरेपछि मात्रै सामान हात लागेको उनी बताउँछन्।
विदेशबाट आएका सामान भन्सार एजेन्टले विमानस्थलको कार्गोसम्म गएर भन्सार काउन्टरमा ल्याउँछन्, जहाँबाट यात्रुले कर तिरेर सामान लैजानुपर्छ। भन्सार एजेन्टलाई कार्गोमा सामान लिन जाने पास उपलब्ध गराइएको हुन्छ। विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ्को अधिकार नेपाल एयरलाइन्स (एनए)सँग मात्रै भएकाले जुनसुकै वायुसेवाबाट आएको सामान नेपाल एयरलाइन्सले 'डेलिभरी अर्डर' (डीओ) दिन्छ। डीओमा एनएको एकाधिकार भएकाले ड्युटीमा खटिएका उसका कर्मचारीले एउटै सामानको डीओ बढी कमिसन दिनेलाई सुम्पने गरेको एक भन्सार एजेन्ट बताउँछन्।
यसो गर्दा एजेन्टहरूले सामान लिन आउने यात्रुसँग लाग्ने दस्तुरभन्दा पाँच हजार रुपियाँ बढी लिन्छन्, जसको रसिद यात्रुले पाउँदैनन्। कार्गोसम्म जाने पास भन्सार एजेन्टको परचियपत्र देखाएपछि पाइन्छ। परचियपत्र र पास जथाभावी बाँडेकाले समस्या देखिएको कार्गो प्रमुख र राय बताउँछन्। भन्छन्, "भन्सार एजेन्ट कति छन् र पास कति बाँडियो भन्ने जानकारी मलाई नै छैन।"
विमानस्थल राज्य संयन्त्रको संगठित सञ्जालमार्फत यात्रुहरू ठगेर कमाउने अखडा बन्दै गएको छ। कानुनी दायरामा ल्याउनुपर्नेहरूलाई घूस खाएर बीचैबाट छुटाइदिने, सेटिङ्मार्फत विभिन्न देशमा भिजिट भिसामा मानव तस्करीका घटना हुँदै आएका छन्। ०६८ सालमा बनेको वैदेशिक रोजगार व्यवस्थापन सुधार सुझाव कार्यदलका संयोजक गणेश गुरुङको भनाइमा विमानस्थलमा रहेका विभिन्न निकायका कर्मचारीहरूबीचको सञ्जाल कति बलियो छ भने त्यो जुनसुकै सरकार आए पनि तोडिँदैन। प्रधानमन्त्री कार्यालयको निर्देशनमा गठन भएको समितिले विमानस्थलको अवस्थाबारे अध्ययन गर्न खोज्दा विमानस्थल प्रवेशै गर्न नदिइएको गुरुङ सुनाउँछन्।
जबसम्म रकम बुझाएर विमानस्थलमा पोस्टिङ् हुने प्रथा रोकिँदैन, तबसम्म भ्रष्टाचार कम नहुने उनको भनाइ छ। भन्छन्, "विमानस्थल भ्रष्टाचारको यस्तो स्थायी हब हो, जहाँ २४ सै घन्टा, ३ सय ६५ दिन नै ठगी, भ्रष्टाचार भइरहेको हुन्छ।"
-साभार नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !