CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपालीबाटै ठगी

नेपालीबाटै ठगी

कूकलाई सजिलै भिसा दिने जापान सरकारको नियमको छिद्रबाट जापानमा रेष्टुरेण्ट चलाइरहेका नेपालीले नै नेपालीलाई ठगिरहेका छन्।

तस्वीरहरुः ऋषिराम कट्टेल
नारायण पौडेल
पोखराका नरेश बज्राचार्यलाई रु.१२ लाख तिरेर जापानको राजधानी टोकियो पुगेका बाग्लुङ, बलेवाका नारायण पौडेलले आश्वासन अनुसार सिन्जुकुको नेपाली रेष्टुरेण्टमा मासिक २ लाख ८० हजार जापानी येन तलब पाउनुपर्ने थियो (रु.१० को ९ जापानी येन)। तर, उनले त्यहाँ काम समेत पाएनन्। जापानी येन १० हजार खर्च
गरेर अर्को शहर ओशाका पुग्दा समेत काम नपाएका पौडेल भन्छन्, “काम नपाएर अलपत्र परेको त्यो बेला पानी मात्र पिएर तीन दिन कटाउनु पर्‍यो, नेपालीले नै मलाई ठग्यो।” सालो पशुपति कँडेलको रेष्टुरेण्टमा केही समय काम गरेका पौडेल अहिले दुई महीनादेखि काम खोजिरहेका छन्।
पोखराकै चक्रपाणि सुवेदीलाई रु.१३ लाख बुझाएर जापान पुगेका ललितपुर, इमाडोलका शंकर थापा पनि आठ महीनासम्म बेरोजगार रहे। चक्रपाणिबाट पैसा फिर्ता लिन प्रयास गरिरहेका शंकर भन्छन्, “इमिग्रेसनबाट भिसा क्यान्सिल गराएपछि मात्र आधा पैसा फिर्ता दिन्छु भनेर उल्टो उसले धम्क्यायो।” मासिक २ लाख जापानी येन पाउने आश्वासनमा त्यहाँ पुगेका उनी लामो समयपछि त्यहीं रहेका आफ्नै भतिज दीपक थापाले खोलेको रेष्टुरेण्टमा काम गरिरहेका छन्। उनी भन्छन्, “भतिजले पनि रेष्टुराँ बेच्ने भन्दैछ, नेपाल फर्कौं कि भन्दैछु।”
नारायण र शंकर जस्तै रु.१२ देखि रु.१५ लाख तिरेर जापान पुगे पनि काम नपाएका वा भने जति पारिश्रमिक नपाएका थुप्रै नेपाली जापानको टोकियो वा अरू शहरमा भेटिन्छन्। कूक भिसामा जापान पुगेकाहरूले काम नपाएर अत्यन्तै कम पारिश्रमिकमा भुईं पुछ्ने र भाँडा माझने जस्ता काम गर्नुपरेको छ भने सीप नभई कूक भिसामा त्यहाँ पुगेकाहरूको दुःख अरू चर्को छ। गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङ भन्छन्, “कूक नजानी कूक भिसामा यहाँ आएका नेपालीहरूको कन्तबिजोग छ।” (हे. बक्स) जापानी भाषा नसिकेकाहरूले काम नपाउने हुँदा भाषा र सीप नसिकी दलाललाई पैसा खुवाएर आएकाहरूले दुःख पाएको उनी बताउँछन्।
ठगी धन्दा

सुवास कँडेल।
जापानमा बिजनेस भिसा लिएर रेष्टुरेण्ट चलाएकाले आवश्यकता अनुसार कूक बोलाउन पाउने हुँदा नेपालीले सजिलै कूकको भिसा पाउने गरेका हुन्। पहिलेका नेपाली कूकहरूले राम्रो काम गरेको हुँदा जापान सरकारले नेपाली कूकलाई सजिलै भिसा दिने गरेको हो। तर, यो नियमबाट फाइदा उठाउँदै रेष्टुरेण्ट चलाएका नेपालीले मोटो रकम लिएर कूक नजानेकालाई समेत बोलाउने गरेका छन्। त्यसरी आएको पैसाले नयाँ रेष्टुरेण्ट खोल्ने र त्यो रेष्टुरेण्टलाई देखाउँदै फेरि अरू कूक बोलाउने नयाँ धन्दाको कारण अहिले जापान पुगेका नेपालीले दुःख पाएका हुन्।
नेपालबाट कूक लैजान मात्र रेष्टुरेण्ट खोल्नेको समूह नै जापानमा बनेको छ। उनीहरूका रेष्टुरेण्ट कूक भिसा निकाल्नासाथ बन्द हुन्छन् र अरू कूक बोलाउन नयाँ रेष्टुरेण्ट खोल्छन्। कूक भिसाकै निम्ति रेष्टुरेण्ट खोलेकाहरूको माध्यमबाट जापान पुग्दा साँच्चिकै कूकले काम पाउँदैनन् भने नक्कली कूकले त काम पाउने कुरै भएन।
टोकियोमा 'कालिका किचन' चलाइरहेका नवलपरासीका प्रेम कँडेल भन्छन्, “रु.१२ लाख कमाउनु बाहेक उनीहरूको कुनै उद्देश्य हुँदैन।” नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष पासाङ शेर्पाका अनुसार, नेपालीहरूको यो प्रवृत्ति थाहा पाएर जापान सरकारले पछिल्लो समय कूक भिसामा पनि कडाइ गर्न थालेको छ।

जापानस्थित नेपाली रेष्टुरेण्टमा काम गर्दै नेपाली कूक।
तीन दशकदेखि दक्ष कामदारका रूपमा जापान पुगेका नेपाली कूकको संख्या अहिले ६ हजार हाराहारी छ। जुन, जापानमा रहेका सम्पूर्ण नेपालीको एक चौथाइ हो। जापानमा नेपाली कूकले दैनिक ८ घण्टा काम गरेर मासिक २ लाख जापानी येन तलब पाउनुपर्नेमा नेपाली रेष्टुरेण्ट मालिकले दैनिक १६ घण्टा काम लगाएर मासिक १ लाख जापानी येन मात्र दिने गरेका छन्। कूक भिसाका लागि जापानमा कतै पैसा तिर्नु नपर्ने र कूक मगाउने कम्पनीले नै सम्पूर्ण खर्च दिनुपर्ने भए पनि ठगी धन्दा चलाइरहेका नेपाली रेष्टुरेण्ट मालिकहरूले रु.१२ देखि रु.१५ लाखसम्म लिन्छन्।
दुई वर्षअघि रु.१३ लाख तिरेर कूक भिसामा जापान पुगेका बाग्लुङ, विहुका सुवास कँडेल भन्छन्, “कूक भिसामा आएका हामी जस्ता धेरै अहिले मासु काट्ने र गाउँको खेतीमा काम गर्दैछन्।”

'ठग्ने नेपाली नै हुन्'

पहिले राम्रो काम गरेकाले नेपाली कूकलाई यहाँको सरकारले सजिलै भिसा दिने गरेको हो। तर, कूकलाई भिसा दिने जापानी सरकारको नियमको दुरुपयोग गर्दै केही नेपाली व्यवसायीले नेपालीलाई नै ठग्न थालेका छन्। उनीहरूले दक्ष कामदारको साटो पैसा धेरै दिने जोसुकैलाई बोलाएर यसो गरिरहेका छन्।
दक्ष कूकलाई जापान ल्याउँदा एक पैसा लाग्दैन; बरु, कूक बोलाउनेले सबै खर्च तिर्नुपर्छ। तर, रु.१२―१५ लाख लिएर बोलाउने गरिएको छ। रु.२४ लाख दलाललाई तिरेर कूक भिसामा यहाँ आएको नेपाली पनि मैले भेटेको छु। त्यसरी आएका धेरैको कन्तबिजोग छ। पहिले त कामै पाउँदैनन्, पाए पनि न्यून तलब पाउँछन्। गोरु जोतिए जसरी काम गर्दा पनि अत्यन्तै न्यून तलब पाउँदा काम छाड्न बाध्य हुन्छन्। त्यसपछि रेष्टुरेण्ट मालिकलाई अर्को रु.१२ लाख कमाउने बाटो खुल्छ।
यहाँ आउनुअघि जापानी भाषा र सीप नसिकी नआउनुस् भन्ने मेरो अनुरोध छ। भाषा र सीप भएको मानिसलाई यहाँ धेरै समस्या पर्दैन। नेपाली व्यवसायीलाई पनि दाजुभाइ नठग्न अनुरोध गर्छु।

- ऋषिराम कट्टेल जापान, टोकियो, 
हिमाल खबर साभार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis