CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अन्डरवर्ल्ड डन' दाउद इब्राहिम नेटवर्कमा यो को नेपाली

अन्डरवर्ल्ड डन' दाउद इब्राहिम नेटवर्कमा यो को नेपाली

दाउदको नेटवर्कमा नेपालीकाठमाडौं - जाली भारतीय रुपैयाँको कारोबारका आरोपी तीन नेपाली भारतीय 'अन्डरवर्ल्ड डन' दाउद इब्राहिम समूहको प्रत्यक्ष सम्पर्कमा काम गरिरहेको खुलासा भएको छ। आतंकवाद र जाली रुपैयाँ अनुसन्धानमा सक्रिय प्रहरीको विशेष ब्युरोले नक्कली भारुसहित समातिएका मोहम्मद नुरु उल्लाह र रविराज सिंह तथा फरार आरोपी सुनिलजंग रायमाझी दाउद समूहको प्रत्यक्ष सम्पर्कमा रहेको प्रमाण फेला पारेको हो।
वैशाख २४ मा त्रिभुवन विमानस्थलबाट एक करोड नक्कली भारुसहित पाकिस्तानी नागरिक फारुक शेष मोहम्मद र उनलाई लिन विमानस्थल पुगेका काठमाडौं बागबजारका नरु उल्लाह पक्राउ परेका थिए। रायमाझी अझै फरार छन्।
जाली भारु कारोबारीको जालोबारे अनुसन्धानरत प्रहरीस्रोतका अनुसार एक महिना लामो अनुसन्धानबाट यी तीनैजनाको सम्पर्क जालो खोतल्दा नरुउल्लाह, सिंह र रायमाझी अफताब बट्कीको प्रत्यक्ष सम्पर्कमा रहेको तथ्य भेटिएको हो। बट्की दाउदका मुख्य चार सहयोगी (छोटा सकिल, इकवाल मिर्ची, सुनिल दुबईपछि) मध्ये पर्छन्। दुबई मुख्य आधार भए पनि पछिल्लो समय अफताब पाकिस्तानको कराँचीलाई आधार बनाएर सक्रिय रहेको भारतीय सुरक्षा निकायले नेपाली सुरक्षा निकायलाई पठाएको जानकारीमा उल्लेख छ।
सुरक्षास्रोतका अनुसार मुम्बई स्थायी ठेगाना भएका उनी अहिले दाउदसँगै कराँचीमा रहेको भारत सरकारले औपचारिक रुपमै दाबी गर्दै आएको छ। सुल्तान उपनामका बट्की भारतीय गृहमन्त्रालयले जारी गरेको पाकिस्तानमा रहेका ५० आतंकवादीको सूचीमा २५औं नम्बरमा हुन्।
भारतको आग्रहमा इन्टरपोलले उनको नाममा जारी गरेको रेडकर्नर नोटिसमा उनी 'जाली भारुको कारोबार र आपराधिक समूहका सदस्य' उल्लेख छ।
स्रोतका अनुसार नरुउल्लाह, रायमाझी र सिंहले बंगलादेश र पाकिस्तानमा बारम्बार सम्पर्क राखेको नम्बर खुलेपछि विशेष ब्युरोका अधिकारीले उनीहरुलाई नै परिचालन गरेर नम्बर प्रयोगकर्ता पहिल्याएको थियो।
'तीनैजनासँग नियमित सम्पर्कमा रहेको एक पाकिस्तानी नम्बरको इन्ट्रोगेसन गर्दा सो नम्बर अफताबको रहेको पुष्टि भयो,' विश्वस्त स्रोतले नागरिकसँग भन्यो, 'अफताबले यी तीनै जनाको नामनै लिएर सम्बोधन गरेकाले राम्रो हेलमेल रहेको पुष्टि भयो।' अनुसन्धान जारी रहेकाले स्रोतले सम्पर्क नम्बर भने सार्वजनिक गर्न चाहेन।
यसअघि नेपालमा फेला पर्ने जाली भारु कारोबारीको पाकिस्तानी सम्पर्क जालो खोतल्दा सरजी, हाजी तलाद, सब्बिरलगायत नाम खुल्ने गरेको थियो। सुरक्षास्रोतका अनुसार तलाद अफताबका मुख्य सहयोगी हुन्। सब्बिर र सरजीको पहिचान भने अझै खुल्न सकेको छैन।
सुरक्षास्रोतका अनुसार नुरुउल्लाह दाउद समूहका पुराना र विश्वासिला सदस्य हुन्। नुरु उल्लाहको पुरानो सम्पर्कका आधारमा सुनिल र रवि सिंहसमेत सहजै दाउद समूहको सञ्जालमा पुगेका थिए। सुरुदेखि नै सुनतस्करी हुँदै जाली भारुको कारोबारमा सक्रिय नुरु उल्लाह लामो समय दुबई बसेर नेपाल फर्किएका थिए।
विमानस्थलमा पक्राउ परेलगत्तै उनले विशेष ब्युरोलाई दिएको प्रारम्भिक बयानमा दुबई जाने क्रममा हाजी तलादसँग भेट भएको र उनैले जाली भारुको कारोबार प्रस्ताव गरेको बताएका थिए।
कुनै समय जमिम साह प्रमुख रहेको च्यानल नेपालमा काम गरेका उनी २०६४ माघ २४ गते लाजिम्पाटमा जमिम मारिएपछि केही समय हराएका थिए। प्रारम्भमा आर्थिक रुपमा सम्पन्न नरुको अहिले आर्थिक अवस्था ठीटलाग्दो रहेको एक प्रहरी अधिकारीले बताए।
उनको घर पुग्दा बिरामी श्रीमतीको उपचारसमेत हुन नसकेको अवस्था देखेका ती सुरक्षा अधिकारीले भने, 'यसबीच उनको धेरै पैसा अन्तै फसेछ क्यारे, आर्थिक अवस्था खस्किएछ।'
अनुसन्धानको नेतृत्व गरिरहेको विशेष ब्युरोका कुनै पनि अधिकारीले अनुसन्धान प्रक्रियाबारे औपचारिक जानकारी दिन चाहेनन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी चक्रबहादुर सिंह जाली भारुको कारोबार संगठित अपराध भएकाले अनुसन्धान अझै जारी रहेको बताउँछन्। 'खुलेका केही कारोबारी फरार छन्,' उनले नागरिकसँग भने 'उनीहरुको खोजी जारी छ।'
मुख्य कारोबारी भारतीय
पाकिस्तान, दुबई हुँदै नेपाल भित्रिने जाली भारुलाई भारतसम्म पुर्याबउने गिरोहको मुख्य कारोबारी भारतीय नागरिक नै रहेको तथ्यसमेत खुलेको छ। अनुसन्धारतस्रोतका अनुसार परिस्थितिअनुरुप नेपाल–भारत दुवैतिर बस्दै आएका इस्लाम उद्दिन उक्त समूहका मुख्य कारोबारी रहेको तथ्य फेला परेको छ।
स्रोतका अनुसार रायमाझी र सिंह रक्तचन्दनको तस्करी हुँदै जाली भारु कारोबारमा छिरेका हुन्। नेपालमा सक्रिय जाली भारु कारोबारी एकपछि अर्को गर्दै पक्राउ पर्ने र मारिने गरेपछि नयाँ समूह निर्माणको खोजीमा सक्रिय बट्कीले नै नरु उल्लाहमार्फत उद्दिनसहितको नयाँ समूह बनाएको अनुसन्धानस्रोतको दाबी छ।
यसबीच, जाली भारु कारोबारमा सक्रिय युनुस अन्सारी र उनका मुख्य सहयोगी पक्राउ परेर कारागार पुगिसकेका छन्। जाली भारुमा जोडिएका मजिद मनिहार, सौकत बेगलगायतको हत्या भइसकेको छ।
स्रोतका अनुसार नेपालमा पटक–पटक जाली भारु पक्राउ परेपछि पाकिस्तानमा सक्रिय कारोबारीले जाली भारुको मूल्य घटाएका थिए। स्रोतका अनुसार एक वर्षअगाडिसम्म ४० लाख सक्कलीबराबर एक करोड नक्कली दर भए पनि अहिले घटेर २५ लाख सक्कलीबराबर एक करोड नक्कली आउँछ।
'२५ लाख सक्कली भारु बराबर एक करोड नक्कली भारु दिए पनि उनीहरुले भुक्तानी भने पहिल्यै लिन्छन्,' अनुसन्धानरतस्रोतले भन्यो, 'नेपालसम्म आइपुगेपछि भाउ ४० लाख पुग्छ।'
स्रोतका अनुसार पक्राउ क्रम बढेपछि पाकिस्तानमा सक्रिय समूहले सहयोगी खोजेर नेपाल पठाइदिए पनि पक्राउ परे रकम फिर्ता नहुने पूर्वसहमति गर्ने गरेका छन्। वैशाखमा भित्रिएको एक करोड पूर्वसर्तअनुसार सिंह र रायमाझीले २५ लाख तिरेर भिœयाएको स्रोतले बतायो।
सो रकम लिन इस्लाम उद्दिन भारतको नयाँ दिल्लीमा रहेको सूचनाका आधारमा नेपालको सुरक्षा निकायले भारतीय सुरक्षा निकायको सहयोग खोजे पनि उनी उम्किए। स्रोतका अनुसार प्रारम्भमा नेपालमा सक्रिय जाली भारु कारोबारीको सम्पर्क पाकिस्तानमा देखिएपछि पछिल्लो समयमा भने बंगलादेशमा समेत बाक्लो सम्पर्क हुने गरेको खुलेको छ।
पाकिस्तानपछि बंगलादेशमा रहेका कारोबारीले नेपालमा सहयोगी परिचालन गर्ने गरेको अनुसन्धानस्रोतले जनायो।
स्रोतका अनुसार नरु उल्लाह समूहका मध्ये सुनिलले सबैभन्दा धेरै पाकिस्तान र बंगलादेशमा सम्पर्क गर्ने गरेको प्राविधिक अनुसन्धानमा देखिएको छ। बुटवल स्थायी र काठमाडौंमा बालाजु हाइटको बोहोराटारमा बस्दै आएका उनी नरु उल्लाह पक्राउलगत्तै फरार छन्। अमेरिकी ग्रिनकार्ड पाएका उनी उतै फर्किएका भने छैनन्। स्रोत उनी दुबई पुगेको दाबी गर्छ। जाली भारु कारोबारीमा शिखर म्यानपावरका सञ्चालक अनुराज प्रधानको नामसमेत पोलिए पनि उनी अनुसन्धानको दायरामा परिसकेका छैनन्। नरु उल्लाहको बयानअनुसार पाकिस्तानबाट जाली भारु मगाउने योजना उनकै कार्यालयमा भएको थियो भने प्रधानले नै सुनिलसँग उनको परिचय गराएका थिए।
यसअगाडि युनुसका सहयोगी जाली भारुसहित पक्राउ पर्दासमेत योजना उनको कार्यालयमा बनेको खुले पनि अनुसन्धानरत प्रहरी निकायले प्रधानको खोजी गरेको छैन। स्रोत एक करोड पक्राउ प्रकरणमा उनको प्रत्यक्ष संलग्नता खुल्ने प्रमाण नआएकाले पक्राउ नगरिएको, तर उनको संलग्नताबारे अनुसन्धान जारी रहेको बताउँछ।
साभार : नागरिक  
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis