एक करोड रुपियाँका नक्कली भारतीय नोट बोकेर २४ वैशाखमा कतार एयरवेजबाट कराँची-दोहा हुँदै काठमाडौँ ओर्लेका पाकिस्तानी नागरकि फारुख शेख मोहम्मद मात्र होइन, नेपाली नागरकि नरुल्लाह मिया पनि नेपाल प्रहरीको फन्दामा परे। चार वर्षयता बरामद नक्कली भारतीय रुपियाँमध्ये दोस्रो धेरै रकमको नक्कली नोट बरामद भएको घटना पनि थियो यो। पक्राउ परेपछि लिइएको बयानबाट प्रहरी के निष्कर्षमा पुगेको छ भने नरुल्लाह नेपालमा रहेर नक्कली नोटको कारोबार गर्नेमध्येका अगुवा हुन्।
नरुल्लाह पक्राउसँगै उताबाट पठाइने रकम लिने नेपाली प्रतिनिधि अब यहाँ बाँकी छैनन् र नक्कली नोटको कारोबार अब बन्द हुन्छ भनेर चुप लागेर बस्ने पक्षमा प्रहरी छैन। किनभने, एउटा एजेन्ट पक्राउ पर्नासाथ कारोबारीहरूले अर्को एजेन्ट खडा गर्दै आएका छन्। प्रहरी प्रवक्ता डीआईजी केशव अधिकारी भन्छन्, "कारोबारीहरूले एउटा पक्राउ पर्नासाथ अर्को व्यक्तिसँग सम्पर्क बनाएर नक्कली नोट पठाउने गरेका छन्। त्यसैले चनाखो भएर बस्नुपर्ने स्थिति छ।"
तीन महिनाअघि पाकिस्तानी नागरिक लियाकत अली र सफाकत अलीले ल्याएको पाँच सय र एक हजार रुपियाँ दरका ४८ लाख ७१ हजार नक्कली भारुसहित २१ फागुनमा वीरगन्जबाट स्थानीय हुसेन अन्सारी पक्राउ परेका थिए। अन्सारीको पक्राउपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरू औधी खुसी थिए, अहिलेजस्तै। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूलाई लागेको थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिने नक्कली नोट लिएर भारततर्फ लैजाने गिरोहका प्रमुख अन्सारी पक्राउ परेकाले नक्कली नोट नेपाल भित्रिने काम केही महिनाका लागि रोकिएला। तर, घटनाक्रमले त्यसो भन्दैन। उक्त घटनाको दुई महिना बित्दा नबित्दै ठूलो परिमाणमा नक्कली भारु नोट र त्यसका कारोबारी समातिए।
नछिचोलिएको जालो
वीरगन्जमा पक्राउ परेका लियाकत र सफाकतले नक्कली नोट ल्याएको त्रिभुवन विमानस्थल प्रहरीलाई पहिल्यै थाहा थियो। तर, प्रहरीले उनीहरूलाई काठमाडौँमै पक्राउ गरेन। कारण थियो, नेपालमा बसेर कसले नक्कली मुद्राको कारोबार गर्छ भन्ने पत्ता लगाउनु। त्यसैले सादा पोसाकमा प्रहरी उनीहरूलाई पछ्याउँदै वीरगन्जसम्म पुग्यो, ताकि नक्कली नोटको नेपालस्थित मुख्य कारोबारी पक्रन सकियोस्। नभन्दै तीनै जना पक्राउ परे। मुख्य कारोबारी मानिएका अन्सारी पक्राउ परे पनि नक्कली मुद्रा नेपाल आउने क्रम रोकिएन।
नेपाल हुँदै नक्कली भारतीय नोट कहिलेदेखि आउन थाल्यो भन्ने बारे यकिन जानकारी छैन। भारतीय सञ्चार माध्यमहरूले १५ असार ०५५ मा हत्या गरिएका प्रतिनिधिसभा सदस्य मिर्जा दिलसाद बेगले 'अन्डरवल्र्ड डन' दाउद इब्राहिमको प्रतिनिधि बनेर नक्कली नोटको कारोबार गर्ने आरोप लगाउँथे। भूमिगत प्रतिस्पर्धी समूहद्वारा बेगको हत्यापछि यस्तो आरोप सञ्चार उद्यमी जमिम शाहमाथि लाग्यो र उनको पनि हत्या भयो। जमिमपछि मजिद मनिहार (नेपालगन्ज), लाल मोहम्मद -सर्लाही) र पूर्वमन्त्री मिया अन्सारीका छोरा युनुस अन्सारी दृश्यमा देखिए।
आरोप लागेकामध्ये युनुस त नक्कली नोटसहित रंगेहात पक्राउ परे भने मनिहार मारएि। मुख्य कारोबारी मानिएका बाराका इल्ताफ हुसैन अन्सारीलगायत दर्जन अभियुक्तलाई प्रहरीले पक्राउ गरसिकेको छ। तर पनि कारोबारीहरूले हार मानेका छैनन्। नक्कली नोटमार्फत अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्न सकिने भएकाले यो कारोबारमा भारतको 'पुस्तैनी शत्रु' पाकिस्तानको खुफिया एजेन्सी 'आईएसआई' र दाउद इब्राहिमको हात रहेको आरोप भारतीय अधिकारीहरूले लगाउँदै आएका छन्। जस्तो : २९ फागुन ०६८ मा भारतको संसद्मा लिखित सम्बोधन गर्दै भारतीय गृहराज्यमन्त्री कुमार रनजितप्रताप नारायण सिंहले नेपाल हुँदै नक्कली भारतीय नोट आउनुमा पाकिस्तानको हात रहेको बताएका थिए।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार एक हजारको नक्कली भारतीय नोट काठमाडौँमा तीन सय रुपियाँमा खरदिबिक्री हुन्छ। तर, भारतसँग सीमा जोडिएका वीरगन्जलगायतका बजारसम्म पुग्दा यसको मूल्य बढेर पाँच सय रुपियाँसम्म पुगिसकेको हुन्छ। बाँकी पाँच सय रुपियाँ नाफा त्यो व्यक्तिले पाउँछ, जसले नक्कली नोटलाई भारतीय बजारसम्म पुर्याउन सक्छ। तर, प्रहरीले यसरी बिक्री गरिएको नक्कली नोटबाट प्राप्त हुने सक्कली रकम अन्तर्राष्ट्रिय गिरोहहरूको हातसम्म कसरी पुग्छ भन्ने तथ्य अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
मुद्रा कारोबारीले पाकिस्तानबाट भारतसम्म नक्कली नोट पुर्याउन तीनदेखि पाँच तहसम्मको जालो बनाएको प्रहरीको विश्लेषण छ। त्यसमध्ये सबैभन्दा पहिलो तहमा नक्कली नोट उत्पादनकर्ता हुन्छ। दोस्रो तहमा ती भरिया हुन्छन्, जो रकम बोकेर हवाई मार्ग हुँदै नेपाल आउँछन्। नोट नेपाल आइपुगेपछि खरदि गर्ने व्यक्ति तेस्रो तहको कारोबारी हुन्छ। नेपालसम्म रकम ल्याउने दोस्राे तहका कारोबारीका रूपमा मूलतः सामान्य वा निम्न आर्थिक अवस्था भएका व्यक्तिलाई प्रयोग गरएिको हुन्छ। उनीहरू निश्चित पारश्रिमिक लिई नक्कली नोट बोकेर आएका हुन्छन्। २ वैशाखमा ४७ लाख रुपियाँ लिएर काठमाडौँ आएकी जुलेखा बानुलाई ५० हजार रुपियाँ दिने प्रलोभनमा छोरासहित रकम बोकाएर काठमाडौँ पठाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
थोरै रकमको लोभमा लाखौँ रुपियाँ बोकेर आउने यस्ता भरियालाई प्रहरीले पक्राउ त गर्छ। तर, उताबाट पैसा पठाउनेले नक्कली नाम प्रयोग गर्ने हुनाले पठाउने व्यक्तिको सही पहिचान हुन सक्दैन। "कतिसम्म भने, नेपाल पुगेर सामान कसलाई दिने हो, त्यो पनि भरियालाई थाहा हुँदैन," केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारी भन्छन्। नक्कली नोट ल्याउनेलाई पक्रेर लिन आउनेलाई कुर्दा चौथो व्यक्तिलाई पक्राउ गर्न सकिन्छ। ती प्रहरी अधिकारी भन्छन्, "तर, चौथो व्यक्तिलाई आफूसँग रहेको जाली नोट लिन आउने व्यक्ति थाहा नहुने हुँदा त्यसपछिको पाँचौँ तहमा पुग्नै सक्दैनौँ।"
पछिल्ला घटनालाई हेर्ने हो भने पनि प्रहरी तेस्रो र चौथो व्यक्ति (तह)पछि पाँचौँमा पुग्न नसकेको देखिन्छ। जस्तो : २४ वैशाखकै घटनालाई लिऔँ, शेखलाई लिन गएकाले बागबजार, काठमाडौँका नरुल्लाह मिया पक्राउ परे। तर, आफूलाई कसले सम्पर्क गर्थो र त्यो रकम लैजान्थ्यो भन्ने नरुल्लाहलाई पनि थाहा छैन। त्यस्तै, २ वैशाखमा समातिएकी बानुलाई उतैबाट शंकरसिंह धामीको सम्पर्क नम्बर दिइएकाले उनी पक्राउ परे। तर, आफूपछि रकम पाउने व्यक्तिबारे धामीलाई पनि थाहा नभएकाले पाँचौँ र छैटौँ तहका कारोबारीसम्म प्रहरी पुग्न सकेको छैन।
परिवर्तित मार्ग
०५६ अघिसम्म नक्कली भारतीय नोट धेरैजसो पाकिस्तान इन्टरनेसनल एयरलाइन्स -पीआईए)बाट आउने यात्रुहरूले ल्याउँथे। तर, ०५६ मा काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेलगत्तै मार्ग बदलिन थाल्यो। भारतले नेपाल आउने पीआईएको जहाजलाई आफ्नो आकाशमा उड्ने अनुमति नदिएकाले मार्ग बदलिएको थियो। कारोबारीहरूले त्यसपछि थाइल्यान्ड, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्सलगायतका मुलुकको प्रयोग गर्न थाले। यो क्रम अहिले पनि जारी छ।
नेपालमा पाकिस्तानबाट आउने जहाजका यात्रुमाथि कडाइ हुनासाथ कारोबारीहरूले अर्कै मार्गबाट रकम पठाउने गर्छन्। उदाहरणका लागि २ वैशाखमा छोरा इशाका साथ पीआईएबाट काठमाडौँ आएकी बानु पक्राउ पर्नासाथ कारोबारीहरूले अर्को खेप पठाउन नयाँ जुक्ति निकालिहाले। त्यसैले २४ चैतमा पक्राउ परेका शेखका लागि कराँची हुँदै दोहा पुगेर नेपाल र्फकने कतार एयरवेजको टिकटको बन्दोबस्त गरियो। प्रहरीले पीआईएका यात्रुहरूमा ध्यान केन्दि्रत गरेकाले दोहा हुँदै जाने मार्ग उपयोग गरिएको थियो। त्यसै दिन दोहा हुँदै काठमाडौँ झरे पनि शेख पनि बच्न सकेनन्, पक्राउ परे। विमानस्थल प्रहरी प्रमुख विज्ञानराज शर्मा भन्छन्, "पहिल्यै दोहाबाट सूचना आइसकेको थियो, त्यसैले हामी उनीसहित उनलाई लिन गएका नरुल्लाहलाई पनि पक्रन सफल भयौँ।"
जब जब पाकिस्तानबाट आउने शंकास्पद भरियामाथि काठमाडौँमा प्रहरीले निगरानी बढाउन थाल्छ, कारोबारीहरूले यसअघि ल्याउने मार्ग मात्र होइन, पाकिस्तानबाहेक अन्य मुलुकका भरियालाई नक्कली नोटको खेप बोकाएर पठाउने गरेका छन्। ६ पुस ०६८ मा यस्तै भयो। फिलिपिनो नागरकि डेनिस फ्लोरेस सान्चेजलाई १ करोड २२ लाख नक्कली भारु नोटसहित काठमाडौँ पठाइयो। सुटकेसमा बनाइएको फल्स बटममा लुकाएर ल्याई निर्बाध सोल्टी होटलसम्म पुगेका सान्चेजलाई प्रहरीले भारतीय नागरकि नसिम आलम र नेपाली डिगबहादुर नेपालीसँगै पक्राउ गरेको थियो। सान्चेजले ल्याएको नक्कली रुपियाँ लिन आलम र नेपाली त्यहाँ पुगेका थिए। लगत्तै २० फागुन ०६८ मा भियतनामी नागरकि फाम भान दिन्ह ८९ लाख १० हजार ५ सय नक्कली भारुसहित विमानस्थलबाट पक्राउ परे। वास्तवमा यी दुवै घटनाअघि प्रहरीले नक्कली नोटसहित पाकिस्तानी भरियालाई पक्राउ गरेको थियो। त्यही भएर कारोबारीहरूले नयाँ तरकिा अपनाएका थिए।
गत वर्ष झन्डै १६ खर्ब ९० अर्बभन्दा बढी नक्कली मुद्रा भारतीय आर्थिक प्रणालीमा मिसिएको आँकडा भारतको केन्द्रीय रजिर्ब बैंकले सार्वजनिक गरेको थियो।
भारतले ०५१ देखि नै नेपाल सरकारलाई पाँच सय र एक हजार दरका सक्कली नोट पनि प्रचलनमा नल्याउन आग्रह गरेको थियो। त्यही अनुरूप नेपाल सरकारले ती दरका भारतीय नोटको कारोबारलाई अवैध मानेको छ। तर, नक्कली नोट भने भित्रिरहेको छ, त्यो पनि लाख र करोडका दरमा। चार वर्षयता मात्रै ११ करोड भारुभन्दा बढीको नक्कली नोट नेपालमा बरामद हुनुले यो अवैध कारोबारको ठूलो आयतनलाई पुष्टि गर्छ।
जो मारिए, जो बचे
पूर्वमन्त्री सलिममिया अन्सारीका पुत्र युनुसलाई २६ फागुन ०६७ मा नख्खु जेलभित्रै भारतीय नागरिक मनमित सिंह भाटिया उर्फ जसजित सिंहले गोली हानी हत्या प्रयास गरे। ६ राउन्ड गोली दागिए पनि अन्सारी बच्न सफल भए। २९ पुस ०६६ मा पाकिस्तानी नागरिकहरू मोहम्मद सज्जाद र मोहम्मद इकवालबाट २५ लाख ४४ हजार नक्कली नोट लिँदै गर्दा पक्राउ गरिएका युनुसले जेल परेपछि पनि बाबर उपनाम प्रयोग गरेर नक्कली नोटको कारोबार जारी राखेको तथ्य नेपाल प्रहरीको एउटा अनुसन्धानबाट पत्ता लागेको थियो।
भारतमा पक्राउ परेका आफ्ना छोरालाई रिहा गराइदिने भनी लगिएका मजिद मनिहार १९ असोज ०६६ मा नेपालगन्ज-२ स्थित लालीगुराँस होटलमा मृत भेटिएका थिए। उनलाई वागेश्वरी टोलस्थित घरबाट विजेन्द्र, अशोक र मनमित सिंह भाटिया (मनमित सिंह) नामका भारतीय युवाले लिएर गएका थिए। नेपालगन्जको वागेश्वरी टोल निवासी मनिहारमाथि लामो समयदेखि नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप थियो।
२० असार ०६४ मा हत्या गरिएका बलराम पटवा बंगलादेशबाट नेपालमा नक्कली भारतीय नोट ल्याउने गिरोहमा संलग्न थिए। बंगलादेशबाट नेपाल ल्याउन लागिएको १ करोड ४० लाख रुपियाँ जाली नोटको खेप ढाका विमानस्थलमा प्रहरी कब्जामा पुग्नुमा उनको हात रहेको आरोप लगाएका उनकै सहकर्मीहरू लाल मोहम्मद, उपेन्द्र चौधरीलगायतले उनको हत्या गरेका थिए। पटवा समूहमै रहेका मोहम्मद हाल सर्लाही जेलमा छन् भने चौधरी फरार छन्।
साभार : नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !